अदूरदर्शी दूरसञ्चार

- रवीन्द्र मानन्धर

जमाना नानोको छ । अचेल सबैलाई सामान सानो चिटिक्कको मन पर्छ । नानो कार, नानो मेमोरी कार्डपछि नानो सिमकार्ड आएको पनि धेरै भइसक्यो । नानो सिम आएकाले सोहीअनुरुपको मोबाइल फोन बन्यो वा सानो सिम अटाउने मोबाइल बजारमा आएकाले सिमकार्ड नानो भयो । जेहोस्, दुवैलाई एकापसमा मिल्ने कुरा बन्यो ।

पहिले मोबाइलमा अटाउन ५० रुपैयाँ तिरेर सिमकार्डलाई ताछेर साइजमा ल्याइन्थ्यो । यसो गर्दा सिमकार्ड बिग्रिने जोखिम पनि उत्तिकै हुन्थ्यो । अचेल ५० रुपैयाँ तिरेर दूरसञ्चारले नै तीन भिन्न साइजका बनाउन मिल्ने नयाँ सिमकार्ड दिँदो रहेछ ।

केही समयअघि साथीले नयाँ फोन लिँदा यसलाई मिल्ने सिमका लागि दूरसञ्चार गयौँ । ५० रुपैयाँ तिरेर मैले नै उसको फाराम भरेर बुझाइदिएँ, नागरिकताको प्रतिलिपिसहित । बदलामा कर्मचारीले सहकर्मीसित गफिँदै मेरै हातमा उसको नम्बरको सिम थमाइदिए । फाइनान्स कम्पनीले बाइक, फ्रिज किस्तामा दिादा त लालपुर्जाको फोटोकपी माग्ने समयमा सिम हस्तान्तरण गर्दा दूरसञ्चारले कुनै प्रकारको ग्यारेन्टी मागेन, न त कुनै क्रसचेक नै गर्‍यो । कति फितलो नियम । एक मनले भन्यो नयाँ  नियम हो, यस्ता कमी–कमजोरीलाई दूरसञ्चारले बिस्तारै परिमार्जन गर्ला नि ।

एक महिनाअघि आफ्नै मोबाइल सेट फुटेर नयाँ लिनुपर्‍यो । त्यसका लागि मिल्ने नानो सिमकार्ड लिन नागरिकताको फोटोकपी बोकेर दूरसञ्चार अफिस पुगेँ । तर नियम पुरानै रहेछ । नयाँ सिमकार्ड सजिलै पाएँ । सतहमै विचार गर्ने हो भने पनि कसैको नागरिकताको फोटोकपी र मोबाइल नम्बर भए सजिलै सो व्यक्तिको मोबाइल नम्बर प्रयोग गर्न सकिने रहेछ । यस्तो भयानक जोखिमप्रति दूरसञ्चारले किन आाखा चिम्लेको होला ?

पैसा झिक्नै सकस

अचेल बैंकहरुले मात्र होइन, सरकारी संस्थाले समेत ग्राहक सुविधा लक्षित टोकन मेसिन राख्न थालेका छन् । मेसिनबाट टोकन लियो, त्यही नम्बरको आधारमा पालो आउँछ । टीभी हेर्दै आफ्नो पालो कुर्‍यो । लाइन उभिनु नपर्ने । यस्तो स्मार्ट जमानामा इन्भेस्टमेन्ट बैंकले भने पुरानै ढर्रा कायम राखेको महसुस भयो ।

कालिमाटी शाखाका तीन एटिएममध्ये कुनै एकबाट पैसा झिक्न सके भाग्यमानी मान्नुपर्छ आफूलाई । सधैँ कुनै न कुनै समस्या भएकै हुन्छ । त्यसैले शाखाले एउटा एटिएम मेसिन हटाइसकेको छ । अर्को मलाई पायक पर्ने न्युरोडको एटिएम पनि बन्द छ । एटिएमले धोका दिएका बेला चेक प्रयोग गरेर पैसा झिक्नुको विकल्प हुँदैन । चेक लिएर बैंकको कुनै शाखा छिरेपछि आधा, पौने घन्टा लाइनमा उभिनुपर्ने बाध्यता त सामान्य भइहाल्यो ।

कालिमाटी शाखामा त कहिलेकाहीँ हरिबिजोगै हुन्छ । लाइन बस्दाबस्दा कहिलेकाहीँ ढोकाबाहिर नै पुगिने अवस्था आउँछ । यस्तो अवस्थामा अरु बैंकमा टोकन मेसिन प्रयोग गरी टीभी हेर्दै आरामले  पालो कुरेको याद आउँछ । हुन त इन्भेस्टमेन्ट बैंकको अरु शाखामा पनि टोकन मेसिन व्यवस्था छ । यहाँ भने किन नराखेको होला, थाहा भएन । यसबारे सोधीखोजी गर्दा बैंक कर्मचारी सुनेको नसुन्यै गर्छन् । सुरक्षागार्ड ओठ लेप्य्राउँछन् ।

के यो बैंकलाई ग्राहक पुगिसकेको हो वा यहाँभन्दा बढी सुविधा हामी दिन सक्दैनौँ भनेर हात उठाएको हो ? कर्जा र निक्षेपमा आकर्षक ब्याजदरका अलावा बैंकले टोकन मेसिन र सेवाग्राही बस्न पुग्ने कुर्सी व्यवस्था गरे के फरक पर्छ ? शाखा त हो नि भनेर हेला गरेर हुन्छ ?

हरियो सट्टापट्टा !

काठमाडौँमा हावा छानेर सास फेर्नुपरेको धेरै भयो । धूलो र धुवाँ नउडेको ठाउँ भेट्टाउन मुस्किल छ । सडकमा थोत्राले मात्र होइन, महागा चिल्ला गाडीले पनि कालो मुस्लो फालेको देख्दा बाल्यकालको याद आउँछ । हाम्रो टोलका अधिकांशको ट्याक्सी र ढुवानी व्यवसाय थियो । हामी खेल्ने चौर साँझतिर ट्याक्सीले भरिन्थ्यो ।

हाम्रो पनि एउटा ट्याक्सी थियो । हरेक ६–६ महिनामा गाडीधनी गाडीको कन्डिसन अद्यावधिक गर्न व्यस्त हुन्थे । मेरा बा पनि हाम्रो ट्याक्सीको मोबिल फेर्ने, फिल्टर फेर्ने, कोरिएका ठाउा रंगरोगन भर्ने काम रुचिपूर्वक गर्नुहुन्थ्यो । यसरी तयार गरिएको गाडीलाई बग्गीखानामा सम्पूर्ण जाँच गरेपछि हरियो स्टिकर अर्थात् जाँचपास दिइन्थ्यो । किनभने उतिबेला प्रदूषणको मापदण्डमा फेल भएको, राम्ररी रंग नगरेको, थोत्रो देखिने गाडी सडकमा गुड्न प्रतिबन्ध थियो ।

कसै–कसैले दाम चढाएर हरियो स्टिकर ल्याएको हल्ला बेलाबेला टोलमा चल्थ्यो । यस्ता हरिया स्टिकरको नियम अचेल पनि छ । तर अहिले पछाडिबाट वायुमण्डल नै विषाक्त हुने गरी कालो धुवाँ फाल्दै गुड्दै गरेका गाडी पनि बग्रेल्ती देखिन्छन् । यसरी धुवाँ फाल्दै गरेका गाडीअघिल्तिर सिसामा भने हरियो स्टिकर टाँसिएकै हुन्छ । थोत्रा गाडीमा पनि कसरी हरियो स्टिकर टाँसियो होला ? कतै हरियो स्टिकरसँग हरियो नोटको सट्टापट्टा त चलिरहेको छैन ?

प्रकाशित: जेष्ठ २९, २०७६

×