[पुस्तक समीक्षा] रैथाने चेतना

पुस्तक : हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे | लेखक : विमला तुम्खेवा | प्रकाशक : सांग्रिला बुक्स | पृष्ठ : ८४ | मूल्य : २५० रुपैयाँ |

- राज माङलाक

५० को दशकदेखि निरन्तर कविता कर्ममा सक्रिय विमला तुम्खेवा नारी स्वतन्त्रताको पक्षमा उभिएकी लेखिका हुन् । पूर्वी नेपालका धरान, इटहरी, पथरी, दमकतिर उनले सादा–सेतो पहिरनमा कविता पाठ गर्दै हिँडेको प्रसंग आज पनि उत्तिकै चर्चा गरिन्छ । कलिलो मस्तिष्कले गरेको विद्रोह थियो, त्यो । यतिबेला तिनै कवि तुम्खेवाको पछिल्लो कवितासंग्रह आएको छ, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे । यसमा लामाछोटा ४७ वटा कविता समेटिएका छन् ।

कविता के हो ? प्रश्न सोधेजस्तो उत्तर सजिलो छैन । कवितालाई परिभाषित गर्ने गतिलो सूत्र पनि छैन, जो सबैले यही सूत्रमा परिभाषा दिऊन् । अर्थात् कविताको सर्वसम्मत परिभाषा छैन । सुन्दर कविता पनि काव्यिक लयमा भन्न सकिएन भने त्यो दुराग्रह–पूर्वाग्रह भइदिन्छ । यसर्थ कवितालाई कविताकै भाषामा भन्न सक्नुपर्छ । कविताकै भाषामा भन्न सक्ने कवि हुन्, तुम्खेवा । कवितालाई सन्दर्भको खाँचो नपर्ने अर्थात् कविताको क्षमतालाई पुष्टि गर्ने आधारसहित लेख्न सक्ने कवि हुन् उनी । त्यो उनका कविता पढ्दा थाहा हुन्छ ।

पछिल्लो समय नेपाली साहित्यमा कवि तुम्खेवामाथि आरोप छ, कवितामा प्रेमको आलाप मात्र गाउँछिन् । यस कृतिले भने उनलाई यो आरोपबाट छुटकारा दिलाएको छ । भिन्न स्वाद पाउनेछन् पाठकले । विद्रोही नारी स्वर, गोर्खा सैनिकको अन्तर्वेदना, सीमान्तकृत जाति र समुदायमाथि भएको विभेदविरुद्धको आक्रोश, बिदेसिन बाध्य युवाको पीडा, राजनीतिक विसंगति, युद्ध र हिंसाको विरोधजस्ता विविध स्वादका कविता पढ्न पाइन्छ । भुइँमान्छेका जनजीवनसँग जोडिएका दुःख–सुख, हाँसो आँसु, पीडा, स्थानिक पहिचान, सामान्य जनजीवनका आरोह–अवरोह पनि कविताले राम्रैसँग बोकेको छ । पूर्वी नेपालको लोकसमाज विज्ञानलाई मिहीन ढंगमा उन्न सफल कवि तुम्खेवाका कविताले गाउँघरलाई आफ्नै शैलीमा चिनाएका छन् ।

केही कविता मुन्धुमी लयमा बग्न खोजेका छन् । लिम्बू जनजीवनका आरोह–अवरोह र ऊहापोह पनि छन् यसमा । लिम्बू समुदायका महिला केही बढी नै जब्बर हुन्छन् । मातृसत्तात्मक सामाजिक संरचनाले दिएको यो रैथाने सांस्कृतिक स्वभाव हो । लाहुरे परिवारमा हुर्किएकी कवि तुम्खेवाले ठेट सुब्बेनी महिलाको सजीव चित्रण ‘जेठी सुब्बेनी’ कवितामा गरेकी छन् ।

लुङा,

दुःखले गाल्न नसकेको जेठी सुब्बेनीको शरीर

सुगरले गलेपछि

आँखा चिम्म गरेर योग गर’ भन्दा

उमेरमा तन्नेरीसँग धान नाचेको मात्र सम्झना आउँछ’ भन्छिन्

र,

भन्छिन्, ‘गर्दिनँ नाथे योग ।’

०६२/०६३ को जनआन्दोलनपछि मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको छ । सबैले अधिकारसम्पन्न नागरिक भएर बाँच्न पाउने कल्पना गरेका छन् । सबैमा आफ्नो स्व र अस्मिताको चासो बढेको छ । यही मेसोमा भाषाहरुको आवाज, संस्कृतिको माग बुझ्नुपर्ने भएको छ । मूल धारले बिर्सिएका जाति, जनजाति, सीमान्तकृत, महिला, दलित, लोपोन्मुख जातिको साझा साहसिक आवाज हो, यो कविताकृति ।

साहित्यकार बैरागी काइँलाको भनाइमा लैंगिक भेदभावले पीडित नारीका अटेरी आवाज उरालिएको स्वर विमला तुम्खेवाको कविताका विशेषता हुन् । सामाजिक, सांस्कृतिक र राजनीतिक विकृतिका विरोधमा अलग्गै सुनिने चर्को साहसिक आवाज उनको कविताको अर्को पहिचान हो । रैथानेपन उनको कविताका अर्को जन्मान्तर हो । आफ्ना अघिल्ला कविताकृतिमार्फत नै क्षमतावान कविको परिचय बनाएकी तुम्खेवाले वैचारिक दृष्टि थप स्पष्ट पारेकी छन् । उनका कविताले नेपाली समाजको सांस्कृतिक समझलाई अझ बलियो बनाएको छ । लैंगिक विभेदलाई थप छलफलमा उतारेको छ र जातीय स्मृतिमा ‘स्थानीय’ र मस्तिष्क चेतमा ‘विश्वजनीन’ दृष्टिकोण तयार पारेको देखिन्छ ।

कोमल भाषा, काव्यात्मक शैली र रमरम विद्रोही स्वभाव तुम्खेवाका काव्यिक विशेषता हुन् । कवितामै आफ्नो प्रेममय सपना र विद्रोहको आवाज एकैसाथ दिन सक्ने खुबी उनमा देखिन्छ ।

केही कमजोर कविता पनि यस संग्रहमा समेटिएका छन् । कविताको भाषा मूलतः व्यञ्जना नै हो तर सबैका लागि भनेर अभिधार्थमै भन्न खोज्दा भाव अब्बल हुँदाहुँदै पनि केही कमजोर भएका छन् । कविता पढ्दै जाँदा अझै निखारको खाँचो पाठकलाई महसुस हुन्छ । यति लामो कविता लेखनमा समर्पित कविले खेलाँची गर्नु भनेको कमजोरीलाई मलजल गर्नु हो । यद्यपि यस संग्रहभित्रका कविता कवितै हुन् ।

प्रकाशित: श्रावण २२, २०७६