हाङयुग अज्ञातका तीन किताब

- हाङयुग अज्ञात 

होमरका इलियड र ओडिसी तथा पूर्वीय महाकाव्य रामायण र महाभारततिरको प्रवेशद्वार नै श्रीमदभगवद्गीता हो, मेरा लागि । विश्वका ठूल्ठूला विद्वान्ले समेत पढेको श्रीमदभगवद् गीताको दार्शनिक पक्षले मलाई सधैँ आकर्षित गर्छ ।

हिन्दी भावानुवादसहितको संस्कृत श्रीमदभगवद् गीता सुरुमा आम बुझाइजस्तै श्रीकृष्णलाई ‘भगवान्’ को तहमा राखेर पढेको थिएँ भने पछिल्लो समयचाहिँ उनलाई विद्वान् मानिसकै रुपमा बुझ्छु । श्रीकृष्णको पूजा गर्दै विश्व शान्तिको कुरा गर्नु भने शोभनीय हुँदैन । विश्वेश्वरप्रसाद कोइरालाको हिटलर र यहुदीमा पनि गीताबाट प्रभावित भएर युद्ध गरेको दाबी गर्छन्, हिटलर । त्यसैले गीतालाई राम्ररी बुझ्न सकिएन भने विश्वमै हिंसा मात्रै हुने भयो ।

धर्मको नाममा मान्छे मार्दा फरक नपर्ने तर्क गर्छन्, श्रीकृष्ण । यदि कोही कसैलाई देवत्वकरण नगरीकन धार्मिक ग्रन्थ पढ्न नसकिने परिस्थिति आइलागे अर्जुनलाई ‘भगवान्’ बनाउँदा हुन्छ । अर्जुनले रणमैदानमा सबै आफन्तजन देख्छन् । अझै बृहत्तर ढंगले सोच्ने हो भने कसलाई मार्नु, सबै मान्छे हुन् भन्ने मनोभावले अर्जुनलाई निर्देशित गरेको देखिन्छ । चीनमा पनि सुन जूको प्रसिद्ध पुस्तक द आर्ट अफ वारबाट प्रभावित भएर माओले युद्ध गरेको दाबी सुनिन्छ ।

गीता पढ्दापढ्दै मैले पश्चिममा दर्शनको इतिहास चहारेँ । साथै यताका उपनिषद् पनि हेरेँ । सोपेनहावरजस्ता जर्मन दार्शनिकले उपनिषद्बाट आफ्नो विचारलाई विकास गरेको देखिन्छ । उपनिषद्लाई शुद्ध हिन्दु दर्शनको रुपमा पाएँ, जहाँ आफ्नो अस्तित्व खोज्ने प्रयास गरिन्छ । लाग्यो, यी ग्रन्थभित्र म र मेरो समुदाय छैन । मेरै समुदायचाहिँ केमा छ ?

स्कुल अध्ययनमै फाल्गुनन्दको जीवनी पढिसकेको थिएँ । पछि काठमाडौँमा मुन्धुम खोजेर पढेँ । हिन्दुको आदिग्रन्थ वेदकै समयमा मुन्धुम पनि रचिएको हुनुपर्छ । रामायण र महाभारतमा वर्णित समाज विकसित लाग्छ तर मुन्धुमका कथा निकै आदिम लाग्छ । त्यसैले मुन्धुमलाई किरातको वेद पनि भनियो होला । जसरी वेद र उपनिषद्का हाँगा अनेक हुन्छन्, त्यस्तै मुन्धुम पनि धेरै छन् ।

बैरागी काइँलाकृत सृष्टिवर्णन भने पृथ्वीको उत्पत्तिकथामा केन्द्रित छ । मैले अन्य मिथकका पुस्तकमा हेर्दा– जुनसुकै समुदायको पनि आफ्नै खाले धारणा हुँदो रहेछ, लिखित या श्रुति परम्परामा । जस्तो, बाइबलले यो सृष्टि सात दिनमा सम्पन्न भएको मान्छ भने कुरानले आठ दिनमा । अफ्रिकी मिथक भन्छ, बुमा भगवान्को मुखबाट यो सारा संसार सृष्टि भयो । अस्ट्रेलियाली मिथकअनुसार त्यहाँको मानव पुर्खा आकाशबाट झर्‍यो । पछिल्ला कालमा विकसित वैकल्पिक सिद्धान्त भन्छ, पृथ्वीमा मानव जाति अर्कै ग्रहबाट ल्याइयो ।

मुन्धुमको सृष्टिवर्णनअनुसार यो सृष्टि गर्ने क्रममा आकाशगंगा, सौर्यमण्डल र ग्रह बनाउँदा–बनाउँदै समय सकिएकाले मूल ईश्वरले अर्को देउतालाई जिम्मा दिन्छन् । पानी, रुखपात, आगो आदि–इत्यादि बनाउने काम गर्दागर्दै अर्को देउताको पनि समय सकिएपछि फेरि अर्कोलाई हस्तान्तरण गरिन्छ । यसलाई हामीले धार्मिकभन्दा सांकेतिक रुपमा बुझ्नु उपयोगी हुन्छ । राजनीतिकर्मीले मुन्धुम पढिदिएमा युवा पुस्तालाई देश निर्माणको जिम्मेवारी हस्तान्तरण गर्थे कि !

मुन्धुम वैज्ञानिक नभएको तर्कसँग म सहमत छैन । १२ वटा घाम लागेको लयदार र रोचक कथा छ, मुन्धुममा । कथामा कल्पनाको मात्रालाई पनि बेवास्ता गर्न सकिँदैन । तर त्यो समय पनि अहिलेजस्तै बढ्दो वैश्विक तापक्रमले सताएको थिएन भन्न सकिन्न । मुन्धुमले जीवको विकास लेउबाट भयो भन्छ भने विज्ञानले पनि पानीबाट भएको दाबी गर्छ । बाघ र मान्छे दाजुभाइ रहेको कथा पढ्दा लिम्बू लाटोसोझो समुदाय भन्ने नै लाग्दैन । मौखिक मुन्धुमलाई पछिल्लो कालमा बैरागी काइँलाले लिपिबद्ध गरिदिएकाले हाम्रो पुस्तालाई सजिलो भएको छ । उनले मुन्धुमी लयमा कविता लेखेर हाम्रा मिथक र विम्बलाई अमर मात्रै बनाएका छैनन्, आफैँतिर फर्कन प्रेरित गरेका छन् ।

विद्यालयमा छन्दकविता पढिरहेको म बैरागी काइँलाका कविताहरु पढ्दा अर्थ खुट्याउन नसके पनि छक्कै परेको थिएँ । काइँलाका कविताको प्रभाव यति धेरै गडेछ कि पछि मैले आफ्नै कवितामा उनको लय ल्याउने प्रयत्न गरेँ । रिमाल, भूपीदेखि समकालीनसम्मका कविमा पश्चिमा प्रभाव छ तर काइँला मौलिक ढाँचाको बाटो हिँडे । आफ्ना कवितालाई भव्य बनाउन चाहने नेपाली कविले उनलाई नपढी धरै छैन ।

उनका कतिपय कवितामा लिम्बू येबाले फलाक्ने मुन्धुमी मन्त्रको आरोह–अवरोह भेटिन्छ । लाग्छ– त्यो कविता विश्व घुम्छ, तत्कालीन विम्बको वायुपंखी घोडा चढेर । नेपालमा वर्गीय विभेद मात्रै छैन, जातीय, सांस्कृतिक, क्षेत्रीय र लैंगिक विभेद पनि छन् । यी मुद्दा नबुझी लेख्नु बेकारै हो । काइँलाले सांस्कृतिक विम्बको प्रयोग गरेर कविताको पुरानो एकल जातीय साम्राज्यलाई धक्का दिए ।

प्रस्तुति  :  गुरुङ सुशान्त

प्रकाशित: श्रावण २७, २०७६

ट्याग: तीन किताब