इको च्याम्बरबाट निस्कौँ
साथीहरूलाई उपहार दिन र आफैँलाई पनि बारम्बार पढ्न मन लाग्ने किताब हो, द स्टोरी अफ फिलोसफी ।
साथीहरूलाई उपहार दिन र आफैँलाई पनि बारम्बार पढ्न मन लाग्ने किताब हो, द स्टोरी अफ फिलोसफी । विल डुरान्टले ११ वर्ष खर्चेर लेखेको यो किताबमा प्लेटोदेखि एरिस्टोटल, फ्रान्सिस बेकन, स्पीनोजा, इमानुयल कान्ट, सोपेनहावर, हर्बर्ट स्पेन्सर हुँदै युरोपेली र अमेरिकी दार्शनिकका जीवनी र दर्शनलाई सरस शैलीमा वर्णन गरिएको छ । कार्ल मार्क्सले आफ्नो मुख्य वादमा हेगेलको द्वन्द्वात्मकतालाई संश्लेषण गरेका छन् । गीतामा पनि वाद, विवाद र संवादको चर्चा छ । फरक–फरक समयका मनीषीले मानव अस्तित्वका पक्षलाई केलाउँदा सत्यका आधार भने मिल्दाजुल्दा नै पाइए । सार्त्र मान्छन्– मनुष्य त्यो हो, जो आफ्नो स्वतन्त्रतामा नैतिक सिद्धान्तलाई अगाडि बढाउने फैसला गर्छ । गुणस्तरीय जीवनका लागि नैतिकता र करुणा आवश्यक मानिन्छन् तर त्यसका लागि मानिसको शरीर तन्दुरुस्त हुनु आवश्यक छ । स्नायुविज्ञानले भन्दै छ– मन या आत्मा भन्ने कुनै निश्चित स्थान छैन, जसले हाम्रो अवधारणालाई निर्धारण र निर्देश गरोस् । मस्तिष्क र नसा सन्जालबीचको सूचना र सम्बन्धले नै हाम्रो सोचलाई डोर्याउँछ । यो सन्जालमा एउटा केन्द्रसँग मात्रै सम्बन्ध विच्छेद भयो भने गडबड सुरु हुन्छ । स्नायुविज्ञानले हाम्रो चेतना परिवर्तनशील छ भन्ने स्वीकारेको छ, जुन हजारौँ वर्षअघि बुद्धले अनित्यताको चिन्तनमा बोलिसके । अहिले स्नायुविज्ञानले पत्ता लगाएको कुरा बुद्धले उहिल्यै ध्यानबाट प्राप्त गरे । बुद्ध र आदि शंकराचार्यजस्ता दार्शनिकको विचारलाई आफ्नो पुस्तकमा समेट्न नसकेको स्वीकारेका छन्, डुरान्टले ।
जुलियन बग्गीनीले हाउ द वर्ल्ड थिङ्समा दर्शनको अध्ययन र बोधलाई अझै फराकिलो बनाउँदै डुरान्टलाई जवाफ दिएझैँ लाग्छ । ज्ञान र यथार्थको व्याख्या–बुझाइमा पूर्वीय तथा पाश्चात्य दर्शनमा केही समानता छ भन्छ, किताबले । साढे दुई हजार वर्षअघि पूर्वीय दार्शनिकले सोचेका कुरा ग्रीक दार्शनिकले उही समयमै भनेका रहेछन् । बुद्धको दर्शन र ग्रीक दर्शनबीच पनि उही खाले विचार पाइने रहेछ । उनीहरुका बीचमा सम्पर्क र सञ्चार नभए पनि सोच्ने ढंग उस्तै रहेछ । तर पुनर्जागरण युगपछि पश्चिमले स्वतन्त्रता र समृद्धिको गतिलै यात्रा गरिसक्दा पनि हामी किन पछाडि छौँ ? यताचाहिँ जातीय सोपानतन्त्रमा शासक वर्गलाई एउटा समुदायले प्रशस्ति गाउने र उक्त समुदायले नै बिर्ता पाउने क्रम चल्यो । अनि प्रश्नलाई निषेध गरेर चेतनाको बन्ध्याकरण गरियो ।
धेरै दर्शनमा ज्ञान प्राप्तिका लागि ध्यानमा जोड दिइने भएकाले अलौकिकता हाबी छ । क्रिस्तानी गुरुहरु पनि पूर्वीयजस्तै समर्पणवादी ज्ञानको शरण परेको देखिन्छ । लाओत्से र कन्फुसियसजस्ता चिन्तकका दर्शनमा भने दैनिक अनुभवप्राप्त ज्ञान नै दिगो रहने विश्वास पाइन्छ । साकुरा फुल्दा साह्रै मनमोहक भए पनि एकाध दिनमै त्यसको सुवास, सौन्दर्य र आयु निख्रिसकेको हुन्छ । यही फूललाई हेरेर जीवनको क्षणभंगुरता बुझ्न सकिन्छ । यिनै दर्शनलाई संश्लेषित गरी बग्गीनीले निचोड दिएका छन्, सत्य बोध्यगम्य छैन ।
मान्छे आफूले चाहेको तर्क मात्र स्वीकार गर्छन्, न कि सत्यलाई । हाम्रा धारणा आफ्नै पृष्ठभूमि र परिधिबाट निर्देशित हुन्छन् भन्ने मत छ, द पेरिल्स अफ पर्सेप्सनमा । बबी डफ्फीको यो किताबमा ‘इको च्याम्बर’ लाई अवधारणाको रुपमा अघि सारिएको छ । डफ्फीका अनुसार सोच्ने तरिका, संगत गर्ने मान्छे, बसोबास गर्ने स्थान आदिले इको च्याम्बरको निर्माण गर्छ, जहाँ उस्तै सोच भएकाबीच सहकार्य हुन्छ र फरक विचारधारीलाई पराया या विरोधी ठानिन्छ । मधेस आन्दोलनताका मैले एउटा नारा याद गरेँ, ‘पहाडिया राष्ट्रवाद, मुर्दावाद Û’ मधेसी या जनजातिले भोगेका उत्पीडनलाई त मैले वास्तै गरेको रहेनछु । मजस्तो आफूलाई पढालेखा र उदार ठान्नेले समेत खस नेपाली भाषीबाहेकलाई ‘ अन्य’ ठान्दो रहेछ । हामीले भेदभावलाई सामान्य ठानिआएछौँ । द पेरिल्स अफ पर्सेप्सनका अनुसार जबसम्म हामी इको च्याम्बरबाट बाहिर निस्किन सक्दैनौँ, तबसम्म फरक मतलाई सम्मान गर्न नसक्ने कुवाको भ्यागुता हुन्छौँ ।
डफ्फी तर्क गर्छन्– मान्छे जति अज्ञानी भयो, उति चाँडै मिथ्यालाई तथ्य ठानिदिन्छ । समस्याको जड नै दोस्रोको दृष्टिबिन्दुलाई स्वीकार नगर्नु हो । यस्तो माहोलबीच आफ्नै पर्खाल भत्काउनु जरुरी हुन्छ ।
पछिल्लो समय विश्व राजनीतिमा सत्ताले प्रतिरोधी आवाजलाई निषेध वा नामेट गरेर व्यवस्था र चिन्तन उल्ट्याउन खोज्नु खतराको संकेत हो । दोस्रो विश्वयुद्धअघि जर्मनी/ युरोपमा देखिएको सत्ताजन्य दम्भ अन्तिम विजय हुन सकेन । संवाद र संश्लेषणमै जुट्नुपर्यो, अन्तिममा । हामीकहाँ पनि कमजोरलाई दबाउने र फरक विचारलाई पेल्ने असहिष्णुता फेरि उदाउँदै छ । यसमा सधैँ चनाखो हुनुपर्ने युवा पुस्तालाई सञ्चारमा फैलिने झूट समाचारले गलत दिशामा हिँडाउँछ ।
अचेल छापाहरुमा आउने अनावश्यक देवत्वकरण, संवेदनाको व्यापारीकरण र मिथकीकरणले चुनौती थपिदियो । यस्ता बनिबनाउ मिथकभन्दा पर सोच्नका लागि द पेरिल्स अफ पर्सेप्सनजस्ता किताबको निचोड मनन गर्नु श्रेयस्कर हुन्छ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...