बच्चुकैलाशको एकान्त

- गणेश रसिक

गोरेटो हेर्दै दिन काट्दै होलिन् आउलान् भनेर

भोलिको आशमा रात काट्दी होलिन् सम्झना गरेर

झन्डै साढे पाँच दशकअघि रेडियो नेपालमा यो गीत सुन्दा म भोजपुर बजारको हाई स्कुलमा पढ्दै थिएँ । हिजोआज यो गीत के कारणले हो, सुन्न पाइँदैन । तर यी गायकको स्वरमा अरु थुप्रै सुमधुर गीत सुन्न पाउँछौँ– त्यो पनि आक्कलझुक्कल । कोही निकटस्थले आत्मिक परिचित स्वरमा कतै एकान्तबाट बोलाएको आभास हुन्छ मलाई, यी गायकका हरेक गीत, हरेक पटक सुन्दा ।

यी हृदयको स्वर लिएर गाउने, संगीत भर्ने र गीत लेख्ने प्रतिभा बच्चुकैलाश हुन् । इष्टहरु भन्थे, “यी गायक बच्चुकैलाश हाम्रै भोजपुर (पूर्व ४ नम्बर) खोटाङ सापतेलबासी बस्नेतका छोरा हुन् ।” बजारका भीमबहादुर साहुजी भन्थे, “बच्चुकैलाश मेरै पसलमा एक पटक किताब किन्न आएका थिए, आफ्नो गाउँको विद्यालयका लागि । र, हाम्रो अनुरोधमा एउटा मुखाग्र गीत सुनाएका थिए, मधुरो स्वरमा !”

यतिखेर म तिनै बच्चुकैलाशमाथि केही लेख्न बसेको छु । आसपासमा शुभेच्छुक छन् असंख्य । मलाई राम्ररी थाहा छ, बच्चुकैलाशलाई आफूबारेको सूचना र सञ्चार मन पर्दैन । उनी प्रचार–प्रसार चाहँदैनन् । आफ्नो सांगीतिक छविलाई ‘बेयरर चेक’ बनाएर गरिखानेहरुप्रति उनी रुष्ट पनि छन्  । बिनाप्रसंग बच्चुकैलाश नाम जोडेर उडन्ते गफ हान्नेप्रति उनको खेद छ । पाना भर्ने वा कार्यक्रम चलाउने नाममा कहिले बच्चुकैलाश, कहिले नारायणगोपालका ‘फुँदा’ जोडी हिँड्नुको तुक पनि छैन ।

“मेरोबारे जे लेख्ने, जे छाप्ने हो– मेरो मृत्युपछि मात्रै गर्नू,” बच्चुकैलाश सबैलाई यसै भन्ने गर्थे । यो दुई दिनको चोलामा को अघि, को पछि ख्याल नराखी उनी भनिरहेका हुन्थे, “मैले कसैलाई सुनाउनु छैन, आफ्नो समयको कुरा !”

नगाईकन, स्वरको झंकार नफैलाईकन खोटाङ, सापतेलमा खेती–किसानी बनेर बच्चुकैलाशबहादुर बस्नेतको नामका मनुख्खेले आफ्नो जीवन बिताएका भए उनका पछाडि समयको कुरा खोज्न को जान्थ्यो ! यो ठूलो सहरमा, ठूलो भीडमा बिनापरिचय, बिनासिर्जना आफ्नै परिवारको दालभात र नुनतेलमा मात्रै हराएका भए को लाग्थ्यो यो नामका पछाडि ?

उनले त्यसो गरेनन्, नेपाली संगीतका आरोहअवरोह र मुर्च्छनामा बसे । ताल, लय, सुर र शब्दको गहिराइमा डुबे र श्रोताको ढुकुढुकीमा बसे । त्यसैले उनी सार्वजनिक सम्पत्ति भए र जनचासो भयो । के उनका बारेमा जान्ने–बुझ्ने हक श्रोतालाई छैन, आम नेपालीलाई छैन ?

♦♦♦

विसं १९९५ साउन १५ गते पिता कृष्णबहादुर बस्नेत र माता कृष्णकुमारीको कोखबाट जन्मेका थिए बच्चुकैलाश । दुर्भाग्य, जन्मेको १३ औँ दिनमै टुहुरा हुन फुगे । बाबुले कान्छी आमा लिएर हिँडे अनि सुर भयो उनको दुःखपूर्ण बाल्यकाल । जसले उनलाई सानैदेखि भावुक बनायो, संवेदनशील र सिर्जनशील बनायो । त्यसैले उनी आज बन्न पुगे विशिष्ट तहका गीतकार, संगीतकार र गायक । यसरी उनले आफ्नै रहरले, आफ्नै खुसीका लागि गीत लेखे, संगीत भरे । गाउँदै नेपाली संगीतको ढुकुटीमा सिर्जनाको अन्न भर्ने काम गरे । जुन गीत सुनेर कति श्रोता मुग्ध भए, कति पुलकित बने, कति भक्कानिए, कति एकोहोरिए र कति पागलप्रेमी बने । यसरी असंख्य हृदयका किनारमा उभिए बच्चुकैलाश । तर यी सहस्र श्रोता र शुभेच्छुकबाट थुप्रिएका श्रद्धाका फूल, सम्मानका दोसल्ला भिराउन खोज्दा उनले चित्त दुखाउन मिल्ला ?

“मेरोबारे जे लेख्ने, जे छाप्ने हो– मेरो मृत्युपछि मात्रै गर्नू,” बच्चुकैलाश सबैलाई यसै भन्ने गर्थे । यो दुई दिनको चोलामा को अघि, को पछि ख्याल नराखी उनी भनिरहेका हुन्थे, “मैले कसैलाई सुनाउनु छैन, आफ्नो समयको कुरा !”

आत्मप्रचार, सम्मान, प्रशस्ति र अभिनन्दनभन्दा आफूलाई एकदमै टाढा राख्ने ऐकान्तिक, गम्भीर र अन्तर्मुखी स्वभाव छ बच्चुकैलाशसँग । ठूला मञ्चका गद्दामा गएर बस्ने चाह छैन उनीसँग । तर यसरी दोहोरो संवाद नहुँदा, एकाकीपन मात्रै निम्त्याइरहँदा बढ्ने सतही हल्लाको हिसाब कसले लगाउने ? यथार्थलाई हल्लाले छोप्दाको अवस्था कस्तो हुन्छ ? व्यक्तिपछाडि औँला ठड्याउने किंवदन्तीले एउटा असली अनुहारलाई अर्कै पोट्रेट प्रस्तुत गर्न सक्छ ।

उनी हरेक सोमबार पशुपतिनाथ पुग्छन् । सकेसम्म त्यहाँका बाँदरलाई केरा, फलफूल खुवाउँछन् र रमाएर हेरिरहन्छन् । मानौँ, पशुपतिनाथ भनेफछि हुरक्कै भएर आस्था र श्रद्धा गर्ने विशाल हृदयका सन्तझैँ लाग्छन्, सोझा बच्चुकैलाश ।

रेडियो नेपालको स्थापनाकालदेखि २० को दशकसम्म दर्जनौँ संगीतकर्मी देखा परे । त्यहीँ छिमलका गायक हुन्– बच्चुकैलाश, प्रेमध्वज र नारायणगोपाल । यी तीन नदीझैँ लाग्ने स्वरलहरीले नेपाली संगीतमा स्वर्णकालको कित्ता उभ्याए । तर स्वर, संगीत र शब्द तीनै विधामा समान रुपमा आफ्नो प्रभाव राख्नेमा बच्चुकैलाश, अम्बर गुरुङ र पुष्प नेपाली पर्छन् । बीचको अवधिमा गोपाल योञ्जन पनि यही सूचीमा उभिए । लेकाली र राल्फा पनि त्यही दशकको उपलब्धि हो । यो भण्डार भर्नेमा नाम अनन्त छन् । बाटो खोतल्ने हो भने यहाँ योगदानको पूर्व–पश्चिम राजमार्ग बनिन सक्छ ।

०२३ मा काठमाडौँ आएपछि आफ्ना मनका श्रद्धेय गायक बच्चुकैलाशसँग साक्षात्कार गर्ने मौका पाएँ, हिरण्य भोजपुरेमार्फत । पहिलो भेटमै बच्चुकैलाशको आत्मीयता गड्यो मनको भित्री कुनामा । ०२४ मा लेकालीको स्थापना भयो । वास्तवमा त्योभन्दा अघि नै पुष्प नेपाली र बच्चुकैलाशको सिकोमा भोजपुरे र मेरो गायन जोडी बाँधिएको थियो ।

गम्भीर र समयको अर्थ दिने गीतका यान हुन्, बच्चुकैलाश आफू पनि । उनका लागि हिरादेवी वाइबा र गौरी केसी मन पर्ने गायिका र प्रिय संगीतकार नातिकाजी हुन् । उनको मित्रमण्डलीको घेरा सीमित छ । तैपनि कलेज पढ्दाका साथी वासु शशी, सन्तबहादुर राई, जगतमर्दन थापा र अन्यमा तारानाथ शर्मा, योगेश वैद्य र रुवी जोशीलाई बिर्सन सक्दैनन् । पुष्प नेपालीसँगको सम्बन्ध भने उदाहरणीय नै छ । ०१८/१९ देखि संगत भएको, पुष्प नेपाली रहुन्जेल दिनमा एक पटक नभेटी नहुने अवस्था थियो । दुवैबीच तँ–तँ र म–म हुने, जबकि बच्चुकैलाशले म र भोजपुरे लेकालीहरु भाइबहिनी उमेरका भए पनि तिमी भनेर सम्बोधन गरेनन् । सधैँ आदर भावमा ‘तपाईं’ नै सम्बोधन गरे।

बच्चुकैलाशको पुष्प नेपालीसँगको आत्मीय मित्रताको गहिराइ अर्कै थियो । तर जब पुष्प नेपाली ०५८ कात्तिक २७ मा गए, तब उनको दुःख बाँड्ने, मनको पीडा बुझ्ने एउटा हितैषी भनौँ घरपरिवार स्तरको साथी पनि गयो । त्यसपछि उनी एक्लै परे । तर यी दुवै जोडीको मित्रताका अमर युगल आवाज ‘तितरी पंखी बादलुमाथि सुनौलो साँझमा’, ‘सम्झनाको धारले कल्पनाको छातीमा’, ‘लर्के जोवन गएन, माया नलाई भएन’ जस्ता थुप्रै गीत अझै पनि रेडियो र एफएममा साक्षीका रुपमा घन्किरहेका छन् ।

परिस्थितिसँग सम्झौता गर्दा कहिले आफूले नसोचेको र नचाहेको कर्म पनि गर्नुपर्छ । त्यस्तै भयो, बच्चुकैलाशको जीवनमा पनि । यो उनको इच्छा र चाहना पटक्कै थिएन । अरुको मन दुखाउन नचाहने, लोकले के भन्ला भनेर सधैँ अवगाल र विवादबाट टाढा रहन रुचाउने स्वभावका बच्चुकैलाश नसोचेको कुरा सोच्न बाध्य भए । उनले निर्णय गर्नैपर्ने अवस्था आइलाग्यो । भनौँ, वंश परम्पराको निरन्तरतालाई स्वीकारे र दोस्रो बिहे गरे । अहिले दुई श्रीमती, एक छोरा, एक छोरीमाझ रमाएरै बसेका छन् ।

बच्चुकैलाश भावुक र संवेदनशील छन् । पहाड–पर्वत, वन–पाखा चहार्न रुचाउँछन् । पन्छीको चिरबिर आवाजसँगै एकान्तमा हराउँदा खुसी हुन्छन् । पैदल यात्रा गर्न रुचाउने उनको गज्जबैको सोख छ । उपत्यका घेरेर उभिएका चन्द्रागिरि, फूलचोकी, नागार्जुन, बूढानीलकण्ठ र नगरकोटको थाप्लो धेरै पटक टेकिसकेका छन् । पूर्व–पश्चिमका कुना–कन्दरामा पुगेका छन् ।

एक पटक वनभोज खाँदै सूर्योदय हेर्न बिहान ४.३० बजे नगरकोट शिखरमा पुगेका थियौँ । बच्चुकैलाश, शान्ति शाह बस्नेत (श्रीमती बच्चुकैलाश), हामी लेकाली टोली थियौँ । लामो यात्रा गरेर काठमाडौँ सहरबाट हतारहतार नगरकोट पुग्दा कुहिरो डम्म लागेर केही देखिएन । अलिक तल नागीचौरमा दिनभरि सिरेटोसँगै वनभोज खाएर गोधूलिको सूर्यास्त हेरेर फर्कियौँ । फर्किंदा साँझ परिसकेको थियो । पहाडको तल फेदीमा आइपुग्दा सात–आठ जना केटाले बाटो छेके र भन्न थाले, “हामी आर्मीका सेकेन्ड लप्टन हौँ, माथि क्याम्पमा पुर्‍याइदिनुपर्‍यो ।”

फसाद आइलाग्यो । ढिलो भएर काठमाडौँ फर्कन हतार भएका बेला के गर्ने–के नगर्ने ? धन्य त्यही बेला तलतिरबाट एउटा मिनीबस आयो । ती केटा त्यतैतिर दौडिए । हामीले राहतको श्वास फेर्‍यौँ । वास्तवमा ती तालिमे केटाहरुको मुखबाट सोमरसको हरक पनि आइरहेको थियो । त्यो समय फर्केर माथि जाने अवस्था पनि थिएन । नत्र ती केटाले पक्कै जबर्जस्ती गर्ने थिए । तिनीहरुमध्ये मैले परैबाट देखेर चिनेँ, कमलपोखरीका टोले दादालाई ।

बच्चुकैलाश सही अर्थमा लेकालीका संरक्षक हुन् । यही नाताले हाम्रो सम्बन्ध र भेटघाट बाक्लिँदै गयो । कहिले नगरकोट, कहिले टोखा, कहिले दक्षिणकाली, कहिले सूर्यविनायकको वनभोज त कहिले घरायसी सांगीतिक रमझम ।

♦♦♦

प्रसंग ०२५ तिरको हो–

मेरो हृदयमा हामी लेकाली टोखा पुगेको त्यो दिन झलझल्ती छ । त्यहाँ क्षयरोग निवारण अस्पताल छ, जहाँ त्यसबेलाका प्रख्यात डा लक्ष्मीनारायण दासको निम्तोमा हामी लेकाली सांगीतिक कार्यक्रमका लागि पुगेका थियौँ । जाडो समय थियो । घाम तापेर हामी चौरमा बसेका थियौँ ।  सुनसान लाग्ने त्यो ठाउँ, उपत्यकाभरि छरिएको काठमाडौँ, पाटन, भक्तपुर प्रस्ट देखिने ।

मेरी फुपूकी छोरी सीता राई पनि त्यहीँ उपचार गराउँदै थिइन् । कताकताबाट झल्याँस्स बच्चुकैलाशलाई सम्झिएँ । केही वर्षअघि उपचारका लागि बच्चुकैलाश पनि यही अस्पतालमा बसेका थिए ।

गीतकै प्रसंग उठ्दा एक दिन उनले भनेका थिए, “जब म उपचारका लागि टोखा अस्पतालमा थिएँ, मेरो स्वभाव र विभिन्न कारणले एक्लै हुन मन पराउँथेँ । प्रत्येक दिन जब कोठाबाहिर निस्कन्थेँ, अलि परको ठूलो ढुंगामा आएर सानो चरा बस्थ्यो र चिरबिर–चिरबिर गर्दै कराउँथ्यो । एकैछिन बसेर भुर्र उडेर कतै हराउँथ्यो । एकछिनपछि फेरि आउँथ्यो । जब कुनै दिन त्यो चरालाई देख्दिनथेँ, मलाई छटपटी हुन्थ्यो । भनौँ कि त्यो चरा मेरो एकान्तबासको हितैषी साथी थियो र त्यो चरालाई सम्झेर यसरी गीत लेखेँ–

चरीले बोल्यो के बोल्यो बुझ्ने को र ?

भुरुरु उडी गइहाल्छ कतैतिर

बच्चुकैलाश गीत र संगीतमा चुर्लुम्मिएर गाउँथे । आफ्नो स्वर संगीतजस्तै पृथक शैलीमा गाउँथे । ०२७ तिर मैले रंगमञ्चमा पहिलो र अन्तिम पटक रुपरेखाले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा उनले गाएको सुनेको थिएँ । त्यसपछि उनको सार्वजनिक जीवन कहिल्यै देखिएन । घरभित्रका कोठे भेटघाटमा भने ०४० सम्म गाएको सुनेको हुँ मैले । तर लेकालीका कार्यक्रममा जहाँ, जतिबेला बोलाए पनि सधैँ आउँथे ।

०५८ मा ‘आरोहण’ को आयोजनामा मेरो एकल साँझ ‘अन्तराल’ रसियन कल्चर सेन्टरमा भएको थियो । नाट्यकर्मी सुनील पोखरेल, फोटोकवि कुमार आले, संगीतकार आभास र मेरा अनन्य मिक्र गीतकार कवि मञ्जुलको सत्रियतामा कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा मलाई अभिभावकका रुपमा हौसला प्रदान गर्न बच्चुकैलाश आएका थिए ।

कार्यक्रम सकिएपछि आजको पुस्ताले पहिलोपल्ट बच्चुकैलाशलाई यस्तो सांगीतिक कार्यक्रममा फेला पार्नु एउटा अवसर नै थियो । पत्रकारले घेरिहाले र कार्यक्रमबारे भटाभट प्रतिक्रिया माग्न थालिहाले । उनी उम्कन सकेनन् र यति बोले, “गणेश रसिक नेपालीपन र नेपाली भावनाका गायक, संगीतकार र गीतकार हुन् ।” जबकि अरु कहीँ–कतै यसरी सार्वजनिक बोलेको मलाई सम्झना छैन ।

कार्यक्रममा अचम्मैको संयोग जुर्‍यो । बच्चुकैलाशले आफू कलेज पढ्दाका साथी मेरा भिनाजु सन्तबहादुर राई (लोकसेवा आयोगका पूर्वअध्यक्ष) सँग तीसौँ वर्षपछि भेट्दाको खुसीले तिमी–तिमी भन्दै अँगालो हाल्दा चकित परेँ । तारानाथ शर्मा, पुष्प नेपाली, किरण खरेल, रत्नशमशेर, राजेन्द्र थापालगायत पुराना–नयाँ थुप्रै संगीतकर्मीको उपस्थिति थियो । मञ्जुल र अझि सुवेदीले कार्यक्रममा बोलेका थिए ।

‘अन्तराल’ मा साधना कला केन्द्रका मिलन मोक्तान पनि पहिलोचोटि यस प्रकारको सांगीतिक कार्यक्रममा बच्चुकैलाशलाई देख्दा अचम्मित र खुसी थिए । उनको मनमा एउटा विचार आएछ– त्यस वर्षको ‘संगीत सम्मान’ वरिष्ठ र अग्रज बच्चुकैलाशलाई प्रदान गर्न पाए हुन्थ्यो । त्यसो गर्दा कला केन्द्र र आफूलाई पनि जस पाइने । र, उनले छनोट समितिमा थपक्क मलाई राखिहाले । उनको सोचाइ रहेछ– मैले भनेपछि बच्चुकैलाशले नाइँनास्ति गर्दैनन् । तर ऊनको बानीबेहोरा मिलन मोक्तानलाई थाहै थिएन ।

समितिको बैठक बस्यो । मिलन मोक्तानबाट ‘बच्चुकैलाशलाई सम्मान गर्ने’ प्रस्ताव आयो । मैले भने, “यो उहाँले स्वीकार्नुहुन्न ।” तर जबर्जस्ती गर्न थाले मिलन मोक्तानले । अरु सदस्य पनि धुर पसे । मेरो केही लागेन । हार खाएर यत्ति भनेँ, “तपाईंहरु आफैँले यो प्रस्ताव राख्ने, उहाँको निवाससम्म पुर्‍याउने कामचाहिँ म गर्छु ।”

तोकिएको समय बच्चुकैलाशको घर पुग्यौँ । बच्चुकैलाशबारे सुनेभन्दा एकदमै शालीन व्यवहारको परिचय पाएर मिलन मोक्तान दंग थिए । बिहानको समय, बाहिर बेतका आराम कुर्सीमा हामी सबै जना बस्यौँ । मिलन मोक्तानले कला केन्द्रले हालसम्म भए–गरेका कामको बखान गर्दै आफू आउनुको प्रसंग जोडे, “यस वर्षको साधना संगीत सम्मान हजुरलाई प्रदान गर्ने निर्णय गरेका छौँ, स्वीकृतिका लागि आएका हौँ ।”

बच्चुकैलाश आफ्नै पाराले मिलन मोक्तानलाई घुर्न थाले । र, शान्त स्वभावले जवाफ दिए, “घरमा आउनुभयो, म खुसी नै छु । सम्मानका लागि सम्झनुभयो, धन्यवाद छ । तर यो सम्मान, पुरस्कार, दोसल्ला सँग मेरो त्यति रचि छैन । तपाईंको सम्मान पाएर म पटक्कै खुसी हुन्न बरु दुख्छु । जो यो सम्मान पाएर खुसी हुन्छन्, उहाँहरुलाई दिनुस् । विभिन्न संघसंस्थाले र सरकारले समेत बेवास्ता गर्‍यो, हाम्रो मूल्यांकन गरेन भन्ने धेरै स्रष्टा छन् । उहाँहरुलाई दिँदा म खुसी हुन्छु । तर मलाई दिए दुःखी हुन्छु ।”

मिलन यस्तो सोच्दै नसोचेको कुरा सुन्दा अक्क न बक्क भए । उनको आशाको दियो झ्याप्पै निभ्यो । मायालाग्दो अनुहार लिएर हामी फर्क्यौं । त्यही सम्मान मलाई दिएन भनेर मिलन मोक्तानको छारो उडाउने र अफिसमा धाउनेको ताँती पनि कम थिएन । यस्ता स्वाभिमानी स्रष्टा हुन्, बच्चुकैलाश ।

अक्सर आफ्नै गीतसंगीत गाउने बच्चुकैलाशले, मबीबी शाह, हेम हमाल, धर्मराज थापा, प्रदीप रिमाल, सुरेन्द्रबहादुर शाह, लक्ष्मण लोहनी, श्रीधर खनाल, शान्ति शाह, क्षेत्रप्रताप अधिकारी आदिका गीत र नातिकाजी, पुष्प नेपाली र भूपेन्द्र रायमाझीसम्मका संगीतमा समेत गाएका छन् । तर बच्चुकैलाशका धेरै गीत रेकर्डमा छैनन् । औँला भाँचेर हेर्दा पुग–नपुग तीन बीसजति पुग्दा रहेछन् । मैले कोठे गुञ्जनमा सुनेका कतिपय गीत अझै सार्वजनिक भएका छैनन् ।

“ती गीत के अब बाहिर आउँदैनन् ?”

मैले एक सुन्दर बिहानीमा बच्चुकैलाशलाई सोधेँ । यसमा उनको जवाफ थियो, “अब त नयाँ पुस्ताले यसलाई अघि बढाउनुपर्छ । हामीले आफ्नो समयमा गर्‍यौँ । त्यो त्यस समयमा ठीकै थियो ।” मैले रेडियो नेपालमा नसुनेका तर अलइन्डिया रेडियो दिल्लीबाट पटकपटक बज्ने गरेको एउटा गीतको प्रसंग कोट्याएँ–

बारीभरि कति राम्रो तोरी फुलेको

तोरी फुलेको होइन माया झुलेको

यस्ता बिर्सिसकेका पुराना गीत सम्झाउँदा उनको अनुहारमा पुराना हितैषी मित्रसँग भेट्दाजस्तो खुसीको आभास देखेँ । मैले यही मौकामा उनको गीत गाउन मुखै फोरेर मागेँ, जुन गीत हामी लेकालीलाई पटक–पटक जय नेपाल हलपछाडिको उनको घरमा हारमोनियम बजाएर सुनाएका थिए, ‘उडी जा मन, उडी जा’ । ‘खै धेरै भो रसिकजी, गीतको शब्दै बिर्सिसकेँ । गाउनै छाडिसकियो अब त’ भनेर मज्जैले टारिदिए । मलाई फेरि दोहोर्‍याएर गीत माग्ने आँटै आएन ।

बच्चुकैलाशको भनाइ संगीतप्रतिको मोहभंग र वितृष्णा हुँदै होइन । बरु आजको संगीतमा देखापरेको प्रवृत्तिगत मूल्यांकन हो । कुनै समय लोकप्रियताका ‘कैलाश’ थिए बच्चुकैलाश । समयको अन्तरालमा धेरै बाढीपहिरो र खहरे पस्यो । ढुंगामुढा ओइरियो र त्यो भेलमा झ्यासझुस पातपतिंगर थुप्रिए । तर बच्चुकैलाशको उचाइ सधैँ उस्तै रह्यो । प्रतीकात्मक अर्थमा आधुनिक संगीतका ‘कैलाश’ हुन् बच्चुकैलाश । ‘मुस्कुराउने चन्द्र बन न’ भनेर सौन्दर्यको पारख सुनाउने उनी आफैँ पनि दन्तेमोहनीका गायक र यस्ता ‘कैलाश’ हुन्, जो परबाट हेर्दा चम्किलो, आनन्दलाग्दो र सौन्दर्यले भरिएको देखिन्छ । तर त्यो पर्वत चढ्न भने धेरै मुस्किल हुन्छ । सुन्दा सजिलो र हृदयस्पर्शी छन् गीत तर गाउन परे कैलाश शिखर चढ्नजत्तिकै गाह्रो छ– उनको संगीत ।

गद्य गीतकार भनेझैँ ‘गद्य संगीतकार’ पनि हुन्, बच्चुकैलाश । गीत–गद्यका हरफ हुन् उनी । उनले जब संगीतमा ढालेर गाउँछन्, तब गद्यजस्ता लाग्दैनन् ।

अवश्य आउँछु– कुरेर बस त्यो डाँडापारि

गीत गाउँछु

♦♦♦

आफ्नो समय प्रखर बौद्धिक र प्राज्ञिक गायक थिए, बच्चुकैलाश । धेरै विषयमा ज्ञान थियो उनलाई । तर हिजोआज चर्चा पाएका तीन शब्द– राजनीतिमा कालरात्रि, साहित्यमा कालखण्ड र संगीतमा कालजयी । अरुतिर नजाऔँ, संगीतका ‘कालजयी’ के होला  ? मेरा भावनाका गुरु बच्चुकैलाशलाई अर्को बिहानीमा सोधेँ । उनले जवाफ दिए– ‘कालजयी’ भन्ने केही छैन । हामीले गाएको गीतको आयु कति वर्ष हो ? एक सय, दुई सय वा पाँच सय ? हामी बाँचेको पृथ्वीको आयु छ, सारा संसारको आयु छ भने संगीतमा केको कालजयी ?

उनको आफ्नो सिर्जनामाथिको आफ्नै यस्तो मूल्यांकनलाई खोइ के भन्ने ? के यो दार्शनिक चिन्तन वा निराशावादी तर्कना हो ? के यही कालजयी हुन नसक्नुको प्रतीक हो त, ‘टाढा टाढा जानु छ साथी एकफेर हाँसिदेऊ’ भनेर गाएको गीत ?

उनले जे भनून्, जे सोचून्, त्यसको अर्थ म राख्दिनँ । मेरो व्यक्तिगत बुझाइमा बच्चुकैलाश एक अद्वितीय स्रष्टा हुन्, जसले अत्यन्तै छोटो समयको योगदानमा नेपाली संगीतमा एउटा छुट्टै धार र शैलीको इतिहास रचे । दुःखको कुरा, त्यसलाई पछ्याउने पछिल्लो पुस्तामा कोही आएन । तर पनि जसले उनको स्वर, संगीत र शब्द सुन्छन्, ती लठ्ठिन्छन् । मन्त्रमुग्ध हुन्छन् आज पनि । र, नेपाली संगीतको इतिहासमा पहिलोपल्ट ‘लङ् प्ले’ याने आठ गीत भएको डिस्क रेकर्ड निकाल्ने पहिलो स्रष्टा बच्चुकैलाश नै हुन् । जुन ०२४/२५ तिर प्रकाशित भएको थियो र जसको शीर्षक ‘बिर्सेका भए बितेका कुरा’ थियो । यसमा समावेश थिए, जम्मा आठ गीत । मबीबी शाहको एउटा गीत रचनाबाहेक सबै गीतका गीतकार, संगीतकार र गायक स्वयं बच्चुकैलाश थिए ।

बिर्सेका भए बितेका कुरा पापीको मनले

सम्झायो होला पुरानो माया त्यो चिसो हावाले

यस्ता अमर सिर्जनाका स्रष्टा बच्चुकैलाश

हिजोआज भाटभटेनी छेउमा बस्छन् । एक बिहान उनको घर गएको थिएँ । साथमा थिए दुई मित्र– आभास र कुमार आले । घर वरपर बच्चुकैलाशले फूलबारी स्याहारेका छन्, उनको सौन्दर्यको पारख हो यो । त्यो बगैँचामा एउटा क्याक्टस फुलेको छ । त्यो देखाउँदै उनले भने, “वर्षौं स्याहार गरेपछि, महिनौँ दिन कोपिलामै अडिएर यो क्याक्टस फुलेको छ । तर जम्मा एक दिनको आयु लिएर । हेर्नुस् न, हिजो फुलेको थियो, आज ओइलाइसक्यो । यस्तो पनि जिन्दगी । विचित्र छ, प्रकृतिको लीला ।”

मनमनै सोच्छु– के हाम्रो जीवन यो क्याक्टस हो ? कि यो क्याक्टस बच्चुकैलाशको जीवन हो ? सहस्र श्रोताका हृदयमा गडेका बच्चुकैलाशको स्वरलहरी पनि के यही क्याक्टस हो ? के छ कालजयी ? को छ कालजयी ? मेरा मनमा जिज्ञासा एक होइन, अनन्त आइरहे । पानी फोकाझैँ ती आउँदै–बिलाउँदै गए ।

चाँदनी शाहको शब्द, नातिकाजीको संगीत र तारादेवीले गाएको गीत ‘उकाली ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा...’ लाई एक टीभीले विज्ञापनमा राखेर मोटरसाइकललाई पहाड, हिमाल, कन्दरा र दुर्गम ठाउँमा कुदाइरहेको रहेछ । त्यो देखेर उनले एक दिन मलाई बिहानै फोन गरे, “यो के भएको हो रसिक भाइ ?”

त्यो विज्ञापनबारे म पूरै अनभिज्ञ थिएँ । उनले बिझाउने पाराले संवेदनशील रुपमा थपे, “के कुनै गीतकार, संगीतकार वा गायक स्वर्गे हुनासाथ उसका अमर सिर्जना यसरी बेवारिसे हुने ? ज–जसले जहाँ पायो, जेमा पायो, सस्तो व्यापारिक प्रयोजनका लागि दुरुपयोग गर्न पाउने ? यो हक कसले दियो ? प्रज्ञा–प्रतिष्ठानले के सोचेको छ यसबारे ?”

बच्चुकैलाशजस्तो राष्ट्रिय व्यक्तित्वबाट यस्तो प्रश्न उठ्नु एकदमै न्यायसंगत थियो । तर मेरो दिमागमा भने पुराना कुरा बल्झिए । कुनै बेला सारा पृथ्वी सृष्टिको आयुसँग आफ्ना गीत–संगीतको आयुको तुलना गर्ने यी स्रष्टा आज कसरी फरक्कै फेरि संगीततिर मोडिए । यो प्रश्नको उत्तर मैले तत्कालै पाएँ ।

वास्तवमा बच्चुकैलाश सरस्वतीका वरदपुत्र हुन् । उनको मनमस्तिष्क र नसानसामा संगीत छ । उनको दैनिक र मुटुको धड्कनमा पनि संगीतको ताल थियो । चाहे एकान्तबास रहून्, संसारको लप्पनछप्पनभन्दा टाढा रहून् तर उनी संगीतसँगै जोडिएका छन् । र, संगीत उनको जीवन र आत्मा दुवै हो । आफू उभिएको धर्ती हो ।

यस्ता बौद्धिक, चेतनशील संगीत–स्रष्टा बच्चुकैलाश ०७६ साउन १५ गते ८२ वर्ष पुगे । आराध्य देव पशुपतिनाथसँग प्रार्थना गर्दछु– बच्चुकैलाशको सयौँ जन्मोत्सव मनाउन पाऊँ ।

सांग्रिला बुक्सको प्रकाशोन्मुख पुस्तक छपक्कै मनमा बसेकाहरूबाट

स्केच  : राजन काफ्ले

प्रकाशित: भाद्र १२, २०७६

ट्याग: संस्मरण