श्रापको ध्वाँस

- विप्लव भट्टराई

मंसिर ०७५ मा पश्चिम बंगालको राजधानी कोलकाता घुम्ने लक्ष्य थियो, कालीमन्दिर दर्शन । हिन्दु धर्मावलम्बीले श्रद्धासाथ पुज्ने मन्दिर पुग्दा भने त्यहाँको वातावरणले मन अमिलो भयो । किनभने मन्दिर दर्शन गर्न बाहिरबाटै सेटिङ मिलाउनेेहरुले डोर्‍याएरै भित्र पुर्‍याउने अनि दर्शनको नाममा नानाभाँती भन्दै रकम असुल्दा रहेछन् ।

पाँचथरका पत्रकार गिरिराज बाँस्कोटासँगै हामी मन्दिर दर्शनका क्रममा केही रकम जबर्जस्ती बुझाउन बाध्य भयौँ । तर कालिको मूर्तिलाई साक्षी राखेर श्राप पाइने र जीवनमा धोका हुने बताएर ५ सयदेखि २ हजार भारु असुल्ने उनीहरुको नियत थाहा पाएपछि अचम्मित भयौँ । बेलुकी साल्टलेक स्टेडियम बसाइका क्रममा अरु साथीहरुले पनि ठगीका घटना सुनाए ।

जुनसुकै समय भीडभाड हुने हुग्ली नदी तीरको कालिमन्दिरको व्यथा त्यहाँ पुग्ने सबैको उस्तै हुँदो रहेछ । 'भित्र भीआईपी दर्शन चलिरहेको छ । छिटो दर्शनका लागि थोरै खर्च गरे पुग्छ' भन्दै आसेपासेले लाइन मिलाएपछि टाढाबाट आएका तीर्थालु फन्दामा पर्दा रहेछन् ।

भीख माग्ने पेसा

दुई साताअघि बिहारको तीर्थस्थल गया पुग्दा उस्तै प्रवृत्ति देखियो । पितृ उद्धारका लागि भन्दै बर्सेनि हजारौँ नेपाली पुग्ने लक्ष्मीनारायण मन्दिर परिसर नपुग्दै उही हर्कत देखियो । मूर्ति दर्शन तीर्थालुको इच्छाको विषय भए पनि त्यहाँका पण्डाले जबर्जस्ती पैसा चढाउन लगाउँदा रहेछन् । नजिकैको अर्को मन्दिरमा त बच्चादेखि तन्नेरी अनि पाकासम्म सबै भिखारी । पाखुरा बजाएर कचौरी ठटाउँदै पैसा मागेको देख्दा लाग्यो, 'काशीका कावा' भन्ने ठीकै रहेछ। यद्यपि यो काशी भने थिएन ।

हामी गयाकै अर्को धार्मिक स्थल बोधगयातर्फ हान्नियौँ । बुद्धले ज्ञान प्राप्त गरेको बोधी वृक्षसहित अशोक स्तम्भ, विभिन्न देशले बनाएका भव्य बौद्ध मूर्ति र विहारले सजिएको यो स्थानमा पनि आगन्तुकलाई फोटो बेच्नेदेखि गाइडसम्मले सताउँदा रहेछन् ।

फोटो किन्न ३ दर्जनजतिले एक नेपाली महिलालाई घेर्दा उनी झन्डै बेहोस देखिइन् । ती महिलाले प्रतिवादस्वरुप भनिन्, "मैले लैजाने एउटा फोटो हो तर किन यति धेरैले घेरेको ?"

ठगीका शृंखला

बोधगयामा ठगका अनेक फन्डा रहेछन् । केही वर्षअघि दिल्लीबाट फर्किने क्रममा हाम्रो रुट पटना, सहर्सा, पूणिर्या हुँदै विराटनगर छिर्ने थियो । पूणिर्यामा रेलबाट उत्रिएर जोगबनीको बस चढ्न हतार भएका बेला हामीमाथि गज्जब नाटक रचियो । पैदल हिँडिरहेका बेला बीच बजारमा एक व्यक्ति औँठी चोरेर भागिरहेका थिए । करिब ५० मिटरपछि दौडिँदै आएका अर्का व्यक्तिले भने, "मेरो हातको औँठी चोरेर त्यो मान्छे भागिरहेको छ, समाउन सघाउनुपर्‍यो ।"

हामी छक्क पर्‍यौँ । उनी प्रस्ट नेपाली भाषा बोल्थे । केही बेरमै अर्का व्यक्तिले हामीलाई  भने, "मसँग १ तोलाको सुनको औँठी छ, किन्ने हो ?" हामीले लख काट्यौँ, पक्कै पनि यो व्यक्ति चोर हो । सुरुमा १० हजार भारु भनेको औँठी मूल्य घट्दै ५ सयमा दिन सहमत भयो । पुलिस स्टेसन पुगेर सामग्री किन्छौँ भनेपछि मात्र ऊ साइड लाग्यो । सुन चोर्ने, खेद्ने र पछि हामीलाई बिक्री गर्ने एउटै समूह भएको लख काट्न कठिन भएन । त्यही दिन बिहान सहर्सास्थित घुरन मास्टरको घरमा बास बसेर रेलवे स्टेसन जाने क्रममा रिक्सामै छुटेको ब्याग स्टेसनसम्मै आएर दिने रिक्सावालाको गुन पनि हामीसँग ताजै थियो ।

बनारस पनि उस्तै

बनारसस्थित रेलवे स्टेसनबाट निस्कनेबित्तिकै अटोमा चढ्न र होटल पुर्‍याउने भन्दै आएको ताँतीले अनिँदो ज्यानमा अझ आलस्य थप्यो । बनारसको उदेकलाग्दो ट्राफिक झन्झट अनि गल्ली । रामनगरस्थित म्युजियम घुमघामपछि काशी हिन्दु विश्वविद्यालय र त्यसकै परिसरमा रहेको विश्वनाथ मन्दिर दर्शन गर्ने योजना बुनेका थियौँ ।

रामनगरबाट गंगा तर्दै त्यता जाने क्रममा अटोवालाको अर्को दादागिरी सहनुपर्‍यो । ड्राइभरको गल्तीले बाटो भुलिए पनि थप रकमको माग गरेकाले हामी सँगै रहेका बनारसकै वासिन्दा सुरेन्द्र त्रिपाठी जंगिए, "टाढा-टाढाबाट आएकालाई सानोतिनो कुरामा झमेला दिने गरेकाले पवित्र काशीलाई बदनाम बनाउँदै छौ ।"

बनारस क्षेत्रका मठमन्दिर दर्शन गरे मोक्ष पाइने विश्वासमा बर्सेनि हजारौँ नेपाली त्यहाँ पुग्ने गर्छन् । गंगा किनारको रमाइलो साट्न भन्दै त्यहाँ पुगेका हामीलाई डुंगावालाको बार्गेनिङले हतोत्साही बनायो । आधा घन्टा घुमेको २ हजार ८ सय भारु मागियो । तर बेलुकीको गंगा आरती हेर्ने क्रममा डुंगा चढेर जाँदा भारु १२ सय मात्र तिर्‍यौँ ।

 

प्रकाशित: भाद्र ३१, २०७६

ट्याग: नोटबुक
×