‘मलाई एक बाकस आँखा ल्याइदिन नबिर्सिनु है'
ताप्लेजुङको दुर्गम हिमाली भेगमा जन्मेका सन्दुक रुइतले संघर्षैसंघर्षले खारिएको आफ्नो चिकित्सा करिअरमा १ लाख २० हजारभन्दा बढी दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गरिसकेका छन् ।

ताप्लेजुङको दुर्गम हिमाली भेगमा जन्मेका सन्दुक रुइतले संघर्षैसंघर्षले खारिएको आफ्नो चिकित्सा करिअरमा १ लाख २० हजारभन्दा बढी दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गरिसकेका छन् । विपन्न जनताप्रति समर्पित सेवाका लागि म्यागसेसे पुरस्कारलगायत विश्वप्रसिद्ध सम्मान पाइसकेका रुइतले नेपालको चिकित्सकीय संस्थापनसँग जुध्दै खडा गरेको नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा केन्द्र आजपर्यन्त नेपाल र यो क्षेत्रकै विख्यात संस्था/अभियान मानिएका छन् । आफ्नो असाधारण योगदानले अग्लिएका यी विरलाकोटी नेपालीमाथि पत्रकार अली गि्रपरले द बेयरफुट सर्जन नामक जीवनी लेखिन् । खगेन्द्र संग्रौलाले उल्था गरेको यो जीवनी सन्दुक रुइतलाई फाइनपि्रन्टले चाँडै पाठकमाझ ल्याउँदै छ । प्रस्तुत अंश त्यसैको एक भाग हो । -सम्पादक
नेपाल आँखा अस्पतालमा फर्किएपछि सन् १९८८ सम्ममा सन्दुक रुइतले इन्ट्राअकुलर मोतियाबिन्दुको शल्य-चिकित्सालाई कतिसम्म परिमार्जन गरेका थिए भने घाउ एकदमै सानो बनाए पुग्थ्यो । टाँका मार्नु पर्दैनथ्यो । बिरामीका आँखा पनि आफैँ निको हुन्थे ।
आफैँ निको हुने यो शल्यक्रिया पुरानो तरिकाको शल्यक्रियाभन्दा कता हो कता किफायती र सुरक्षित थियो । यसमा शल्यक्रियापछि मोटो चस्मा लगाउनु पर्दैनथ्यो । आँखा अस्पताल र विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा आफैँले सञ्चालन गरेको दुर्गम क्षेत्रको पहिलो शिविरमा रुइतले आफैँ निको हुने शल्यक्रिया बिरामीहरुका लागि साँच्चि नै कति जीवनदायी हुने रहेछ भन्ने कुरा देख्न पाए । शल्यक्रिया भएको केही दिनपछि बिरामीहरु जुरुक्क उठेर उज्यालो संसार हेर्दै आफ्नै सुरले फटाफट घर जान सक्ने भए ।
रुइत यो क्रान्तिकारी विधिलाई अपनाएर काम गर्ने एक मात्र मानिस थिएनन् । तर अनेक दिन लगातार पैदल हिँडेर, घोडा चढेर वा खटखटाउँदै झङ्ल्याङझुङ्लुङ हल्लाउने थोत्रो बस चढेर यो नयाँ विधिलाई अति दुर्गम समुदायहरुकहाँ पुर्याउने ज्यादै ठूलो काम गर्न अरु कोही तत्पर थिएन ।
रुइत मोतियाबिन्दुको आधुनिक शल्यक्रियाको एउटा उत्कृष्ट प्रणाली विकास गर्ने कार्यको सँघारमा पुगेका थिए । यो एउटा त्यस्तो प्रणाली थियो, जसले नेपाल र सारा विकासशील विश्वको आँखा उपचार विधिलाई नै रुपान्तरित गर्न सक्थ्यो । यो काम थाल्न समय परिपक्व भएको थियो ।
तैपनि रुइतले जीवनभरकै भयंकर निराशाको सिकार हुनुपर्यो । वरिष्ठ डाक्टरहरुले यी नयाँ विधि अपनाउन कत्ति पनि चासो देखाएनन् । यो विषयको उठान गर्दा रुइतले प्रत्येक पटक अजंगको विरोध झेल्नुपर्यो । यो कठोर वास्तविकताले के कुराको संकेत गर्यो भने रुइतले अब नेपाल आँखा अस्पतालको पद त्यागेर आफ्नो उदात्त आकांक्षालाई साकार रुप दिन आफ्नै बाटोमा लाग्नुबाहेक अरु उपाय नहुन सक्छ ।
उनी चरम निराशाको भित्तोमा पुगे ।
अन्धोपनसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा काम गर्दाताक रुइतले थुप्रै त्यस्ता नेपालीलाई आफ्नै आँखाले देखेका थिए, जो क्लिनिक वा अस्पतालमा गएर आधुनिक विधिले आँखाको उपचार गराउन नसक्दा दृष्टिविहीन बन्न अभिशप्त थिए । उनी यो दयनीय स्थितिमा सुधार ल्याउने काम थालिहाल्न आतुर थिए । उनले ग्रामीण भेगमा क्लिनिक खडा गर्ने कार्य सुरु गर्न इन्ट्राअकुलर लेन्स र बोकेर हिँड्न मिल्ने माइक्रोस्कोपको बन्दोबस्त मिलाउने अभियानको थालनी गरे । तर उनको बाटोमा नेपालको नोकरशाहीले पाइलैपिच्छे भयानक अवरोध खडा गर्यो । सरकारी अस्पतालको कनिष्ठ डाक्टरको नाताले उनको हातमा न कुनै प्राधिकार थियो, न त शक्ति नै । क्षुद्र टिप्पणी गर्दै उनका सुझावहरुलाई लत्याइयो । उनलाई के कुरा खुलस्त भयो भने आफ्नो सपनालाई साकार रुप दिन उनले सरकारी अस्पताल, त्यसभित्रको जडता र भ्रष्टाचारसँग नाता नतोडी धरै छैन । तर त्यो भयंकर काम थियो । त्यो काम एकदमै जोखिमपूर्ण थियो । त्यसो गर्ने कार्यलाई नेत्र चिकित्सा फाँटका बोसहरु देशद्रोहका दृष्टिले हेर्न सक्थे ।
सबैभन्दा ठूलो अवरोध- एउटा इन्ट्राअकुलर लेन्सलाई करिब दुई सय डलर पथ्र्यो । नेपालको कुनै गाउँलेलाई त्यति कमाउन ६ महिनाजति लाग्थ्यो । नेपालका सम्भ्रान्तहरु त आँखाको सामान्य शल्यक्रिया गराउन विमानमा सवार भई दिल्ली, बैंकक वा युरोप जान सक्थे । तर नेपालका अनुमानित ६० हजार अन्धोपन भएका गरिबका लागि भने यी प्लास्टिकका ससाना टुक्राको मोलले गर्दा आँखाको यो सामान्य शल्यक्रिया पनि आकाशको फल आँखा तरी मर् भनेजस्तै थियो ।
यी लेन्सहरु महँगा त थिए नै, अझ त्यसमाथि यिनलाई पाउन बडो कठिन थियो । रुइतको एक मात्र स्रोत भन्नु नै पश्चिमा मुलुकका मिति गुजि्रएसरहका पुराना ढाँचाका लेन्स थिए । इन्ट्राअकुलर लेन्सहरुका ढाँचा तीव्र गतिमा बदलिँदै थिए । तर विकासशील मुलुकहरुमा भने यी अझै राम्ररी काम लाग्थे । त्यसले गर्दा उत्पादकहरु यी थोत्रा लेन्स विकासशील मुलुकहरुलाई अनुदान दिन सक्थे । रुइतको कडा मिहिनेतले पश्चिमा चिकित्सकहरुकै ध्यानाकर्षण गर्न थाल्यो । ती चिकित्सक रुइतको ध्येयबाट सम्मोहित थिए । उनीहरु उनलाई मद्दत गर्न चाहन्थे । रिचर्ड लिटविनजस्ता अमेरिकी डाक्टर प्रत्येक पटक काठमाडौँ आउन लाग्दा रुइत बिन्ती बिसाउँथे, 'मलाई एक बाकस आँखा ल्याइदिन नबिर्सिनुहोला है ।'
मनमौजी क्यालिफोर्नियावासी लिटविन 'सान्ता क्लज' का रुपमा नामी थिए । हिउँसरी सेता दाह्री भएर मात्र उनी यसरी नामी भएका होइनन् । उनी प्वाँखझैँ हलुंगा लेन्सहरु भरिएका झोला लिएर काठमाडौँ आउन कहिल्यै चुक्दैनथे । उनी विमानस्थलका अधिकारीहरुलाई 'ल है, आफ्ना हजुरआमाहरुलाई फेरि देख्न सघाउनोस्' भनेर ती झोला छुटाउँथे । तर मोतियाबिन्दुको शल्यक्रिया नगराई नहुने हदै दयनीय बिरामीहरुका समस्या हल गर्न यो दीर्घकालीन उपाय किमार्थ थिएन ।
रुइत आफूभन्दा माथिका बोसहरुलाई मोतियाबिन्दुको आधुनिक शल्यक्रिया अपनाउन जति अनुनयविनय गर्थे, त्यसलाई इन्कार गर्नर् उनीहरु त्यति नै जिद्दी गर्थे । रुइतका कतिपय विरोधीहरु त उनीप्रति खुलेआम वैरभाव राख्थे । 'यस्तो सपना देख्न छाड, सन्दुक । यो काम गर्न तिमीसँग न उपकरणहरु छन्, न त लेन्सहरु नै,' तिनीहरु भन्थे, 'यो काम कदापि हुनेवाला छैन । तिमी असम्भव कुरा गरिरहेका छौ । यसलाई यति महँगो पर्छ कि कल्पना गर्नै सकिन्न ।'
हतोत्साहित तुल्याउन तिनले भनिरहे, 'हेर रुइत, एउटा इन्ट्राअकुलर लेन्सलाई दुई सय डलरजति पर्छ । त्यति पैसाले त पुरानो विधिअनुसार बिरामीलाई चस्मा लगाइने खालका ५० वटा शल्यक्रिया गर्न सकिन्छ ।' तिनले मोतियाबिन्दुको आधुनिक तरिकाले शल्यक्रिया गर्न पर्याप्त तालिमप्राप्त शल्य-चिकित्सक छैनन् भन्दै रट लगाइरहे । 'यी लेन्स लगाउने काम बडो जटिल छ,' रुइतका विरोधीहरुले तर्क गरिरहे, 'ल भैगो, एक पटकलाई त तिमी गएर कसैका आँखाको शल्यक्रिया गरौला रे । फेरि कसले त्यो दुर्गम ठाउँमा गएर शल्यक्रिया गर्छ ?'
तिनले नानावली किताबी चालबाजी प्रयोग गर्दै रुइतलाई उल्याए । क्लिनिकल जाँचद्वारा यो विधि प्रमाणित भएको छैन भन्दै तिनले बकवास गरे । यसले रुइतको चित्तमा चोट लगायो ।
'होला, होला, पश्चिममा यो प्रमाणित भएको छैन,' आजित भएर रुइतले भने, 'तिनले गोराहरुमा त यो विधिले काम गर्छ भन्ने प्रमाणित गरेका छन् । तर विकासशील विश्वमा पनि यसले काम गर्छर् भन्नेचाहिँ प्रमाणित गरेका छैनन् ।' रुइतलाई यो पूर्वाग्रहको ताण्डव हो भन्ने थाहा थियो । यसमा उनले गर्न सक्ने के नै थियो र !
रुइत निरीह भए । पछि फर्केर गम्दै उनी भन्छन्, "यो विधिको क्लिनिकल जाँच गरेर देखाइदिएको भए सायद यो पद्धति अलि छिटो स्वीकृत हुँदो हो । तर त्यस बखत यो असम्भव काम थियो । नेपाल आँखा अस्पताल एकदमै थोरै पैसाले चलेको थियो । यो विधिको क्लिनिकल जाँच गर्न थुप्रो समय र पैसा आवश्यक पथ्र्यो । यो जाँचमा विशिष्ट तहका थुप्रै चिकित्सकहरु संलग्न हुनु जरुरी थियो । इन्ट्राअकुलर शल्यक्रियाले विकासशील विश्वमा एकदमै राम्रोसँग काम गर्छ भन्ने कुरा नेत्र चिकित्सा फाँटको हरेकलाई थाहा थियो । यसका लागि खाँचो पर्ने जम्मा कुरा थियो- सफा कोठा, स्टराइल गरिएका उपकरण र काम गर्ने असल टोली ।"
आफ्नो आग्रह अस्वीकार गरिँदा रुइत बिल्कुलै विनम्र मुद्रामा मौन रहे । तर नयाँ विधिबाट उनी पूर्ण रुपले सम्मोहित भएको उनका आलोचकहरुलाई अत्तोपत्तो भएन । उनी पछि र्फकने कुरै थिएन । प्रत्येक पटक इन्ट्राअकुलर शल्यक्रिया गर्दा रुइत यो विधि सारा विकासशील विश्वमा लागू गर्न कसरी डाक्टरहरुको अगुवा जमातलाई प्रशिक्षण दिन सकिएला, लेन्सको मोल कसरी घटाउन सकिएला, बस, जिप र घोडाका पिठ्युँमा लादेर दूरदराजका उपत्यका र दुर्गम पहाडी चुचुरासम्म लैजान मिल्ने बलिया र हल्का माइक्रोस्कोपहरु कसरी प्राप्त गर्न सकिएला भनी गम खाइरहन्थे । नेपालका अन्धोपनबाट सबैभन्दा ग्रस्त ठाउँहरुमा आफ्नो विधि लागू गरेरै छाड्ने विचारको नशाले रुइत त्यसैत्यसै लठ्ठ थिए ।
आफ्ना सहकर्मीहरुका लागि दोस्रो दर्जाको उपचार सह्य भएको र अझ तिनले यसको पक्षमा पैरवीसमेत गरेको देखेर रुइत रुष्ट भए । नेपाल आँखा अस्पताल नयाँ विधिको डरले थुरथुर हुनाले नेपालका लाखौँ मानिस केवल दोस्रो दर्जाको उपचार पाउन वा दृष्टिविहीन रहन अभिशप्त भएको उनले टुलुटुलु हेर्नुपर्ने भयो । उनले शल्यक्रियापछि ढ्याब्रे चस्मा लगाइएका अनेकौँ बिरामी भेटे । वर्षायाममा भिराला बाटाहरुमा पटक पटक चिप्लिँदा तिनका जीउ नीलडाम र घाउहरुले थिलथिलो भएका थिए । लड्दा चस्मा फुटेका थुप्रै बिरामी अर्को चस्मा किन्ने पैसा नभएर अन्धकारका कैदी भएका थिए । अझ हिमाली भेगमा त चस्मा पसल छँदै थिएनन् भने पनि हुन्छ ।
"रुइतका लागि त्यो साह्रै असहज अवस्था थियो," अतीतको स्मरण गर्दै लिटविन भन्छन्, "उनी अस्पतालका हाकिम थिएनन् । उनको हृदय नेपाली जनताका दुःखले टनाटन भरिएको थियो । तर के लाग्छ, सरकार सहयोगका नाममा सिन्को भाँच्न पनि तयार थिएन । उनलाई त्यो बेला पक्का पनि आफ्ना हातखुट्टा बाँधिएजस्तो लाग्यो होला । इन्ट्राअकुलर लेन्स नेपाल आँखा अस्पतालका लागि मात्र खतरा नभई अमेरिकाका नेत्र चिकित्सकहरुको सिंगो पुस्ताका लागि पनि खतरा भएको थियो । यो विधि अपनाउन तिनले मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी पूरै नयाँ तरिका सिक्नुपथ्र्यो । आफूलाई यो नयाँ तरिकामा ढाल्न गाह्रो लागेर थुप्रै शल्य-चिकित्सकहरुले अवकाश लिए । थुप्रै पाका नेत्र चिकित्सकले चर्को विरोध गर्दै नयाँ विधिलाई ठाडै अस्वीकार गरे ।"
नेपाल आँखा अस्पतालका प्रमुख डा रामप्रसाद पोखरेल निकै वर्षसम्म रुइतका प्रतिपक्षी भए । रामप्रसादलाई आफूमा आश्रति एक प्रतिभाशाली तरुण डाक्टर आफ्नो साम्राज्यबाट विद्रोह गरेर अलग भएको पटक्कै मन परेन । "उनले प्वाक्क मुख फोरेर हुन्न त भनेनन् । तर उनको हाउभाउबाट भने विरोध प्रकट भयो । उनको हाउभाउले यसलाई अनुमोदन नगरेको बुझियो," रुइत भन्छन् ।
यस्ता कडा विरोधको सामना गर्नुपर्दाका क्षणहरुमा रुइतका लागि आफ्नो घरायसी जीवन नै सबैभन्दा ठूलो आडभरोसा थियो । गृहिणीको भूमिकामा नन्दाले राम्रो दक्खल प्राप्त गरेकी थिइन् । उनी नेत्र चिकित्सककी कुशल सहायक थिइन् । उनलाई अस्पतालमा खुबै आदर गरिन्थ्यो । त्यसकारण सुरुमा उनले आफ्नो व्यवसाय छाड्न आनाकानी गरिन् । तर जब रुइतको कामको समय बढ्दै गयो र उनको कार्यक्षेत्र झन्झन् स्पष्ट हुँदै गयो, उनीहरु परम्परागत बिहेअनुसारका भूमिकामा बाँधिए । रुइत दानापानी कमाउने भूमिकामा लागे । नन्दाले किनमेल गर्ने, पकाइतुल्याइ गर्ने र रुइत कतै पदयात्रामा जान लाग्दा उनका लुगाफाटा आदि झोलामा हालिदिने काम सम्हालिन् ।
"उनले जीवनमा किनमेल गर्ने झोला कहिल्यै बोकेजस्तो मलाई लाग्दैन," रुइतलाई इंगित गर्दै नन्दा भन्छिन्, "झोला बोक्दा उनका हात बर्बादै पो होलान् कि भनी हामी ठट्टा गथ्र्यौं ।"
"म कति मिहिनेतसाथ काम गर्छु, त्यसको नन्दाले सधैँ नै सराहना गरेको थाहा छ," रुइत भन्छन्, "म अस्पतालमा बिहान सबेरैदेखि बेलुका अबेरसम्म काम गर्थें । नन्दाले यसबारे कहिल्यै गुनासो गरिनन् । उनले मेरो काममा दक्खल दिने वा बाधाविरोध गर्ने काम कहिल्यै गरिनन् । जे हुन्छ, ठीकै हुन्छ भनेर उनी सधैँ निश्चिन्त भइन् । उनी मेरो छेउमा हुनु नै जीवनमा मेरा लागि सबैभन्दा ठूलो उपहार भएको छ ।"
बुद्धमार्गी उपदेशहरुप्रति रुइतको विश्वास पनि उनका लागि साहसको मुहान हुन गएको छ । अनेक बुद्धमार्गी गुरुहरुप्रतिको उनको आदरभाव र तीमध्ये कतिपय गुरुप्रतिको धकको भावना रुइतमा परेको उनका बाको अविचल निष्ठाको प्रभाव थियो । बा सोनामले वालुङको काठे घरमा बिहान भालेको डाकमा गुरु रिम्पोछेको प्रतिमासामु पलेँटी मारेर उनको भक्तिभजन गाएको सम्झना रुइतको चित्तमा एकदमै गडेर बसेको छ । "म बालाई नैतिक मूल्यहरुको प्रतिरुपका रुपमा हेर्थें । सहज चेतनाबाट मलाई के थाहा भयो भने बाको नैतिक दृष्टि बुद्धदर्शनप्रतिको भक्तिभावबाट बनेको थियो । त्यसैले म उनै गुरुहरुतर्फ आकषिर्त हुनु स्वाभाविक थियो," उनी भन्छन् ।
अस्पताल जान बस भाडा तिर्ने औकात नभएका मानिसहरूलाई यो संसार देख्न पाउने हक छैन ? ती हामीकहाँ आउन सक्दैनन् भने हामी नै तिनकहाँ किन नजाने ?
गुम्बा वा मन्दिरमा नगए पनि रुइतका सबै कामकाज बुद्धका उपदेशहरुप्रतिको विश्वासबाट प्रेरित थिए । अनि आपत् आइलाग्दा ती उपदेशले उनलाई साहस र तागत प्रदान गर्थे ।
"कठिनाइ वा चुनौतीको अवस्थामा समस्याहरुले गाँजिरहेको खण्डमा म अक्सर आँखा चिम्लिन्थेँ । र, मेरो अन्तरात्माका आँखासामु झर्झराउँदो प्रकाशपुञ्ज देख्थेँ । त्यो प्रकाशपुञ्ज मैले दर्शन गरेका गुरुहरुबाट आएको हो भन्ने मलाई थाहा थियो," रुइत भन्छन्, "मलाई जम्मा के थाहा छ भने त्यो प्रकाशपुञ्जले मलाई चुनौती र समस्याहरुको सामना गर्ने एकदमै तनावमुक्त भावना प्रदान गर्छ । सधैँ आँखा चिम्लेर त्यो चहकिलो प्रकाशपुञ्ज प्रकट हुन लागेको देख्दा मलाई राहत अनुभव हुन्छ । अनि त्यसपछि मलाई समस्याले पिरोलेजस्तो लाग्दैन ।"
♦♦♦♦
आफ्नो कामविरुद्ध अनेकथरी गुनासाहरुको बढ्दो कोलाहलको सामना गर्नुपर्दा रुइत आफ्नो आस्थाको शरण पर्न बाध्य हुन्थे । सन् १९८९ मा अन्धोपन निवारण अन्तर्राष्ट्रिय संघले काठमाडौँमा सम्मेलन आयोजना गरेपछि स्थितिमा सुधार भयो । सम्मेलनको एजेन्डा 'इन्ट्राअकुलर शल्यक्रियाको क्षेत्रमा भएको पछिल्लो विकासक्रम' बारे छलफल गर्नु थियो । तर सम्मेलनको भित्री आशयचाहिँ यी साहसी तरुण शल्य-चिकित्सकका कामकाजमा दह्रो भरथेग गर्नु थियो ।
रुइत भन्छन्, "हामी दुर्गम भेगमा एकदमै उन्नत तहको शल्यक्रिया गर्दै थियौँ । हाम्रो यो काम देखेर बडेबडे पाँचतारे शल्य-चिकित्सकहरुलाई औडाहा भएको थियो । उनीहरु सोच्थे- हैन, यी घटिया मानिसहरु के गर्न लाग्या हुन् ? हामी जे गर्दै थियौँ, त्यसले थुप्रो मानिसलाई भयभीत तुल्याएको थियो ।
सम्मेलन होटल याक एन्ड यतीको फूलबुट्टे ऐना र एकदम अग्ला सिलिङयुक्त राजधानीको सबैभन्दा भव्य सभाकक्षमा भएको थियो । संसारभरिका २० जना अत्युत्तम नेत्र चिकित्सा विशेषज्ञलाई स्वागत गर्न गमलामा सजाइएका ताडका पात र ध्वजाहरुले विश्राम कक्ष चिटिक्क सिँगारिएको थियो । ती विशेषज्ञमध्ये एक जना भारतको मदुराईस्थित अरबिन्द अस्पतालका सुविख्यात डा गोविन्दप्पा वेङ्कटास्वामी उर्फ डाक्टर भी थिए । रुइतले नेत्र चिकित्साको स्नातकोत्तर तहमा अध्ययन गर्दाताक ती डाक्टरसँग काम गरेका थिए । सन् १९७० को दशकमा गैरमुनाफाकारी संस्थाका रुपमा अरबिन्द अस्पताल स्थापना गर्ने 'डाक्टर भी' परोपकारी शल्य-चिकित्सक र रुइतजस्ता तरुण शल्य-चिकित्सकका लागि प्रेरणास्रोत थिए । बाथको रोग र औँलाको विकारबाट पीडित भए पनि उनले नेत्रज्योति फर्काइदिने हजारौँ शल्यक्रिया गरे । आफ्ना आध्यात्मिक गुरु श्री अरिबिन्दोद्वारा सशक्त तुल्याएइएका 'डाक्टर भी' आफ्नो कामलाई रोजगारी भन्नुको सट्टा पवित्र अभिभारा मान्थे । "उनको नेतृत्व, आध्यात्मिकता र बिरामीहरुप्रतिको प्रतिबद्धता अविस्मरणीय छ," रुइत भन्छन् ।
सम्मेलनमा प्रवेश गर्दा रुइत एकदम अत्ताल्लिए । उनी कुशल सार्वजनिक वक्ता थिएनन् । तर उनले समकक्षीहरुलाई आफ्नो टोलीले दुर्गम भेगका गाउँहरुमा इन्ट्राअकुलर लेन्स प्रत्यारोपण गरी हासिल गरेका उत्कृष्ट नतिजाहरु देखाइदिनु अत्यन्तै जरुरी थियो ।
डाक्टरहरुको एउटा समूहले मोतियाबिन्दुको पुरानो ढाँचाको शल्यक्रियाका स्लाइडहरु देखाउन थाल्यो । फ्रेड हलोज रुइतलाई सहयोग गर्ने मनसुवाले सम्मेलनमा भाग लिन फेरि आएका थिए । सँगसँगै बसेका यी दुई मित्र स्लाइडको बयान सुन्दा रिसले आगो भए ।
"इन्ट्राअकुलर लेन्सबिनै हजारौँ शल्यक्रिया सम्पन्न भइरहेछन् । शल्यक्रियाका यी पुराना विधिहरु प्रयोग गर्दा कसलाई पो गर्वको अनुभव हुँदो हो र ?" रुइत स्लाइडको बयानको स्मरण गर्छन्, "तर हाम्रा बाध्यता छन् । नत्र किन पो मानिसहरुको नेत्रज्योति धमिलो बनाउने विधिको पछाडि लागिँदो हो र ?"
रुइतलाई चिटचिट पसिना आयो । अनि उनको मुटु जोडजोडले ढुकढुक गर्यो । आफ्नो टोलीले एकदमै कठिन परिस्थितिमा आँखाको विश्वस्तरको उपचार उपलब्ध गराउन गरेका अजंगका प्रयासहरुको सम्झनाले उनको छाती ढक्क फुलेको थियो । उनलाई आफ्नो टोली बसको छतमा बसेको याद आयो, गह्रौँ ब्याकप्याक र डोका बोकेर पहाडहरुमा पदयात्रा गरेको याद आयो । औषधोपचारसम्बन्धी उपकरणहरु पोका पारेको याद आयो । उनलाई आफ्ना बा सोनामको याद आयो, जसले उनलाई भनेका थिए, "छोरा, आफ्नो अगाडि सजिलो र अप्ठ्यारो बाटो छ भने सधैँ अप्ठ्यारो बाटो रोज्नू ।"
आफ्नो बोल्ने पालो आएपछि रुइत हातमा टिपोटहरु बोकेर मञ्चतिर गए । उनको हिम्मत चुरचुर भएको थियो । प्रतिनिधिहरुको बीचमा सन्नाटा छायो ।
रुइतले मुन्टो निहुर्याएर टिपोटहरु हेरे । उनले लाटो र बेढंगे पाराले कनिकुथी भाषण गर्दै आफूहरुले ग्रामीण भेगमा सफलतापूर्वक गरेका इन्ट्राअकुलर लेन्सका प्रत्यारोपणहरुका स्लाइड देखाए । हलमा भयंकर सन्नाटा छायो । त्यसपछिको घटना सम्झिँदै रुइत भन्छन्, "हरेकले जुरुक्क उठेर भने, "धत् ! तिमीलाई त्यो गर्न छूट छैन !" त्यहाँ साँच्चि नै खैलाबैला मच्चियो । ती सब रिसले रन्थनिए । तिनले विरोधमा हात उठाए अनि विश्व स्वास्थ्य संगठनका एक जना प्रतिनिधिले तिमीहरुले क्लिनिकल ट्रायल किन नगरेका हौ भनेर सोध्यो ।
एक सफेदपोस डाक्टरको टिप्पणीले रुइतको हृदय चिराचिरा भयो । "ती भलाद्मीले मलाई अब उप्रान्त तिमीले यस्तो वाहियात कुरा नगर्नू भने," रुइत भन्छन्, "उनले अगाडि भने- तिमीले चाहेजस्तो गरी हरेक मानिसलाई मद्दत गर्ने हाम्रो औकातै छैन । तिमीले दुई सय डलरको इन्ट्राअकुलर लेन्स लगाएर अन्धोपन भएको एक व्यक्तिको उपचार गरेछौ । त्यति पैसाले त हामी पुरानो तरिकाले शल्यक्रिया गरी ६०-७० जनालाई पुरानो ढाँचाको चस्मा लगाइदिन सक्छौँ । कुरै गर्नलाई त योभन्दा महफ्वका कतिकति कुरा छन् । त्यसकारण तिमीहरुको समय बर्बाद गर्नुको सट्टा म अब चुप लागेर बस्छु ।"
रुइतले घुँडा टेकेर 'त्वम् शरणम्' हुन इन्कार गरे । उनले सनातन नियमअनुसार चल्दै आएका कच्चा उपचारविधिलाई स्वीकार गर्न इन्कार गरे ।
वर्षौ मरिमेटेर गरेको कामलाई बडो निर्ममतासाथ मैनबत्तीलाई झैँ झ्याप्प निभाइयो । रुइतलाई सारा नेत्र चिकित्सा समुदाय नै आफ्नो विरोधमा खनिएझैँ लाग्यो । आफ्नो कामको वैधतामाथि प्रश्न उठाइँदा उनी रिसले मुर्मुरिए ।
रुइत हडबडाएका भए पनि चुप लागेर बस्न सकेनन् ।
"सुरुमा त मेरो बोली नै खुलेन । तर मैले भन्न खोजेको कुरा जसोतसो गरी भनेरै छाडेँ," उनी भन्छन्, "तिनलाई सोधेँ- तपाईंहरुका छोराछोरी अन्धोपन भएका भए के तपाईंहरु आँखाका लेन्स झिकेपछि हप्ताभरि कत्ति हलचल गर्न नदिई तिनलाई सुताएर अलि दिनमै हराउने वा फुट्ने ढ्याब्रे चस्मा लगाइदिनुहुन्थ्यो होला त ? अस्पतालै पुग्न नसक्नेहरुलाई यो संसार देख्न पाउने हक छैन ? अनि बस भाडा तिर्ने औकात नभएका मानिस वा लेखपढ गर्न नजान्ने र कतै नेत्रज्योति फर्काउने सहयोग पाइन्छ भन्नेसम्म पनि थाहा नपाएका मानिस नि ? तिनको हेरचाह गर्नु पनि हाम्रो कर्तव्य हो । ती हामीकहाँ आउन सक्दैनन् भने हामी नै तिनकहाँ किन नजाने ?"
हलोज आफ्नो हक्कीपनका लागि नामी थिए । रुइतले आफ्नो मनको कुरा प्वाक्क भन्न नसके हलोज आफैँ फटाफट मञ्चमा गएर ती भद्रजनहरुप्रति रुइतका मनमा भएको भावना तिनलाई सुनाइदिन्थे ।
"फ्रेडले फूलबुट्टे भाषामा भनेका कुरा म यहाँ जस्ताको तस्तै भन्न सक्दिनँ । तर पनि उहाँको भनाइ मोटामोटी यस्तो थियो- सम्झिराख, एक न एक दिन विश्व स्वास्थ्य संगठनले यी हास्यास्पद ढ्याब्रे चस्माको सट्टा रुइतले प्रचलनमा ल्याएजस्ता इन्ट्राअकुलर लेन्स सिफारिस गर्नेछ । अनि तिमी ल्वाँठ अमेरिकी साम्राज्यवादीहरुलाई लाज मर्नु हुनेछ," रुइत भन्छन् ।
त्यसपछि हलोज कोठामा भएका अरु प्रतिनिधिहरुतिर फर्किए । चस्मामाथिबाट तिनलाई क्रुद्ध दृष्टिले एक टकले हेरे अनि दोस्रो काँटको तरिका नछाड्न हत्ते हालेकामा तिनलाई गिज्याए । "उनले तिनलाई तिमीहरु स्वाँठ हौ, तिमीहरु उपनिवेशवादी धक्कुबाज नवधनाढ्य हौ । तिमीहरु धनी गोराहरुलाई आँखाको उत्कृष्ट खालको उपचार टक्य्राउँछौ अनि तिनको घरपछाडिका गरिबहरुलाई चाहिँ चुत्थो खालको उपचार दिन्छौ । गरिब र दुर्गम भेगका मानिसहरु आँखाको राम्रो स्याहार नपाई मुख बाएर निसास्सिएका देख्दा
तिमीहरुलाई लाज लाग्नुपर्ने हो भनिदिए," रुइत सम्झिन्छन् ।
ब्रिटेनमा जन्मिएका एम्बुलेन्स ड्राइभर रेक्स सोर रुइतका लिपिकार, अनुवादक, सचिव, इन्जिनियर, हल्कारा र चालक थिए । उनी विश्राम कक्षमा व्यग्रतापूर्वक कुरिरहेका थिए । यी दुईको सिड्नीमा भेट भएको थियो । चिनापर्ची भएपछि रुइतले उनलाई आफ्ना सपना साकार पार्न सघाउन बिन्ती बिसाएका थिए । सोरको हृदयमा नेपालप्रति गहिरो प्रेम जागृत भइसकेको थियो । उनले आफ्नो जागिरबाट राजीनामा दिए अनि काठमाडौँ उडानको टिकट बुक गरे । सबै कुराका सामान्य ज्ञाता भएर उनले रुइतका थुप्रै चिट्ठीको खेस्रा तयार पारिदिए ।
"रुइतले एकदमै बेचैन देखिँदै बाहिर निस्केर फ्रेडलाई भने, "तपाईंले त्यसरी नबोलेको भए हुन्थ्यो !" सोर भन्छन् ।
रुइत र हलोजले होटलको बारमा कटु संघर्षबाट पैदा भएका आफ्ना घाउमा मल्हम लगाए । एकाध पेग कडा हि्वस्कीको चुस्की लिएपछि रुइतलाई आफू संस्थापनतर्फ कहिल्यै फर्किन नसक्ने कुरा महसुस भयो । त्यहाँ त उनलाई वहिष्कृत अपराधी मानिएको थियो । अनि गद्दार पनि । अझ पागल पनि । ती फत्तुरहरु त वास्तवमा रुइतलाई संस्थापनको पिँजराबाट मुक्ति दिने तत्व पो बने ।
रुइतले घुँडा टेकेर 'त्वम् शरणम्' हुन इन्कार गरे । उनले सनातन नियमअनुसार चल्दै आएका कच्चा उपचारविधिलाई स्वीकार गर्न इन्कार गरे । नतिजा, थुप्रै समकक्षीहरुमा उनीप्रति एक प्रकारको ईष्र्याजनक आदरभाव पैदा भयो । नेत्र चिकित्सा फाँटका थुप्रै मानिस उनको ध्येयतर्फ आकर्षित हुन थाले । तिनले रुइतको 'युटोपिएन' सपनाको अंग बन्ने चाहना प्रकट गरे ।