केन्द्रीयतालाई धक्का

- गणेश साम्पाङ/पाँचथर 

कुनै नयाँ पुस्तक प्रकाशित हुनासाथ त्यसको चर्चा गर्ने पहिलो थलो हुन्छ, फिदिम बजार । एक वर्षभित्रै यहाँ मुक्तान थेवाको अखण्ड आलाप, विमल वैद्यको अक्षर सिम्फोनी, बियस राईको हिउँमाझी, विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे, काङमाङ नरेश राईको एघार नोभेम्बर, भूपिनको मैदारो, धनपति ढुंगेललगायतका पुस्तकको चर्चा भइसकेका छन् ।

पुस्तक चर्चा मात्र होइन, पाँचथरमा एकल तथा युगल सिर्जना वाचनसमेत बाक्लो हुने गरेको छ । स्थानीय भाषामा नाम्धिङ्गो साँझ नाम दिइएको कार्यक्रममा २ देखि ४ जना स्रष्टाको रचना वाचन हुने गर्छ । यस वर्ष मात्रै कवि उपेन्द्र सुब्बा, प्रकाश थाम्सुहाङ, प्रेम ओझा, सिरेन बान्तवा, सरस्वती दुमी राई, डीआर हाङसरुम्बा र रोज लाबुङ, जितेन मुस्कान र लीला अनमोल, कविता राई गाउँले, राजकुमार सुब्बा, लेकाली कान्छा र विराट किराँतीले नाम्धिङ्गो साँझ जमाए ।

फिदिम बजारको कविकुनामा थुप्रै अनौपचारिक कार्यक्रमसमेत हुन्छन् । फिदिममा काम-विशेषले आउने कवि, लेखक, गायक, कलाकार सबै खाले स्रष्टासित साक्षात्कार गर्छन्, कवि कुनामा । भित्ताभरि पारिजात, बैरागी काइँला, भूपी शेरचन, अमर नेम्बाङलगायत  दर्जन सहित्यकारको फोटो राखिएको कविकुनामा साहित्य विमर्श, रचना वाचन, अनुभव आदान-प्रदानलगायत गतिविधि हुन्छन् ।

उसो त, २० को दशकमा चलेको साहित्यिक आन्दोलन तेस्रो आयामका तीन अभियन्तामध्ये एक बैरागी काइँलाको जन्मथलो पनि पाँचथर नै हो । निकै अन्तरालपछि राजन मुकारुङसहित पाँचथरका हाङयुग अज्ञात र उपेन्द्र सुब्बाले साहित्यमा नश्लीय चेतको बोध गर्ने सिर्जनशील अराजकता अभियानको केन्द्र पनि पाँचथर नै थियो । यसैगरी यहाँकै भवानी तावा, राज माङलाक, सगुन सुसारा, समीरलगायतले उत्तरवर्ती सोच अनि धर्मेन्द्रविक्रम नेम्बाङ, चन्द्रवीर तुम्बापो, चन्द्र योङ्यालगायतले रंगवाद-बहुरंगवादको अभियान चलाए । कुकुर कविता अर्को त्यस्तै अभियान हो । "पाँचथरबाट सुरु यी गतिविधिले साहित्यमा केही प्रभाव राखे पनि राजधानी भत्काउने सामथ्र्य पर्याप्त हुन्न," आख्यानकार राजन मुकारुङ भन्छन्, "यसमा अन्य क्षेत्रले पनि सहयोग गर्नुपर्ने हुन्छ ।"

तेस्रो आयामपछि केही दशकको शून्यतालाई ६० को दशकदेखि निरन्तर जोड्दै साहित्यकर्मबाट कथित केन्द्र भत्काउने अभियानमा जुटेका छन्, पाँचथरे स्रष्टा । पाँचथरका स्रष्टा नयाँ-नयाँ प्रयोगमा रुचि राख्छन् र विभिन्न लेखकीय अभियान चलाएर काठमाडौँलाई धक्का दिइरहन्छन् । कृति समीक्षादेखि एकल रचना वाचन र साहित्यिक अभियानदेखि कविकुनासम्मको सक्रियताले यसो भन्छ ।

कुनै समय 'एक टोल एक सम्पादक' भएर लघुसाहित्यिक हवाई पत्रिका प्रकाशन गरेर चर्चा कमाएको पाँचथर पछिल्लो समय अलिक फरक साहित्यिक कर्मबाट चिनिन चाहेको स्रष्टाहरूको धारणा छ । "अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि राजधानीले अन्य क्षेत्रलाई नगन्ने प्रवृत्ति छ," याक्थुङ लेखक संघ पाँचथरका अध्यक्ष राज दिलाञ्जली भन्छन्, "पाँचथरे साहित्यिक मन र संस्था राजधानीको दबदबालाई चुनौती दिन लागेका हौँ । यसले युवामाझ पठन संस्कृति बढेको उनको बुझाइ छ ।

लघु साहित्यिक विधा गजल लेखनमा पाँचथरले पहिचान स्थापित गरेको छ । गजल मञ्च पाँचथरले ५ हजार ५ सय ५५ राशिको ऐतराज केरुङ स्मृति गजल पुरस्कार स्थापना गरेको छ । संस्थाले घनश्याम परिश्रमीदेखि प्रकट पंगेनी 'शिव', रावतदेखि सुन्दर कुरूपसम्म्ा पाँचथरको मञ्चमा उभ्याएको छ । पाँचथरले प्रश्नोत्तरसहितको गजल वाचन नामक नवीनतम शैलीसमेत अघि सारेको छ । पाँचथरे गजलकारले ५ दर्जन हाराहारी गजलसंग्रह प्रकाशन गरिसकेका छन् ।  "यस्ता साहित्यिक गतिविधिले जिल्लालाई देशमा चिनाएको छ," पाँचथरे साहित्यकार प्रेम ओझा भन्छन्, "साहित्यिक कर्ममा पाँचथर देशमै अग्रपंक्तिमा छ ।" 

प्रकाशित: आश्विन २९, २०७६

ट्याग: साहित्य