(पुस्तक समीक्षा) कथामा सूक्ष्म अन्तर्दृष्टि

पुस्तक : मान्छेको नाच |  कथाकार : विजय मल्ल | सम्पादक  : अविनाश श्रेष्ठ | प्रकाशक  : फाइन प्रिन्ट |  मूल्य : ३२५ रुपैयाँ | 

- ईश्वर बुढाथोकी

नेपाली साहित्यमा समग्र जीवनको अन्वेषण र विमर्श गरेर कथा लेख्ने दुर्लभ कथाकार हुन्, विजय मल्ल । निम्न तथा मध्यमवर्गीय जीवनका विघटित मानसिकता, अन्तरविरोध, असंगति, तथाकथित आधुनिकता, परिवर्तनशील सम्बन्धबीचको अस्पष्टता र यौनकुण्ठासँगै विज्ञानलाई समेत कथामा व्यक्त गर्ने सूक्ष्म अन्तरदृष्टिले सम्पन्न कथाकार पनि हुन्, मल्ल । उनका लागि कलम यस्तो औजार थियो, जसको सहायताले उनी अनुहारले लुकाउने कुरालाई मात्र होइन, मुकुन्डोमा लुकेका अनुहार पनि कोट्याई-कोट्याई निकाल्थे । मानिसको संवेगात्मक अस्थिरतालाई भलिभाँती बुझेका उनले मान्छेका अचेतन मनको गुफामै पुगेर त्यहाँ लुकीछिपी बसेका मनोभावना शब्दमा उतारेर ल्याउँथे । 

तिनै कथाकार विजय मल्लको कथासंग्रह मान्छेको नाच सार्वजनिक भएको छ, अविनाश श्रेष्ठको सम्पादनमा । नेपथ्यमा रहेका धेरै लेखकलाई मञ्च दिएर साहित्यिक क्षेत्रमा स्वीकृत र स्थापित गर्न मद्दत गरेका सम्पादक श्रेष्ठको कुनै बेला मल्लसित गहिरो अन्तरंग सम्बन्ध थियो । र, यो किताब त्यही सम्बन्धको नाता-प्रमाणित पनि हो । विजय मल्लबाटै कथाहरुको संकलन र सम्पादनको जिम्मा पाएका अविनाशले विजय छँदै यस पुस्तक प्रकाशन गर्ने जमर्को गरेका थिए । तर यसको पाण्डुलिपि कपटको रस्साकस्सीमा अल्झिएकाले किताबको रुप लिनै पाएन । अन्योलको गर्तमा लामो समय रहेको यसलाई प्रकाशनमा ल्याउन फेरि अविनाशले नै हात बढाए ।

मान्छेको नाचमा ५६ वर्षको कालक्रममा लेखिएका १७ कथासँगै एउटा लघु उपन्यास पनि समावेश छ । यो किताब पढ्दा कतिपय बेवारिसे सन्दर्भको सनाखत नै हुन्छ । यसको उदाहरण शीर्षक कथा मान्छेको नाच पनि हो । अनौठो ऐँठनले अठ्याएर ग्रन्थि परिवर्तन भएको एक नर्तकको मनोदशाको प्रत्यक्ष दर्शन नै हुन्छ, यसमा । शास्त्रीय नृत्यमा पारंगत मान्छेलाई पहिले गह्रौँ मुखुन्डो लगाएर लाखेको नृत्य गर भन्दा अपमानबोध गर्छ र पछि त्यही नृत्यमा उसले अपारको सन्तुष्टि प्राप्त गर्छ । अर्को कथामा बाहुन डिठ्ठा र झमेली कामीलाई जेलभित्र एउटै हत्कडीमा बाँधेर यातना दिन्छन् । चमारसित बाँधिएको बाहुन डिठ्ठाले छुवाछूतका कारण खाना खान सक्दैन । तर चमारले बाहुनलाई भोकै राखेर आफू पनि खाँदैन । कथामा अस्तित्व संकटको अवस्था सजीव छ ।

कथाको कथ्यलाई अपठनीय हुनबाट जोगाउँदै अनेकन तानाबानामा अल्झाउने मल्लको विशिष्ट सीप मान्छेको नाचका कथाहरुमा पनि यथावत देखिन्छ । लेखेटिएको जन्ती, सन्नीपात, मुक्त, दस रुपैयाँ, खेल, जदुकृष्ण मर्योजस्ता केही कथा आकषिर्त गर्ने खालको खतरै पनि छैनन् तर तिनलाई कथाकारको कथ्ने शैली र सामथ्र्यले लायकको कथा बनाएको छ । बिदेसिएका सन्तानको न्याश्रो मेट्न कुकुरका बच्चाको सहारा लिने दम्पतीको कथा माया पोख्ने भाँडो, दाजुले बिरामी भाइसँग बुद्धिचाल खेल्दा चालेको अन्तिम चाल कथा, पर्खाल कथाको आत्मविश्वासी कैदी भान्साघरे माइलाको जेलब्रेक गर्ने तारतम्य र प्रेम सबैको जीवनमा अभिभाज्य तफ्वको रुपमा रहेको बुझाउने दिदीबहिनीको कथासँगै परिशिष्टमा राखिएको दुई विज्ञान कथा प्रवेश निषिद्ध देश र इन्जिनियरको टाउको पाठ्य हिसाबले खुराकिलै छन् । कथा २४० नम्बरको ट्याक्सीमा त उनको झुकाव बेग्लै देखिन्छ । कारण, त्यसमा चढ्ने कुनै रुपवतीले उनको मानसिक जगत्मा तुफान मच्चाइदिएकी हुन्छिन् । मनोवैज्ञानिकतालाई केलाएर लेखिएको मुक्त कथा पनि कम्ताको छैन । यसमा श्यामदासलाई भक्तपुरको पुख्र्यौली थलो बेचेपछि यस्तो लाग्छ- मानौँ, ऊ नाग हो र उसले मणि बेचेको छ । 

संग्रहमा एउटा लघु उपन्यास छ, श्रीमती शारदा । यसलाई विजय मल्लले बोलेर टिपाएका थिए । यसको प्रमुख पात्र प्रदीप्तमानले नसाको सुरमा आफ्ना विरोधी मित्रकी श्रीमतीलाई बलपूर्वक तानेर ल्याएपछिको कहानी छ । उपन्यासको प्रवाहमा कतै पनि गतिरोध छैन । घृणालाई प्रेममा बदलेर कलात्मक रुपमा उत्कर्ष दिने प्रयास गरिएको छ । तथापि प्रदीप्तमानले एकान्त सडकमा पाशविक तरिकाले घिसार्दै लैजाँदा शारदाको फरिया मुजा परेर भुइँमा खसेको र पेटीकोट मात्र बचेको हुन्छ । बदला लिन प्रदीप्तमानको हत्यासम्म गर्छु भन्ने शारदाले त्यतिबेला किन प्रतिकार गरिन् ? 

घाउचोटले आहत हुनुपर्ने किन भइन् ? श्रीमती हराएपछि केशरबहादुरले किन खोजेनन् ? शारदा र केशरको सम्बन्धबारे किन प्रस्ट पारिएन ? त्यसो त, हतियार शीर्षकको कथामा पनि चम्पाका श्रीमान्को हत्यारा र उनको वास्तविकता खुलेको भए हुन्थ्यो भन्ने लाग्छ । त्यसमा जुद्धबहादुरलाई हतियारभन्दा बलिको बोको बनाइएको छ । मान्छेको नाचमा सम्पादक श्रेष्ठले कथाकार मल्लको कथाकारिताको मूल मर्मलाई जतन गरिदिएका छन् । संख्यात्मक हिसाबले आफ्नो जीवनकालमा सम्भवतः ४० वटा मात्र कथा लेखेका विजयले थोरै भए पनि राम्रा कथा लेखेका छन् । 

प्रकाशित: कार्तिक ६, २०७६