बुर्जुवा नक्कल
पत्रकार प्रशान्त झाको ब्याटल्स अफ द न्यु रिपब्लिक प्रकाशन भएपछि मलाई व्यक्तिगत रुपमा निकै हौस्याएको थियो । किनकि संघीयताको बहसलाई घनीभूत पार्ने मधेस आन्दोलनलाई प्रभावी ढंगले यसमा प्रस्तुत गरिएको छ ।
अल्जेरियालीले फ्रान्सविरूद्ध स्वतन्त्रताका लागि गरेको संघर्षको पृष्ठभूमिमा लेखिएको द रेचेड अफ द अर्थ पढ्दा मलाई कता-कता हाम्रै नेपाली समाज र राजनीतिकै पृष्ठभूमिमा फ्रान्स फननले कलम चलाए कि भन्ने परिरह्यो । अल्जेरिया जसरी नेपाल अर्को देशको उपनिवेश बन्नुपरेन भनेर हामी निकै गर्व गर्छौं । तर काठमाडौँमा अपार्टमेन्ट खोजेकाहरुलाई पनि थाहा छ, औपनेवेशिक सोच हाम्रो रगतमा कति बग्छ !
फनन लेख्छन्, 'देश स्वतन्त्र भए पनि औपनिवेशिक शासक बुर्जुवाहरुलाई राष्ट्रिय बुर्जुवाहरुले प्रतिस्थापन मात्र गर्ने हुन् । तिनै औपनिवेशिकबाट शिक्षित भएकाले उनीहरुले पनि तिनैको सिको गर्छन् ।' नेपालमा पनि दरबारिया संस्कारलाई परिवर्तनपछिका नेतृत्वले समेत पछ्याएको देखिन्छ । उनीहरुको ध्यान औपनिवेशिकता हटाएर नयाँ राज्य व्यवस्थाबाट अधिकांशको राम्रो गर्नेभन्दा छिटोभन्दा छिट्टो सम्पत्ति र आफ्नो स्तर उकास्ने दाउमा बढी देखिन्छ । उपनिवेशकले जस्तै राज्यको स्रोत र प्राकृतिक सम्पदाको दोहन गरेर फाइदा लिने उनीहरुको ध्याउन्न हुन्छ ।
फननलाई लाग्छ, राष्ट्रिय बुर्जुवाहरुसँग देशको पुँजी बढाउने र आर्थिक अवस्थामा खास सुधार गर्ने ज्ञान र क्षमता हुँदैन । उनीहरुले देशको उत्पादन बढाउन पनि सक्दैनन् । तिनै औपनिवेशिक देशहरुको शरणमा ऋण र सल्लाहका लागि पुग्छन् र देश फेरि पनि शक्तिकेन्द्रकै हातमा पुग्छ । यस्ता बुर्जुवाहरुले आफ्नो पार्टीभित्रको परिवर्तनकारी आवाज दबाउँछन् र त्यस्ता नेतृत्वलाई पाखा लगाउँछन् । तल्लो इकाइबाटै भएको हिंसात्मक संघर्षबाट मात्र परिवर्तन सम्भव देख्छन्, फनन । यी नयाँ 'बुर्जुवा' हरुले हिंसाबाहेक अरु भाषा नबुझ्ने दाबी उनको छ । राजनीतिक विश्लेषक नभए पनि फनन पढेपछि मभित्रको अन्योल थोरै भए पनि कम भयो । आजका नेतृत्वको राजकीय सोख देख्दा लाग्ने दिकदारी घट्न पो थाल्यो । एउटा समाज यो प्रक्रियाबाट पनि गुज्रनैपर्ने रहेछ भन्ने लाग्यो । नेपालको राजनीतिक उतारचढाव बुझ्न खोज्नेका लागि यो किताब उत्तम खुराक हुन सक्छ ।
हामीले 'श्रीमान् गम्भीर...' गाउन छाडेको धेरै भएको छैन । हामी 'प्रजा' ले पनि आ-आफ्नो भाष्य पस्कन पाएको धेरै भएको छैन । त्यसमाथि अंग्रेजी भाषामा आफ्नो 'न्यारिटिभ' पस्कन सक्ने मधेसीको संख्या अझै पनि औँलामा गन्न सकिन्छ । पत्रकार प्रशान्त झाको ब्याटल्स अफ द न्यु रिपब्लिक प्रकाशन भएपछि मलाई व्यक्तिगत रुपमा निकै हौस्याएको थियो । किनकि संघीयताको बहसलाई घनीभूत पार्ने मधेस आन्दोलनलाई प्रभावी ढंगले यसमा प्रस्तुत गरिएको छ । नेपालको तात्कालिक इतिहासमाथि लेखिएको एक महफ्वपूर्ण दस्तावेज हो, ब्याटल्स अफ द न्यु रिपब्लिक । झा गहिरो राजनीतिक चेतका विश्लेषक हुनुको पृष्ठभूमिले किताबलाई निकै जानकारीमूलक र अनुसन्धानात्मक बनाएको छ । नेपालका पछिल्ला राजनीतिक घटनाक्रम र आन्दोलनलाई नजिकबाट नियाल्ने मौका दिन्छ, किताबले । गोरखाका राजा पृथ्वीनारायण शाहले 'आर्जेको' शासन पद्धतिको अन्त्यमा गोरखाकै अर्का नेता बाबुराम भट्टराई कोण पनि अर्थपूर्ण लागेको थियो । साथै, छिमेकी मुलुकसँग नेपालले देखाउनुपर्ने कूटनीतिक व्यवहारलाई पनि चियाउन सकिन्छ, यहाँ ।
आन्दोलनपछि पनि पटक-पटक राज्यबाट मधेसले धोका पायो । 'मूल धारे' मनोविज्ञानले मधेसीलाई आफ्नो ठान्दैन । आफ्नै देशमा पराई अनुभूतिको सिकार हुँदाको पीडा अवर्णनीय छ । प्रशान्तको आफ्नै विगत र उनको 'नेपाली' हुनुको कथा किताबको उल्लेखनीय पक्ष हो । यसअघि मधेसको द्वन्द्व, जीवन र आशा-भरोसाबारे यति मिहीन लेखन मैले पढेको थिइनँ । सतहमा दृश्यमान इतिहास मात्रै होइन, पर्दापछाडिका रहस्यसमेत अनावृत्त गर्न मद्दत गरेको थियो, किताबले । यो किताब पढ्दै गर्दा हात लागेकोे एक प्रतिवेदनमा लेखिएको छ- राजा महेन्द्रको तराई पुनर्वास कार्यक्रममा अमेरिकी आर्थिक सहयोग र इजरायली प्राविधिज्ञ संलग्नता थिए । नेपाली राजनीतिक सन्दर्भमा नेपाल-भारत सम्बन्धका साथै जासुसी सन्जाल जानकारी पनि किताबको बलियो पक्ष हो ।
मन्जुश्री थापाका थुप्रै किताब पढे पनि अल अफ अस इन आवर ओन लाइभ्सले मलाई विशेष प्रभाव पार्यो । उनको स्वतन्त्रताका लागि बोल्ने उदात्त लेखनले सधैँ आकषिर्त गर्छ । सरल भाषामा लिखित यो उपन्यास जीवनसँग निकै नजिक छ । चरित्र जीवन्त छन्- चाहे क्यानेडियाली आभा होस् या गाउँकी सपना कार्की । पासपोर्टले क्यानडियाली आभा जन्म-देशबाट जीवनको नयाँ सुरुआत खोज्दै नेपाल आइपुगेकी छन् । उनको कार्यालय र सहकर्मीले उनलाई त्यसरी नै चिन्छन् । तर उनी क्यानेडियालीजस्तो 'गोरी' किन छैनन् ? छालाको रंगकै कारण उनको अस्तित्व र शक्तिमाथि पटक-पटक प्रश्न उठ्छ ।
उपन्यासमा यो नै सायद पहिलो काम हुनुपर्छ, जसले वैदेशिक सहायतामा चल्ने गैरसरकारी संस्थाकर्मीको जीवनलाई निकटबाट प्रकाश पारेको छ । गैरसरकारी संस्थाले नेपालमा समानान्तर सरकार चलाउँछन् भन्ने मानिन्छ । त्यहाँका केही बेथितिलाई उपन्यासले रोचक शैलीले पस्केको छ । साथै, हामी नेपाली कति रंगभेदी छौँ भन्ने पनि सम्झाएको छ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...