स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?

  • स्थानीय पाठ्यक्रम

- कल्पना भट्टराई

भक्तपुरबाट हराइसकेको मौलिक खेल हो, ‘कसिमला पाँय्’ । परम्परागत यो खेललाई भक्तपुर नगरपालिकाले कक्षा ६ का लागि एक वर्षपहिले विद्यालय तहको पाठ्यक्रममै समेटेको छ । लुडोसँग मिल्दोजुल्दो यो खेल दुई व्यक्तिबीचमा खेलिन्छ । त्यसका लागि एउटा कागजको बोर्ड र १३/१३ वटा गोटी हुन्छन् ।

पहिले भुइँमा चित्र कोरेर ढुंगाको सानो टुक्रालाई गोटीका रूपमा प्रयोग गरिन्छ । जित्नका लागि बुद्धिको प्रयोग हुने भएकाले यो खेल बौद्धिकतासँग पनि जोडिएको छ । बालबालिकाको बौद्धिक विकासका लागि पाठ्यक्रममा यो खेल राखिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यको भनाइ छ । भन्छन्, “पाठ्यक्रममा समेटिएपछि शिक्षक र विद्यार्थी दुवैले यो खेल सिक्न पाएका छन् ।”

विद्यालय तहकै पाठ्यक्रममा भक्तपुरको परिचय बनेको जुजु धौको सांस्कृतिक, आर्थिक र वैज्ञानिक महत्त्व पनि समेटिएको छ । जुजु धौ बनाउने स्थानीय प्रविधि विद्यार्थीलाई उद्योगमै लगेर सिकाइन्छ । कर्माचार्यका अनुसार पाठ्यक्रममा भक्तपुरका कला, संस्कृति, धर्म, रीतिरिवाज र ऐतिहासिक स्थल समावेश गरिएको छ ।

गत वर्ष १ र ६ कक्षासम्म स्थानीय पाठ्यक्रम निर्माण गरेर पढाउन थालिए पनि पाठ्यपुस्तक भने बनाई नसकेको कर्माचार्य बताउँछन् । भन्छन्, “पाठ्यक्रमअनुसार पढाइन्छ, पाठ्यपुस्तकको ठाउँमा सन्दर्भ सामग्रीलाई पेनड्राइभमा राखेर वितरण गरिँदै आएको छ ।”

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम ‘मेरो गोकर्णेश्वर’ लागू गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रममा स्थानीय सम्पदा, धर्म, संस्कृति, भाषा, सभ्यता, कला, चाडपर्व र स्थानीय पहिचान समेटिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्रप्रसाद ढकालका अनुसार पाठ्यक्रममा नगरपालिकाको सबै पक्षलाई चिनाउने विषयवस्तु छन् । विद्यालयका लागि छापिएका २४ हजार थान पुस्तकमा स्वास्थ्य, योग, वातावरण, उत्प्रेरणामूलक पाठ पनि छन् ।

वैदिक सनातन धर्म, बुद्ध जयन्ती, रक्षाबन्धनजस्ता धार्मिक, सांस्कृतिक विषय पनि समेटिएका छन् । साथै, गोकर्णेश्वर नगरपालिका व्यवस्थापनको संरचनाबारे पनि विद्यार्थीले पढिरहेको नगरपालिकाका प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् । शिक्षाविद्, प्राध्यापक, स्थानीय शिक्षक, संस्कृतिविद्, स्थानीय बुद्धिजीवीको सहभागितामा निर्माण गरिएको पाठ्यक्रम कक्षा १ देखि ८ सम्म एकैपल्ट लागू गरिएको हो ।

उपत्यकाभित्र मात्र होइन, रूपन्देहीको देवदह नगरपालिकाले पनि ‘बौद्ध शिक्षा र देवदह परिचय’ समेटेर ०७५ वैशाखमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । पाठ्यक्रममा नैतिकता र असल कर्मका लागि बुद्धका पञ्चशील सिद्धान्तलाई प्राथमिकता दिइएको छ । कथा, निबन्ध र सूत्र अनि योगाभ्यासको माध्यमबाट बुझाउने गरिएको र यसबाट विद्यार्थीको आनीबानीमा समेत परिवर्तन आएको नगरपालिका प्रमुख हीराबहादुर खत्रीको अनुभव छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा सिद्धिचरण भट्टराई संयोजकत्वको ११ सदस्य समितिले पाठ्यक्रम निर्माण गरेको हो । देवदहका ३० सामुदायिक र संस्थागत विद्यालयमा पढाइने उक्त पाठ्यक्रम अंग्रेजी र नेपाली दुवै भाषामा तयार गरिएको छ । नगर शिक्षा शाखा प्रमुख टीकाराम शर्मा भन्छन्, “नैतिकता र परोपकारसित जोडिएको स्थानीय पाठ्यक्रमले विद्यार्थीमा राम्रो प्रभाव पारेको छ ।”

कति स्थानीय तहमा पाठ्यक्रम निर्माण गरिएको छ ? शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग तथ्यांक नै छैन । नेपालको संविधानका धारा ३१ (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने उल्लेख छ । साथै, स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने अधिकार दिएको छ ।

पढाउनै समस्या

स्थानीय पाठ्यक्रम अन्य पाठ्यक्रमजस्तो गरी पढाउन सकिँदैन । आफ्नै वरपरको परिवेश, संस्कार, संस्कृति र इतिहासमा आधारित हुने भएकाले विद्यार्थीले भन्दा बढी मिहिनेत शिक्षकले गर्नुपर्छ । स्थानीय संस्कृति र अन्य विशेषताबारे शिक्षक स्वयंले अध्ययन अनुसन्धान गरेपछि मात्र विद्यार्थीलाई त्यसबारे पढाउन सक्छन् ।

पाठ्यक्रम लागू गरिएका अधिकांश विद्यालयमा शिक्षकलाई पढाउन समस्या भएको छ । स्थानीय तहका ऐतिहासिक स्थलबारे जानकारी भए पनि पुराना संस्कार, संस्कृति र बुद्धदर्शन सम्बन्धमा जानकारी नहुँदा पढाउन समस्या हुने गरेको केरवानी मावि देवदहकी शिक्षक मनीषा न्यौपाने बताउँछिन् । भन्छिन्, “तर पढाउँदा विद्यार्थी भने रमाइलो मानेर सुन्छन् ।” देवदहकै अर्का शिक्षक निर्मल ढुंगाना पनि पाठ्यपुस्तक पढाउन मात्र नभई लेख्नसमेत अप्ठेरो भएको अनुभव सुनाउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख ढकाल संस्कृति, भूगोल र इतिहासबारे राम्रो ज्ञान नहुँदा सामाजिक विषय शिक्षकले विद्यार्थीले चाहेजति सूचना दिन नसकेको स्वीकार्छन् । भन्छन्, “यी सबै विषय बुझेका शिक्षक स्थानीय तहमा पाउनै मुस्किल पर्छ ।” पाठ्यक्रम विकास केन्द्रका उपसचिव गणेश भट्टराईका अनुसार पाठ्यक्रम परिमार्जन गरेर लैजानुपर्ने चुनौती पनि छ ।

सबै स्थानीय तहमा विज्ञ नहुने भएकाले पाठ्यक्रम निर्माण प्रभावकारी नभएको भट्टराईको धारणा छ । शिक्षाविद् विद्यानाथ कोइराला स्थानीय पाठ्यक्रम निर्माण गर्दा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक मठमन्दिरबारे परिचित गराउने खालका विषय पाठ्यक्रमा समावेश गर्नुपर्ने धारणा राख्छन् । स्थानीय पाठ्यक्रममा भौगोलिक स्थिति, त्यहाँको वातावरण, वनस्पति, पशुपक्षी र तिनको संरक्षण, ज्ञान र सीप दिने खालका विषयवस्तु समावेश गर्दा पाठ्यक्रम उपयुक्त हुने कोइरालाको मत छ ।

उनका अनुसार विद्यार्थीको रुचि, आवश्यकता र चाहनालाई आधार मानेर पाठ्यक्रम विकास गर्नुपर्छ । “विद्यार्थी जुन ठाउँमा हुर्के–बढे, त्यो स्थानबारे जान्नुपर्‍यो,” उनी भन्छन्, “त्यसको महत्त्व थाहा दिनुपर्‍यो अनि मात्र तिनले आफ्नो ठाउँ चिन्छन् ।”

स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा स्थानीय शिक्षक नै सहभागी हुनु आवश्यक छ । प्राथमिक शिक्षा पाठ्यक्रम, ०६० को दीर्घकालीन सोचमा स्थानीय सीप, व्यवसाय, पेसा, स्रोत–साधनको महत्त्व र आवश्यकता पहिचान गरी विकास गर्न पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई स्थान दिइने उल्लेख छ ।

प्राथमिक तहमा मातृभाषाको पठनपाठन गराउन नसकिने विद्यालयमा स्थानीय तहका लागि उपयोगी पेसा, माटोको काम, धातु, काठ, ऊन, राडीपाखी, चोयाको काम, कागजको काम, करेसाबारी, फलफूल, तरकारी खेतीजस्ता व्यवसाय, सीप र प्राविधिक विषय पठनपाठन गराउन सकिने र सामाजिक अध्ययन, सिर्जनात्मक तथा शारीरिक क्रियाकलाप विषयको २० प्रतिशत पाठ्यभारको पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आफैँले निर्माण गर्न सक्ने उल्लेख छ ।

प्रभावकारी यसरी

केन्द्रको पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई नसमेटेपछि स्थानीय पाठ्यक्रम बनाउनुपर्ने आवाज उठेको हो । स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सीप र प्रविधि समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम भनी परिभाषित गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका उपसचिव गणेश भट्टराईका अनुसार केन्द्रीयले समेट्न नसकेका विषयवस्तु स्थानीय पाठ्यक्रमले राख्नुपर्छ । स्थानीय मूल्य, मान्यता, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोगी हुने उनको अनुभव छ ।

कला, संस्कृति, सीप र प्रविधिलाई अन्यत्र फैलाउन, विद्यार्थीमा सूक्ष्म विषयवस्तुको खोज तथा अनुसन्धान गर्ने बानीको विकास गर्न सकिने, स्थानीय पेसा, व्यवसाय र प्रविधिको प्रवद्र्धन र संरक्षण गर्न सकिने भएकाले स्थानीय पाठ्यक्रमको प्रभावकारिता निकै रहेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । भन्छन्, “विद्यार्थीमा क्षमताको विकास भई स्थानीय स्रोत–साधनमाथि अपनत्वको भावना बढ्छ । आफू र आफ्नो समुदायप्रति पाठ्यक्रमको माध्यमबाट अझ परिचित हुन्छन् ।”

धेरैजसो विद्यालयमा स्थानीय पाठ्यक्रमका नाममा कम्प्युटर र अंग्रेजी विषय पढाइएको छ । साथै, आवश्यकतामा आधारित विषयवस्तु समेटी स्थानीय सरकारले पाठ्यक्रम विकास गरी सबै स्थानीय तहमा लागू गर्नुपर्ने शिक्षाविद् कोइराला बताउँछन् । भन्छन्, “आफ्नो गाउँठाउँको ऐतिहासिक महत्त्व, भूगोल, संस्कृति, प्रकृति, परम्परागत ज्ञान–सीप जान्न–सिक्ने हक सबै बालबालिकालाई हुन्छ । आफूलाई नचिन्ने शिक्षा पढेर के काम ?”

प्रकाशित: मंसिर ३, २०७६

×