योनी शक्ति
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिमा एंगेल्सले भनेझैँ लालपुर्जाको व्यवस्था मात्र एक कारण होइन, महिला अन्तिम उपनिवेश हुनुमा ।
विष पुरुषहरु सुन
स्त्रीत्व मौन आगो भएको बेला
पुरुषत्व मौन आँधी भएको बेला
योनीकरको आर्तनाद सुन
विष पुरुषका विरासती विष पुरुषहरु हो सुन
योनीकरको आर्तनाद सुन ।
कुकुरबाट बलात्कार गराए । नांगो बनाए । ममाथि दुइटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुछ्न लगाए । अचेल म बाटोमा कुकुर देख्दा बौलाहाजस्तो हुन्छु, डरले काम्छु ।
यी बलात्कृत आर्तनादी शब्दहरुले मलाई छुँदै गए । के योनी विष पुरुषहरुको विष खन्याउने भाँडो हो ? के योनी पितृसत्ताको विषदानी हो ? इतिहासदेखि वर्तमानसम्म स्त्री देह आमा हो कि भाँडो हो ? स्त्री देह प्रेमस्पर्श हो कि प्रेमको दहन हो ? स्त्री देह मान्छे हो कि वस्तु हो ?
लालपुर्जाले जन्माएको पितृसत्ताको घेराभित्र योनी कब्जा र स्त्री देह कब्जामा तात्त्विक भिन्नता हुँदैन । यी दुवैको रुपमा भिन्नता देखिए पनि सारमा एकता हुन्छ । वैवाहिक संस्थाद्वारा पुरुषले स्त्रीको देह, योनी र गर्भाशय कब्जा गर्छ । यो संस्थाबाट पुरुषले स्त्रीको योनी कब्जा गर्छ । षोडसी सुन्दरी संस्थामा चाहिँ जो स्त्री सुन्दरी छे, त्यसलाई ठूलो दाममा ठूला मालिकहरुले आलोपालो गरी स्त्रीदेह खरिद बिक्री गर्छन् र आलोपालो सहमतिमा भोग्या बनाउँछन् । यो संस्थाकी प्रतिनिधि पात्र माधवी र आम्रपालीहरु हुन् । विवाह संस्थाभित्र नियोग उपसंस्था छ, त्यसकी प्रतिनिधि पात्र माद्री र कुन्तीहरु हुन् ।
पितृसत्ताभित्र स्त्री देहको दैहिक एवं मानसिक उत्पीडनका लागि बनाइएका थुप्रै गठमठ छन् । निर्मला काण्डले पनि भन्छ, सिंहदरबार सरकार आफैँ गठमठ हो । पुरुषले स्त्री देहप्रति यतिविघ्न घृणा किन गर्छ हँ ?
कैलालीको घटना हो । म सानो छँदा बाटोमा एउटी केटी रुँदै–कराउँदै गरेको आवाज सुनेर सबै त्यतै हेर्न गए । म पनि एक थरुनी आमाको पछाडिपछाडि गटिया समातेर त्यहीँ गएँ । त्यो दृश्य देखेर एकदम डराएँ । एउटी केटी जोडजोडले चिच्याइरहेकी छन् । तिनै केटीलाई डोरीले बाँधेर जगल्टा लुछ्दै घिसारिरहेका छन् । ती केटीको कपाल लामो थियो । डोरीको तल रातो फुर्को थियो । कोही त्यही फुर्कोभन्दा माथिको भाग समातेर तानिरहेका थिए । चोलो च्यातिएर स्तन देखिन्थे । तिनी भयभीत र निरीह देखिन्थिन् । जस्तो, बाघको अगाडि बाख्रा परेको होस् । बिरालाको अगाडि मुसा परेको होस् । मलाई त ती पुरुषको हिंस्रक रुप देखेर डर लाग्यो । मेरो भयभीत र रुन्चे अनुहार देखेर ती थरुनी आमाले भनिन्, ‘डराइटो बाबु आऊ बुकु’ भन्दै बोकिन् । मचाहिँ बुकु लागेर आतंकित दृश्य हेरिरहेँ ।
यो समाज एक स्त्रीलाई घिसार्दै, तान्दै ल्याइरहेको दृश्य हेर्दै थियो । जुन उनी साङ्लामा बाँधेर तान्दै गरिएकी एक मुढा हुन् । ठूली भएपछि पो थाहा पाएँ, त्यो साङ्ली मुढा त जारी प्रथाको कानुनी प्रहसन रहेछ ।
तिनै साङ्ली मुढा १४ र १५ वर्षको हुँदा राम (मेला) हेर्न गएको बेला एक जना केटाले केटी तान्ने परम्पराअनुसार तिनको सप्को तान्दै संगी–साथीसँग मिलेर घिसार्दै–पछार्दै घर लगेछ । तर ती केटी त्यहाँबाट उम्की माइत गई बसिछन् । त्यो केटाको घरमा कहिल्यै फर्किनछन् । उक्त घटनाको दुई–तीन वर्षपछि ती केटी अर्कै केटालाई मन पराएर गइछिन् । सामाजिक रीतअनुसार ‘पोइल’ जानु स्वाभाविक हो । त्यसरी गएपछि सप्को तान्ने केटाले (साङ्ली मुढाको सप्को तानेबापत) ५ सय रुपैयाँ उनको लोग्नेसाग उपजारी लिएछ ।
घर समाज पितृसत्ता न हो । लोग्ने टिपेको केही समयपछि साङ्ली मुढालाई तिनका लोग्नेले बेस्सरी पिट्न थालेछन् । पिटाइको पीडा खप्न नसकेपछि तिनले नौलो पोई टिपिछन् । नौलो पोई त टिपिन्, त्यसपछि भूपू पोईले नौलो पोइसँग ५ सय रुपैयाँ सप्को तानेको उपजारी मागेछ । तत्कालीन कानुनअनुसार बाँकी आफ्नो जारीको रकम १ हजार रुपैयाँ पनि मागेछ । नौलो पोइली पक्षले भूपू पोइली पक्षलाई १ हजार रुपैयाँ जारी तिर्न तयार भयो तर उपजारी ५ सय रुपैयाँ तिर्न तयार भएन । त्यस कारण भूपू पोइली पक्षले ती साङ्ली मुढालाई घिसार्दै आफ्नो घरतिर लग्दै रहेछ ।
२५–३० वर्ष अघिसम्म पनि पहाडबाट मुवाल्याहरु हिउँदभरि गाईवस्तु ल्याएर तराई झर्थे । ती मुवाल्याले आफ्ना गाईवस्तु जसको खेतमा बाँध्थे, त्यसबापत खेतवालासाग अनाज लिन्थे । अनाज लिने मुवाल्याहरुचाहिँ रातमा गाईवस्तु कुर्न अस्थायी छाप्रो बनाएर खेतमा सुत्थे । एक रात मुवाल्याहरु छाप्रोमा सुतिरहँदा घोडसवारको एक समूह एक केटी लिएर उनीहरुको छाप्रो नजिक आएछ । त्यो समूहले ती केटीको मुखमा कपडा बाँधेर सामूहिक बलात्कार गरेछ । सलाईको काँटी बाल्दै स्त्री देह पोलेछन्, घाँटी न्याकेर मारेछन् । लासमाथि पिसाब फेरेर फेरि बलात्कार गरेछन् । बलात्कारपछि स्त्री देहलाई थुकेछन्, लात्तीले हानेछन् । लाशलाई बोरामा बाँधेर लगेछन् । उक्त घटना मुवाल्याहरुले त्रसित भएर छाप्रोभित्रबाट हेरेको हेर्यै भएछन् र बिहान गाउँलेलाई सूचित गरेछन् ।
क्रिसमस इभ थियो । म एक्लै सिकागोको सडकमा हिाडिरहेकी थिएँ । चार जना केटाहरु आएर मेरो कन्चटमा बन्दुक राखेर बस्न लगाए । तिनीहरुमध्ये एउटाको हातमा बन्दुक भएकाले मैले कुनै शारीरिक प्रतिक्रिया जनाइरहेकी थिइनँ । तिनीहरुले मलाई लुछे, पिटे र जमिनमा पछारे । म बलात्कृत हुँदै गएँ । यो बलात्कृत हुनुको अनुभूति हो, अन्तर्राष्ट्रिय स्तरकी हेयर स्टाइलिस्ट सपना भवनानीको ।
यस्ता थुप्रै दैहिक एवं मानसिक पीडाका अनुभूति छन्, स्त्रीसँग । कुनै विष पुरुषले स्त्रीको यौनांगमा खुर्सानीको धुलो छरेको अनुभूति, कुनै विष पुरुषले कंकड हालिदिएका अनुभूति छन् । यो पितृसत्ताको दुनियाँमा स्त्रीसँग विषैविषको अनुभूति छ । पुरुषहरु आफू त बलात्कार गर्छन् नै, कुकुरलाई समेत बलात्कारी बनाएर स्त्री देह लुछ्न लगाउनुले प्रमाणित गर्छ । पुरुष देहले स्त्री देहलाई घृणा गर्छ तर किन ? पुरुष मनोविज्ञान थाहा भएन । चाहन्छु, माधवी हुने प्रक्रियामा पूर्णविराम लागोस् ।
उनी जातप्रथाअनुसार ‘तल्लो’ तमिल महिला थिइन् । उनीजत्तिको काली सुन्दरी मैले श्रीलंकामा देखिनँ । उनी प्रत्येक दिन मकहाँ शौचालय सफा गर्न आउँथिन् । मैले उनलाई मनबाट निकाल्न सकिनँ । उनी आउने बाटामा केही न केही उपहार राखिदिन थालेँ । तर ती महिला उपहार तिरस्कार गरेर हिँड्थिन् ।
एक बिहान मैले उनको कलाई (नाडी) जोडले समातेर आँखामा हेरेँ । आँखाभित्र कुनै भाषा थिएन । उनी बिनामुस्कान एक ओछ्यान भइन् । यो एक पुरुष र एक मूर्तिको सम्भोग थियो । यो अनूभूतिपछि मैले यस्तो कहिल्यै गरिनँ । यी अभिव्यक्ति नोबेल पुरस्कार विजेता कवि पाब्लो नेरुदाका हुन्, जुन उनको आत्मकथामा छ । अब भन्नु के ? को विष पुरुष, को अमृत पुरुष ? छुट्याउनै गाह्रो । यत्ति भन्न सकिन्छ– परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिमा एंगेल्सले भनेझैँ लालपुर्जाको व्यवस्था मात्र एक कारण होइन, महिला अन्तिम उपनिवेश हुनुमा । हो, लालपुर्जा महिला उत्पीडनको प्रमुख कारण हो तर सबै होइन । पुरुष देहभित्र पनि केही त्यस्तो तत्त्व छ, जसले महिला हिंसा गर्छ, जसको औषधीबारे शोध भएको छैन वा मैले पढ्न पाइनँ ।
जब सूर्य
मध्याह्नको तप्त धूपमा
पसिना–पसिना भएर
तप्प तप्प चुहिन्छ
त्यो चुहानको पल
सूर्यको प्रसव पीडाको पल हो,
हो यही प्रसव पीडाले जन्माउँछ दियालो
अब भन त महाशय
यो सृष्टिको आगो
कसको गर्भाशयले जन्मायो ??
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...