गरिमामय मृत्यु

  • तीन किताब

- डा अनुप सुवेदी

संसारको इतिहासमै सबैभन्दा महफ्वपूर्ण, कुशल र सफल राजनेतामध्ये एक मानिने अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको उम्मेदवारीदेखि हत्यासम्मको समय र कार्यको लेखाजोखा हो, टिम अफ राइभल्स । डोरिस कियन्र्स गुडविनलिखित यस किताबमा अश्वेत जातिलाई मुक्ति दिलाउने त्यस्तो नेतृत्व कसरी जन्मिन्छन् भन्ने अहं प्रश्नलाई केन्द्रमा राखी इतिहास पर्गेल्ने काम गरिएको छ । लिंकन राष्ट्रपतिमा छानिनुअघि भर्खरै जन्मिएको रिपब्लिकन पार्टीभित्र विविध पृष्ठभूमिका अग्रज पात्र र आवाज थिए । उनी निर्वाचित हुनेताका अमेरिकाका दक्षिणी राज्यहरु छुट्टिने मागसहित गृहयुद्वमा जाने मानसिकतामा थिए । विपक्षीहरुले नरुचाएकै परिवेशमा विजयी लिंकनले अपत्यारिलो र अप्रत्याशित काम गर्छन् । नामी तीनै कट्टर विपक्षीलाई उनले मन्त्री बनाउँछन् र बिस्तारै सम्मान पनि जित्छन्, जसले उनको नेतृत्वशैलीमा निहित विलक्षणता उजागर गर्छ । दैनिक कार्यशैली हेर्दा उनी अत्यन्त सरल र नम्र लाग्छन् । व्यक्तिगत तहमै एकदमै अपमान गर्ने पार्टीभित्रकै वकिललाई समेत मन्त्री बनाउँछन् तर ती व्यक्तिले मन्त्री छँदै पनि लिंकनको आलोचना गर्छन् । काम गर्दै जाँदा ती व्यक्तिलाई आफ्नो प्रशंसक बनाउन सक्नुलाई लिंकनको सम्पत्ति मान्न सकिन्छ । 

लिंकन कुनै विरासतबाट नभई गरिब परिवारबाट आएका थिए । कानुनको स्वअध्ययन गरेका उनको भावनात्मक विद्वता उच्च थियो । व्यक्तिगत आकांक्षालाई कहिल्यै अघि नसार्ने उनले आफूलाई देश र जनताको नाडी छाम्न सक्षम एक इमानदार राजनेताको रुपमा उभ्याए । गरिब जनतालाई साथीजस्तै व्यवहार गर्ने उनी कविताजस्ता भाषण गर्न सक्ने वाक्कलाका धनी थिए । समाजका विभिन्न तप्काका मानिसको दु:ख बुझेका निष्कपट र फराकिलो हृदयका लिंकनले प्रतिस्पर्धीसँग विनयशील हुन सक्ने खुबी राख्थे । विषयलाई गहिराइमा बुझ्ने, आफैँलाई परीक्षण गर्ने र नैतिक निष्ठामा नडगमाउने उनले हन्डर पनि पाएका हुन् । बेलाबेलामा उदास भए पनि उनको हास्यचेत उच्च थियो । गुरुभन्दा स्वसिकाइ नै उनको सामर्थ्य थियो ।

अमेरिकामा प्रगतिशील युग सुरु गर्ने अमेरिकी राष्ट्रपतिद्वय थियोडर रुजबेल्ट र विलियम हावर्ड टाफ्टको जीवनी हो, द बुल्ली पुलपिट । गुडविनकै यो पुस्तकअनुसार नयाँ युग आउनमा प्रयोगशील पत्रकारिताको ठूलो हात छ । अहिले नेपालमा देखिएजस्तै औद्योगिकीकरण र सहरीकरण बढ्दै जाँदा अमेरिकामा अकुत सम्पत्ति कब्जा गर्ने वर्गको उदय हुन्छ, जसको हातमा जमिन, खानी, रेल–रोड सबै पुग्छ । यस्तो आर्थिक प्रणाली फस्टाउँदै गएपछि राजनीतिक संयन्त्र र धनीमानीबीच अपवित्र गठबन्धन हुँदै जान्छ, जसका कारण दैनिक राज्य सञ्चालनदेखि शक्ति–संघर्षमा व्यवसायीहरु हाबी हुन्छन् । धनीहरु असाध्यै धनी र गरिबहरु झनै गरिब हुने क्रम व्यापक हुन्छ । आर्थिक असमानताकै कारण आम जनतामा राज्य र राजनीतिप्रति चरम वितृष्णा पैदा हुँदै जान्छ । पुँजीपतिहरुकै इसारामा चल्ने शक्ति संयन्त्रको जगजगीकै बीच  रुजबेल्ट र टाफ्ट पनि राष्ट्रपति बन्छन् । उनीहरुले विभिन्न नीतिबाट ठूला निगमलाई टुक्र्याइदिन्छन् र आर्थिक एकाधिकारवादको अन्त्य गरिदिन्छन् । अनियन्त्रित पुँजीवादले सर्वत्र हानि गर्ने भएकाले नियन्त्रित अर्थतन्त्रको विकल्प नरहेको धारणा अघि सार्छन्, उनीहरु ।

कम्पनीहरुका ठगी, भ्रष्टाचार, एकाधिकार र राजनीतिक चलखेल सार्वजनिक गर्ने तटस्थ खोज पत्रकारहरुलाई रुजबेल्टले नै संरक्षण गर्छन् । यही सहकार्यले अमेरिकामा आर्थिक रुपान्तरण भएको मानिन्छ । व्यवसायी र बिचौलियाको नियन्त्रणमा पुगेको आजको नेपाली राजनीतिलाई दिशानिर्देश गर्न पत्रकारिताका युगीन चुनौती छन्, जसलाई बोध गर्न यो किताब सहयोगी हुन सक्छ ।

बिल क्लिन्टनको पालामा राष्ट्रपति कार्यालयका स्वास्थ्य सल्लाहकारसमेत रहेका शल्यचिकित्सक अतुल गवान्डेलिखित बिइङ मोर्टलमा मर्यादापूर्ण मृत्युको व्याख्या छ, जसमा लेखकको आफ्नै अनुभव पनि समेटिएको छ । मृत्यु चिकित्सकीय समस्या होइन, यसमा अप्ठेरो आयु लम्ब्याउनुभन्दा गुणस्तरीय जीवनको अर्थ हुन्छ । नेपालमा चरम बिरामीले अत्यन्तै खराब स्वास्थ्य सेवा झेल्नुपर्छ । असाध्य रोग लागेकालाई सम्बन्धित डाक्टर र परिवारले समेत वास्तविकता लुकाएर आफन्तसँग मात्रै परामर्श गर्छन् । सूचनाबिना कडा औषधी दिन सुरु गरेपछि बिरामीमा त्रास र संशयजस्ता मनोवैज्ञानिक असर पर्न थाल्छ, जसको पीडा अकल्पनीय हुन्छ । तर सही सूचना दिएर बिरामीको जीवनमा रहेका बाँकी पल अर्थपूर्ण बनाउन सकिन्छ । 

धेरैलाई लाग्छ, आफ्नो मृत्यु गरिमामय होस् । बिरामीको स्वीकृतिबिना उपचारै गर्नु हुँदैन र यो गोपनीयताको हक पनि हो । सांस्कृतिक समस्याका कारण गोप्य निर्णयबाट गरिने उपचारले अत्यधिक सकस र खर्च बढाउँछ । साथै भेटघाट, अन्तिम इच्छा–योजना, पारिवारिक सम्पत्तिका निर्णय आदि अधूरै रहने खतरा बढ्छ । अन्तिम अवस्थाका बिरामीसँग गर्नुपर्ने व्यवहार, परामर्श र वार्तालापबारे डाक्टरलाई उपयुक्त तालिम दिइएको पनि हुँदैन । 

मृत्यलाई स्वीकार्ने हाम्रो दार्शनिक दृष्टिकोण नै फरक हुनुपर्छ, जसमा चिकित्सक समुदाय, सांस्कृतिक विशेषज्ञ र राज्यले बिरामीको सचेत बचाइमा ध्यान पुर्‍याओस् । फरक र सिर्जनात्मक सोच निर्माणमा बिइङ मोर्टल आँखीझ्याल हुन सक्छ । 

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: मंसिर १७, २०७६

ट्याग: तीन किताब
×