कालु कुमालेको मूर्तियात्रा

- नेपाल संवाददाता

प्रसिद्ध परम्परागत मूर्तिकार कालु कुमाले, ८७, को व्यक्तित्व र कृतित्व झल्किने पुस्तक क्रोधकला शिरोमणि कालु कुमाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलगायतले राजधानीमा विमोचन गरे । हात्तीवनस्थित कालु आर्टस् एन्ड ह्यान्डीक्राफ्टमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशी कुमालेका कलाबारे गफिए । भन्छन्, “कलामा नेपालको आफ्नैपन र शैली छ । कहीँकतैबाट आयातीत छैन । मूर्तिकार कालु कुमालेका कलाकृति शैली र विषयवस्तुका दृष्टिले निकै ओजपूर्ण छन् ।”

जोशीले राष्ट्रका निम्ति कुमालेजस्ता प्रतिभा गौरव गर्नलायक रहेको जनाउँदै राज्यले उचित सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे भने ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कला र संस्कृतिको जगेर्नाका लागि विभिन्न कार्ययोजना ल्याएर काम गर्न लागिपरेको बताए । कार्यक्रममा ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्य, ललितकला परिषद् नेपालका संयोजक देवेन्द्र थुम्केलीलगायतले बोलेका थिए ।

पुस्तकमा कुमालेले बनाएका दुर्लभ र अधिकांश मूर्तिका तस्बिर राखिएको छ । त्यस्तै, कुमालेबारे विभिन्न विद्वान्, कलाकार, लेखकका लेखरचना समेटिएको छ । पाटनको ओकुवहालमा जन्मिएका शान्त स्वभावका कुमालेले क्रोधमूर्तिबाटै विश्वमा प्रसिद्धि कमाएका छन् । उनका मूर्ति देश–विदेशका विभिन्न मठ–मन्दिर, गुम्बा, संग्रहालयमा छन् । 

 

प्रकाशित: मंसिर २३, २०७६

×