हिमाली आत्मगौरव

  • तीन किताब

- प्रा ओम गुरुङ

सामान्यतया तिथिमितिको आधिक्य र शासकहरूको गुणगानले गाँजिएकाले इतिहासलाई असाध्यै रुखो विषय मानिन्छ । पदार्थको उत्पत्तिदेखि मानव जातिको विकासलाई ऐतिहासिक शृंखलामा देखाइएको स्यापियन्स भने रोचक छ । युवल नोव हरारीको यो किताबलाई प्रशस्त उदाहरण र रसिलो व्याख्याले सुरुचिपूर्ण बनाएका छन् । 

साढे १३ अर्ब वर्षअगाडि पृथ्वीमा पदार्थको उत्पत्ति भएको दाबी गर्ने यो किताबले ७० हजार वर्षअगाडि विकसित मानव जाति पृथ्वीका अनेक भूभागमा छरिएको कथालाई सचित्र व्याख्या गर्छ । आगोको आविष्कारदेखि कृषिको विकास, पशुपालन, जातीय सम्मिश्रण, सम्पत्तिमाथिको कब्जा र राज्यसत्ताको अवधारणासम्मको वस्तुगत इतिहास सरस शैलीमा पस्किनु नै हरारीको सामर्थ्य हो । 

विगतका तथ्य र ज्ञानको पुनरावृत्तिको आधारमा वर्तमानको व्याख्या गरी भविष्यको मार्गचित्र बनाउनमा जोड दिन्छन्, इतिहासकारहरु । तर हरारीचाहिँ घटना, शासकीय स्वरुप र सामाजिक संरचनाको पुनरावृत्तिभन्दा इतिहासको अध्ययनपछि त्यसबाट छुटकारा चाहन्छन् । मान्छेलाई मुक्तिको मार्ग देखाउन सक्नुपर्छ । यस किताबले प्रमाणित गर्‍यो कि ज्ञानको केन्द्र पश्चिम मात्रै होइन । मानव सभ्यताको उद्गम अफ्रिका नै हो । पछि अफ्रिकाबाट विभिन्न कालमा मानव जातिले आफ्ना वंशजलाई अन्यत्र फैलायो । नेपालको सन्दर्भमा जातीय पहिचानको सवाल जोडतोडले उठ्यो, जसले आदिवासी–मूलबासीको खोजी गर्‍यो । जिनको उत्परिवर्तन, बसाइँसराइ, पर्यावरण आदिका कारण मानव जातिले नयाँ भूगोलमा आफ्नो बलियो उपस्थिति जनायो । नेपालका आदिवासीलाई परिभाषित गर्दा को पहिले आएर बसोबास गर्‍यो र कसले कसलाई विस्थापित गर्‍यो भन्ने इतिहास पल्टाएर हेर्नुपर्छ । इतिहास तथ्य मात्रै होइन, भोगाइ र अनुभव पनि हो । शासकहरुको लिखित प्रशस्तिलाई मात्रै इतिहास मान्ने एकोहोरो दृष्टिभन्दा फरक जनश्रुतिलाई आधार मान्नुपर्छ । राज्यबाट अति उत्पीडित जातिका भाषा, संस्कार, धर्म आदि मूल प्रवाहमा समेट्ने कुरा नै पहिचानको मर्म हो । स्यापियन्सले हाम्रोजस्तो बहुजातीय–बहुसांस्कृतिक समाजको इतिहासप्रति गम्भीर हुन उत्प्रेरित गर्छ । 

मानव सभ्यताको विकासक्रममा अहिले बलियो भएको राज्यको अवधारणाका पृष्ठभूमिमा रहेका सामाजिक, आर्थिक र राजनीतिक कारण बुझाउने गहकिलो पुस्तक हो, द ओरिजिन अफ द फ्यामिली, प्राइभेट प्रपर्टी एन्ड द स्टेट । फ्रेडरिक एंगेल्सको यस किताबमा समाज विकासको वैज्ञानिक र वस्तुगत आधार प्रस्तुत गरिएको छ । मानवशास्त्री लेविस हेनरी मोर्गनको एन्सेन्ट सोसाइटीमा आधारित भएर एंगेल्सले राजनीतिक व्याख्या गरेका छन् । मातृसत्तात्मक समाजमा यौनाधिकारदेखि परिवार र सम्पत्तिको स्वामित्व महिलामा हुन्थ्यो । सन्तानका लागि आमाले देखाएको पुरुष नै पिता हुन्थ्यो । यौनिक निषेध नभएको चरणदेखि सामूहिक र एकल विवाहसम्म आइपुग्दा मानव सभ्यताले निकै फड्को मारिसकेको छ । समयले मातृसत्तात्मक युग छाडेर पितृसत्तात्मक पद्धतिमा अँगाल्यो । कालान्तरमा स्त्री र सम्पत्तिका लागि युद्ध भए । नेपालमै पनि कहीँ–कतै बहुपति या बहुपत्नी परिवारका अवशेष भेटिन्छन् । यसका आफ्नै आर्थिक, सामाजिक, सांस्कृतिक दर्शन छन् । सृष्टिको व्याख्यालाई ईश्वरीय सत्तामा लगेर छाडिदिने तर्क फजुल लाग्छ, एंगेल्स पढेपछि । मानवको उत्पत्ति रहस्य नभई क्रमिकतामा आधारित छ । कृषि, पशुपालनमा नयाँ–नयाँ प्रयोग हुन थालेपछि मानव जाति जंगली–बर्बर युगलाई बिसाएर नौलो यात्रामा लम्क्यो । आगोको आविष्कारसँगै औजारको निर्माण भएपछि नवीन सभ्यता आरम्भ भएको मानिन्छ । निजी सम्पत्तिको अवधारणा उदय भएपछि महिलाको अग्राधिकार विस्थापित भयो । घरेलु जिम्मेवारी र काममा खुम्च्याएर अधिकार र न्यायबाट महिलालाई विमुख बनाइए । आजको अवस्थामा कुनै नियतिको खेल होइन । यसका ऐतिहासिक कार्य–कारण शृंखला बुझाउने सरल व्याख्या गर्छन्, एंगेल्स ।

मानव जातिको सिर्जना र सभ्यताबारे वैदिक ग्रन्थमा विशद् व्याख्या गरिए पनि माक्र्सवादीहरुले तिनमा धार्मिक लेपन मात्रै लगाइदिएकाले वैज्ञानिकता गौण भइदियो । तर मोहन वैद्य ‘किरण’ ले हिमाली दर्शनमा हाम्रा नव्यदर्शनमा निहित भौतिकवादी जीवनदृष्टिलाई पनि पर्गेलेका छन् । ब्राह्मणवाद भनेर गाली मात्रै गरिएकाले ती उपयोगी वस्तुवादी विचार पनि ओझेल परेको यथार्थ यो पुस्तकले देखाउँछ । पूर्वीय दर्शनका बौद्ध, जैन र चार्वाकलाई नास्तिक मानिन्छ भने वैदिक र स्वतन्त्र धारालाई आस्तिक । हिन्दु समाजका विकृति, विसंगति, शोषण, अन्याय, अत्याचार र विभेदबाट वाक्कदिक्क भएर विरोधमा निस्किएका व्यक्ति हुन्, बुद्ध । उनको मार्ग मात्रै थियो– शान्ति । बुद्धलाई अवतारवादको अपव्याख्यामा लगेर थन्काइएका कारण बौद्ध दर्शनजस्तो वैज्ञानिकता बोकेको वैचारिकीसमेत पूर्वाग्रहको सिकार भयो । बजारवादलाई पन्छाएर हेर्ने हो भने योगदर्शन निकै व्यावहारिक विज्ञान रहेछ । 

भारतवर्षका दर्शनलाई पूर्वीय दर्शन भन्ने प्रचलनविपरीत वैद्यको नामकरणले हिमाली उपमहाद्वीपमा जन्मिएका वैज्ञानिक दर्शनको पनि पहिचान सबल भएको छ । वैद्यले यसलाई संघर्षको दर्शनका रुपमा अर्थ्याएका छन् । साथै, हिमाली क्षेत्रका धर्म, दर्शन, विज्ञान र तन्त्रलाई पनि आफ्नो विश्लेषणमा समेटेका छन् । सानै मुलुक भए पनि मौलिक सांस्कृतिक दर्शनमा हामी कंगाल छैनौँ भन्ने आत्मगौरव हिमाली दर्शनले दिन्छ ।

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: मंसिर २४, २०७६

ट्याग: तीन किताब
×