तिब्बतीलाई युरो पार्सल 

- मनबहादुर बस्नेत

केही वर्षअघि फ्रान्स घुम्न जाँदा त्यहाँका एक व्यक्तिले नेपाली गाइडलाई बन्द खाम दिए । उक्त खाम लाजिम्पाटस्थित फ्रान्सेली राजदूतावास छेउमै रहेको कालो गेटमा छाडिदिन भनिएको थियो । चिट्ठीमा कसैको नाम थिएन । खाम दिने फ्रान्सका धनाढ्य र राजनीतिक तहमा प्रभावशाली व्यक्ति थिए । भीआईपी पाहुनालाई ती गाइडले नेपाल घुमाएका थिए । त्यसैले बेनामी खाम ती गाइडले लिए । फ्रान्सेली भाषामा दक्खल भएका ती गाइडलाई उक्त खामभित्र के होला भन्ने उत्सुकता जागेछ । अनि होटल पुगेपछि चलाखीपूर्वक खामभित्र बन्द वस्तु पत्तो लगाएछन् । त्यो कसरी भने सबै बत्ती निभाएछन् अनि सियोले दुलो बनाएछन् र मोबाइलको बत्ती खाममा झोसेर भित्रको वस्तु हेर्दा त युरो नोट पो रहेछ । 

खामभित्रसमेत अर्को कागजले बेरेको रहेछ । उनलाई खाम होटलमै छाडिदिउँ कि लिएर जाऔँ भन्ने दोधार परेछ । उक्त रकमको वैधानिकता थिएन । कतै सुरक्षा जाँचमा भेट्याए पक्राउ परिएला भन्ने डर थियो । जसले यो पार्सल पुर्‍याइदिन भनेको थियो, ऊ ती गाइडका भीआईपी पाहुना थिए । जे त पर्ला भनेर बोकेछन् । भाग्यवश, पार्सल युरो हो भन्ने कसैले भेउ पाएन । सुरक्षित काठमाडौँ आइपुग्यो । पार्सल पुर्‍याउन जाँदा फेरि झस्किए । त्यो त तिब्बती शरणार्थी कल्याणकारी कार्यालय पो रहेछ । 

भोलिपल्ट उक्त कार्यालयबाट पार्सल ल्याइदिएकामा धन्यवाद फोन आयो र सँगै कफीको निम्ता । तर कार्यालयभित्र भने होइन, बाहिरै भेटेछन् । पश्चिमाहरुले तिब्बती शरणार्थीलाई आर्थिक सहयोग गर्ने कुरा नयाँ विषय होइन । तिब्बती शरणार्थीलाई सहयोग गर्न धेरै संस्था खुलेका छन्, उता । तर छापामार शैलीबाट समेत आर्थिक सहयोग आउने कुराले भने चकित तुल्यायो । 

खाङसेरभित्र के छ ? 

यसरी नौलो शैलीमा पार्सल भित्रिएको घरमै भेट्न बोलाए, छुल्ट्रिम ग्याल्छोले । मुस्किलले जुर्‍याइएको भेट । दलाई लामाको निर्वासित सरकारको नेपाल प्रमुख हुन्, ग्याल्छो । गडेन खाङसेर भनेर चिनिने यो भवन लाजिम्पाटको मुख्य सडकबाट देखिँदैन । गेट मात्र देखिन्छ । बोर्ड छैन । यत्ति मात्र लेखिएको छ, गडेन खाङसेर । त्यहाँभित्र तिब्बतको झन्डा राखिएको सुरक्षा निकायका केही अधिकारीबाट सुनिएको थियो । ग्याल्छोले कार्यालयमै भेट्ने भनेकाले खाङसारको रुपरङ देखिने भयो भनेर खुसी नै थिएँ । र, यही मौकामा अब सुटुक्क तिब्बती झन्डा फहर्‍याएको फोटो खिच्छु भनेर मनमनै योजना बनाएर त्यहाँ पुगेँ । 

गेट अगाडि पुगेर फोन गर्न खोज्दा सुरक्षा गार्डले पर जान भने । ग्याल्छोले समय दिएर आएको भनेर फुर्ति लगाउन खोज्दै थिएँ, गार्डले सुने पो । बरु पर गएर फोन गर्न आदेश दिए । गेटबाट लुरुलुरु अलि टाढा पुगेर फोन गर्दा ग्याल्छोले कार्यालयमा होइन, बाहिरै भेटौँ भने । अघिसम्म कार्यालयमै गफ गर्न सजिलो हुने बताएका ग्याल्छोलाई अचानक के भएछ ? भेटमा ग्याल्छो दुरुस्त नेपालीजस्तो लाग्यो । उनले पनि आफूलाई तिब्बती भन्दा कसैले नपत्याउने खुलाए । बरु नेपाली लामा, तामाङ, गुरुङ हो भन्दा रहेछन् । भोलिपल्ट सहकर्मी रवि मानन्धरलाई खाङसेरको फोटो खिच्न जाँदासमेत गेट वरिपरि ढिम्किनै दिएनछन्, गार्डले । साँच्चै खाङसेरभित्र के छ कुन्नि ? 

सूचना जोख्ने प्रवक्ता 

पत्रकारलाई सूचना दिन हरेक सरकारी निकायले प्रवक्ता/सूचना अधिकारी तोकेका छन् । झट्ट हेर्दा यो एकदमै जवाफदेहीपूर्ण र पारदर्शी कामजस्तो लाग्छ । तर केही समयअघि नेपाल प्रहरीका प्रवक्तासँग एउटा सूचना माग्दाको घटनाले प्रवक्ता सूचना दिन होइन, सूचना छान्न बसेको अनुभूति दिलायो । प्रहरी दिवस अवसरमा नेपाल प्रहरीले देशभरका आफ्ना कर्मचारीलाई सम्मान गरेको थियो । प्रसंगवश त्यसरी सम्मानित हुनुपर्नेको संख्या चाहिएको थियो र मागियो । 

तर डीआईजी तहका प्रवक्ताले त कान्तिपुरजस्तो संस्थाले पनि यति झिनामसिना सूचना माग्ने भन्दै अर्ती दिन थाले । खुसी हुने जवाफ थिएन, यो । “तपाईंको काम सूचना सानो–ठूलो भनेर जोख्ने हो कि दिने ? तर्कसहित सूचना दिन सक्दिनँ भन्न सक्नुहुन्छ । तर सानो सूचना भएकाले दिन्नँ भन्ने ?” मैले अलि आक्रोशित शैलीमा भनेँ । त्यसपछि उनले आफू मातहतका कर्मचारीमार्फत सूचना दिए । 

यस्तो व्यवहार उनले मलाई मात्र गरेका होइन रहेछन् । बीबीसी नेपाली सेवाका एक पत्रकार मित्रलाई समेत भनेका रहेछन्, ‘बीबीसीजस्तो संंस्थालाई यस्ता मसिना कुरा किन चाहियो  ?’ प्रवक्ताको काम सूचना जोख्ने हो कि सूचना दिने ? 

प्रकाशित: पुस १६, २०७६

×