आविष्कारको संसार
केही आविष्कारले हाम्रो जीवनलाई सुविधामूलक/सुखमय बनाउँछन् भने धेरैले जीवन र मृत्युबीचको अन्तरको अर्थ पनि बताउँछन् ।
हजारौँ वर्षदेखि किताबले आफ्नो बलियो उपस्थिति जनाए पनि अबको केही दशकमा कागजको अस्तित्वमाथि सन्देह गर्न सकिन्छ । नेपाली शिक्षामा गलत पाठ्यक्रम र सिकाइका कारण समाज गलत दिशातर्फ जाँदै छ । किताबले दिने सूचना र इतिहासमाथि कहिलेकाहीँ शंका लागे पनि मान्छेबारे रुचिपूर्वक पढ्छु । युवल नोह हरारीको ट्वान्टी वान लेसन्स फर ट्वान्टी फस्ट सेन्चुरीमा निहित तार्किकताले भने मलाई तान्यो । हरारीले एक्काइसौँ शताब्दीका चुनौतीलाई केलाएका छन् । प्रविधिले मानव श्रमलाई विस्थापित र भ्रमित मात्रै गरेको छैन, आविष्कारलाई बेहद छाडिदिँदा स्वतन्त्रता र निजत्वमाथि नै संकट खडा भएको छ । प्रविधिमा पहुँच हुने र नहुनेबीचको खाडलका कारण जीवनस्तरमा पनि आनका तान फरक पर्ने हुनाले समानताको कोणबाट बहस गर्नुपर्छ । अल्पज्ञान, अज्ञान, धर्म र सभ्यताका विविधताले समाजजस्तो भौतिक संरचनासमेत विभाजित छ । धरती बाँडेकाले परिस्थितिवश मानिसमा आप्रवासन र निर्वासन छ । धार्मिक–राजनीतिक–आर्थिक विभाजनका कारण आतंकवादले खुट्टा घुमाउँदै छ र युद्धको आह्वान हुँदै छ । हामीले धर्म, राजा र देवताजस्ता मिथक र तथ्य–घटनाको भेदलाई मेटाइदिएकाले सत्यको गहिराइमा पुग्न सकेका छैनौँ । स्वार्थग्रस्त व्यक्तिवादको चंगुलमा परेकाले हामीले परिवार, समाज र मानव जातिलाई नै क्षति पुर्याइरहेका छौँ । हरारीको मतमा उदार र लचक भएर नयाँ व्यवधानमाथि समाधानमुखी विमर्श गर्नुपर्छ ।
मान्छेले असल काम गरेको उदाहरण खोज्दा ली क्वान युको फ्रम थर्ड वल्र्ड टु फस्टमा पुग्छु । पहिले नेपालजस्तै गरिब देश सिंगापुरलाई सामुद्रिक डाँकुहरुको अखडा मानिन्थ्यो । उर्वर भूमि र पिउने पानीसमेत नभएको देशलाई केही दशकमै ली क्वान युले युरोप–अमेरिकाको आर्थिक हैसियतमा पुर्याए । भौगोलिक जटिलताका कारण अरु देशसँगको सम्बन्धमा उतारचढाव पनि आयो । कहिले उपनिवेश, कहिले द्वन्द्व सहेर पनि आर्थिक रुपमा विश्व रंगमञ्चमा आफूलाई सबल राष्ट्रको रुपमा उभ्याउन सक्नु चानचुने सफलता थिएन । ठूला राष्ट्रको चेपुवामा परेका साना मुलुकले सिंगापुरको प्रगतिबाट धेरै पाठ सिक्न सक्छन् । मजदुरका समस्यालाई बुद्धिमत्तापूर्ण ढंगले गरेको व्यवस्थापन सानातिनो नेताको ल्याकतले सम्भव थिएन । नेपालले पनि सिंगापुरको सफलताको कथाबाट बुझ्नुपर्छ, मौलिक सोच र यात्राबाट मुलुकले उन्नति गर्न सक्छ । उनले सुरुमा जनताको समर्थन जुटाए अनि बलियो सुरक्षासहित वैदशिक लगानी भित्र्याए । र, बेथिति घटाउनुका साथै विज्ञान–प्रविधिलाई भरपुर प्रयोग गरे । सञ्चयकोषको दूरदर्शी अवधारणा लागू गरेर जनताको गाँस, बास र कपासलगायत आवश्यकतालाई परिपूर्ति गरे । एक समर्पित र भविष्यद्रष्टा नेतृत्वले आफ्नो मुलुकलाई कसरी कायाकल्प गर्न सक्छ भन्ने ज्वाज्वल्यमान कथा हो तर एक नेताभन्दा श्रमको कथा हो, यो ।
२५ लाख वर्ष अघिदेखि अहिलेसम्मका परिवर्तनलाई देखाइएको छ, वन थाउजेन्ड वन इन्भेन्सन्स द्याट चेन्स्ड द वल्र्ड । ज्याक च्यालोनर सम्पादित यो किताबमा आविष्कारहरुको इतिहासलाई सचित्र वर्णन गरिएको छ । प्राचीन संसारको व्याख्या गर्दै रोमन सभ्यतादेखि क्रान्ति युगसमेत कालक्रमिक रुपमा देखाइएको यस किताबमा रचनात्मक सोच र नवीनतालाई प्राथमिकता दिइएको छ । औद्योगिक क्रान्तिवरपर संसारमा उदाएको युरोपेली साम्राज्य हुँदै आधुनिक युगसम्म आइपुग्दा मान्छेलाई विज्ञान–प्रविधि र कथाले प्रभाव पारेका मोडलाई रसिला उपशीर्षक र चित्रको सहयोगमा बयान गरिएको छ । संसारका युद्धमा भएका अनेक घटना र भूमण्डलीकरणका यात्रालाई समेत रोचक ढंगले प्रस्तुत गरिएको यो किताब इन्टरनेट युग व्याख्या गरी बिसाइएको छ । अचेल हाम्रो दैनिकी प्रविधिमा निर्भर हुन थाले पनि प्रविधिको आविष्कारप्रति उत्ति रुचि दिइँदैन । यस किताबले तथ्यमा आधारित भएर गुफाकालीन अन्वेषणदेखि आजसम्मका आविष्कारलाई ऐतिहासिक शैलीमा अभिलेखीकरण गरेको छ । ढुंगाको हतियारदेखि आगोको आविष्कार हुँदै मान्छेले विज्ञानको विकासमा लामो यात्रा गरिसक्यो र प्रकृतिका अन्य जनावरभन्दा आफूलाई निकै शक्तिशाली बनाइसक्यो ।
केही आविष्कारले हाम्रो जीवनलाई सुविधामूलक/सुखमय बनाउँछन् भने धेरैले जीवन र मृत्युबीचको अन्तरको अर्थ पनि बताउँछन् । कतिपय आविष्कारले कथित आवश्यकतालाई उत्प्रेरित मात्रै गर्ने भएकाले जीवन झनै जटिल बनाउँछन् । च्यालोनरको मतमा– आवश्यकता आविष्कारकी जननी हो भने सरलता पक्कै पनि यसको पिता हो ।
मानव जीवनलाई मूर्तता दिने प्राविधिक सामग्रीबारे हामी उत्ति जानकार हुँदैनौँ, जसलाई दैनन्दिन प्रयोगमा ल्याइरहेका हुन्छौँ । विशेषगरी जिज्ञासु उमेरका बालबालिकालाई दुनियाँ बदल्ने मानव प्रयासको व्यापक अध्ययन भएकाले यो किताब पढ्न दिएमा उनीहरुमा पनि कल्पनाशीलता र वैज्ञानिक चिन्तनको विकास हुँदै जानेछ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...