चिनियाँ चमत्कार

- अखिलेश उपाध्याय

केही दशकयता भूराजनीतिक गैरआख्यानमा केन्द्रित छु । खासगरी रोबर्ट कप्लानका पुस्तक पढेपछि चीन चासोमा बढोत्तरी भयो । चीनजस्तो लामो खेल खेल्ने देशलाई अध्ययन गर्नु भूपरिवेष्ठित मुलुकको आवश्यकता पनि हो । 

हुआ युको चाइना इन टेन वर्ड्सले पश्चिमाले देखे–लेखेभन्दा भिन्न दृष्टिकोणबाट चीनलाई चिनाउँछ । यु भन्छन्, ‘साहित्यमा हुने रहस्यमय शक्तिले भिन्न समय, देश, जाति, भाषा र संस्कृतिको लेखकसँग पाठकको सनसनीपूर्ण जम्काभेट पुस्तकमा हुन सक्छ ।’ बनिबनाउ पूर्वाग्रहबाट बचेर किताबमा जनता, नेता, माओ, पठन–लेखनबारे चर्चा गर्दै चिनियाँ सांस्कृतिक क्रान्तिमाथि गहिराइमा बुझाएका छन् । 

माओको अगुवाइमा सम्पन्न सांस्कृतिक क्रान्तिको छवि राम्रै मानिन्छ तर पार्टीप्रति आफ्नो बफादारी देखाउन अन्य सदस्यलाई खुइल्याउने आन्तरिक प्रतिस्पर्धा आश्चर्यजनक लाग्छ । त्यसताका आत्मालोचना गर्नुपर्ने अवस्थालाई लेखकले आफूलाई बच्चाका रुपमा उभ्याएर वर्णन गरेका छन् । आफ्ना प्रतिष्ठित पिताबारे नकारात्मक खुलासा हुने आशंकाले उनलाई रातदिन पिरोल्दो रहेछ । उनलाई जे कुराको डर थियो, आखिरमा त्यही भयो । 

चीन अहिले जुन गतिमा विकासको मार्गमा कुदेको छ, त्यसले विपद् ल्याउन सक्ने आकलन पनि गरिन्छ । धनी र गरिबबीच बढ्दो अराजकतालाई उजागर गर्न लेखकले आश्चर्यजनक आँकडा र उपाख्यानलाई जोडेका छन् । तथ्य हुँदाहुँदै पनि यो किताब अनुभूतिजन्य सरसताले भरिएको छ । 

विश्वमै महाशक्तिको रुपमा उदाउँदो देश चीनबारे अनेक रहस्यमय हल्ला चल्छन् तर हुआले व्यापार चेत, अन्तर्दृष्टि र साहसका आधारमा ‘चिनियाँ चमत्कार’ र त्यसका नतिजालाई प्रस्टसँग राखेका छन् । चीन र चिनियाँ नीतिप्रति आलोचनात्मक नै भए पनि उनीसँग चिनियाँ अनुभूति सघन छ । 

शास्त्रीय माओवाददेखि विभिन्न देशका अनेक माओवादी अभ्यास हेर्दा यसको इतिहास लामै देखिन्छ । माओइज्म: अ ग्लोबल हिस्ट्रीमा जुलिया लोभेलले चीनबाट उठेको माओवादको व्याख्या गर्दै भियतनाम, कम्बोडिया, इन्डोनेसिया, तान्जानिया, कंगो, जिम्बाबे, पेरु, भारत र नेपालका माओवादीबारे पनि अध्ययन गरेकी छन् । नेपाली माओवादका सन्दर्भमा आदित्य अधिकारीको द बुलेट एन्ड द ब्यालेट बक्सबाट लेखक अत्यन्त प्रभावित देखिन्छिन् ।

६०/७० दशकमा निर्मित विश्वव्यापी छविभन्दा निकै जटिल व्यक्ति हुन्, माओ । भद्रगोल परिस्थितिलाई सम्हालेर लगे पनि उनी साम, दाम, दण्ड, भेद सबै जान्दथे । विरोधी विचारलाई तह लगाएरै अगाडि बढ्ने रणनीति हुन्थ्यो, उग्र माओवादमा । माओकै पालामा धेरै मानिस मारिएका छन् भने साम्यवादी कृषि प्रणालीको प्रयोगले थुप्रै चिनियाँले भोकमरीमा ज्यान गुमाएका छन् । माओवादको निकै खराब प्रयोग कम्बोडियामा भयो, जहाँ पोलपोटको शासनकालमा आधुनिक मानवताविरुद्ध जघन्य अपराध भए । राष्ट्रवादी माओबाट केही अर्थमा सी चिनफिङ पनि प्रभावित देखिन्छन् ।

माओत्से तुङकै माओवादमा नदेखिएको जनजातीयता नेपालको माओवादी युद्धमा भने एक चालक शक्ति बन्यो । जातीय र लैंगिक उत्पीडनविरुद्ध मोर्चाहरु खडा भएकाले नेपालको माओवादी युद्धले छिट्टै गति लिएको तथ्यलाई बिर्सन सकिँदैन । सत्ताप्राप्तिपछि नेपाली माओवादी विभिन्न टुक्रामा विभाजित भए । त्यसको ठूलो हिस्सा संसदीय सत्तामा छ भने सानो समूह विद्रोही लहरमा । 

धेरै अनुसन्धानले पुष्टि गरेको छ कि कुनै पनि व्यक्ति/समाज विकरालता या अतिवादमा पस्दा मानवता र नैतिकता भत्किन्छ । तर ६० लाख मानिस राखिएको हिटलरको क्याम्पभित्रका केहीले भने साहसी र मानवतावादी काम गरेका घटनावली फेसिङ द एक्स्टि्रममा पढ्न पाइन्छ । स्वेटेन तोदोरोभलिखित यो किताबमा ग्यास च्याम्बर लानुअघि क्याम्पमा राखिएका यहुदीहरुको भोगाइलाई मनोवैज्ञानिक शैलीमा पस्किएको छ । आफू बाँच्ने नाममा सामान्य मानवता पनि बिर्सिदिने थुप्रै मानिसमाथि तोदोरोभले व्यक्तिगत शोध नै गरेका छन् । आपतविपद्मा महिला आफ्नो पीडानुभूति अरुलाई सुनाएर हल्का हुने कोसिस गर्ने तर आदर्श र अहंका कारण पुरुष उदासीमा फस्छन् । 

समुदायका गन्यमान्यदेखि राजनीतिक नेतृत्वमा समेत नैतिक स्खलन देखिन्छ । राजनीतिक परिवर्तन र संकटका बेला उत्साहित जनता नेतृत्वको नैतिक मेरुदण्ड हराएपछि निराश हुन्छन् । उद्धारक नेतृत्व नभेटिएपछि सामान्य परोपकारी र सहयोगी व्यक्तिमै नायकत्वको प्रतिविम्ब हेरेर चित्त बुझाउनुपर्छ । कहिलेकाहीँ आफ्नो समुदाय र साहसमाथि सन्देह पैदा हुँदा यो किताब दोहोर्‍याउँछु । 

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: पुस २३, २०७६

ट्याग: तीन किताब
×