सामाजिक सञ्जालका असामाजिक हामी
आफ्नो सजिलोका लागि नानीबाबुहरूलाई मोबाइलमा भुलाउने हाम्रो प्रवृत्तिले उनीहरूको मनोविज्ञानमा कस्तो असर पार्ला ?
केही साताअघि मेरा एक साथीले फेसबुकमा लेखे, ‘मेरो दुर्घटना भइजाओस् र डाक्टरले भनिदिओस्– आई एम सरी ।’ आज हामी धेरैजना फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा मर्नेदेखि लिएर बाँच्नेसम्मका (अ)प्रतीज्ञाहरू पोस्ट गर्दै छौँ ।
कसैलाई गाली गर्नुपर्यो भने हामी सामाजिक सञ्जालमा व्यंग्यसाथ गाली गर्छौं । प्रशंसा गर्नुपर्यो भने खुसी बनाउने शब्द फालिदिन्छौँ । हाम्रा सबै खालका भावना, विचार र कुण्ठा पोख्ने ठाउँ सामाजिक सञ्जाल बनेको छ तर कहिलेकाहीँ यस्ता भ्रमपूर्ण सामग्रीसमेत पोस्ट गरिरहेका छौँ कि हामी असामाजिक, संवेदनाहीन, सिर्जनाविहीन र विवेकहीन भइसकेका छौँ । तर यो कुरा हामी स्वयंलाई अवगत छैन । असामाजिक भएर पनि हामी सामाजिक भएको ठान्दै छौँ । ‘स्वचालित मेसिन’ बनिसकेका हामी डिजिटल विचार बोकेर डिजिटल जीवन व्यतीत गरिरहेका छौँ ।
दिउँसो ११ बजेतिर इटहरी फर्किरहेको थिएँ । म बसेको सिटछेउ बच्चा काखमा लिएर एक महिला बसेकी थिइन् । उनीसँगै उनका ९/१० वर्षका छोरा पनि बसिरहेका थियो । ऊ मोबाइलमा युट्युबमा डाउनलोड भएका एनिमेटेड भिडियो हेर्दै थियो मस्तसँग । ऊ घरी भिडियो हेर्थ्यो, घरी गेम खेल्थ्यो । एकै शब्द बोलेन । धरानदेखि इटहरीसम्म करिब १७ किलोमिटर बाटोमा ऊ मोबाइलमै व्यस्त भइरह्यो । सामाजिक सञ्जाल र मोबाइलले हाम्रा नानीबाबुहरूलाई कसरी गुलाम बनाइरहेको छ भन्ने एउटा उदाहरण मात्रै हो । सानैदेखि मोबाइलमा यसरी व्यस्त भए भने हाम्रा नानीहरूको मनमस्तिष्क कस्तो बन्ला ? वास्तविक जीवन र समाजप्रति उनीहरूको बुझाइ कस्तो बन्ला ?
केही महिनाअघि इटहरीबाट इनरुवा जाँदै थिएँ, ‘म्याजिक भेन’ मा । अगाडिको सिटमा दुई बालक आमासँग बसिरहेका थिए । ती दुई बालक पालैपालो मोबाइलमा गेम खेलिरहेका थिए । दिनरात मोबाइलमा गेम खेल्दाखेल्दा एकजनाको आँखा साह्रै कमजोर भइसकेको रहेछ । तर न त्यो बाबुलाई न त उसकी आमालाई नै त्यसबारे कुनै चिन्ता थियो ।
सोधेँ, ‘बाबु, दिनमा कति घन्टा गेम खेल्छौ ?’
‘जतिबेला पनि । दिउँसो पनि र राती पनि ।’
उसको जवाफले म छक्क परेँ ।
सामाजिक सञ्जाल भनिने इन्टरनेटका यी प्लेटफर्महरूले मानसिक रूपमा मात्र होइन, हाम्रो शारीरिक, सामाजिक, शैक्षिक जीवन नै बिथोलेको छ । यसबाट सबैभन्दा बढी सिकार हाम्रा साना नानीहरू भइरहेका छन् । आजका बालबालिकाहरूले मोबाइल तथा कम्प्युटरका गेमबाहेक अरु खेल खेल्न बिर्सिसकेका छन् । घरबाहिर खेलिने खेलहरू विद्यालयका पुस्तकमा सीमित भइहाले ।
अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई मोबाइल र सामाजिक सञ्जालको कुलतबाट बाहिर निकाल्न पुस्तक पढ्न तथा शारीरिक रूपमा फाइदा हुने खेलहरू खेल्न प्रोत्साहन गर्नुपर्ने हो तर विडम्बना यसो हुन सकेको छैन । अभिभावक, शिक्षक र बुझ्ने मानिसहरू नै यसलाई नजरअन्दाज गरिरहेको देखिन्छ । बेलैमा ध्यान नदिने हो भने हामी प्राविधिक पागलपन, प्राविधिक आत्महत्या र प्राविधिक मृत्यु भोग्न विवश हुनेछौँ । त्यतिबेला सोच्न ढिला भइसकेको हुनेछ ।
केही दिनअघि बेलुका मेरी भतिजी मोबाइलमा गेम खेलिरहेकी थिई । अचानक कोठामा चमेरा पस्यो र उसकै छेउछाउ उड्न थाल्यो । धेरै समय बितिसक्दा पनि उसले आफ्नो छेउछाउ चमेरो उडिरहेको थाहा पाइन । ऊ मस्त मोबाइलमा रमाइरहेकी थिई । धेरै बेरपछि उसले चमेरो उडेको थाहा पाई र डराउँदै कोठाबाट बाहिर भागी ।
मोबाइलको दुनियाँबाहिर के भइरहेको छ भन्ने थाहा नपाउनु चिन्ताको विषय हो । साना नानीहरूलाई मात्र होइन, ठूलाबडाहरूलाई पनि त्यति मतलब देखिँदैन । सानाहरूलाई बिगारेकै घरका ठूलाबडाहरूले हो । आफ्नो सजिलोका लागि नानीबाबुहरूलाई मोबाइलमा भुलाएर लत लगाउने श्रेय हाम्रै हो ।
इन्टरनेटमा हामी लाइक, कमेन्ट, सेयरको भुलभुलैयामा बाँचिरहेका छौँ । ट्वीट, रिट्वीट खोजिरहेका छौँ । सब्सक्राइब, फलोअर, लाइक, डिस्लाइकको हाँगामा झुन्डिएर आत्महत्या गर्न खोजिरहेका छौँ ।
एक वर्षअघि फाइलहरू प्रिन्ट गर्न इटहरी चोक गएको थिएँ । दुई महिला मोबाइल चलाएर बसिरहेका थिए । एकजना महिला पसलकी सञ्चालक थिइन् । अर्की युवती त्यहीँ काम गर्थिन् । मैले दुईसय जति पेज भएको फाइल प्रिन्ट गरिदिन भनेँ । उनले प्रिन्ट गर्न थालिन् । प्रिन्टरको अगाडि कुर्सीमा बसेर ती युवती मोबाइल चलाउँदै थिइन् । प्रिन्ट भएका पेपरहरू प्रिन्टरबाट भुइँमा खसिरहेका थिए । एकएक गर्दै पेपरहरू भुइँमा खसिरहे । तर, ती युवती अझै म्यासेन्जरमा व्यस्त थिइन् । पेपरहरू जताततै मिसिए ।
‘पहिला मेरो पूरै फाइल क्रमश: प्रिन्ट गरिदिनुहोस् अनि जति मन लाग्छ, मोबाइल चलाएर बस्नू’, म झर्किएँ । म झर्किएर केही हुनेवाला थिएन । पेपरहरू बोकेर बाहिरिएँ । यो घटनाले मलाई सोच्न बाध्य बनायो । प्रविधिले हामीलाई निलिसकेको हो त ? मलाई वितृष्णाजस्तो पनि भयो । केही महिनासम्म मोबाइल थन्क्याइदिएँ । सामाजिक सञ्जाल पनि चलाइनँ ।
मोबाइलले हामीलाई अल्छी बनाइरहेको छ । भर्चुअल दुनियाँमा हामी खुब रमाएर कुरा गर्छाैं तर वास्तविक जीवनका मानिसहरूसँग संवाद गरिरहेका छैनौँ । कुशल ज्ञान दिन सक्ने आफ्नैअगाडिका मानिस हामी चिन्दैनौँ । घन्टौँसम्म युट्युबमा ‘मोटिभेसनल भिडियो’ हेरिरहन्छौँ तर हाम्रै हजुरबुबा, हजुरआमा, बाबु, आमा र परिवारका अन्य सदस्यका कुरा सुन्न रुचि राख्दैनौँ । छरछिमेकीहरूका ‘मोटिभेसन’ लाई हामी अनावश्यक दबाब ठानिदिन्छौँ । प्रश्न उठ्छ– इन्टरनेटका सञ्जालले हामीलाई सामाजिक बनाएको छ कि असामाजिक ?
मेरी एक साथीले अस्ट्रेलियाको जंगलमा लागेको आगोबाट जलेको एउटा जनावरको तस्बिर फेसबुकमा पोस्ट गरेकी थिई । आफ्नै पोस्टमा ‘रोएको रियाक्ट’ समेत गरी । तर, क्याप्सनमा भने ‘हाहा’ को इमोजी थियो । हुन सक्छ हतारमा पोस्ट गर्दा ‘स्याड इमो’ को साटो ‘हाहा इमो’ भयो । तर अस्ट्रेलियाको जंगलमा डढेलोका कारणले मरेका करिब पचास करोड पशुपन्छी हाम्रा निम्ति सामान्य चुट्किलाको विषय कसरी हुन सक्छ ? मैले भनेपछि भने उसले सच्याई ।
हाम्रो धेरैभन्दा धेरै समय फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा व्यतीत भइरहेको छ । र, पनि फुर्सद हामीलाई छैन । यदि त्यस्तो हुँदो हो त हामी हतारमा किन प्रतिक्रिया दिन्थ्यौँ ? कमेन्ट गरिहाल्न हामीलाई किन हतार हुन्थ्यो ?
इटहरीका सम्राट गौतम मोबाइल र सामाजिक सञ्जालको कुलतबाट निम्तिने समस्याहरूबारे लेख पढेपछि आफ्नो आनीबानी फेर्न निर्णयमा पुगे । ‘मायावी मोबाइल’ शीर्षकको लेख पढेपछि उनले दिनमा एक घन्टा मात्र मोबाइल चलाउने प्रतीज्ञा गरे । दिनरात मोबाइलमा बिताउने उनी आजकाल साथीभाइहरूसँग समय बिताउँछन्, परिवारका सदस्यहरूसँग संवाद गर्छन् । “पहिले रातभरि मोबाइल चलाएर निद्रा पुग्दैनथ्यो । काममा पनि मन लाग्दैनथ्यो । शरीर जतिबेला पनि थाकेजस्तो हुन्थ्यो,” उनी भन्छन्, “अहिले सामाजिक सञ्जालमा दिनको एक घन्टाभन्दा बढी बिताउँदिनँ । आनन्द महसुस भएको छ ।”
हामी आफू, आफ्नो देश र समाजलाई बुझेर मोबाइलको दुर्व्यसनबाट आफू र आफ्नाहरूलाई बाहिर निकाल्न सक्छौँ । आफू र आफ्ना प्रियजनलाई वास्तविक जीवनसँग घुलमिल गराइदिन सक्छौँ । यसका लागि पहिला घरका बुज्रुकहरू पहिला यो कुलतबाट बाहिर निस्कनुपर्यो । त्यसपछि बालबालिकाहरूलाई यसका खराब पक्षहरूबारे बताएर बिस्तारै मोबाइल र सामाजिक सञ्जालको प्रयोगलाई जीवनअनुकूल बनाउन सकिन्छ ।
सूचना–सञ्चार प्रविधिको शक्तिलाई नजरअन्दाज गर्ने भनेको होइन । मोबाइल र सामाजिक सञ्जालविना रहनुपर्छ भन्ने पनि मेरो आशय होइन । तर, व्यवस्थापन भने अतिआवश्यक भइसकेको छ । आवश्यक पर्दा केही समयको निम्ति मात्र मोबाइल तथा सामाजिक सञ्जाल चलाउनुपर्छ भन्ने मेरो कुरा हो । असामाजिक, असंवेदनशील र चेतनाविहीन नभइकन मोबाइल र सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । मैले भन्न खोजेको यत्ति हो ।
मोबाइल र सामाजिक सञ्जालको अतिप्रयोग व्यवस्थापन गर्न के गर्ने ? यसको सजिलो तरकिा छ । उठ्नेबित्तिकै मोबाइल नचलाउने । उठेपछि प्रकृतिसँग साक्षात्कार गर्नुपर्छ । व्यायाम र ध्यान गर्नुपर्छ । घरका काम भ्याउनुपर्छ । बिहानको ८ बजेभन्दा अघि मोबाइल नचलाउनु उत्तम हुन्छ । यसले हाम्रो ध्यान परिवार, काम, समाज र प्रकृतितर्फ आकर्षित हुन्छ । काममा छौँ भने पनि मोबाइल चलाउनु हुँदैन । काम सकेर थाकेको बेलामा ‘माइन्ड फ्रेस’ गर्न केही समय मोबाइल चलाउन सक्छौँ तर ख्याल रहोस् निकै थोरै समयको निम्ति मात्र ।
काम परेको बेला हामी पुन: सामाजिक सञ्जालको प्रयोग गर्न सक्छौँ । तर बिनाकाम समय काट्न मात्र सामाजिक सञ्जाल चलाउनु अर्थहीन हुन जान्छ । बरू पुस्तक पढ्ने, परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, कामका बारेमा छलफल गर्ने, चिन्तन मनन गर्ने । ठूलाबडाहरूले नानीहरूका जिज्ञासा सुन्ने र उत्तर दिने प्रयत्न गर्ने, उनीहरूसँग खेल्ने र रमाउने । योभन्दा राम्रो अरु कुरा हुन सक्दैन । यसबाहेक सुत्ने बेलामा मोबाइल कदापि चलाउनु हुँदैन । मोबाइल आफू सुतेको ठाउँभन्दा पर राख्नु पनि एउटा तरिका हो ।
यसरी हामी मोबाइल र सामाजिक सञ्जालसँगै व्यवस्थित जीवन निर्वाह गर्दै आफ्नो र आफ्ना नानीबाबुहरूका जीवनमा खुसी ल्याउन सक्छौँ । अनि प्रकृित, परिवार, समाज, देश र पूरै संसारलाई नै प्रेम र अपनत्वको अँगालो मारेर खुसी र आनन्दमय जीवन व्यतीत गर्न सक्छौँ ।
अब तपाईंको पालो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगका बारेमा तपाईंको अनुभव के छ ? हामीले सामाजिक सञ्जालको सही प्रयोग गरेका छौँ ? हाम्रो जीवनमा इन्टरनेटको महत्त्व वा आवश्यकता के हो ? इन्टरनेटको सही प्रयोग कसरी गर्न सक्छौँ ? आफ्नो लेख/विचार [email protected] मा पठाउनुहोस् ।
सामाजिक सञ्जालबारे नेपाल कभरेज
लाइक, लभ र रिट्वीटको चक्करमा छटपटिएका हामी
अनलाइनमा बालबालिका कति सुरक्षित ?
साइबर अपराधको निशानामा बालबालिका
२०७५ काे आवरण कथा» (अ)सामाजिक सञ्जाल
फेसबुकको (कु)लत
'भाइरल ब्वाई’ अशोक दर्जीको व्यथा
अभिव्यक्ति स्वतन्त्रताको नाममा गाली–गलौज
राम्री देखिनुपर्ने दबाब
इन्टरनेटका आजित उपभोक्ता
भर्चुअल दुनियाँको वेदना (नाटक : गुम्फन)
कविताः एलेक्सा, हनुमान चालिसा सुना !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...