स्वप्‍निल स्मृतिको कविता : चामल

  • कविता

- स्वप्निल स्मृति

स्वप्निल स्मृति (०३८) युवा पुस्ताका सशक्त कवि हुन् । परम्परागत मान्यताहरूमाथि प्रश्न गर्नु र परिवर्तनको आवाज मुखरित गर्नु उनको लेखनको ध्येय हो । उनी कवितामा सीमान्तकृत, उत्पीडित र अल्पसंख्यकहरूका दबिएका आवाज बोल्छन् । लिम्बू मिथकहरूलाई उनी आफ्नो काव्यिक मालामा उन्छन् ।

उनका 'रङ्गैरङ्गको भीर’ (२०६२) र ‘बाडुली र सुदूर सम्झना’ (२०६८) कवितासंग्रह प्रकाशित छन् । यसबाहेक उनका फुटकर कविताहरू पनि उत्तिकै लोकप्रिय छन् ।

प्रस्तुत छ उनको कविता 'चामल' :


एक किलो चामलमा कति होलान् दानाहरू

मैले बाँच्ने प्रत्येक दिनलाई

दुई—दुई दाना छुट्याउन चाहन्छु ।

यो तेत्तीस किलो सुन तस्करी हुने देशमा

म एक किलो चामल किन्न

भोकले रन्थनिएर सुपर मार्केट छिरेको छु !

एक किलो चामलमा कति धेरै शक्ति रहेछ

सुपरमार्केटबाट म

कुनै क्षेप्यास्त्रको वेगमा

आफ्नो डेराघरको किचन पुगिसकेको छु ।

एक किलो चामल—

चामल छुँदा देउता चढेर होला म काम्न थालेछु ।

एक चिम्टी चामल उबाएर काँसे थालमा

अब म जोखना हेर्न थाल्छु

जोर बिजोर, जोर बिजोर

भोकले कहाँ—कहाँ मर्दै छन् पृथ्वीवासीहरू !

प्रकाशित: पुस २५, २०७६

×