आदिवासी अस्तित्व

- रवि थापा

अध्यात्मिक या पर्यटकीय वर्णन मात्रै ठानेर बेवास्ता गरेको  पिटर म्याथिसनलिखित द स्नो लियोपर्डको शैली त मनमोहक पो रहेछ । लोपोन्मुख जनावर, प्रकृति र जातिबारे अध्ययन गर्ने म्याथिसन वैज्ञानिक अध्ययन भएका प्रकृतिवादी हुन् । उनी डोल्पो घुम्न आउँदा क्यान्सरपीडित श्रीमतीको निधनको पीडा थियो भने सन्तानहरु अमेरिकामा उनैलाई पर्खिरहेका थिए । हिउँचितुवा भनेर चिनिने रहस्यमयी हिमाली बिरालोको खोजीमा निस्कँदा जीववैज्ञानिक जर्ज स्यालर पनि साथै थिए । शेर्पा र भरियाहरुसँग हिमाली शृंखला र तिब्बती पठार हुँदै यात्रा गर्दा उनले हिउँचितुवा, नाउर र दुर्लभ नीलभेडाबारे पनि तथ्यांक बटुलेका छन् । धेरै जनावर पहाडमा रहने भएकाले उनीहरुको सम्भोग अनुष्ठान र सामाजिक व्यवहारबारे हामी अनविज्ञ छौँ । किताबका रोचक दृश्यले जनावरका परस्पर व्यवहार मात्रै होइन, अप्रत्यासित मौसमबारे पनि जानकारी दिन्छ । 

जेन दर्शनबाट प्रभावित म्याथिसनको यो किताबले प्रकृतिको सौन्दर्यलाई मात्रै चित्रण गर्दैन, आफैँलाई चिन्ने मौका दिनुका साथै डोल्पोको ठकुरी गाउँबारे मोहक व्याख्या र भरियाबीच हुने जातीय विभेदलाई देखाएको छ । सहरिया चक्कर र वैयक्तिक समस्यामा अल्झिएर जीवनको वास्तविक खुसी लिनुभन्दा आगतको योजना र विगतको पश्चात्तापमा रुमल्लिरहेका हुन्छौँ । तर पन्छीका गान, खोलाका कलकलजस्ता उपभोक्तावादले नछोएका प्राकृतिक मिठासलाई नजिकबाट छाम्न सकिरहेका छैनौँ । म्याथिसनले यही प्राकृतिक लयलाई पानापानामा उतारेका छन् । 

क्यानेडियाली र अमेरिकी आदिवासी–जनजातिप्रति विशेष रुचि राख्ने ह्युग ब्रडीको द अदर साइड अफ इडनमा सिकारमुखी आदिवासी र कृषि सभ्यताबीचको तनावलाई देखाइएको छ । आदिवासीसँग बसेको, घुमेको र काम गरेको अनुभवका आधारमा लेखिएकाले यो किताबमा घुमन्ते जाति र सहरिया समुदायको तुलनात्मक अध्ययन गरिएकाले उपयोगी हुन सक्छ । खेती गर्ने समाजले धकेल्दै अझै कुनाकाप्चामा पुर्‍याएकाले अहिले अस्ट्रेलियाको केही भाग र साइबेरियाको माथिल्लो भूखण्डमा फिरन्ते जातिहरु खुम्चिएका छन् । सहरिया आँखाले सिकारी जातिलाई ‘असभ्य’ देखे पनि वास्तविकता उल्टो रहेको ब्रडीको दाबी छ । अन्धाधुन्ध नडुल्ने र अनुशासित भएकाले घुमन्ते जातिहरुले निश्चित भौगोलिक क्षेत्रको मौसम, बोटबिरुवा, हावापानी सबै विचारेर मात्रै आफ्नो यात्रा अगाडि बढाउँछन् । समुदायमा विश्वास गर्ने सिकारी जातिहरुबीच पनि एकले अर्काेलाई दक्खल दिँदैनन्, उनीहरुको आफ्नै हक अधिकारसहितको नियम हुन्छ । यदि यस्तो विधि नहुँदो त ती क्षेत्रका प्राकृतिक सम्पदा उहिल्यै नष्ट भइसक्थे । बरु ‘सभ्य’ भनिएकाहरुले आवादीको संज्ञा दिएर जमिन र जंगल अतिक्रमण गरेका छन् । प्राकृतिक स्रोत–साधन विनाश गर्दै आदिवासी बस्तीहरुमा उपनिवेश कायम र खेतीपाती गर्नेहरु नै घुमन्ते जाति हुन् भन्ने विश्लेषण ब्रडीको छ ।

नेपालका राउटेहरुलाई सरकारी या गैरसरकारी क्षेत्रबाट आवास योजना ल्याउनु उनीहरुको जीवनदर्शनलाई नबुझेर ‘असभ्य’ देख्नु हो । राउटे मात्रै होइन, आदिवासी–जनजातिको जीवनदृष्टि, चालचलन, रीतिरिवाजभित्रका मौलिक पद्धतिलाई ‘मूलधार’ को चेतनाले नबुझेकाले दोयम ठाने को देखिन्छ । आदिवासीहरुको स्रोत दोहन गर्दै अंग्रेजी भाषा जबर्जस्ती सिकाउनु पनि चिन्तनमा रहेको समस्या हो । जातीय विविधता भएको मुलुकमा एउटै आर्थिक विकासको डालोमा हालेर परियोजना बनाउनु न्यायोचित होइन भन्ने अवधारणा छ, यो किताबको । 

पउल किंग्सनर्थले बेलायतमा आफ्नै दार्शनिक अभियान चलाए– डार्क माउन्टेन । मूलधारले भनिरहेको भन्दा फरक प्रकृति–कथा अनावृत्त गर्न अघि सारिएको यो परियोजनाअन्तर्गत लेखिएको द वेक लगभग एक हजार वर्षअघिको समयमा आधारित ऐतिहासिक आख्यान हो । अंग्रेजहरु बेलायत आएका बेला त्यहाँको टापुमा बसोबास गर्ने एंग्लो–सेक्सन जातिको सभ्यता अर्कै थियो । आक्रमणपछि तीन–चार सय वर्षसम्म फ्रान्सेलीहरुले नै राज्य गरे । दरबारिया भारदारसमेतले बोल्ने भएपछि आम जनताको पहुँचभन्दा पर पुग्यो, फ्रान्सेली भाषा । यिनै बाहिरी आक्रमण र शासनको सुरुआती कालखण्डको दृश्य समेटिएको द वेकको महफ्वपूर्ण पाटो हो– भाषा । पुरानो र नयाँ अंग्रेजीको वर्णशंकर लयमा मन्त्रको आभास भए पनि अत्यन्तै मिहिनेत गरेर पढ्नुपर्छ । 

लन्डनबाट टाढा गाउँमा बस्ने एक हुनेखाने किसानले भोगे–बुझेको कथा नै किताबको केन्द्रमा छ । फ्रान्सेली आक्रमणमा श्रीमती र छोरी मारिनुका साथै गाउँ जलेपछि आफ्नो जमिन बचाउन उनले केही साथीको सहयोगमा गरेको छापामार विद्रोहलाई किताबमा देखाइएको छ । लन्डनबाट पठाइएको घोडचढी सैन्यबललाई बदला भावले आक्रमण गरे पनि उनीहरुले केवल पराजय बेहोर्छन् । क्रिस्तानी धर्मका शाखाहरु र विश्वास पद्धतिका विविधता झल्काइएको यस आख्यानमा प्रमुख पात्रले आफूलाई विद्रोही नायक ठाने पनि सफल हुँदैनन् । कतिपय प्रसंगमा उनको मानसिक अवस्था सहज पनि छैन । यो किताबले मूलधारे मानसिकतालाई उल्ट्याएर हेर्नुपर्ने अवधारणा दिन्छ । 

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: पुस २९, २०७६

ट्याग: तीन किताब
×