‘रैथाने संगीत नै मूलधार’– गायिका झुमा लिम्बू
जसलाई मूलधार भनिरहेछौँ, त्यो मूलधारै होइन । हामी रैथानेलाई नै मूलधार बनाउँछौँ ।

रैथाने संगीत अभियान हाक्पारेबाट नै किन थालिएको ?
पूर्वको भाकादेखि थालौँ भनेर । म मुन्धुममै काम गरेकोले तयारी गर्न सजिलोका लागि पनि हो ।
भूमण्डलीकरणभित्र स्थानीयताको खोजी हो यो ?
हो । भूमण्डलीकरण आफैँ भइहाल्छ । स्थानीयताचाहिँ खोज्नुपर्ने आवश्यकता देखियो ।
कसरी ?
हाम्रो संगीतमा नेपाली संगीत कहाँनेर छ भनेर खोज्दा एकदमै कम मात्रै भेटियो । भाषा हाम्रो छ, संगीत अर्काकै । नेपाली हो भनेर उभिनलाई आफ्नो संगीत कम पाइएपछि खड्कियो । हाम्रो संगीत त अर्कैले लगिसकेछ ।
कसले लगेछ ?
परार साल बेलायतको पुस्तकालयमा जाँदा मैले एक डेढ सय वर्षअगाडिको नेपाली संगीतहरु सुनेँ । सुन्न पाइने, कपी गर्न नपाइने । हामीले पहिचानका यस्ता ऐतिहासिक कुरा कति गुमायौँ होला ।
भनेपछि तपाईं पहिचानको खोजीमा हुनुहुन्छ ?
हो । नेपाली संगीत आफ्नो पहिचान बनाएर विश्वमा उभिएकै छैन । उभिने बनाउनुपर्यो नि ।
मूलधारे संगीतमा केही कमी देखेर यता लाग्नुभएको त होइन ?
जसलाई मूलधार भनिरहेछौँ, त्यो मूलधारै होइन । हामी रैथानेलाई नै मूलधार बनाउँछौँ ।
रैथान संगीत कहिले मूलधारको बन्ला ?
संगीत संस्कृतिबाट आउने हो । संस्कृतिबारे थाहा पाउन समय लाग्छ । यस्ता रैथाने समूह कम्तीमा १०/१५ वटा हुनुपर्यो । अनि कम्तीमा ५०/६० वर्षमा हामी संगीत सुन्ने स्तरमा पुगौँला । अहिले त हामीलाई भातकै समस्या छ ।
हाक्पारेलाई लिम्बू दर्शनले कसरी लिन्छ ?
हाक्पारेभित्र सृष्टि, समाज, सभ्यताको कथा छ । धेरै नै गम्भीर कुरा गर्छ हाक्पारेले ।
मुन्धुम गायिका भन्दा आफ्नो परिचय खुम्चेजस्तो लाग्दैन ?
दुई/चारवटा गाएर कहाँ मुन्धुम गायिका हुनु ? यो त अरुले भन्दिएको मात्र हो ।
तपाईंको अनुभवमा गीत र संगीतको फरक के हो ?
गीत एउटा मानिसको भाव हो भने संगीत सिंगो समाजको प्रतिनिधित्व । गीत एउटा मानिसले लेख्ने हो । संगीत समयले जन्माउने हो ।
तपाईंको संगीतबाट अभिव्यक्त गर्न खोजिएको मुन्धुमी दर्शन के हो ?
समाजमा चाहिने आधारभूत कुरा यी हुन् भनेर दिन खोजेकी छु । लिम्बू समुदायले दिएको दर्शनलाई मैले संगीतमा ढालेर ल्याएको मात्रै हो । मुन्धुमी दर्शन व्याख्या गर्ने ल्याकत मसँग कहाँ हुनु !
तपाईंले च्याब्रुङ र सारंगीको फ्युजन गर्नुभयो । आर्य र लिम्बू संस्कृतिको सम्मीलन आवश्यक छ भन्न खोज्नुभएको हो ?
मेलोडीका हिसाबले सुदूर पूर्व र सुदूर पश्चिम एकदमै धनी छ । रिदमको हिसाबले मध्य बलियो छ । पूर्व र पश्चिमको मेलोडीलाई फ्युजन गर्ने ठूलो रहर थियो । त्यसलाई प्रयोग गरेको हुँ ।