'चक्काको जमाना गएपछि गीत गाउन छुट्यो'
चक्का (क्यासेट) को जमाना गएपछि गीत गाउन छुट्यो । आर्थिक अभाव भइरह्यो । साथ दिने मान्छे भएनन् । पहिले त गीत गाएरै परिवार पालेँ । गाउन छुटेपछि छोरा र बुढा मजदुरी गर्न भारत पुगे ।

बाजुराको बाह्रबीसमा जन्मिएकी ५० वर्षीया डिक्रा वादी अहिले चर्चामा छिन् । गायन क्षेत्रमा लागेको एक दशकपछि राजधानीमा सम्पन्न एकल साँझबाट उनी एकाएक चर्चामा आइन् । १५ सयभन्दा बढी गीत गाइसकेकी वादीसँगको कुराकानी :
काठमाडौँ आउने मेसो कसरी मिल्यो ?
डोटीका साहित्यकार हेमन्त विवशले ओझेलकी दिदीलाई कसरी अगाडि ल्याउनुपर्छ भनेर खोज्नुभयो । मेरो पीडा बुझेरै राजधानीमा ल्याउनुभएको होला ।
खोजेरै ल्याउनुपर्ने बाध्यता के थियो ?
चक्का (क्यासेट) को जमाना गएपछि गीत गाउन छुट्यो । आर्थिक अभाव भइरह्यो । साथ दिने मान्छे भएनन् । पहिले त गीत गाएरै परिवार पालेँ । गाउन छुटेपछि छोरा र बुढा मजदुरी गर्न भारत पुगे ।
यसअघि मञ्चमा एकल गाउनुभएको थियो ?
मुम्बई, बैङलोर, गुजरात, गोवा, पुणाका कार्यक्रममा गाएँ । सुदूरपश्चिम महोत्वसमा पनि गीत गाएँ । तर एकल कार्यक्रम यो नै पहिलो हो ।
एकल कार्यक्रमको अनुभव कस्तो रह्यो ?
अलिकति अप्ठेरो लाग्यो, लामो समय गाउन छुटेकाले । केही दिन झुमा -लिम्बू) बहिनीको टिमले तालिम (रियाज) गराएर सजिलो पारिदियो । आठ दोहोरी र चार ठाडी भाका गाएँ ।
अघिल्ला कार्यक्रम र यसमा केही भिन्नता पाउनुभयो ?
तालिम लिएर गाउँदा राम्रो भयो । पश्चिमेलीले त बुझ्ने नै भए, पूर्वेलीले पनि राम्रो माने । शब्द अनुभव नलिए पनि स्वर राम्रो रहेछ भने । पूर्वतिरका दर्शकले एकदमै मन पराए । सम्मान गरे ।
एकल कार्यक्रमपछि गाएरै जीवन सहज बनाउन सक्छु भन्ने आत्मविश्वास आयो ?
प्रस्तुतिपछि धेरैले 'सहयोग गर्छु, अगाडि बढाउँछु' भनेका छन् । 'अब दब्नुपर्दैन । साथ दिन्छौँ' भन्नेहरु पनि भेटेँ । पहिल्यैदेखिको आफ्नो कला छाड्ने मन छैन । सकेसम्म नछाडौँ भन्नेमा छु ।
गीत गाएरै पैसा कमाइएला भन्ने लागेको छ ?
पैसा कमाउँला भन्ने छैन । गीत गाउने म मात्रै होइन । म पुरानो कलाकार । धेरै प्रतिभाशाली भाइबहिनी आइसकेका छन् । नपढेकी मलाई कसैले साथ दिए सफल हुन्छु भन्ने आँट छ । तर टेक्ने ठाउँ छैन ।
ठाडी भाकाको विशेषता के हो ?
दुःखी गीत हो यो- विरह, रुन मन लाग्ने खालको । केही गीतमा प्रेम पनि हुन्छ । डाँडामा घाँसदाउरा, यताउति जाँदा लामो लेग्रो तानेर गाइन्छ ।
गीत गाउने प्रेरणा स्रोत के हो ?
वनपाखा, घाँसदाउरा जाँदा ठाडी भाका, पश्चिमी देउडा गाउँथेँ । सबैले स्वर राम्रो छ भन्दिए । पहाडतिर त यस्तो गीत गाउनेलाई सबैले खुब मन पराउने अनि माया गर्ने । यही हो मेरो प्रेरणा ।