मुलुकलाई पहिलो एसियाली स्वर्ण दिलाएका अजित यादव भन्छन्– 'एथ्लेटिक्स नै हो जिन्दगी'
फुटबल खेल्दा कहिल्यै नगद पुरस्कार पाइनँ । एथ्लेटिक्समा पहिलो खेलमै पुरस्कार पाएँ । अब त एथ्लेटिक्स नै हो जिन्दगी ।
सप्तरीको राजविराजमा मध्यम परिवारमा जन्मिएका अजित यादवले एथ्लेटिक्समा मुलुकलाई पहिलो एसियाली स्वर्ण दिलाए । यही सन्दर्भमा उनीसँग कुराकानी :
पहिलो अन्तर्राष्ट्रिय खेलमै स्वर्ण अपेक्षा थियो ?
पदकको त आशा थियो, गोल्ड मेडलचाहिँ परको कुरा भयो ।
जित सम्भव कसरी भयो त ?
अचम्मै भयो । मैले आफ्नो पेस (दौडको गति) कायम गर्न सकेँ । मुलुकका लागि जित्छु भन्ने भित्री ऊर्जा थियो ।
यो प्रतियोगिताबाट सिकेको कुरा ?
हामी कमजोर छैनौँ । सरकारले रंगशाला बनाइदेओस् । सुविधा दिनुपर्यो । खेल्न खेलाडी तयार छन् । सरकारले सहजीकरण गरिदिए नतिजा दिन हामी तयार छौँ ।
खेलाडीलाई सुविधा छैन भन्न खोज्नुभएको हो ?
यो उपलब्धिको चमकधमक दुई/तीन महिना मात्रै रहनेछ । त्यसपछि राज्यले पनि बिर्सन्छ । यो उपलब्धिलाई सम्झेर पूर्वाधारलगायतका सुविधा बढाए भलो हुन्थ्यो ।
जितपछि कुनै अनपेक्षित प्रतिक्रिया पनि पाउनुभयो ?
केको प्रतिक्रिया पाउनु ? रंगशालामा नेपाली भनेकै गुरु मात्र हुनुहुन्थ्यो ।
अझ माथिल्लो स्तरको सफलताका लागि तयारी के छ ?
यो स्वर्ण जितेर मेरो मिहिनेत सकिएको छैन । देशको एथ्लेटिक्सलाई धेरै माथि लैजानु छ । एसियाली खेलमा पदक दिलाउनु छ ।
खेल्न जानुअघि भिसालगायतमा झमेला भएको रहेछ नि ?
चिनियाँ दूतावासले कागजात नपुगेको भन्दै दुईपटक फर्काइदिँदा गुरु सुनील राजवंशीसँग भनेको थिएँ, ‘छाडिदिऊँ’ सर, मेरो भाग्यमा अन्तर्राष्ट्रिय खेल खेल्न लेखेकै छैन ।' तर उहाँले हार मान्नुभएन । बल्लतल्ल भिसा लाग्यो । पुगेको भोलिपल्टै प्रतियोगिता थियो । आराम गर्न पाइएन । गोल्ड मेडल ल्याउनुअघिको त्यो दुःख बिर्सन सक्दिनँ ।
जितले दुःखलाई भुलाएन ?
झन् दुःख सम्झिएँ । यही खेलका लागि सुनील सरले अमेरिकाबाट जुत्ता ल्याइदिनुभएको थियो । ऐतिहासिक उपलब्धि दिलाउने यो जुत्ता सजाएर राख्न चाहन्छु ।
तपाईं फुटबल खेलाडी । धावकभन्दा फुटबलरकै आकर्षण बढी छ । अब फुटबल नखेल्ने ?
फुटबल खेल्दा कहिल्यै नगद पुरस्कार पाइनँ । एथ्लेटिक्समा पहिलो खेलमै पुरस्कार पाएँ । अब त एथ्लेटिक्स नै हो जिन्दगी । एथ्लेटिक्समा नगद पुरस्कारको गेम पनि भइरहन्छ । आर्थिक रुपमा सहज हुन्छ ।
खेल क्षेत्रमै करिअर बनाउने भनेर हौसिनुभएको छ । आर्थिक रुपमा सहज होला ?
संघर्ष गर्दै जाने हो । सरकारले ऐतिहासिक जित दिलाउनेको करिअरमा सहयोग गर्ला ।
केन्द्रीय सरकारले स्वर्णधारी खेलाडीलाई बेवास्ता गरेको भनेर तपाईंको परिवारको गुनासो सुनियो । त्यस्तै हो ?
म गरिब परिवारको हुँ । सरकारले सहयोग गरे मुलुकका लागि थप पदक ल्याउन सहयोग मिल्छ भन्ने अपेक्षा हो । गुनासो होइन ।
एपीएफबाट करारमा खेल्नुहुन्छ । फौजमा भर्ना हुने रुचि जागेको छैन ?
भाग्यले कहाँसम्म लैजान्छ, त्यतै जाने हो । अहिले त्यस्तो सोचेको छैन ।
सम्बन्धित
हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्...
कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अ...
‘बाथमा मुख बार्नुपर्दैन’
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?...
‘कामीरिताको कीर्तिमान तोड्छु’
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उक...
'अब कसले स्कुल खोल्छ ?'
यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल म...
'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो ।...