नोटबुक
सीमानजिकैका प्राय: पेट्रोल पम्प बन्द थिए । त्यसबारे सोध्दा पत्ता लाग्यो, सबै इन्धन नेपालतिर ‘सप्लाई’ हुँदाहुँदै रित्तियो रे !
पेट्रोल पम्पमा फन्को
पुसको अन्तिम साता सुनौली यात्रामा थियौँ मेरा मित्र र म । नाकाको चहलपहल हेर्ने अनि मोटरसाइकलमा पेट्रोल पनि भर्ने उद्देश्य थियो । भैरहवा हुँदै सुनौली बोर्डर पुगियो । एक पाइला नेपाल र एक पाइला भारतमा थियो । त्यो सम्झेर लाग्यो, देश त नक्सामा होइन, मनमस्तिष्कमा हुन्छ । सीमा कट्दा केही डर लागिरहेको थियो, डराउनुपर्ने कारणचाहिँ थिएन । बोर्डरनिरका भारतीय प्रहरीले टुटेफुटे नेपालीमा मुस्कुराउँदै सोधे, “कहाँ जान लाग्नुभो ?” हामीले ओठ चुच्याउँदै भारततिर देखाएर यस्सै घुम्न हिँडेको बतायौँ ।
सीमानजिकैका प्राय: पेट्रोल पम्प बन्द थिए । त्यसबारे सोध्दा पत्ता लाग्यो, सबै इन्धन नेपालतिर ‘सप्लाई’ हुँदाहुँदै रित्तियो रे ! अलि पर एउटा पम्प खुला थियो । त्यहाँ पुग्दा पेट्रोल लिन बसेका २०/२५ जनाको क्यू देखिन्थ्यो । लाइनमा केही खासखुस चल्दै थियो । बुझिनँ । ‘१५ रुपियाँ बट्टा काट्छ है ।’ कसैले भनेको सुनेँ । त्यसको अर्थ हुन्थ्यो, हामीले भारतीय रुपियाँ (भारु) एक सय लिन नेपाली रुपियाँ १ सय ७५ दिनुपर्ने, १ सय ६० होइन । तेल भरेर भारु नै दिएचाहिँ नपर्ने । मेरो रिसको पारो चढ्यो । तर, त्यहाँ रिसाएर काम बन्नेवाला थिएन । साथीसँग केही भारु रैछ । चुपचाप लाइन बसेँ ।
‘कित्ने डालोगे ?’ पम्पमा बसेको केटोले सोध्यो । भनेँ, “फूल ट्यांक और क्या ?”
“नही मिलेगा ।”
“क्युँ ?”
“दो सौका डालो । फिर क्यू पे बैठो । फिर दो सौका डालो ।”
म छक्क परेँ । एकैपटक ट्यांकी भर्न नदिने, घुमिफिरी आएर राखे पाइने । म बाठो भएँ ।
“तुझे एक सौ देंगें ।” उसले मुन्टो हल्लायो । “दो सौ देंगें ।” फेरि भनेँ । ‘नाइ’को मुन्टो हल्लाइरह्यो । घूसको रकम बढ्दैबढ्दै पाँच सय पुग्यो तर ऊ मानेन ।
“क्या करेंगे तो होगा ?”
“घुम घुम कर क्यू पे बैठो हो जाएगा ।” दु:ख दिने मेलो देखेर रिस उठ्यो । खास, यताका भाइभारदारले पम्प रित्याउन थालेकाले उताकाले त्यसो गरेका रे ! नेपाली भाइभारदार पनि फन्को लागेको लाग्यै । पम्पमा जतिखेरै उही अनुहारका मान्छे घुमेका घुम्यै । म पनि आठ पल्टसम्म पम्पको घेरो लगाएर तेल हालेँ । अनि, गह्रुँगो ट्यांकी र हलुँगो मन बोकेर फर्किएँ ।
लिटरको ८० रुपियाँ !
मोटरसाइकलमा तेल टन्न थियो, लुम्बिनी घुम्न हिँड्यौँ । बाटोमा मानिसहरू हुस्सुको पर्दा पन्छाउँदै ठमठमी हिँडिरहेका थिए । खित्रिङ–खित्रिङ बज्दै साइकल पनि कुदेका देखिन्थे । फाट्टफुट्ट मोटरसाइकल दगुरेका । रिसाएको मधेस गुम्म फुलेर बसेको थियो । सडकमा मोटर गुड्न दिइएको थिएन । हामी जोखिम मोलेरै अघि बढ्यौँ ।
लुम्बिनी परिसर सुनसान थियो । अघिपछि खैरो अनुहारले छरेको उज्यालोमा धपक्क बल्ने लुम्बिनी यसपालि झोक्राएको थियो । मध्यमस्तरीय होटल प्राय: बन्द थिए । केही सानामसिना पसल हुस्सुको घुर्मैलो च्यादर ओढेर ठिंग उभिएका थिए । एउटा टहरोजस्तो रेस्टुराँमा खाजा खान बस्यौँ । खाजा आउन केही बेर लाग्ने जानेपछि अगाडिको सानो पसलतिर म गएँ । यो देशझैँ कक्रकिएका पानीका बोतलमा टम्म मिलाएर केही वस्तु राखिएका थिए, अनुमान लगाएँ त्यो पेट्रोल होला ।
नजिक गएर फुच्चे साहूजीलाई सोधेँ, “यो के हो ?” पेट्रोल रैछ । “सस्तो छ हजूर ।” बच्चो साहूजी मुस्कुरायो । उत्सुकता लागिहाल्यो । कालोबजारिया पेट्रोल त्यहाँ कसरी सस्तो ? “८० रुपियाँमा लैजानूस् ।” म झन् छक्क परेँ । बोतलको बिर्को खोलेर नाक त्यसको घाँटीतर्फ बढाउँदा ह्वास्स अरू केही कुराको गन्ध आयो । बोतलबाट बढी जीवनजलको र थोरै पेट्रोलको गन्ध आयो । हाँस्दै निस्किएँ । पसले केटो त्यही मधेसझैँ फुल्लिएर मलाई हेरिरह्यो ।
भूकम्पको भक्कानो
त्यसै दिन साँझ काठमाडौँ फर्किनु थियो । रात्रिबसको ९ बजेको टिकट भएकाले बसपार्क हिँडेँ । सिटमा मान्छे र पेट्रोल बोकेका डब्बा बडो मिलनसार भई राजधानीतर्फको यात्रामा थिए । बिहानको ३ बजे मुग्लिङ कट्दा मान्छे घुर्न थालिसकेका थिए । केही बेरमा मछेउ बसेको एक मानिस अचानक चिच्यायो, “ए भूकम्प आयो गाडी रोक ! गाडी रोक भूकम्प आयो !”
ऊ यति बेस्सरी चिच्याएको थियो, एकनासले घ्यारघ्यारिएर दौडिरहेको गाडी घ्याच्च रोकियो । गाडी रोकिएपछि त्यो मानिसतिर हेर्दै अरू यात्रु खितखिताएर हाँसिरहेका थिए, भूकम्प आएकै थिएन ! त्यो मानिस भने झोक्राएर बसिरहेको थियो । उसलाई कसैको मतलब भएजस्तो देखिँदैनथ्यो । गाडी अघि बढ्यो । त्यो मानिसलाई केही त्यस्तै पिर परेको हुनुपर्ने लख काटेँ । ऊ निद्राको बेहोसीमा हुँदा अचानक उठेर ‘भूकम्प भूकम्प भूकम्प’ भन्दै किन भक्कानिएको ?
कलंकी झरेपछि म पनि त्यो मानिससँगै खुसुक्क झरेँ बसबाट । सँगै चिया खाऊँ भनेर अनुरोध गरेँ । उसले नकारेन । चिया खाँदै कुरा गरिरहँदा थाहा पाएँ, गोरखा घर भएको उक्त मानिसले भूकम्पमा परिवार र घर गुमाएको रहेछ । त्यही पीडाले आफू तर्सिरहने मलाई सुनायो । म चुपचाप रहेँ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...