नोटबुक
रुकमान सुनवारको सानो होटलमा चिया खाँदै गर्दा खाँवामा झुन्डिएको लाइटर अनौठो थियो ।
आँसुले भिजेका शब्द
सबै सूचना सजिलै हात लाग्दैनन् । छद्मभेषी बनेर सूचना लिँदा वा स्रोतलाई गोप्य राख्ने सर्तमा सूचना लिँदा पनि मैले उतिसाह्रो दकसको सामना गरिनँ । तर, दु:ख र वेदनाले भरिएका मान्छेसँग सूचना लिन सधैँ अप्ठ्यारो हुन्छ । किनभने, तिनीहरूसँग शब्दभन्दा धेरै आँसु हुन्छ र तिनले सुनाएका प्रत्येक शब्द आँसुले भिजेका हुन्छन् ।
यस्तै भयो, ६ वर्ष ४ महिना २९ दिन अर्थात् २ हजार ३ सय ६७ दिन कतारको हमाद अस्पतालको कोमामा बसेका श्रीमान्लाई लिएर १ फागुनमा काठमाडौँ फर्केकी पार्वती सुवेदीसँग कुराकानी गर्दा । दु:खको गहिराइ, छटपटिका अनन्त शृंखला, दौडधूपको लामो यात्राले उनी थाकेकी त थिइन् नै, ती आँसुले भरिएका दिनको सम्झना गर्दा मात्रै पनि उनको गला अवरुद्ध हुन्थ्यो ।
अचेत श्रीमान्लाई विमानमा राखेर नेपाल फर्किंदा तपाईंको मनका के के कुरा खेले ? मेरो पहिलो प्रश्न सुनेपछि उनी धेरैबेर मौन रहिन् । धेरै बेरपछि उनी केही बोल्न खोजिन् तर शब्दभन्दा पहिला आँसु बहे । उनको गला अवरुद्ध भयो । प्रत्येक प्रश्नका उत्तर दिन उनलाई अप्ठ्यारो परिरहेको थियो । मलाई भने उनको निष्पट्ट अँध्यारोले भरिएको पुराना दिनको पत्रैपत्र उक्काउँदा उस्तै सास्ती भइरहेको थियो । नबताएसम्म उनको दु:खको कथा लेख्न सकिँदैनथ्यो । तर, मेरा प्रत्येक प्रश्न उनको हृदयमा गढ्थे र उनका आँखा लछप्प भिज्थे । अन्तर्वार्ता सकिँदै गर्दा मेरो गह पनि उसै गरी गह्रौँ भयो । मैले पार्वतीलाई थाहा नदिईकन आँखाको डिलमा जमेको आँसु पुछेँ र अन्तर्वार्ता सकेको खुसीमा पुलकित भएँ ।
रुकमानको जुक्ति
देश दौडाहामा हिँड्दा अक्सर मझौला खालका लजमा नाक काटिएका चप्पल देख्न पाइन्छ । बास बसेका पाहुनाले चप्पल नै चोर्लान् भन्ने डरले त्यसरी चप्पलको नाक काटिएको तर्क लजका सञ्चालकले दिन्थे । यसपाला ओखलढुंगाको प्राप्चा गाविसको देउराली डाँडामा त्यस्तै अनौठो तर फरक संयोगसँग साक्षात्कार भयो ।
रुकमान सुनवारको सानो होटलमा चिया खाँदै गर्दा खाँवामा झुन्डिएको लाइटर नै त्यो अनौठो तथ्यको कारण थियो । “प्रत्येक साँझ दारु पिएर निस्कने ग्राहक ओठमा चुरोट च्याप्छन् र लाइटर मागेपछि फिर्ता नगरी लुसुक्क निस्कन्छन्,” रुकमानले सुनाए, “अब लाइटरका लागि अरूका गोजी कति छाम्नू ?” एकपछि अर्को गर्दै लाइटर हराउने भएपछि रुकमानले लाइटरसँगै काँटा बाँधेर राख्ने जुक्ति लगाएछन् । त्यसो गर्दा लाइटरको आकार लामो हुने र गोजीमा नअट्ने भएपछि चोरीको डर भएन । रुकमानको जुक्ति देखेर छक्कै परियो ।
फरार स्रोत
कहिलेकाहीँ सूचनाका स्रोत बेपत्ता भइदिन्छन् र पत्रकारलाई आपत् पर्छ । डेडलाइनको दबाबका बेला स्रोतले भेट्न नमान्दा वा फोन नउठाउँदा कम्ता आपत् पर्दैन । त्यस्तै भएको थियो, गोप्य सरोगेसी धन्दाबारेको खोज रिपोर्टिङका बेला । सातादिनसम्म पछ्याउँदा पनि भेट्न नमानेका र उल्टै उपदेशको भाकामा भन्थे, “हेर्नूस् देशमा यत्रो भ्रष्टाचार छ । करोडौँको अपचलन छ । बरू, त्यो विषय खोज्नूस् । यो सरोगेसीमा हात नहाल्नूस् यार । बेकार गरिखानेको भाग किन बिगार्नुहुन्छ ?”
फोनमा उपदेश सुनाउने तर भेट्न मरिगए नमान्ने तिनै स्रोत हालैको एक साँझ बानेश्वरमा भेटिए । बाटोमा उनलाई च्याप्पै समातेर मैले एउटा चिया पसल पुर्याएँ र भनेँ, “तपाईंले भेट्न नमाने पनि मैले समाचार लेखेरै छाडेँ नि !” मेरा कुरा सुनेर उनले ओठ लेप्राए । उनले निधार खुम्चाए, मेरा बाँकी कुरा नसुनी आफ्नै कुरा सुनाए । अनेक सास्ती बेहोरेर समाचार लेख्दाको मेरो दु:खभन्दा उनकै दु:खको पहाड अग्लो रै’छ ।
भएछ के भने सरोगेट एजेन्टहरूबीच बिचौलियाको काम गरेर केही लाख रुपियाँ आम्दानी गरेका उनलाई अन्तिममा एउटा एजेन्टले धोका दिएछ । भारतबाट सरोगेसीका लागि मगाएका दुई महिलालाई लिनुअगावै उक्त इजरायली एजेन्ट बेपत्ता भएपछि ती बिचौलियाको झन्डै एक लाख रुपियाँ स्वाहा भएछ । आफ्नो कहानी सुनाएर उनले भने, “वास्तवमा हेर्नूस् यो सरोगेसी गतिलो कुरै हैन र’छ । आफैँले भोगेर थाहा पाएँ ।” म भने उनका सबै वृत्तान्त सुनेर मनमनै खुसी भएँ र भनेँ, ‘खुच्चिङ !’
रातारात रंग बदलु
कांग्रेसको महाधिवेशन यदाकदा राजनीतिक रिपोर्टिङ गर्ने पत्रकारका निम्ति पनि रोचक नै थियो । थप रोचक त रातारात क्याम्प परिवर्तन गर्ने र आफ्नो गुटका अगुवाका बारेमा अनेकौँ विशेषण थपेर रोचक राजनीतिक भविष्यवाणी गर्नेहरूबाट भइरहेको थियो । एक जना त्यस्तै रंग बदलु स्थानीय नेताले गजबै गरे । आफ्नो गुटका सभापतिले चुनाव हारेको सुन्नेबित्तिकै उनले शेरबहादुर देउवा गुटमा प्रवेश गरेको आशयमा फेसबुकमा स्ट्याटस मात्रै राखेनन्, शेरबहादुरसँग खिचेका पुराना तस्बिर पनि भटाभट राख्न थाले । यस्तै चरित्र अरू धेरैको देखियो ।
कुनै मान्छे शक्तिमा पुग्नेबित्तिकै तिनैसँग केही महिना वा वर्षपहिले अनेकथरी प्रसंगमा खिचेका फोटो सामाजिक सञ्जालमा राखेर आफ्नो शक्ति देखाएको भ्रम पाल्नेहरू पनि प्रशस्तै देखिए । शक्तिप्रतिको यो अनौठो आशक्ति कांग्रेसको अधिवेशनमा मात्रै देखिएको नौलो संक्रमण भने होइन । गणेश परिक्रमाको त्यो अनौठो अभ्यास अधिवेशनताका सरुवा रोगकै शैलीमा सल्कियो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...