नोटबुक
‘यो देशमा सिस्टम त छ नि ! हाम्रा लागि महिला सिट छुट्याइदिएको छ सरकारले । पुरुष बसिदिँदा यो हाम्रो सिट हो उठ्नूस्, हामी बस्छौँ भन्न त हामीले नै सक्नुपर्ने हो...,’
सिस्टम त छ नि !
सार्वजनिक बस चढेर बल्खु जाँदै थिएँ । मेरो अघिल्लो सिटमा दुई युवा बसेका थिए । बेरोजगारी र थकानको आगोले उनीहरू पिल्सिएझैँ लाग्थ्यो । देशको व्यवस्थाप्रति आक्रोशित पनि थिए उनीहरू ।
‘देशमा सिस्टमै छैन यार् । सोर्सफोर्स नभई जागिरै पाइन्न,’ झुसे दाह्रीसहितको युवक बोल्यो । ‘के गर्ने ! भ्रष्ट नेता र सचिवको छोराछोरी परिएन !’ अर्को कड्कियो ।
‘जसले जे गरे पनि भा’छ यहाँ । नीति, नियम, सिस्टम भन्ने पनि त एउटा कुरा हुन्छ नि यार्...,’ केटो फुस्फुसाइरहेको थियो । छेउमा उभिएकी एक महिलाले ती दुई युवातर्फ हेर्दै आत्मविश्वासपूर्वक सोधिन्, तपाईंहरूले पढ्नु लेख्नु भा’को छैन ?’
प्रश्नले केटाहरू ट्वाँ परे । ‘पढेका छौँ’को भंगिमा आयो । ‘अनि, यहाँ महिला सिट लेखेको छ भन्ने था’पाउनुभएन ?’
महिला मुस्कुराइन् ।
त्यसपछि, केटाहरूको कान लाजले रातो भयो । लुरुक्क सिट छोडिदिए । महिला सिटमा अब दुई जना महिला नै बसे । त्यो पनि बडो रवाफका साथ ।
उनी बोल्न थालिन् । ‘यो देशमा सिस्टम त छ नि ! हाम्रा लागि महिला सिट छुट्याइदिएको छ सरकारले । पुरुष बसिदिँदा यो हाम्रो सिट हो उठ्नूस्, हामी बस्छौँ भन्न त हामीले नै सक्नुपर्ने हो...,’ उनी यसरी बोलिरहेकी थिइन्, त्यो जवाफ उभिएका अरू महिलालाई झटारो थियो । र, अघि त्यही सिटमा बसिरहेका पुरुषका लागि रननन्न पार्ने ओखती ! निसाना, दुवैतिर, सही ठाउँमा लागेको थियो ।
फुलिस पुलिस
होलीको दिन नयाँ बानेश्वर चोकमा चलिरहेको कन्सर्टमा मान्छेहरू मग्न थिए । दूबो र फूलसहितको डिभाइडरछेउ मलगायत चार–पाँच साथी उभिएका थियौँ । रमाइरहेका मान्छेहरूको रंगीन अनुहार पढिरहेको पनि थिएँ मैले । दूबो र फूल कुचिएला भन्नेमा सचेत पनि थियौँ ।
परबाट एक जना जुँगेमुठे प्रहरी आक्रोशित मुद्रामा लट्ठी नचाउँदै हिँडिरहेका देखिए । लाग्थ्यो, उनी मान्छेलाई विनम्रतापूर्वक सम्झाउन होइन, डर देखाएरै तह लगाउन उद्यत् छन् । भंगिमाले त्यही भन्थ्यो । कन्सर्टतिर ध्यान छाडेर म उनैतिर हेर्न थालेँ । उनले बोकेको लौरो घरिघरि रंगीन मानिसको ढाडतिर सोझिन्थ्यो । कोही उनलाई देख्दा भागाभाग गर्थे ।
गड्याप–गड्याप पाइला चाल्दै, लट्ठी नचाउँदै उनी हामी भएतिर आए । मैले सचेत हुँदै साथीहरूलाई कोट्याएँ । आक्रोशित पारामा उनी बोल्न थाले, ‘उता जाओ सब् † यो दूबो र फूल नकूल्च । नभए, यो बुटले तिमीहरूलाई कुल्चनु पर्ला !’
छेउमा उभिएका हामीले दूबो कुल्चेका थिएनौँ । केही नबोली उनको बुटतिर हेरेँ ।
‘दाजु ! उता त तपाईं जानूस् ! दूबो र फूल कसले कुल्चिरहेको छ तल हेर्नूस् त !’ आँखा जुधाएँ । प्रहरीले आफ्नो बुटतिर हेरे । अनि, हामी उभिएको ठाउँतिर । हामी होइन, उनै बीचमा उभिएका थिए । दूबो पनि हामीले होइन, उनैले कुल्चेका थिए । उनी उभिएको वरिपरिका एक–दुई बिरुवा कोमामा गइसकेका थिए । हामी हाँस्न थाल्यौँ । नमीठो मुख लगाएर ती प्रहरीचाहिँ अन्तै लागे ।
साथीहरू भन्दै थिए, ‘कस्तो फुलिसजस्तो पुलिस !’
जनताका पक्षमा...
१४ चैतमा रातको ९ बज्दा बानेश्वर चोक सुस्ताइसकेको थिएन । लमतन्न सडकले आफ्नो छातीमा गाडी गुडाइरहेको थियो, मानिसहरूलाई टेक्ने ठाउँ दिएर थाकिसकेको थिएन । केही काम सकेर घर फर्कंदै थियौँ साथी र म । चोकमै थियौँ हामी । प्रहरीको नीलो भ्यान बबरमहलतिरबाट रन्केर आयो । भ्यानबाट टाउको झिकेर एक प्रहरी फतफताइरहेका सुनिए । गाडी हामीनजिकै घ्याच्च रोकियो । बाटो काट्न खोजेका मानिसनजिक गएर एक प्रहरी यसरी कराए कि, हामी छक्क पर्यौँ !
‘राम्रोसँग बाटोमा हिँड् ! नत्र सबलाई काट्दिन्छु !’ उनी चिच्याए । मानिसहरू डराए । तिनै प्रहरी रोकिरहेको ट्याक्सीनजिकै गएर चालकसँग कराए, ‘यहाँ किन रोकेको तेरो ट्याक्सी ? काट्दिउँ?’
प्रहरीको यति घिनलाग्दो रवाफले हाम्रो पारा तात्यो । उनी घरि यता घरि उता हिँड्दै केही गल्ती नगरेका मान्छेलाई ‘काट्दिन्छु’ भन्दै तर्साइरहेका थिए । यत्तिकै बस्नु उचित लागेन । साथीले १०० मा फोन गर्यो ।
‘बानेश्वर चोकमा खटिएका एक प्रहरीले सबैलाई ‘काट्दिन्छु’ भन्दै मान्छे तर्साउँदै छन् । किन यस्तो ? प्रहरीको काम मान्छेलाई तर्साउने हो ?’ हामीले यति भनेपछि उताबाट डिटेल सोधे । गाडी नम्बर यकिन थिएन । त्यसैले, त्यो बताउन सकेनौँ । यो कुरा तत्कालै ‘माथि खबर गर्ने’ वचनसाथ फोनवार्ता सकियो ।
केहीबेरपछि साथीको फोन करायो । ‘माथिबाट’ रै’छ । अघिको घटनाबारे सोधे । साथीले आफ्नो नाम, काम सबै बतायो । फोन राखेको केही क्षणमै फेरि अर्को कल आयो । फेरि उही प्रश्न, उही डिटेल । पाँच मिनेटमा १०/१२ पटक कल आयो । हामी कायल भयौँ ।
‘सहयोगका लागि धन्यवाद हजुर । निज प्रहरीले त्यसो गरेकै पाइयो । कारबाही अघि बढाइएको छ ।’ अन्तिम कलसहित जानकारी आयो ।
लाग्यो, देशमा जनताको पक्षमा अझै केही ठाउँ रहेछ !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...