नोटबुक
छोरा डेढ वर्षको हुँदा श्रीमती गुमाएका यी वृद्धले आफ्नो मनमा श्रीमतीको माया नबिलाओस् र छोरालाई सौतेलो व्यवहार खेप्न नपरोस् भनेर कहिल्यै दोस्रो बिहेबारे सोचेनन् ।
एकल बाबुको खुसी
पत्रकारका लागि अनेक पात्रसँग जम्काभेट हुनु नौलो कुरै भएन । यतिसम्म कि, आफूले देखे–भेटेका र भलाकुसारी गरेका कतिपय पात्र विस्मृत हुँदै जान्छन् पनि, स्वाभाविक हो । एक दिन सिनामंगलबाट सार्वजनिक यातायात चढ्ने बित्तिकै एउटा वृद्धले धेरैबेर घोरिएर हेरे र सोधे, “तपाईं पत्रिकामा काम गर्ने भाइ हैन ?” चिम्सा आँखा, खुइलिएको तालु र चाउरीले झोल्लिदै गएको गाला भएका ती वृद्धलाई कतै देखेभेटेजस्तो लाग्यो तर ठम्याउन सकिनँ । “मलाई तपाईंले चिन्नु भो तर तपार्इंलाई खुट्याउन सकिनँ,” मेरो प्रतिक्रिया भुइँमा खस्न नपाउँदै उनले सम्झाए, “गोठाटारको पसलमा आएर कुराकानी गरेको के त ?”
ओहो ! झन्डै डेढ वर्षअघि मैले भेटेका नुवाकोटका लालसिं लामा, ६५, पो रहेछन् । सन्तान हुर्काएका एकल बाबुहरूबारे सामग्री तयार पार्ने क्रममा लामालाई भेटिएको थियो । कुरैकुरामा उनले सुनाए, “तपाईंले लेखेको कुरा विदेशमा छोराले पढेछ, रुँदै फोन गरेको थियो । बुबाको मनमा यति धेरै माया रहेछ भनेर धेरैपटक रोयो ।”
छोरा डेढ वर्षको हुँदा श्रीमती गुमाएका यी वृद्धले आफ्नो मनमा श्रीमतीको माया नबिलाओस् र छोरालाई सौतेलो व्यवहार खेप्न नपरोस् भनेर कहिल्यै दोस्रो बिहेबारे सोचेनन् । दु:खजिलो गरेर छोरा हुर्काए र विदेश पठाए । नेपालले तयार पारेको सामग्रीमा लामा र उनीजस्तै अरू पात्रका अनुभव थिए । लामाका छोराले सामग्री पढेपछि गोठाटारमा ससुरासँगै बस्ने आफ्नी श्रीमतीलाई पनि फोनमा भनेछन्, ‘हाम्रा बा हाम्रा लागि देउता हुन्, कहिल्यै हेलाँ नगर्नू ।’ लामाले हाँस्दै भने, “तपार्इंले लेखेको कुरा पढेपछि छोराले अझै माया गर्न थाल्यो ।” पत्रकारलाई यत्तिको प्रतिक्रिया भएपछि के चाहियो ? म पनि उनैसँग हाँसेँ ।
‘हामी रोगी नेपाली’
सहरी तनावबारे रिपोर्ट तयार गर्नु थियो, परामर्शकेन्द्र र मानसिक रोग विशेषज्ञका ढोका त चहार्नै पर्यो । महाराजगन्ज चक्रपथमा रहेको एउटा परामर्शकेन्द्रमा पुग्दा एक जना बडो भद्र वयस्क व्यक्ति मनोविद् भेट्न पुगेका रहेछन् । पालो कुरेर टुक्रुक्क टुलमा बसेका ती व्यक्तिसँग चिनजान मात्र होइन, लामै कुराकानी पनि भो । आफूमा अरू केही समस्या नरहेको तर बाथरुम छिरेपछि मन एकोहोरिने जटिलता रहेको उनले बताए ।
“कस्तो जटिलता हो यस्तो ?” मैले अलिक विस्तृत बुझ्न चाहेँ । उनले भने, “जब म नुहाउन शरीरमा साबुन दल्न थाल्छु, साबुन नसकिएसम्म दलेको दल्यै गर्ने रहेछु । त्यतिबेला म आफूलाई धेरै हेक्का राख्न असमर्थ हुने रहेछु ।” आफ्नो पेसा–व्यवसाय गरिरहेको, पढेलेखेको र हेर्दा केही पनि नभएजस्तो लाग्ने व्यक्तिमा पनि रोगको यस्तो लक्षण सुनेर एक क्षण त म अवाक भएँ । पछि ती व्यक्ति गएपछि परामर्शदाताले सुनाए, “तपाईं–हामीमा पनि एउटा न एउटा समस्या हुन सक्छ । त्यो हिसाबले हामी पनि मानसिक रोगी हौँ ।”
उनले भने अनुसार एउटै रंगका पहिरनप्रति बढी लगाव हुनु, एकै प्रकारका मात्र गीत सुनिरहनु, सधैँ एउटै सपना मात्र देखिरहनु र एउटै विषयवस्तुबारे मात्र घोत्लिरहनु पनि रोगका लक्षण हुन् । हामी र हामी वरपरका धेरै सदस्यमा यस्ता कुनै न कुनै समस्या देखिन्छन् । मानसिक रोग विशेषज्ञहरूले ३० प्रतिशत अर्थात् ८५ लाख नेपालीमा मानसिक रोग रहेको ठोकुवा गरेका रहेछन् । विचार, बोली र व्यवहारमा नियन्त्रण गुमाउनुलाई मात्र मानसिक रोग भन्ने हो भने त यो संख्या अझै धेरै हुन सक्छ । कि कसो ?
एउटा यादगार ‘पाठग’
पठन संस्कृतिबारे बेलाबेला लेखकहरूबीच नोकझोक चलिरहन्छ । कोहीले बजारलाई सराप्छन्, कोहीले पाठकलाई धारेहात लगाउँछन् र कोहीले पाठक तथा बजार दुवैको सम्मान गर्छन् । हरेकसँग आ–आफ्नै विचार होलान् तर मलाई पुस्तक अध्ययन संस्कृतिबारे बहस–विमर्श हुँदा डेढ दशकभन्दा अघिको एउटा घटना याद आइहाल्छ ।
म रंग पत्रकारिता गर्थें । चित्रकला, नाटक, संगीत, फेसन र फिल्मका विषयमा लेख्नु पथ्र्याे । त्यसैले भारतीय लेखक श्याम मनोहर जोशीको पटकथा लेखन नामक पुस्तक किनेर पढ्दै थिएँ । मभन्दा अघिल्लो पुस्ताका एक जना पत्रकार–लेखक काम विशेषले मलाई भेट्न आए । उनका आँखा पुस्तकको कभरमा दौडे । “ओहो यो किताब त गजब छ, नेपाली फिल्मवालाहरूले त पढ्नैपर्ने किताब हो,” उनले पुस्तकको प्रशंसा मात्र गरेनन्, आफूले यो पुस्तक किनेर दुई जना फिल्म निर्देशकलाई उपहार दिएको समेत बताए । भने, “यो किताब मैले तीन वर्षअघि नै पढेँ । तिमीले पढ्न थालेछौ, राम्रो भो !”
ती पत्रकार–लेखक पुस्तकका बारेमा अझै लामो प्रवचन दिने मुडमा थिए । मैले उनलाई रोकेँ र काम विशेषतिर कुरा मोडेँ । उनी त गए तर मेरो हातमा रहेको पुस्तक ‘तीन वर्षअघि नै पढेको छु’ भन्ने उनको प्रतिक्रिया भने मेरो मनमस्तिष्कबाट जान सकेन । कारण के थियो भने पटकथा लेखनको पहिलो संस्करण मात्र केही महिनाअघि प्रकाशित भएको थियो, उनले कसरी पढे तीन वर्षअघि ? म एक्लै मुस्कुराएँ । म आफैँ पनि पढ्न भनेपछि नौनाडी गल्ने मान्छे हुँ तर त्यस्तालाई पाठक नभनेर ‘पाठग’ भनौँ कि जस्तो लाग्छ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...