नोटबुक
सामाजिक सञ्जालमा सीधै जनतासँग सम्पर्कमा आएको सरकारले काम गरेको कहिल्यै थाहा पाइएन । ऊ सधैँ चलानी मात्रै काटेको जानकारी गराइरहन्छ । चलानी मात्रै काट्ने, ढलेको सिन्को नउठाउने सरकारको के काम ?
ई–रिक्साको पिरलो
बुटवल बसपार्कमा झर्नेबित्तिकै विद्युतीय रिक्सा (ई–रिक्सा) ह्वार्रै आए ठोक्किन । वरिपरि हेरेँ, पाइडल मारेर चलाउने रिक्सा अलि पछाडि खिन्न भावमा ठिंग उभिएको थियो । चालक सिटमा आसीन थिए तर्तरी पसिना चुहाउँदै मतिर हेरिरहेका बूढा देखिने चालक । इसारा गरेर तिनैलाई बोलाएँ । र, गोलपार्क
जाऊँ भनेँ ।
बुटवल बजारभरि ई–रिक्सा छ्यापछ्याप्ती दगुरिरहेका छन् । सबै त्यसैमा सरर हिँड्न चाहन्छन् । तर, म त्यसमा चढेको थिइनँ । पाइडल हानेर गुड्ने रिक्साबाट श्रम गर्नेहरूमा त्यसले कस्तो असर गर्दैछ बुझ्न मन थियो । सोधेँ चालकलाई, “सबै ई–रिक्सा रोज्छन् । चढ्नेले पनि । कमाउनेले पनि । तपाईं नकिन्ने ?” केहीबेर ती बूढा मानिस बोलेनन् । हामीबीचको मौनता भने पाइडलको घ्यारघ्यारले तोडिरहेको थियो । स्याँस्याँ गर्दै केहीबेरमा उत्तर दिए, “कसरी किन्नू सर ? जिन्दगीभर यै रिक्सा चलाएँ । परिवार पालेँ । बचत कहिल्यै हुन सकेन । किन्ने मन छ पैसा छैन ।”
हो पनि । पैसा हुने र सक्नेले किनेका थिए । नसक्नेले कसरी किन्नू ? अब त्यो रिक्सा चलाएर धानिँदैन परिवार, धानिँदैनन् आफैँ पनि । त्यस्तो ई–रिक्साले मानिसलाई सजिलो अवश्य बनाएको थियो । तर, त्यस सँगसँगै आएको पनि थियो अपार दु:ख, यस्तै किन्न नसक्ने श्रमिकका लागि ।
सहरलाई नयाँ प्रविधिले सुख पनि दिइरहेको छ, सँगसँगै पुराना वस्तुलाई विस्थापन पनि गर्दै लगेको छ । रिक्साबाट झरेपछि सोचेँ, वस्तुको त विस्थापन होला तर यी चालकजस्तै श्रमिकको दु:खको विस्थापन हुन कसरी सक्छ ?
चलानी काट्ने सरकार !
‘ऐया नि मरेँ म !’ रातको १० बजेतिर अफिसबाट घर फर्किंदा मीनभवनस्थित सिभिल अस्पतालनिर पुग्दा नजिकै कोही ठूलो पीडाले चिच्याएको सुनियो । त्यहाँनिरको एउटा राक्षसी खाल्डोमा एक मोटरसाइकल यात्रु खसेछन् । हतारहतार गएर उठाएँ, मोटरसाइकल छेउ लगाउन दुई युवकले मद्दत गरे । लडेका मानिसको अनुहार रक्ताम्य थियो । दौडादौड गरेर अस्पताल पुर्याइयो । अनि, म घर फर्कें । त्यति राम्रो बाटोमा कुन पापीले खाल्डो खनेर यत्तिकै छाडिदिएछ । फलत: गम्भीर दुर्घटना भोग्नुपर्यो अनाहकमा कसैले ।
खाल्डो पुरियोस् भन्दै ट्वीटरमा सरकारलाई आग्रह गरेँ । त्यो थियो ‘हेल्लो सरकार’, जसले मान्छेका दैनन्दिनका सार्वजनिक अप्ठ्यारालाई सम्बोधनै सही, गर्छ । उत्तर आयो, ‘....नम्बरको चलानीसाथ सम्बन्धित कार्यालयलाई खाल्डो पुर्न भनिएको छ ।’ केही दिन पर्खिएँ, खाल्डो पुरिएला भन्ने आशमा । काम ‘सम्बन्धित कार्यालय’ले गरेको थिएन ।
त्यहीबीच सार्वजनिक चासोको अर्को सवालको सम्बोधन गराउन फेरि पनि ट्वीटरमै हेलो सरकारलाई ‘मेन्सन’ गरेँ । त्यो थियो, उच्च पदस्थ सरकारी अधिकारीले गर्ने सरकारी गाडीको दुरुपयोग रोक्न तस्बिरसहितको पोस्ट । जवाफ फेरि त्यस्तै आयो । ‘...चलानीसहित....।’
‘अघिल्लो काम कहिले हुन्छ ? फलोअप दिनूस् ।’ फेरि पछ्याएँ सरकारलाई ।
फलोअप माग्दाको जवाफ त अझै आएको छैन, खाल्डो पनि पुरिएको छैन, न उच्चपदस्थले सरकारी गाडीको दुरुपयोग नै रोकेका छन् ।
सामाजिक सञ्जालमा सीधै जनतासँग सम्पर्कमा आएको सरकारले काम गरेको कहिल्यै थाहा पाइएन । ऊ सधैँ चलानी मात्रै काटेको जानकारी गराइरहन्छ । चलानी मात्रै काट्ने, ढलेको सिन्को नउठाउने सरकारको के काम ?
महिला ट्राफिकका पीडा
सहरका महिला ट्राफिकबारे फिचर रिपोर्टिङ गर्नु थियो । थापाथली चोक पुगेर ड्युटीरत एक महिला ट्राफिकलाई आग्रह गरेँ, आफ्नो उद्देश्यको बेलिविस्तारसहित । आफ्नो काम सहकर्मीलाई जिम्मा लगाएर उनी मसँग गफिन थालिन् । कामको दु:खसुख बताइन् । उमेर नपुग्दै ढाड दुख्ने समस्याले ग्रस्त भएकी ती महिला ट्राफिकका पीडा अनगिन्ती थिए । अनवरत उभिनुपर्दा ढाड दुख्ने मात्रै होइन, श्वासप्रश्वासको समेत समस्या देखिन थालेको रहेछ उनलाई । श्रीमान्ले ‘जागिर छोड’ भन्दा छोडिहाल्न पनि नसकेकी । जागिर गरिरहँदाका पीडा अपार ।
ती महिला ट्राफिकका साथीहरूलाई समेत त्यस्तै खालका शारीरिक समस्या हुन थालेको रहेछ । दिनभरि एउटा त्यान्द्रो मास्कको भरमा धूलो र धूवाँमा खटिँदा गम्भीर स्वास्थ्य समस्या हुनु स्वाभाविक थियो । अझ, कहिलेकाहीँ त झरीमा पनि उसैगरी खटिनुपर्ने ! कुराकानीका क्रममा उनले सुनाइन्, “एक दिन छोरा स्कुलबाट फर्किंदा मलाई ड्युटीमा रहेको देखेछ । अबेर घर पुगेपछि छोरोले सोधेको कुराले मेरो मन कुँडियो । मामु ! हजुर सडकबीचमा त्यसरी धूलो खाएर काम नगर्नूस् के ! गाडीले किच्ला...!” आफैँले झिकेको प्रसंगमा उनी साह्रै भावुक भइन् । नमज्जा मलाई पनि लाग्यो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...