ब्लग» गगन थापालाई सुझाव
बुद्धिमानी भनेको अरूलाई समाचारमा आउन वा जस लिन दिएरै भएपनि भित्रभित्रै दीर्घकालिन रुपमा राम्रा हुने कामको जग बसाल्ने हो ।
सबैभन्दा पहिले: गगन जीलाई बधाई र स्वास्थ्य मन्त्रीको रूपमा सफल कार्यकालको शुभकामना ।
तपाईँमाथि धेरैको आशा भएकोले म आफूले जानेका केही विषयमा झट्ट दिमागमा आएका केही कुरा सुझाव स्वरुप लेख्दैछु । तपाईँमा कुरा सुन्ने र बुझ्ने क्षमता तथा इच्छा पनि भएको हुँदा समय निकालेको हुँ । स्वास्थ्य, शिक्षा, यातायत, पूर्वाधार, रोजगारी र पर्यावरण- अहिले यिनै ४-५ विषय जनताका सबैभन्दा सरोकारका चीज हुन् ।
यि विषयमा राजनीतिक पार्टी भित्रै र आम राजनीतिक बुझाई पनि प्रस्ट भएको छैन । छोटो समयको लागी मन्त्री हुँदा धेरै गर्न नसकिएला । तर केही सानै भए पनि पाइला लिन अवश्यै सकिन्छ । तपाईँ पनि केही नगर्नको लागि मन्त्री बन्नुभएको पक्कै होइन भन्ने थाहा भएरै तल आफ्ना बुँदा राख्दैछु ।
→ “चलिहाल्छ नि” र “एकपटक के हुन्छ र” भन्दै नेताहरूले गरेका साना-ठूला एक-एक गल्ति थुप्रिएर आजका समस्याका रुप देखिएका हुन्। धेरै राम्रा काम गर्न समय अभाव होला, तर बिग्रन नदिनुस् ।
→ काम गर्न वा निर्देशन दिन कर्मचारी र प्राविधिकले पनि सक्छन् । काम त्यस्तै स्थापित संरचनाबाटै गराउनुहोस् । मन्त्रीको काम उनीहरूलाई ती काम गर्न चाहिने राजनीतिक तथा नीतिगत वातावरण र नेतृत्व दिने हो ।
→ सहकार्य र मिडिया व्यवस्थापन: प्राय नेतालाई तिनका नजिकका मानिस र मिडियाले नै बिगार्ने गरेको देखिन्छ। तपाईँ अलि दुरदर्शी हुनुहोस् । धेरै समस्या जटिल प्रकृतीका छन् र तपाईँले एक्लैले वा सजिलै धेरै सुधार गर्न सक्नुहुन्न । अरु मन्त्रालय, नेता र पार्टीको पनि सहयोग लिएर एउटा आम राजनीतिक-सामाजिक सहमती बनाउनुपर्छ, साझा स्वामित्व विकास गराउनुपर्छ ।
→ तपाईँलाई अहिले लोकप्रिय हुन, यसो यसो गर्यो भनेर हेडलाइन बनाउन गाह्रो छैन । तपाईँ निकटका मानिसले पनि त्यस्तै चाहन्छन् । तर त्यसले अरूलाई सहयोग गर्ने प्रोत्साहन कम हुन्छ ।तपाईँलाई प्रख्यात बनाउन किन सहयोग गर्ने भन्ने इर्ष्या र प्रतिस्पर्धा हुन्छ। काम गर्नु भन्दा पहिल्यै प्रचार र जस लिने होडबाजी हुँदा उल्टै गर्न सकिने काम पनि बिग्रेर झन् जटिल हुन्छ ।
→ बुद्धिमानी भनेको अरूलाई समाचारमा आउन वा जस लिन दिएरै भएपनि भित्रभित्रै दीर्घकालिन रुपमा राम्रा हुने कामको जग बसाल्ने हो । हिजोआज जनताले धेरै बुझिसकेका छन् । पत्रिका-टिभीमा धेरै देखिनेहरू प्रति एक किसिमको एलर्जी विकास भएको छ आम मानिसमा । राम्रा कामको मूल्याङ्कन समाचारमा नआए पनि पछि गरिहाल्छन्। त्यस किसिमको वातावरण बनाउन पनि सबै मिलेर लागौँला ।
→ संस्थागत रूपले काम गर्नुस् । पत्रिकामा आएका रिपोर्ट, चिनेका मान्छेका कुरा वा छिटो हुने हिसाबले मात्र काम नगर्नुस् । नजिकको टीमको मात्रै भर पर्दा र त्यस्तो स्वार्थसँग जोडिएको देखिँदा तपाईँ प्रति विकर्षण पैदा हुन्छ । तपाईँ त जनताको पो नेता । दीगो सुधार र तपाईँ गइसकेपछि पनि अरूले निरन्तर गर्न सक्ने गरी काम अघि बढाउनुस् । आफ्ना टोली, नयाँ व्यक्ति, र संरचना भन्दा भइरहेका र भइसकेका काम, आफ्नै मन्त्रालय, संसद आदिलाई प्रयोग गर्नुहोस, खटाउनुहोस् ।राज्यको आधिकारिकता, क्षमता र विश्वास बढाउन सकेको गर्नुस्। राज्य भनेको जनताको हो । अहिले राज्य इतरका गुट, स्वार्थ केन्द्र र सिन्डिकेटले सबै क्षेत्र नियन्त्रण गरेका छन् । तपाईँ आउनु भन्दा पहिले बनिसकेका काम, प्रतिवेदन र दस्तावेज पनि प्रयोग गर्नुहोस् । त्यसमै टेकेर अघि बढ्नुहोस् । त्यसमा धेरै कर खर्च भइसकेको छ ।
→ स्वास्थ्य बीमा को लागी काम शुरु गर्नुस् । हरेक हप्ता पत्रिकामा कोही विरामीको निम्ति सहयोगको याचना गरिएको हुन्छ । सरकारले नजिकका मान्छेहरूलाई खर्च दिइरहेको हुन्छ । यसलाई व्यवस्थित गर्ने र दीर्घकालको निम्ति स्वास्थ्य बीमाका काम शुरु भइहालोस् ।
→ बीमा र अन्य विषयमा पनि विज्ञहरूसँग अरू देशका अनुभव, विभिन्न मोडलका नाफा, घाटा, सफलता र असफलताना संभावना आदि विषयमा वृहद छलफल चलाउनुहोस् । यसले हाम्रो वैचारिक छलफलको स्तर पनि सुधार्नेछ । नेपालले कस्तो नीति अपनाउने भनेर एउटा राजनीतिक सहमति निर्माण गर्न नेतृत्व गर्नुहोस् । आउने मन्त्रीको लागि नीतिगत तयारी, अध्ययन र अनुभवहरू छोडेर जान सके पनि राम्रो हुन्छ।
→ सार्वजनिक स्वास्थ, शिक्षा र अस्पतालहरूको सुधार: यसमा मुख्यत भ्रष्टाचार, बजेट, राजनीतिक हस्तक्षेप, नियुक्ति, योग्य मान्छेको सम्मान, दण्ड र पुरस्कारमा ध्यान दिनु आवश्यक छ। यि केही वषय डाक्टर गोविन्द केसीको आन्दोलनले पनि माथी ल्याइसकेको छ, यसबारे धेरै भनिरहनु परेन ।
→ स्वास्थ्य क्षेत्र जनता लुट्ने ठाउँ होइन र त्यसो गर्नेलाई कडा कारवाही हुनेछ भन्ने सन्देश जान जरुरी छ । धनाड्य हुनको निम्ति डाक्टरी पढ्ने वा सरकारी संयन्त्रमा बसेर पैसा खाने प्रवृती कसरी रोक्ने? चिकित्सक, सरकारी कर्मचारी, निजी स्वास्थ्य केन्द्रहरू, औषधी उत्पादक र पसल, राजनीतिक दल र व्यापारीको निकै ठूलो जालो बनिसकेको छ । स्वास्थ्य क्षेत्रमा सिन्डिकेटले धेरै खराबी गरिसकेको छ। जानकार अर्थशास्त्री र नीतिगत-विज्ञलाई यस्ता केही समस्याका प्रचलित समाधान थाहा हुन्छन्। अरूको विषयमा अब गृहकार्य शुरु गर्नुस् । एउटा उदाहरण: चिकित्सकले औषधीका "ब्राण्ड नाम" लेख्न नपाउने, अस्पताल नजिक औषधी पसलका सिन्डिकेट चल्न नदिने र दण्ड-पुरस्कार सहितको राम्रो नियमन गरे मात्रै पनि केही समस्या समाधान हुन्छन् ।
→ गाउँहरूमा पोषण, स्वास्थ्य पहुँच, चेतना, खाद्य सुरक्षा, तुरुन्तै मान्छेका ज्यान बचाउन गर्न सकिने कामहरू, आदि । नेपालीहरूको आम्दानीको करीब ७०-८०% हिस्सा खानेकुरामै खर्च हुन्छ । धेरैको ज्यान रोक्न सकिने सामान्य बिमारी र अौषधी अभाव को कारण भइरहेको हुन्छ । जस्तै सर्पको टोकाइ, झाडापखाला, सुत्केरी, महिला स्वास्थ्यका जटिलता, चोटपटक, आदि ।
→ सरकारी खर्चमा विदेश उपचार गर्न जानेहरूलाई दिइने सुविधा बारे: उनीहरूलाई विदेश उपचार सिफारीस गर्ने राम्रो समिती बनोस्, पारर्दर्शी होस । त्यस्ता काम नेपालमै गराउने तर्फ छलफल र पहल होस ।
→ नेपालको मृत्युदरको एउटा ठूलो कारण सडक दुर्घटना पनि हो। हिजोआज देशको राजनीति, अवसर र सामाजिक विखण्डनले मानसिक स्थिती, आत्महत्या र रक्सीको कारण पनि स्वास्थ्य समस्या बढेका तथ्य आएका छन्। यस तर्फ पनि केही गर्नुपर्ला ।
→ काठमाडौँ देशको करीब २०-३०% सम्म मान्छेहरू बस्ने वा वर्षमा १ पटक आवत-जावत गर्ने शहर हो । सफा हावा, पानी र खानेकुरा नहुँदा, तरकारीमा विषादी र होटल-रेष्टुराँ फोहोर हुँदा अस्थायी रूपमा बस्ने/घुम्ने हजारौँ मानिस बिरामी हुन्छन् । विदेशी पर्यटकमा पनि काठमाडौँको आकर्षण घट्दो छ । स्थायी रूपमा बस्नेहरूमा पनि निर्माण कार्य, सडक सफाईको कमी, सबै किसिमका सवारी हिँड्ने कारण धुलोले धेरै समस्या निम्त्याएका छन् । अस्पताल राम्रा छैनन् । पैसा तिर्न सक्नेले पनि बीमा गर्न पाउँदैनन्, विदेश जानुपर्छ। काठमाडौँको जनस्वास्थ पनि गम्भिर विषय हो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...