नोटबुक
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सायद छिट्टै सेलाउने छैन । हाम्रा नेताहरु उता जाऊन् वा उताका यता आऊन्, सञ्चारमाध्यममा उनीहरुको भ्रमणको खास उद्देश्य खोज्नुभन्दा पनि कुराको सुरुआत र अन्त्य त्यही भ्रमणमा गएर हुन्छ ।
अज्ञानी र हुस्सु
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सायद छिट्टै सेलाउने छैन । हाम्रा नेताहरु उता जाऊन् वा उताका यता आऊन्, सञ्चारमाध्यममा उनीहरुको भ्रमणको खास उद्देश्य खोज्नुभन्दा पनि कुराको सुरुआत र अन्त्य त्यही भ्रमणमा गएर हुन्छ । तर, राष्ट्रपति सी जिनपिङ कहिले आउँछन् ? के गरे उनी आउने माहोल बन्ने हो ? हिसाब–किताब सायद भएकै छैन ।
भएको भए चिनियाँ कम्युनिस्ट पार्टीको ११औँ वरीयताका नेता एवं पार्टीका प्रोपोगान्डा मन्त्री लिउ छिबाओ आउँदा उनलाई पर्याप्त आतिथ्य दिन नेपाल चुक्ने थिएन । भइदिएछ के भने हाम्रा नेता र सरकार नै यस्ता अज्ञानी र हुस्सु परेछन् कि उनीहरुले तिनको राजनीतिक हैसियत नै बुझेका रहेनछन् ।
उपप्रधानमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा नेपाल आएका उनले प्रधानमन्त्रीलाई त भेटे तर पूर्वनिर्धारित तालिका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्नुपर्ने तर भेटेनन् । स्वास्थ्यको कारण देखाएर भक्तपुर घुम्न गए । चिनियाँ कूटनीति सधैँ यसै गरी चल्ने गर्छ, शब्द नखर्चने तर संकेतहरुले प्रहार गर्ने । उनको भक्तपुर घुमफिर सायद त्यही प्रहार थियो । सञ्चारमाध्यममा टीका–टिप्पणी ज्यादा भएपछि कांग्रेस सभापति देउवाले निकटस्थसँगको एउटा भेटघाटमा प्रतिप्रश्न राखेछन्, ‘उनी मन्त्री हुन् र ?’
देउवाको जिज्ञासा खासमा सी जिनपिङ नेपाल आउने वातावरण किन बनिरहेको छैन भन्ने प्रश्नको जवाफ पनि हो । चिनियाँ संयन्त्रलाई नबुझीकनै हामी चीनसँग नयाँ तहको सम्बन्धको कुरा गर्छौं । चीनको सरकारभन्दा उच्च तहको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटब्युरो नेता हुन् छिबाओ । सीपीसीको मर्यादाक्रममा सबैभन्दा शक्तिशाली मानिने सात सदस्यीय स्थायी कमिटीपछि
चौथो नम्बरका नेता हुन्, उनी । उनीभन्दा ६ तहमुनि त चीनका चारमध्ये एक उपप्रधानमन्त्री र उपराष्ट्रपति ली युवानकाउ छन् भने त्यसमुनि सिनज्याङ, ग्वाङडोङ, सांघाई, बेइजिङजस्ता महत्त्वपूर्ण प्रान्तका प्रमुखहरु ।
चीनलाई बाह्य जगत्ले कसरी बुझिरहेको छ भन्ने कुराको सबैभन्दा बढी हिसाब–किताब छिबाओकै प्रोपोगान्डा विभागले गर्छ । सरकारी नियन्त्रणमा हुने सबैजसो सञ्चारमाध्यमले उनकै रणनीतिमा आफ्ना ‘ कभरेज’का प्राथमिकता एवं रणनीति बनाउँछन् । अझ महत्त्वपूर्ण कुरा त उनी लामो समय हालका प्रधानमन्त्री एवं दोस्रो तहका नेता ली खछ्याङ, दोस्रो तहका उपप्रधानमन्त्री लिउ यानडोङ र उपराष्ट्रपति ली युवानकाउसँग काम गरेका व्यक्ति हुन् । त्यसैले उनीसँगको वार्ता भनेको नेपाली राष्ट्रिय स्वार्थका कुरा चिनियाँ संयन्त्रमा अख्तियारी बोक्ने व्यक्तिसामु पुग्नु थियो ।
हाम्रो खासै सम्बन्ध नरहेका मंगोलियाका विदेशमन्त्रीसँग, अझ चीन–मंगोलिया सम्बन्ध चिसिएका बेला, झन्डै जम्काभेट हुने गरी छिबाओ भ्रमणको प्रबन्ध मिलाइनु कूटनीतिक गल्ती थियो । यस्तो परिवेशमा भएको छिबाओ भ्रमणबाट हामीले के पायौँ, के गुमायौँ त ? ढिलै सही, समीक्षा आवश्यक छ ।
‘ट्रयाक १.५’ प्रयोगशाला
नेपालको शान्ति प्रक्रियाको एक दशकलाई धेरै कोणबाट मूल्यांकन गर्न सकिन्छ । झट्ट हेर्दा सशस्त्र द्वन्द्वको वातावरण छैन । तर, गहिरिएर हेर्दा संविधान सर्वस्वीकार्य भइसकेको छैन, चुनाव हुने/नहुने टुंगो छैन । केही गरी संविधानले तोकेको सीमाभित्र चुनाव हुने वातावरण नबने हाम्रा उपलब्धि फेरि के होलान् ? अहिलेको साझा सवाल यही हो ।
यसको जवाफ हामीले शान्ति प्रक्रियालाई कसरी अगाडि बढायौँ भन्नेबाट खोज्नुपर्छ । नेपालको द्वन्द्व निरुपणमा कूटनीतिको ‘ट्रयाक १.५’ शैली प्रयोगशालाकै रुपमा हाबी रह्यो । अर्थात्, जहाँ सरकारी पक्ष एउटा हिस्सेदार हुन्छ तर उसलाई गैरसरकारी पक्षले मध्यस्थता भनिने गरी चलाउँछ । एक तवरले भन्दा सरकारी संयन्त्रलाई कमजोर बनाउने वा बेवास्ता गर्ने गरी यो शैलीको निर्माण गरिएको थियो, जसको प्रयोगशाला हाम्रो शान्ति प्रक्रिया बन्यो । पहिलो संविधानसभा त यसकै कारण असफल नै भयो । सांसदहरु दाताका इसारामा विदेश घुम्ने क्रम बढ्दा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ ‘सांसदहरु अब चन्द्रमामा पुग्न मात्र बाँकी रहेको’ भन्दै ठट्टा गर्थे ।
स्वभावत: नेताहरु परनिर्भर, दातामुखी बन्दा उनीहरु आफैँ समस्या समाधान गर्न नसक्ने, अरुले माहोल बनाइदिनुपर्ने गोटी बने । आफ्नो विवेक र शैलीमा भन्दा दाताका पछि लागेर काम गर्दा शान्ति प्रक्रियामा अपनत्व लिने कुरा नै गुमे ।
अलमलमा रहेका हाम्रा मुद्दा र जटिल देखिएका तिनको समाधन हेर्दा अहिले लाग्छ, कतै अन्तर्राष्ट्रिय सहजकर्ताहरुले आफ्नो देशको वैदेशिक नीति त लाद्न खोजेका थिएनन् हामीउपर ? अनौपचारिक वार्ताका रुपमा महत्त्वपूर्ण बैठकहरु ‘रेकर्ड’बिनै दातासामु हुँदा हाम्रो रिमोट कन्ट्रोल उनीहरुको हातमा गएको त होइन ? संक्रमणकालको तरल समयमा दातालाई प्राथमिकता दिने प्रवृत्तिले हामीलाई कहाँ पुर्याउला ? कि, यसै गरी गन्तव्यविहीन यात्रामा अल्झाइरहला, प्रयोगशाला बनाइरहला ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...