नोटबुक
म झसंग भएँ, छाउरा मात्र हराएका र छाउरी नहराएका रहेछन् । मानिसमा मात्र होइन, पशुमा पनि लिंग विभेद हुँदो रहेछ ।
लिंगभेद यहाँ पनि
घरछेउमा एउटा कुकुर देखा पर्यो । कसैको घरबाट भागेको हो कि भनेर टोलछिमेकमा खोजीनीति पनि गरियो, कतैबाट पत्ता लागेन । जसलाई देखे पनि कुकुर नक्कल गरेर कम्मर मर्काई–मर्काई पुच्छर हल्लाउँथ्यो । त्यसैले कुकुरको नाम नक्कली राखियो । नक्कलीले घरछेउमा अड्डा जमाएर बसेको केही महिनामै पाँचवटा बच्चा जन्माई । छरछिमेकी सबै पशुप्रेमी भएकाले सुत्केरी नक्कलीको स्याहार–सुसारमा कुनै कमी भएन ।
केही समयमै नक्कलीका छाउरा–छाउरी नजिकैको चौरमा घाम ताप्न निस्कन थाले । कुनै सेतो, कुनै कालो, कुनै टाटेपाटे, सबै उत्तिकै राम्रा । मानिसहरु तिनलाई हातमा लिएर ‘यो म लान्छु, यो म लान्छु’ भन्दै कुरा गर्थे । म भने सानैमा आमाको दूध छुटाउँदा बच्चा कमजोर हुन्छ भनेर केही समय कुर्न सुझाउँथेँ । केही दिनपछि नै नक्कलीका बच्चा हराउन थाले । पाल्न लगेको भन्ने थाहा भएपछि मनमा सन्तोष भो ।
तीनवटा बच्चा हराएको धेरै दिन बितिसकेको थियो । बाँकी रहेका दुईवटा भने कसैले लगेनन् । मानिसहरु आउँथे, उचालेर ओल्टाई–पल्टाई हेर्थे र छाडेर जान्थे । किन नलगेको होला ? कसैले पाल्न लगेको भए हुन्थ्यो जस्तो लाग्थ्यो ।
एक दिन छिमेकीले नक्कलीको एउटा बच्चा मरेको जानकारी दिए । हेर्न गएँ, हो रहेछ । मन खिन्न भयो । हातले उचालेर हेरेँ, छाउरी रहेछ । छिमेकीको सहयोगमा खाल्डो खनेर गाडेँ ।
त्यसको केही दिनमै बाटोमा निस्किएको नक्कलीको अर्को बच्चालाई ट्याक्सीले किचेछ । मन नरमाइलो भयो । छिमेकीबाट थाहा भयो, त्यो पनि छाउरी नै रहेछ । म झसंग भएँ, छाउरा मात्र हराएका र छाउरी नहराएका रहेछन् । मानिसमा मात्र होइन, पशुमा पनि लिंग विभेद हुँदो रहेछ । यस्तो नहुँदो हो त छाउरीहरुले पनि कसैको आश्रय पाउने थिए । अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन ।
पशु चिकित्सकको पीडा
प्रसंग, फेरि पनि कुकुरकै । सानैदेखि पालेको भोटे कुकुर चार पटक ह्वालह्वाली रगत बान्ता गरेर अर्धचेत अवस्थामा पुग्यो । हल न चलको अवस्थामा पनि कुकुर आँखा घुमाई–घुमाई हेथ्र्याे । चिनेजानेका पशु चिकित्सकलाई फोन गरेँ । ‘आठ वर्ष भइसकेछ, कुकुरको आयु भनेको आठ–दस वर्ष मात्र हो, भो छोडिदिनूस्’ समेत भने । परिवारको सदस्यजस्तै बनिसकेको कुकुरको छटपटी हेर्न म नसक्ने अवस्थामा थिएँ ।
मुखबाट रगत बग्दै गरेको कुकुरलाई तन्नाले बेरेर अन्तत: जाउलाखेलमा एउटा भेटनरी क्लिनिकमा पुर्याएँ ।
कुुकुरलाई उपचार गर्नुअघि पशु चिकित्सकको तीतो वाक्यले मुटु घोच्यो, ‘१५—२० हजार रूपियाँ खर्च लाग्न सक्छ, निको हुन पनि सक्छ, नहुन पनि । उपचार गर्ने कि नगर्ने ?’
‘गर्ने ।’ छोटो उत्तर दिएँ ।
उपचार सुरू भो, चार बोतल स्लाइनमा औषधि मिलाएर दिएपछि कुकुर चलमलाउन थाल्यो । लागेको खर्च चुक्ता गर्दै गएँ । पहिले खरो बोलेका चिकित्सक नरम हँुदै गए । उपचार पाँच दिन चल्यो । कुकुर निको भएकामा खुुसी थिएँ । तर, सुरुको दिनमा चिकित्सकको रुखो व्यवहारले मन दुखेको थियो ।
फर्कने दिन तिनै चिकित्सकसँग पहिलो दिनको रुखो व्यवहारको विषयमा जिज्ञासा राखेँ । उनले नरम हुँदै भने, ‘के गर्नु सर ! मान्छेहरु बिरामी कुकुर लिएर आउँछन्, उपचार गर्दै गर्नू, घरबाट पैसा लिएर आउँछु भनेर जान्छन्, फर्केर आउँदैनन् ।’ उनी थप्दै गए, ‘क्लिनिकको मालिक सित्तैँमा उपचार गर्न तयार हँुदैन । कुकुरको छटपटी हेरेर बस्न सकिँदैन अनि उपचार गरेर निको हुने कुकुरलाई पनि इन्जेक्सन दिएर सधैँका लागि सुताइदिनुबाहेक उपाय हँुदैन । कति भोगियो कति !’
यो सुनेपछि मेरो मन भारी भयो । धन्यवाद भनेर बाहिर निस्किएँ । उनी कुकुरलाई सुमसुम्याउँदै बाहिरसम्म छोड्न आए ।
काकाको देउवा–प्रेम
बिहान स्वयम्भू परिक्रमाबाट फर्किंदा चिया पसलमा एक जना पुराना कांग्रेसी काकासँग भेट हुन्छ प्राय: । सत्याग्रहका बेला पुतलीसडकबाट आफू गिरफ्तारीमा परेको खुबै सुनाउँथे उनी । धेरैजसो हाम्रो चियाको पैसा उनी आफैँ तिर्थे, हामीलाई तिर्न दिन्नथे । सन्तनेता कृष्णप्रसाद भट्टराईको निधनपछि उनले मसँग फोटो मागे । मैले भनेकै साइजमा किसुनजीको फोटो बनाएर दिएँ । पैसा दिन खोजेका थिए, मैले लिइनँ । त्यसको केही समयपछि शेरबहादुर देउवाको फोटो मागे । मैले दिएँ । यस पटक पनि उनले पैसा लिन खुबै कर गरे । मैले मानिनँ ।
उनी अरुलाई भन्दा मलाई बढी माया गर्थे । मेरो फोटोग्राफीको प्रशंसा गर्थे । एक दिन नेपालमा सुजाता कोइरालाको अन्तर्वार्ता छापिएको पृष्ठ देखाउँदै ‘के यस्ताको फोटो खिचेको’ भनेर आलोचना गरे । उनले किन यसो भने मैले चासो दिइनँ ।
२३ फागुनको बिहान चिया पसलमै बसिरहेका बेला उनै काका आइपुगे । ‘गुडमर्निङ भतिज’ भनेर कुरा सुरू गर्ने काका यसपटक पूरै फरक ढंगमा प्रस्तुत भए । मलाई देख्नेबित्तिकै नेपालमा प्रकाशित देउवाको स्केचमा आपत्ति जनाए । भने, ‘तिमीहरुले देउवाको सुरूवाल खुस्काएको होइन, तिमीहरुको पाइन्ट फुस्किएको हो ।’
करिब पाँच मिनेटजति कालो चिया खाँदै उनले आक्रोश व्यक्त गरे र आफ्नो बाटो लागे । हामी पनि काकाको प्रेसर हाई रहेछ भन्दै बाहिर निस्कन लागेका मात्र के थियाँै, साहुनीले मलाई बोलाएरै भनिन्, ‘आज काकाले तपार्इंको चियाको पैसा दिनुभएको छैन, तपाईंसँगै लिनू भन्नुभएको छ ।’ साथीहरु हाँस्न थाले । म भने काकाको देउवा–प्रेम र मप्रतिको घृणा देखेर अवाक् भएँ ।
Follow Ravi Manandhar on Twitter: @ravimanandhar1
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...