नोटबुक
‘पैसा दिने भए मेरो फोटो क्यामेराबाट मेटाउनूस्, मेरो समाचार नलेख्नूस्’
साइकल्नी आमै
साइकल सहरको उपाधि पाएको चितवनलाई अहिले त्यो साख जोगाउनै मुस्किल परेको छ, सहरी क्षेत्रमा ठूला सवारी साधनको चापले गर्दा । यद्यपि, भित्री गाउँहरुमा भने अटुट साधनका रुपमा साइकल नै प्रयोग भइरहेको छ । गाउँघरको मुख्य साधन साइकल नै हो । नेपाल साप्ताहिकले दसैँ अंकमा साइकलसँग मानव जीवनको सम्बन्धबारे सामग्री तयार गर्ने भएछ । यसमा चितवन अछूतो रहने कुरै भएन । यही मौका छोपेर चितवनका सहरसँगै भित्री गाउँ घुमियो ।
कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले साउन महिनातिर एक वृद्ध आमाले साइकलमा तरकारी बोकेर घरघर पुगेको फोटो फेसबुकमा राखेका थिए । मैले त्यो फोटोलाई आफ्नो मोबाइलमा ‘सेभ’ गरेको थिएँ । ताकि, ती आमालाई भेटेर स्टोरी गरौँ । उनको ठेगाना पत्ता लगाउन निकै सकस पर्यो । निकै खोजेँ । उनले तरकारी बिक्री गर्ने पसल–होटल चहारेँ । उनको घर पत्ता लगाउन दुई दिन लाग्यो ।
उनी रहिछन्, भरतपुर महानगरपालिका–१० की ललिता सापकोटा, ६९ । घर पुग्दा उनी भर्खर तरकारी बेचेर फर्किएकी थिइन् । उनले पटक–पटक साइकलको वर्णन गरिन् । अचम्मको कुरा, उनलाई साइकल चलाउनै आउँदो रहेनछ । डोर्याउन सिक्न मात्र दुई दिन लागेछ । “पहिला थाप्लोमै बोकेर बिक्री गर्न लैजान्थँे, टाउकाले निकै सास्ती खेपेको थियो,” उनले भनिन्, “अहिले यही साइकलको भरमा बाँचेकी छु ।”
हुन पनि उनी बिहान ४ बज्न नपाउँदै उठ्छिन् । नुहाइधुवाइ गरेर पूजापाठ सक्छिन् । त्यसपछि साइकलमा सानो डोको अड्याएर उनी नारायणगढको मण्डीबाट तरकारी उठाएर भरतपुरका होटल र घर चाहर्छिन् । यही उनको दैनिकी हो ।
उनीसँग दुई घन्टा गफिने मौका मिल्यो । भोलिपल्ट तरकारी बिक्री गरिरहेको उनको फोटो खिच्नु थियो । त्यसका लागि हाकिमचोकमा बोलाइन् । मैले फोटो खिचेँ । आमाको मिहिनेत देखेर मलाई पनि तरकारी किनेर सहयोग गर्न मन लाग्यो । निगुरो समातेँ । तर, पैसा दिन खोज्दा उनले लिन मानिनन् । उल्टै ‘पैसा दिने भए मेरो फोटो क्यामेराबाट मेटाउनूस्, मेरो समाचार नलेख्नूस्’ भन्दै कड्किन थालिन् । ‘ तपार्इं मेरो छोरोजस्तो, आमाले दिएको तरकारी सम्झेर खानू’ भन्दै उनी हातमा निगुरो थम्याएर साइकल डोर्याएर अघि बढिन् । मन भारी भयो । ५० रुपियाँको निगुरो हातमा थम्याइदिँदा एक हजार रूपियाँ नै राखिदिएजस्तो भयो ।
फेरि कहिल्यै नहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवन धाउने क्रम
बढेको बढ्यै छ । अब त नधाऊन् पनि किन ? प्रतिनिधि र प्रदेशसभाको चुनाव हुने पक्का भएपछि चुनावी प्रचारप्रसार त थाल्नै पर्यो । प्रधानमन्त्री हुँदा उनले गृहजिल्लालाई बिर्सिएनन् । पटक–पटक आए । एक अर्ब रूपियाँभन्दा बढीको विभिन्न ‘प्याकेज’ कार्यक्रम ल्याए । भदौ अन्तिममा गृहजिल्लामै पत्रकार सम्मेलन गरेर चितवनबाट चुनाव लड्ने घोषणा गरेका उनले १० असोजमा आउँदा भने आफ्नो चुनाव क्षेत्रको टुंगो लगाए । उनले क्षेत्र–३ बाट चुनाव लड्ने पक्का भएको सुनाए, जुन कांग्रेसको पकेट क्षेत्रमा पर्छ ।
भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणु दाहाललाई अघि सारेका दाहाल अब भने गृहजिल्लामा आफैँ चुनाव लड्ने भएका हुन् । चुनावी तालमेलमा उनकी छोरी रेणुलाई कांग्रेसले सघाएको थियो ।
दसैँ सकिनेबित्तिकै सुरू भएको एमाले–माओवादी केन्द्र तालमेल र एकीकरणको प्रसंगले अब उनी कुन पार्टीको उम्मेदवार हुन्छन्, एकीकृत पार्टीको वा माओवादी केन्द्रकै ? यो प्रश्नको जवाफ असोज तेस्रो साताभित्र तय भइसक्नेछ । जे होस्, रोल्पा, काठमाडौँ र सिरहाबाट चुनाव लडिसकेका दाहाल पहिलोपटक गृहजिल्लामा आई चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् । स्मरणीय छ, मेयरको मतगणनामा अन्तिम समयमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर–१९ मा पुन: मतदान भएको थियो । फेरि अध्यक्ष दाहाल उठेको क्षेत्रको मतगणना गर्ने क्रममा त्यही घटना दाहोरियो भने के होला ? तर, कामना गरौँ, फेरि त्यस्तो कहिल्यै नहोस् ।
पिङ खोज्दै देवघाट
दसैँ नजिकिँदै गर्दा पहिला–पहिला घटस्थापनाको अघिल्लो दिन नै घर–गाउँमा पिङ लगाउँथे । काठको रोटे पिङ र डोरी बाटेर लगाइने लिंगे पिङको महफ्व नै छुट्टै हुन्थ्यो । जताततै पिङ खेल्नेको घुइँचो लाग्थ्यो । अहिले यस्ता दृश्य धेरै कम भएका छन् । सहर– बजारमा त विरलै मात्र यस्ता दृश्य देख्न पाइन्छ । गाउँघरमा पनि मिहिनेत धेरै लाग्ने भएकाले रोटे पिङ हराउँदै गएको छ । लिंगे पिङ हाल्न भने अहिले पनि गाउँघरमा प्रतिस्पर्धा चल्छ । अनि, पिङ खेलिरहेको फोटोले पत्रपत्रिकामा ठाउँ पनि पाउँछ ।
त्यही सपना साँचेर पिङ खोज्दै भरतपुर महानगरपालिका–१ भित्र पर्ने देवघाटवारि पुगियो । त्यहाँको रामजानकी बालिका आश्रममा लिंगे पिङ लगाइएको रहेछ । बालिकाहरु मच्चीमच्ची पिङ खेलिरहेका थिए । आश्रमको पोसाकमै पिङ खेल्न प्रतिस्पर्धा गरिरहेका बालिका देखेर फोटो खिच्ने जाँगर चल्यो । साना बालिकादेखि ठूलासम्म रमाइरहेका थिए । आश्रमले चाडबाडको महफ्व बुझाउन पिङ लगाइदिएको रहेछ । आश्रमले यसरी पिङ लगाएर संस्कृतिको जगेर्ना गरेको छ । आशा गरौँ, हराएका कला र संस्कृतिको यसरी नै जगेर्ना हुनेछ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...