नोटबुक
...अनि साहूनीले हप्काउँदै भनिन्, ‘ आज चिकेन राम्रो छैन, बफ खाओ ।’
आन्तरिक पर्यटकको हालत
प्रसंग जेठ महिनाको हो । तनहुँ, देवघाटको तीन दिन बसाइपछि सहकर्मी राजकुमार बानियाँ र म चितवन, सौराहा बजारको पुछारमा रहेको होटलमा बास बस्न पुग्याैँ । देवघाटमा गर्मीकै कारण राती निदाउन नसक्दा हाम्रो शरीर थकित थियो । काम बाँकी नै थियो । हाम्रो एउटै उद्देश्य थियो, वातानुकूलित (एसी) जडित कोठामा एक रात आरामले सुत्ने र भोलिपल्ट काममा खटिने ।
हामीले एसीजडित कोठा माग्यौँ । कोठाको साँचो बुझ्ने बेला एसीले काम गर्ने/नगर्नेबारे शंका पनि जाहेर गर्यौँ । रिसेप्सनकी युवतीले होटल उच्चस्तरको भएकाले शंका नगर्न आग्रह गरिन् । हामी माथिल्लो तल्लामा उक्लियाैँ । रुम ब्वाय एसी चलाएर एकैछिनमा कोठा चिसो हुने जनाउँदै तल लागे । तर, दुई घन्टा बित्दा पनि कोठाको तापक्रम झरेन । रुमको कि–चेनमा लेखिएको नम्बरमा फोन गर्यौँ । रिसेप्सनमा घन्टी बजेको माथिबाट मजैले सुनिन्थ्यो । तर, फोन उठेन ।
हामीले जुक्ति निकाल्दै स्थानीय संवाददाताको सहयोगमा होटल मालिकको फोन नम्बर पत्ता लगायौँ र फोन गर्यौँ । समस्या बताएको पाँच मिनेट नबित्दै होटलका कर्मचारी आइपुगे । उनी ‘अहिले भोल्टेज कम भएकाले एसीले चिसो नफालेको हो, एकैछिनमा फाल्छ’ भन्दै तल ओर्लिए । एकैछिन भनेको रातको ११ बजिसक्दा पनि कोठा चिसो भएन । हामी बरन्डामै थियौँ, कोठा चिसो हुने आशमा । तीन दिनको थकान अनि पसिनाले निथु्रक शरीर, त्यसमाथि लामखुट्टेको डसाइ । हैरान थियाँै हामी । वरपर कोठाका विदेशीहरु निदाउन थालिसकेका थिए । फेरि होटल मालिकलाई फोन गर्यौँ । उताबाट आवाज आयो– तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको ‘स्विच अफ’ गरिएको छ । यसपछि हाम्रो पनि ‘मुड अफ’ । उपाय थिएन, थाकेका थियाँै । कोठाको झ्याल सबै खोल्यौँ र पसिना–पसिना भएर अर्धनिद्रामै रात बितायाैँ ।
सबेरै सामान पोको पारेर रिसेप्सनमा कडा शब्दमा गुनासो गर्दै कोठा छाड्ने निर्णय सुनायौँ ।
रिसेप्सनमा रहेकी युवतीले आफू हिजो ७ बजे नै घर गएकीले समस्याबारे अनभिज्ञता जनाउँदै एसी नचलेबापत चार सय रुपियाँ छुट दिने बताइन् । हामीले पैसा दिँदै बिल माग्यौँ । उनले बिल चाहिने भए १ हजार ५ सय रुपियाँ नै लाग्ने सुनाइन् । हामीसँग समय थोरै र काम धेरै थियो । त्यसैले विवादमा अल्झिरहनुभन्दा थप चार सय रुपियाँ तिरेर भ्याट बिल लियाैँ र नजिकैको अर्काे होटलमा बस्न गयाैँ ।
आन्तरिक पर्यटक नबढेकामा रोइलो गर्ने अनि आएका नेपालीलाई दोस्रो दर्जाको व्यवहार गर्ने होटल सञ्चालकहरुको यो चालालाई के पो भन्नु र खोइ !
म:मको स्वाद
कालीमाटीको स्पार्क होममा उपचाररत बिरामी आफन्तसँग साथी गएको थिएँ । उनको थेरापी गर्न दुई घन्टा लाग्ने भो । कसरी समय कटाउने ? बाहिर निस्किएर केही पर बाटोछेउमा रहेको रेस्टुराँमा छिरँे । साहूजी आफैँ अर्डर लिन्थे, पानी दिन्थे । उनको सत्कार देखेर म प्रभावित भएँ ।
मभन्दा अगाडिको सिटमा बसेकाहरु बियर पिउँदै अन्त्यमा के खाने भनेर सल्लाह गर्दै थिए । चार जनाको समूहमा रहेका उनीहरुले केही समयपछि साहूजीलाई नै बोलाए, एकले भने, “साहूजी लास्टमा केही चट्ट खाऔँ न !” ग्राहकको कुरा सकिन नपाउँदै साहूजीले भने, “सर चिकेन फ्राइड म:म खानूस् ।” अलमलमा परेका उनीहरुलाई त्यो सल्लाह रामवाण भयो । तर, त्यसमध्येको एउटाले बफ म:म मगाए, साहूजीले बफभन्दा चिकेन नै राम्रो भएको बताए ।
भोक मेटाउन नभई समय कटाउन रेस्टुराँ छिरेको म पनि के खाने भनेर अलमलमा थिएँ । मेन्यु हेरेँ र भेज म:म मगाएँ । साहूजीले भेज म:म बनाउन २०–२५ मिनेट लाग्ने भएकाले चिकेन नै खान सुझाए । मैले आफू शाकाहारी भएको र समय पनि प्रशस्तै भएको बताएपछि उनले कर गर्न सकेनन् । केही बेरमा अघिका ग्राहकलाई चिकेन म:म दिएर साहूजी ‘बच्चा लिएर आउँछु’ भन्दै बाहिरिए । काउन्टर साहूनीले सम्हालिन् ।
केही छिनमा एक जनाले म:मको स्वाद अलि कस्तोकस्तो भएको भन्दै साथीसँग जिज्ञासा राखे । अर्कोले ‘भुँडी टन्न भरेपछि के मीठो हुनु’ भने र अर्कोले थपे, ‘बियरले मुख बिगारेकाले मीठो नभएको होला ।’ उनीहरुले यस्तै गफ गर्दै प्लेट खाली गरे । बिल मगाए । साहूनीले साँेफसहितको प्लेटमा बिल ल्याइन् । उनीहरुले प्लेटमा हजारका तीन ओटा र अरु केही नोट राखे, एक–एक मुठी साँेफका दाना मुखमा हाले । अनि, ‘दिउँसै मापसे चेक हँुदैन होला नि’ भन्दै बाहिरिए ।
मेरो टेबलमा पनि म:म आइपुग्यो । म समय कटाउने हिसाबले सुस्तसुस्त खान थालेँ । केही छिनमा स्कुलबाट भर्खरै फर्केका दुई भिन्न उमेरका स्कुले विद्यार्थी रेस्टुराँमा छिरे । काउन्टरभित्र ब्याग फाले र एकैछिन अगाडि खाली भएको टेबलमा बस्दै कराए, ‘ममी चिकन म:म खाने ।’ साहूजी कता लागे कुन्नि ! साहूनीले हप्काउँदै भनिन्, ‘ आज चिकेन राम्रो छैन, बफ खाओ ।’ बच्चाहरु चुप लागे । साहूनीले कुकलाई दुई प्लेट बफ म:म बनाउन अह्राइन् । र, काउन्टरमा गएर बसिन् । म भने भर्खरै मूर्ख बनेका पियक्कडहरुको अनुहार सम्झँदै बिल तिरेर रेस्टुराँबाट बाहिरिएँ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...