उपत्यका सभ्यता र पानी
अंग्रेजीमा टुक्का छ, ‘अ पिक्चर इज वर्थ ए थाउजेन्ड वर्डस्’ अर्थात् एउटा चित्र हजार शब्दसरह हुन्छ । विभिन्न अवधारणालाई सहज रूपमा बुझ्न तस्बिर सहयोगी हुन्छ । यही सन्दर्भमा, आफ्नो करिब दुईवर्षे ट्वीट यात्रामा मैले पछ्याउने एउटा ट्वीटर ह्यान्डल हो, नेपाल इन पिक्स ।
अंग्रेजीमा टुक्का छ, ‘अ पिक्चर इज वर्थ ए थाउजेन्ड वर्डस्’ अर्थात् एउटा चित्र हजार शब्दसरह हुन्छ । विभिन्न अवधारणालाई सहज रूपमा बुझ्न तस्बिर सहयोगी हुन्छ । यही सन्दर्भमा, आफ्नो करिब दुईवर्षे ट्वीट यात्रामा मैले पछ्याउने एउटा ट्वीटर ह्यान्डल हो, नेपाल इन पिक्स । केही समयअघि यस ह्यान्डलबाट प्रेषित पशुपति क्षेत्र छेउछाउको तस्बिरले पंक्तिकारलाई आफ्नो स्मृतिमा लुकेको वाग्मतीमा पुर्यायो । स्कुले जीवनसम्म वाग्मतीसित मेरो सम्बन्ध चारवटा स्थानमा थियो । पशुपति क्षेत्र, काठमाडौँ–पाटन जोड्ने थापाथली पुल, टेकु पुरेतघाट र वाग्मतीको पश्चिम किनारामा रहेको लेबोरेटरी स्कुलको नयाँ भवन ।
केटाकेटी उमेरमा परिवारका अग्रजसित गुह्येश्वरी र पशुपतिनाथ पुग्थ्यौँ । राजराजेश्वरी र आर्यघाटमा बेलामौकामा माछा देखिँदा हामी केटाकेटी दंग पथ्र्यौं । वाग्मतीको पानीले सेचन गर्न लगाइन्थ्यो, हामी गथ्र्यांै । आर्यघाटमा अन्त्येष्टि हुँदै गरेका वा हुने क्रममा रहेका शव देख्दा नरमाइलो लाग्थ्यो । सन् १९६७ तिर लाजिम्पाट चेत भवनमा सञ्चालन भएको लेबोरेटरी स्कुल कीर्तिपुर छेउछाउ वाग्मती किनारामा निर्माण भएको भवनमा सर्यो । शिक्षकहरूको कडा निर्देशन हुन्थ्यो– बाढी आउँछ, नदीनिर नजानू । तैपनि, बेलाबेलामा मौका हेरी चौका मारिन्थ्यो । कीर्तिपुर पुगेपछि साँझ–बिहान स्कुल जाने र फर्कने क्रममा थापाथली पुलबाट यताउता गर्ने गरेको सम्झन्छु । ताहागल्ली गणबहालस्थित हाम्रो पुख्र्यौली घरबाट करिब दुई किलोमिटरजति दक्षिण हुँदै वाग्मती बग्छ, त्यहीँ पुरेतघाट छ । अहिलेजस्तो हाम्रो घर र वाग्मतीबीच भवनहरू थिएनन्, कौसीबाट वाग्मतीको खण्ड देखिन्थ्यो ।
परिवर्तित जलचक्र
स्कुल जीवनमा वाग्मती भनेको मन्दिर, अन्त्येष्टि, बालुवा र माछामा सीमित रहेको ज्ञान उमेर र शिक्षासँगै बढ्न थाल्यो । खानेपानी, सिँचाइ, जलविद्युत् र नदीका अन्य उपयोग ज्ञानपुञ्जमा जोडिन थाले । नदी सभ्यताको आधार हो भन्ने बुझ्न थालियो । स्वर्गीय हुतराम वैद्यले वाग्मती सभ्यताको महत्त्व हाम्रो पुस्तालाई सम्झाएर गए, आफ्नो निवृत्त जीवन त्यसको जगेर्नामा समर्पित गरेर ।
नेपाल इन पिक्सले प्रेषित गरेको वाग्मतीको तस्बिर कुनै शिल्पी कलाकारको अथक प्रयासको विम्बस्वरूप लाग्छ । श्लेषमान्तक वनपारि खेतका फाँट देखिन्छन् । गुह्येश्वरी र आर्यघाटबीच रहेको खोँच हुँदै वाग्मती तिलगंगा आइपुगेको छ । वाग्मतीबाट निकालिएको कुलाले किनाराको खेत सिँचेको छ, सिञ्चित धानखेत र नदी एक–अर्कासित जोडिएका छन्, प्राविधिक भाषामा एकीकृत छन् (तस्बिर–१) । परिवर्तनको प्रचण्ड वेगमा अघि बढ्दै गरेको काठमाडौँका नदी किनारामा अब त ढुंगा र सिमेन्टका पर्खाल उठाइएका छन्, नदी र तिनका प्रशाखाका तटीय फाँट जोडिएका छैनन्, खण्डित भएका छन् ।
उपल्लो भेगमा वाग्मतीको एउटा प्रशाखा इच्छुमती नदी (टुकुचा) को स्थिति त भिन्नै भइसकेको छ । यो प्रशाखामाथि कंक्रिट स्ल्याब ढलान गरिएको छ, केही खण्डमाथि गाडी गुड्ने गर्छन् । चिनियाँ राजदूतावासछेउको सानो खण्डमा मात्रै ढल मिसिएको इच्छुमती बगेको देखिन्छ । आधुनिक बन्ने यात्राका प्रतिफल हुन्, यी परिवर्तनहरू ।
भनिन्छ, वाग्मती नदी प्रणाली सुन्दर बनाइँदैछ । जलचक्र अध्ययन र अध्यापन गर्दा, समग्रतामा विवेचना गरिन्थ्यो । उपल्लो वाग्मती जलाधारमा जलचक्रको व्याख्या अब त भिन्नै हिसाबले पनि गर्नुपर्ने भएको छ, परिवर्तित जलचक्रका रूपमा ।
तस्बिरमा चक्रपथ र आर्यघाटभन्दा दक्षिणतर्फ रहेको ब्यारेज देखिँदैन । सायद सन् १९६२ अगाडि नै लिइएको हो, यो तस्बिर । सन् १९६२ मा विश्व खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा पशुपति र गोकर्णमा दुई ब्यारेज निर्माण गरिएका थिए । गोकर्णको ब्यारेज वाग्मती निस्कने खोँचको ठ्याक्कै दक्षिणमा छ भने पशुपतिमा आर्यघाटको केही दक्षिणपट्टि । ब्यारेजबाट पुराना कुलामै पानी पठाइयो, स्याउले बाँधलाई सिमेन्ट–कंक्रिट प्रयोग गरी बनाइएको संरचनाले प्रतिस्थापन गर्यो । सन् १९८४ मा अमेरिकी स्वयंसेवीहरूको प्रशिक्षकका रूपमा पहिलोपल्ट कार्यरत रहँदा, तिनलाई ब्यारेज सिँचाइ प्रणाली भनेर यसैलाई बुझाइएको थियो । राजकुला र किसान निर्मित कुलाहरूका बारे पछि मात्र बुझ्न थालिएको हो ।
हिजोआज परिदृश्य कस्तो देखिने रहेछ भनेर तस्बिर लिन म त्यस क्षेत्र पुगेँ तर प्रयास सफल भएन । तस्बिर लिने उपयुक्त स्थान नै भेटिएन । धानखेत पूरै घरखेतमा परिणत भइसकेका थिए (तस्बिर–२) ।
ब्यारेज पुलको रूपमा प्रयोग हुने गरेको छ, सिँचाइ प्रयोजनमा होइन । ब्यारेजको केही पर श्लेषमान्तक वनमुनि निर्माण गरिएको सुरुङ वाग्मतीमा टुंगिएको छ । विद्युतीय शवदाह गृह त्यहीँ छ, सायद त्यस दिन त्यसले काम नगरेको हुँदा अन्त्येष्टिहरू घाटमै हुँदै थिए । आर्यघाटको छेउपट्टि काठका बक्सा थन्क्याइएका भेटिए, विदेशमा मृत्युवरण गरेकाको दाहसंस्कार गर्न मुलुक ल्याइएको वास्तविकता सम्झाउँदै ।
नदीको पिँध तुलनात्मक हिसाबले सफा थियो, हरेक शनिबार सफा गर्ने अभियानको प्रतिफल । तर, वाग्मतीबाट ढलको दुर्गन्ध आउन रोकिएको थिएन । तथ्यांक भन्छ, नदीमा अनगिन्ती हानिकारक ब्याक्टेरिया छन् । जलचक्रबाट ‘फ्रेस वाटर’ अर्थात् शुद्ध पानी झिक्ने, त्यसलाई घरघरमा आपूर्ति गर्ने, फ्लस ट्वाइलेटमा मानव मलसँग मिलाउने अनि फेरि जलचक्रमा मिल्काउने आधुनिक सभ्यताले स्वीकारेको प्रविधि हो । विकसित मुलुकमा ढल प्रशोधन गर्ने गरिन्छ । तर, विकासोन्मुख मुलुकमा बिनाप्रशोधन नै नदी, तालतलैयामा फालिन्छ । जलचक्र र ढलचक्र छुट्टाछुट्टै राख्नु सभ्यताको ठूलो चुनौती हो ।
तस्बिरमा देखिएको त्यो क्षेत्र अब छैन, स्मृतिमा मात्रै छ । त्यो क्षेत्र मात्रै होइन, पूरै उपत्यका धूवाँ, फोहोर, प्रदूषण, कोलाहल र ट्राफिक जामको चपेटामा छ । भलै, अनावश्यक हर्न बजाइरहने व्यवहार रोकिएको छ, जसले सफल नीति कार्यान्वयनको संज्ञा पनि पाएको छ । राजकुलाहरू मासिइसके । ढुंगेधारा, जह्रौँ, पुराना पाटी र सत्तलहरू मासिने क्रममा छन् । थुप्रै पोखरीहरू मासिएका, बेवारिसे पारिएका र बाँकी रहेका धेरै फोहोर छन् ।
रानीपोखरीको व्यथा
विसं ०७२ को गोरखा–भूकम्पले बिगारेको वाग्मती सभ्यताको एउटा धरोहर रानीपोखरीको उचित पुन:निर्माण यतिबेला चरम विवादमा छ । निर्वाचित स्थानीय सरकारले लिएको रानीपोखरी पुन:निर्माण विधि वाग्मती सभ्यता जगेर्ना गर्ने मान्यताको विपरीत छ भन्ने चासो व्यक्त भएका छन् युवा, प्रौढ, पाका सबैको । नागरिकका भावना सुन्ने र त्यस अनुरूप विधि परिमार्जन गर्ने दायित्व जनमतबाट अनुमोदित स्थानीय राज्यशक्ति प्रयोग गर्ने समूह र प्रतिनिधिको हो । अझ पुरातत्त्व विभाग र महानगरपालिकाका अगुवा पुन:निर्माणको विषयमा एकमत हुन नसकेको खबर सार्वजनिक भएको छ । मेयर र उपमेयर पनि एकै ठाउँमा आएका छैनन् ।
विकेन्द्रित शासनपद्धतिको मान्यताले भन्छ, स्थानीय सरकारमा नागरिकको पहुँच सहज हुन्छ र तिनका चासो पनि सुनिने गरिन्छ, सिंहदरबारको तुलनामा । चल्दै गरेको विवादले यस्तो हुन नसकेको वास्तविकता बताउँछ । लाग्छ, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।
रानीपोखरी एउटा पानी जमाउने खाल्डो मात्रै होइन, पानीसँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो । यसर्थ, थप संवेदनशीलता आवश्यक भएको हो । पानीबिना धरती उजाड बन्छ, सभ्यता जीवन्त रहन सक्दैन । हाम्रो शरीर ६५ प्रतिशत पानी हो, पानीबिना हामी जीवित रहँदैनौँ ।
आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले रानीपोखरी निर्माण गराए, उपलब्ध प्रविधि प्रयोग भयो । आधुनिक विज्ञान र प्रविधिको यात्रामा हामीले न आफ्ना स्थानीय ज्ञान बुझ्ने, संवद्र्धन गर्ने प्रयास गर्यौँ, न त हाम्रा संस्थाहरूलाई पूर्ण रूपमा आधुनिक प्रविधि प्रयोग गर्न सक्षम बनाएका छौँ । स्थानीय ज्ञानपुञ्ज हराउँदैछन् । स्थानीय ज्ञान, प्राकृतिक विज्ञान र समाजशास्त्रलाई जोड्ने नयाँ ज्ञान सिर्जना हुन सकेको छैन । बरू, हाम्रो उच्च शिक्षा प्रणाली ह्रासोन्मुख छ । उदाहरणका लागि त रानीपोखरीको पुन:निर्माण नै काफी छ ।
स्थानीय ज्ञानलाई मर्न नदिन व्यक्तिगत स्तरमा केही लागिपरेका छन् । तर, राज्यको स्तरबाट दायित्वबोध देखिँदैन । चीनको सिनजियाङ प्रान्तको तुरपान मरुभूमिको कारेजमा दुई हजार वर्षअघि जमिनमुनि बनाइएका प्रणालीले मरुभूमिको निश्चित क्षेत्रमा पानी आपूर्ति गरिरहेका छन् । यी धरोहरको उचित संरक्षण गर्ने चीनका प्रधानमन्त्रीको प्रतिबद्धता पढेको थिएँ, त्यही प्रणाली हेर्न गएको बखत करिब १६ वर्षअघि । हाम्रा नेताहरू ठूलठूला कुरा त गर्छन् तर तपसिलमा ध्यान दिँदैनन् । ढुंगेधारा, राजकुलो, पोखरी एवं तालतलैया बचाएर राख्ने प्रतिबद्धता त निकै टाढाको प्रसंग भयो ।
राजधानी सहरका नवनिर्वाचित पिताले भनेजस्तै फोहोरा भएको राता–हरिया–पहेँला बत्तीले झकिझकाउ पोखरी, कफी सप आदि, इत्यादि परिकल्पना गर्न र निर्माण गर्न पाइँदैन कसैले भनेको छैन । तर, मौलिक सम्पदामा यस्ता परिकल्पना किन थोपर्ने ? आस्थाका स्थलमा डिस्को डान्स गरिँदैन, गर्नै हुन्न । रानीपोखरीलाई यसको मौलिकता अनुसार पुन:निर्माण गरौँ । साथै, नदी र सहर सभ्यता आफ्नो मौलिकता अनुरूप बनाऔँ, विकासका नाममा जथाभावी नगरौँ ।
काठमाडौँमा अझै बाँकी रहेको कुनै सार्वजनिक स्थलमा फोहोरा, राता–हरिया–पहेँला बत्ती, रमझम, कफी सप भएका नयाँ पोखरी निर्माण गर्ने प्रस्तावबारे छलफल सुरु गरौँ । यसबाट नगरवासीलाई घुम्ने नयाँ स्थान पनि उपलब्ध हुनेछ । ८२ वर्षपछि हाम्रा सन्ततिले भन्नेछन् कि यो पोखरी–कफी सपको निर्माण सन् २०१८ मा हाम्रा अघिल्ला पुस्ताले चुनेका प्रतिनिधिहरूले सुरु गरेका थिए । ८२ वर्षपछि अर्थात् सन् २१०० लाई मैले जलवायु परिवर्तनको सन्दर्भमा चुनेको हुँ । सन् २१०० जलवायु परिवर्तनको आख्यानमा प्रयोग हुने वर्ष हो । भोलि के होला– निश्चित छैन, जलवायु परिवर्तनले त झन् अनिश्चितता थपेको छ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...