अहिलेलाई बिदा ! फेरि भेटौँला !
नेपालको यही अंकबाट मैले साढे दुई दशकको प्रकाशन पत्रकारितालाई बिट मारेको छु । अबको यात्रा प्रसारण पत्रकारिताको हुनेछ ।
पत्रकारिताबाट करिब डेढ वर्षको विश्राम लिएर एउटा गैरसरकारी संस्थामा नोकरी गरिरहेको थिएँ । तर, कामचाहिँ लगभग पत्रकारिताकै थियो, रिपोर्टिङ र सम्पादनको । पाक्षिक रुपमा प्रकाशन भइरहेको नेपाललाई साप्ताहिक बनाउने निधो भएपछि यसका तत्कालीन सम्पादक सुधीर शर्माबाट मूल प्रवाहको पत्रकारितामा फर्कन प्रस्ताव आयो । सहर्ष स्वीकारेँ । ०६० को चैत अन्तिम साता सहायक सम्पादकका रुपमा नेपाल प्रवेश गरेँ, पहिलो साप्ताहिक अंकको प्रकाशनसँगै ।
१४ वर्षमा जसरी वाग्मतीमा धेरै पानी बग्यो, त्यसै गरी नेपालमा करोडौँ शब्दहरुको लेखन, सम्पादन र प्रकाशन भयो । यो अवधिमा माओवादी हिंसाको चरमोत्कर्ष, १६ भदौ ०६१ को हिंसात्मक तोडफोड, दोस्रो जनआन्दोलन, संविधानसभाका दुई चुनाव, संविधान निर्माण र संघीय गणतन्त्र नेपालको तीन तहका चुनावसमेत भए । यही कालका मूलत: आफ्नो सम्पादकीय नेतृत्वको अवधिका केही उल्लेख गर्नैपर्ने प्रसंगबारे यहाँ लेख्ने जमर्को गर्दैछु ।
* * *
७ चैत ०६६ को प्रसंग हो, शुक्रबार दिनभरि र रातभरिजस्तो काम गर्दा शनिबार बिहानको करिब ३ बजिसकेको थियो । पत्रिका फाइनल गरेर प्रेसमा पठाइयो । त्यो अंकको आवरण सामग्री तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरूङको अभिव्यक्तिमाथि थियो । उनले माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने सम्बन्धमा महफ्वपूर्ण धारणा राखेका थिए । लडाकू समायोजनबारे उनी राजनीतिक सहमति र स्थापित मापदण्ड पूरा हुनैपर्ने सर्तमा प्रस्ट देखिन्थे । ६ महिनाअघि मात्र सेनापतिको पदभार ग्रहण गरेका गुरूङको यो अभिव्यक्तिले तत्कालीन राजनीतिमा तरंग पैदा गरेको थियो । ८ चैतमा प्रकाशित नेपालमा यसैको चिरफार गरेका थियौँ हामीले ।
उता प्रेसमा पत्रिका छापिइरहेको थियो । तर, यता शनिबार मध्याह्नको आसपासमा इतिहासकै एक ठूलो घटना भइदियो– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहावसान । यो खबर डढेलोझैँ फैलियो । यतिबेलासम्म प्रेसमा छापिँदै गरेको नेपाल असान्दर्भिक भइसकेको थियो । यो घटनालाई समावेश गर्न सकिन्छ कि भनेर प्रेसमा सम्पर्क गरेँ, असमर्थताको जवाफ आयो । भोलिपल्ट ८ चैतमा नेपाल बजारमा देखियो, जसमा कोइरालाको निधनसम्बन्धी कुनै सामग्री थिएन । हामी लाचार थियौँ । किनभने, हामीसँग त्यो अंकलाई सच्याउने विकल्प थिएन ।
* * *
आठ दशकको अन्तरालमा आएको महाभूकम्पले दसौँ हजारको ज्यान लियो, हजारौँ–लाखौँलाई घाइते र घरबारविहीन बनायो । १२ वैशाख ०७२ हाम्रा लागि सम्भिँmदा पनि कहाली लाग्ने दिन हो । त्यसको एक दिनअघि मात्र हामीले नेपालको आगामी अंक फाइनल गरेका थियौँ । पर्वतारोहणको याम भएकाले हाम्रा एक सहकर्मी सगरमाथा आधार शिविर पुगेर फर्किएका थिए । आधार शिविरमा पर्वतारोहीको भीडभाड र घन्चमन्चबारेको आवरण सामग्री थियो– ‘टेन्टको सहर’ ।
कस्तो अशुभ संयोग ! आधार शिविर टेन्टको सहर भएको फोटोसहितको पत्रिका प्रेसमा पठाएकै भोलिपल्ट भूकम्पले सिंगो राजधानीलाई नै टेन्टको सहरमा बदलिदियो । आइतबार पत्रिका बजारमा आउनुपर्ने दिन । भूकम्पले सहरका अधिकांश पसल खुलेका थिएनन्, जनजीवन अति भयभीत र असामान्य थियो । यस्तोमा ‘टेन्टको सहर’ आवरण भएको पत्रिका बजारमा पठाउँदा गलत सन्देश जान्थ्यो । त्यसैले १३ वैशाखमा सार्वजनिक हुनुपर्ने नेपाल बजारमा वितरण गरिएन । पत्रिका छापिएर पनि पाठकको हातमा नपुगेको त्यस अंकका केही सामग्री हामीले पछिका अंकमा दोहोर्याएर प्रकाशन गरेका थियौँ । सम्भवत: नेपाली पत्रकारिताको यो एक दुर्लभ घटना हो र नेपाल त्यसको अंग बन्यो ।
* * *
भर्खरै मीनासिंह खड्काका बारेमा केही सञ्चारमाध्यममा समाचार आएका थिए । मदर टेरेसासँगको प्रसंग, डोरबहादुर विष्टको संगत, हार्वर्ड युनिभर्सिटीकी प्राध्यापक, विश्वका नामुद ३४ विश्वविद्यालयसँगको आवद्धता, दुई–दुईवटा पीएचडी डिग्री र एकै लेक्चरको पाँच हजार अमेरिकी डलर लिने आदि–इत्यादि किंवदन्ती सुनेपछि हामीलाई पनि लाग्यो, यिनको प्रोफाइल छाप्नैपर्छ । आखिर २७ भदौ ०७२ को नेपालमा उनको तीन पृष्ठ लामो व्यक्तिचित्र छापियो पनि, शीर्षक थियो– ‘दलदलमा कमल’ । दुई सहकर्मीको बाइलाइनमा प्रकाशित यो लेखनी यति सशक्त थियो कि यसले गतिलो चर्चा बटुल्यो ।
खासमा हामीले जे लेख्यौँ, उनी त्यो थिइनन् । यो सामग्री छापिएकै साता हार्वर्ड विश्वविद्यालयकै एक पूर्वविद्यार्थीले मलाई टेलिफोनमार्फत उल्लिखित नाम गरेकी प्राध्यापक त्यहाँ नभएको बताइसकेका थिए । तर, हामी विश्वस्त भएनौँ । केही महिनापछि भने सार्वजनिक रुपमै उनको वास्तविकता खुल्यो । अझ, छताछुल्लै भयो ।
काठमाडौँको एक नाम चलेको कलेजले महिनाको पाँच लाख रूपियाँ पारिश्रमिक दिइरहेको आधारमा हामीले उनको प्रोफाइल उतारेका थियौँ । यत्रो रकम पारिश्रमिक दिने कलेजले उनको पृष्ठभूमि परीक्षण गरेकै होला भन्ने ठान्यौँ हामीले । पोल खुलेपछि कलेजले पनि उनलाई सेवाबाट निवृत्त गरिदियो । हुँदै नभएको मान र पगरी भिराएर बढाइचढाइ प्रकाशन गरिएको त्यस सामग्रीबारे हामी पाठकहरुसँग माफी माग्न चाहन्थ्यौँ । त्यसका निम्ति उपयुक्त समयको पर्खाइमा थियौँ ।
सायद, त्यो समय यसपटकलाई जुरेछ । त्यो पनि १४ वर्ष काम गरेको नेपालबाट बिदा हुने क्षणमा । तसर्थ, प्रिय पाठकहरुसमक्ष त्यस गल्तीका लागि म क्षमायाचना गर्दछु ।
नेपालको यही अंकबाट मैले साढे दुई दशकको प्रकाशन पत्रकारितालाई बिट मारेको छु । अबको यात्रा प्रसारण पत्रकारिताको हुनेछ ।
अहिलेलाई बिदा ! फेरि भेटौँला !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...