[नोटबुक] फन–भ्यालीको त्यो नमज्जा
शिक्षकको प्रत्यक्ष निगरानीमा पनि कसरी दुर्घटना भयो ? शिक्षकहरुकै हेलचेक्य्राइँका कारण घटना भएको ठानेँ । छोरीको च्यापुमा गहिरो घाउ देखेपछि मेरा आँखा यसै बग्न थाले ।
गत २६ जेठमा साँगास्थित काठमान्डू फन–भ्यालीबाट मेरी श्रीमती रिमाले रुँदै फोन गरिन्, “प्रशंसाको एक्सिडेन्ट भयो ।” यो एक वाक्यले मलाई डसिहाल्यो ।
मध्यपुर हस्पिटलको आकस्मिक कक्षमा देखियो, छोरीकी सहपाठी मेलिना पनि घाइते छिन् । शिक्षकको प्रत्यक्ष निगरानीमा पनि कसरी दुर्घटना भयो ? शिक्षकहरुकै हेलचेक्य्राइँका कारण घटना भएको ठानेँ । छोरीको च्यापुमा गहिरो घाउ देखेपछि मेरा आँखा यसै बग्न थाले । यसै भन्न सक्दिनँ, आक्रोशको बाँध भत्किएको थियो कि मायाको ? थाहा छ, दुर्घटना कसैको चाहनामा हुँदैन । तर, लापरबाहीबिना पनि त हुँदैन !
रोइरहेकी छोरीले काँपिरहेका मेरा हात समातेर बिस्तारै भनिन्, “बाबा ! यसमा हाम्रो र टिचरको केही गल्ती छैन । सबै दोष फन–भ्यालीको म्यानेजमेन्टकै हो ।” ८ कक्षा पढ्ने छोरीले यति बोलेपछि घटनाको जानकारी लिन थालेँ ।
बुझ्दा थाहा भो– यी दुई नानीहरु खेल्दाखेल्दै नटबोल्ट खुस्किएर पिङसहित झरेछन् । झन्डै ११/१२ मिटरमाथि मच्चिरहेको पिङबाट झरेका नानीहरु केहीबेर बेहोस भएछन् । सबै कुरा सुनेपछि मैले काठमान्डू फन भ्यालीको व्यवस्थापनको आधिकारिक व्यक्तिसँग भेट्न खोजेँ । “उपचार हुन्छ, नआत्तिनूस्,” एक जना भद्र मछेउ आएर बोले । शरीरमा आक्रोशको आगो थामेर बसेको मैले तातो स्वरमा भनेँ, “तपाईं म्यानेजमेन्टको मान्छे हो ?” ती व्यक्तिले भने, “म डाक्टर पनि हुँ । उपचार हुन्छ ।” नरम आवाजमा बोल्ने धैर्य गुमाइसकेको थिएँ, “अस्पतालमा आएपछि उपचार हुन्छ, मलाई पनि थाहा छ । अहिले तपाईंसँग डाक्टरका रुपमा कुरा गर्न चाहन्नँ । बिरामीसँग हुनुपर्दैन, तपाईंको प्रतिनिधि ?” ती व्यक्ति केही नबोली पछि हटे । प्रहरीले नानीहरुसँग बयान लिए । केहीबेरमा अर्को व्यक्तिले भने, “उपचार खर्च हामी बेहोर्छौं ।” ती व्यक्ति हात मिलाएर निस्किए हतारमा । मलाई उनीहरुको रवैया चित्त बुझेन । कम्तीमा केहीबेर साथमै बसेर ‘सरी फिल’सहितको बातचित त गर्नुपथ्र्यो ।
मेडिकल जाँचपछि थाहा भयो, छोरीको शरीरमा भित्री चोटचाहिँ कहीँ छैन । च्यापुको गहिरो घाउमा चाहिँ ६ टाँका लगाइयो । घुँडा, कुहिना र ढाडका घाउका कारण हलचल गर्न मुस्किल थियो । मेलिनाको जीउमा बाहिरी चोट केही नदेखिए पनि ढाडको हड्डी भाँचिएको रहेछ । पिसाबमा पनि रगत मिसिएको थियो ।
अस्पताल आएका शिक्षक–शिक्षिका र मेरा घरबेटीसँग पनि बोल्न सकिनँ । भोलिपल्टदेखि फन–भ्यालीका कर्मचारीलाई पटक–पटक फोन गरेर विद्यालय व्यवस्थापनसहितको मिटिङमा सत्यतथ्य राख्न अनुरोध गरेँ । भनेँ, “नत्र, अदालत जान्छु ।” उताबाट प्रत्युत्तर आयो, “म भूपू प्रहरी अधिकृत हुँ । खराब मान्छे होइन । तपाईंको सम्पर्क नम्बर छ । मिटिङ राख्छु । पहिले उपचार सकियोस् ।”
हामी अप्ठ्यारो मानसिक सकसबाट गुज्रियौँ । नानीहरुको पढाइ छुट्यो । झन्डै महिना दिन अस्पतालमा बिताएकी मेलिना–परिवारले पाएको सास्ती अझ पीडादायी थियो । अस्पताल बसाइकै क्रममा मेलिनाकी आमाले करिब ३० हजारसहितको पर्स हराइन् आतेसमा । मेलिनाका दिदीहरुको हप्तौँ कलेज छुट्यो । त्यहीबीचमा फन–भ्यालीमा कन्सर्ट भयो । तर, हामी बेवास्तामै परिरह्यौँ।
अझै पनि फन–भ्यालीबाट भलाद्मीको फोन आउलाजस्तो लाग्छ । सायद तिनको स्मृतिबाट यो घटना हराइसक्यो । तर, म भने छोरीको अनुहारको खतलाई आँखाले छोइरहन्छु ।
प्रहरी दम्पतीकै झगडा
मध्य झरीको एक दिउँसो साथीको घरमा सानो जमघट थियो । रुझेको गोंगबुलाई गफगाफले तताउने चेष्टा हुँदैथ्यो । बरन्डाबाट छिमेकी घर देखाउँदै साथीले केही दिनअघिको घटना हामीलाई सुनाइन् ।
बिहानीपख बाथरुमबाट निस्कँदा साथीले महिला रोएको आवाज सुनिछन् । चासो दिएर हेर्दा थाहा पाइन्, छिमेकी घरमा महिलालाई लोग्नेले भक्कुमार पिटिरहेको छ । रुवाबासी चर्किंदै गएपछि मेरी साथी बोलिछन्, “बहिनी, त्यहीँ नजिक पुलिस थाना छ ।” अनि, ती महिला रुँदै बोलिछन्, “पुलिस यहीँ छ । के जानू थाना ? त्यहाँबाट पनि मिलापत्र गरेरै पठाउने त हो ।”
ती दम्पती नै प्रहरी रहेछन् । सुरुमा त एक चरण हाँस्यौँ, कुरा सुनेर । तर, हाँस्ने कुरै थिएन त्यो ।
साहित्यमा हँसी–मजाक
उनी घर–घडेरी जोडिसकेपछि ढल्कँदो उमेरमा अक्षरको चौतारीमा बसिबियाँलो गर्न आइपुगेजस्तो लाग्थ्यो । पृथक हुलियाका उनीसँग साहित्यिक कार्यक्रममा भेट भइरहन्थ्यो । एक दिन भने, “उपन्यास लेखेको छु । हेरिदिनुपर्यो ।” फेरि थपे, “र, समीक्षा पनि लेखिदिनुपर्यो । कान्तिपुरमा लेखेको कति लिनुहुन्छ र अन्य दैनिक पत्रिकामा लेखेको कति ?” अनपेक्षित प्रश्नको उत्तरमा भनेँ, “पारिश्रमिक तपाईंले दिने होइन, पत्रिकाले दिन्छ ।” उनले एकाध समीक्षकको नाम लिँदै मोलमोलाइमा समीक्षा लेखिने कुरा सुनाए । पत्रिकाले समीक्षकलाई पारिश्रमिक दिने कुरा नै पत्याएनन् उनले । तर, मैले हल्लाको पछि नलाग्न आग्रह गरेँ । उपन्यास प्रकाशित भएपछि उनीसँग तर्किंदै हिँडेँ । अचेल कुनै कार्यक्रमको कुइँनेटोतिर समीक्षकहरुसँग खासखुस गरिरहेका ती व्यक्तिलाई देख्दा लाग्छ, पैसाको लोभ देखाइरहेका छन् कि ? सोच्छु– साहित्यलाई किन हलुका बनाउँदैछन् लेखकहरु ?
खुसीको कुरा यही छ– अहिलेसम्म तिनको उपन्यासमाथि लेखिएको समीक्षा पढ्नु परेको छैन ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...