कुर्तामा सल्लाह ! [नोटबुक]
ओली र मोदीले सल्लाह गरेरै पोसाक लगाएको धेरैले लख काटे ।
![कुर्तामा सल्लाह ! [नोटबुक] कुर्तामा सल्लाह ! [नोटबुक]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2018/miscellaneous/modi-oli-kurta-24052018073651.jpg&w=900&height=601)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अवतरण गर्नु ४५ मिनेट अगावै प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट जनकपुर ओर्लिए । जानकी मन्दिर प्रांगणमा पुगेपछि ओलीको पहिरनले सबैको ध्यान खिच्यो । मिडिया उनको पूर्ण कदको तस्बिर क्लिक गर्न लोभिए । घिउ–रंगको कुर्ता र सेतो सुरुवाल लगाएका ओलीले सेतो रंगको गम्छा भिरेका थिए । शिरमा नेपाली टोपी । ओलीको राजनीतिक कटाक्ष र खरो अभिव्यक्तिले चिढिएका मधेसीलाई यो पोसाकमा रिझाउन र अपनत्व देखाउन खोजेको अड्कल काटे धेरैले ।
जसै मोदी जानकी मन्दिर परिसरमा प्रवेश गरे, उनको पहिरनले अर्को तरंग ल्यायो । दुवै प्रधानमन्त्रीको पोसाक एकै खालको देखियो । सल्लाह गरेरै लगाएका हुन् कि क्या हो ? उपस्थित सबैले मुखामुख गरे । मोदीले पनि ओलीजस्तै घिउ–रंगको लम्बे कुर्ता र चुस्त सुरुवाल लगाएका थिए । फरक, गम्छा मात्र थियो । ओलीको गम्छा सेतो । मोदीको धर्को कोरिएको गाढा केसरिया रंगको गम्छा थियो । जसमा मिथिला पेन्टिङ कुँदिएको थियो ।
ओली र मोदीले सल्लाह गरेरै पोसाक लगाएको धेरैले लख काटे ।
फेरि, जानकी मन्दिरले दुवै देशका प्रधानमन्त्रीलाई पहिर्याइदिएको गुलाबी रंगको ‘जन्ती’ स्टाइलको पगरीले अर्को तरंग ल्यायो । मिथिलाको पगरी माग हुँदा पनि यहाँको संस्कृति र रहन–सहनसँग अमिल्दो पगरी लगाइदिँदा अर्को बखेडा हुने नै भयो । तर, दुवै देशका प्रधानमन्त्रीको जनकपुर भ्रमणको पहिरनले ‘कुर्ता कूटनीति’को भने छनक दियो ।
हल्लै–हल्लाको देश
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणमा सुरक्षासँग कुनै ‘कम्प्रमाइज’ गरिएन । मोदीको कारगेड कुद्ने इलाकामा २८ वैशाखअघि नै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए । नेपाली सेनाका बख्तरबन्द गाडी दुई दिनसम्म सडकमै उभ्याइयो । नेपाली सेनाका हेलिकप्टर जनकपुरको आकाशमा कति फन्को घुमे, गन्ती गरिसाध्य थिएन । सुरक्षामा यतिबिघ्न चौकसी किन जरूरी थियो भने, कुनै पनि राष्ट्रका कार्यकारी प्रमुख पहिलोपटक काठमाडौँ आउने साबिक रूट छाडेर सीधै जनकपुर अवतरण गर्दै थिए । त्यसैले सुरक्षामा हुन सक्ने सानो चुकले पनि धेरै थोक प्रभावित हुन सक्थ्यो ।
मोदी अवतरण गर्ने २४ घन्टाअघि जनकपुरमा पोसाकमै भारतीय सेनाले गस्ती गरेको तस्बिर केही न्यूज अनलाइन र सोसल मिडियामा भाइरल बन्यो । भारतीय सेनाले जनकपुरमा गस्ती गरेको जुन तस्बिर भाइरल बनाइयो, त्यो तस्बिर हेर्दै जाडोको समयमा खिचिएको देखिन्छ । हतियारले सुसज्जित भारतीय सेनाका जवानले बाक्लो पोसाक लगाएका छन् । उनीहरु गस्ती गरेको भनिएजस्तो भिरालो सडक पनि जनकपुरमा छैन । गुगलबाट तानेर सामाजिक सन्जालमा यो तस्बिर अपलोड गरेर धेरैले ‘इन्डियन आर्मी नेपाली भूमिमा परेड खेल्ने र नेपाली सुरक्षाकर्मी रमिते भएको सुहाएन’ भन्दै खुबै आलोचना गरे ।
अर्को, अफवाह फिजिँयो, चाबी बुझाएर मोदीलाई जनकपुर नै सुम्पिन लागियो भनेर । जनकपुर उप–महानगरपालिकाले आगमनका लागि जनकपुर सधैँ खुला रहेको अथ्र्याउँदै भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दनमा चाबी हस्तान्तरण गर्ने कार्यक्रम सार्वजनिक गरेसँगै सोसल मिडियामा यसको तीव्र आलोचना भयो । मोदीको अभिनन्दन हिन्दी भाषामा गरिएको भन्दै सोसल मिडियामा हंगामा मच्याइयो । अभिनन्दनपत्र र वाचन दुवै मैथिली भाषामा गरिएको थियो । अभिनन्दनपत्र पढ्न ड्यासमा पुगेका मेयर लालकिशोर साहले आफ्ना केही मन्तव्य भने हिन्दी भाषामा राखेका थिए ।
झन्डाको फन्डा
रामायण सर्किट उद्घाटनका लागि जानकी मन्दिरको बाहिरी परिसरलाई झकिझकाउ पारिएको थियो । दुवै देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या सीधा बस सेवालाई हरियो झन्डा देखाएर रामायण सर्किट उद्घाटन गरे । बस हिँडेपछि नजिकै बनाइएको ड्यासमा दुवै प्रधानमन्त्री उक्लिए । रामायण सर्किटबारे दुवै देशका प्रधानमन्त्रीले आ–आफ्ना धारणा राखे । दुवै देशका प्रधानमन्त्री त्यही ड्यासमा उभिरहेको तस्बिरले सबैजसो अखबारका प्रिन्ट पेज कब्जा गर्यो । एकै खालको पहिरनमा रहेका दुवै देशका प्रधानमन्त्रीको तस्बिर कम्ती हिट भएनन् । तर, त्यही तस्बिरको एउटा कुनामा फहर्याइरहेको नेपालको राष्ट्रिय झन्डाले अहिले बबाल मच्चिएको छ ।
संविधानमा तोकिएभन्दा फरक आकार र रुपमा रहेको राष्ट्रिय झन्डा के–कसरी र कसको लापरवाहीले राखियो ? प्रदेश २ का ४ उच्च सरकारी अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको छ । आखिर कहाँबाट आयो, त्यस्तो झन्डा ? स्पष्टीकरण सोधिएकाहरू नै अनभिज्ञ छन् । ड्यासमा अन्तिम समयमा दुवै देशका झन्डा गाडिएका थिए । राष्ट्रिय झन्डासँग कसैले जानीजानी छेडखानी गरेका हुन् वा अनुभवहीन टेलर मास्टरको हतारको सिलाइ हो, यसको गुदीचाहिँ पछि खुल्ला नै ।