[नोटबुक] अमेरिकी भिसाको बल्छी
भिसाको बल्छी फाल्ने अनि केही गरी दूतावासले पत्याइहाल्यो भने सित्तैँमा लाखौँ कुम्ल्याउने ठगहरुको नियत कहिले बुझ्ने सोझा नेपालीले ?
उति सम्पर्कमा नरहेका एक आफन्तले फोन गरे । सामान्य भलाकुसारीपछि उनले आफ्नो कुरा खोले, ‘छोराले अमेरिका जाने साह्रै रहर गर्यो ।’ ‘पढ्न आउने ?’ मैले सोधेँ । ‘कहाँ पढ्नु लट्ठूले,’ उताबाट जवाफ आयो । ‘ए, उसो भए डिभी पर्यो ?’ मैले जान्न खोजेँ । ‘डिभी पर्या भए त कुरै सकिन्थ्यो नि,’ उनले सुनाए । ‘अनि कसरी आउने त ?’
कुरो के रहेछ भने यतैको एक संस्थाले आयोजना गर्ने एउटा कार्यक्रममा सहभागीका रुपमा जाने ‘अफर’ आएको रहेछ । तर, ‘डिल’ सुनेर अचम्ममा परेँ । भिसा लागेपछि २५ लाख रुपियाँ बुझाउनुपर्ने । ‘अमेरिका छिरेपछि त्यति कमाउन त वर्ष दिन पनि लाग्दैन भन्छन्, के भन्नुहुन्छ बाबु ?’ उताबाट जिज्ञासा आयो । यस्ता ठगको चंगुलमा नपर्न धेरै सम्झाएँ । त्यसपछि उनले फोन गरेका छैनन् । सायद कुरो चित्त बुझेन ।
केही अघिको कुरा हो, एक परिचित घुम्नका लागि अमेरिका आउन खोजेका थिए । नेपालमै व्यवसायमा जमेका भए पनि अमेरिका गएपछि फर्कन्छ भन्ने दूतावासले पत्याएन । भिसा दिएन । राजनीतिक तहका एक प्रभावशाली कंग्रेसम्यानले दूतावासलाई इमेल गरेर भिसा दिन अनुरोध गरे । जवाफ आयो– ‘हामी आवेदकलाई आफ्नो कुरा प्रस्ट रुपमा राख्न पूरापूर मौका दिन्छौँ ।’ तर, दोस्रो पटक पनि भिसाका लागि योग्य ठहरिएनन् ।
यति हुँदा त भिसा ‘रिफ्युज’ हुन्छ भने के कुनै नेपाली संस्थाले ‘चिट्ठी’ पठाएको भरमा भिसा मिल्ला ? अनि, त्यही चिट्ठीका लागि लाखौँ हाल्न तयार हुनु कत्तिको बुद्धिमानी होला ? त्यसमाथि अन्तर्वार्ताका क्रममा त्यस्ता ‘डकुमेन्ट’ लैजानसमेत निषेध गरिएको छ अचेल । भिसाको बल्छी फाल्ने अनि केही गरी दूतावासले पत्याइहाल्यो भने सित्तैँमा लाखौँ कुम्ल्याउने ठगहरुको नियत कहिले बुझ्ने सोझा नेपालीले ?
ट्र्र्रान्सफरको दुष्चक्र
स्नातकको पढाइ कति वर्षको हो ? उत्तर सजिलो छ, ४ वर्ष । अझ अमेरिकाजस्तो ठ्याक्कै तालिका अनुसार पढाइ हुने देशमा त अलिकति पनि तलमाथि हुन नपर्ने हो । तर, थुपै्र विद्यार्थी यस्ता भेटिन्छन्, जसले ८–१० वर्ष लगाएर स्नातक पूरा गरेका छन् । आएको ५–६ वर्ष भयो, अझै पढाइ सकिएको छैन भन्ने त कति भेटिन्छन् कति । कसरी हुन्छ त यस्तो ?
प्राय: कन्सल्टेन्सीको माध्यमबाट बिनाछात्रवृत्ति यहाँका विश्वविद्यालय आउनेलाई यस्तो समस्या पर्छ । अचेल सस्तै विश्वविद्यालयमा पनि प्रतिसेमेस्टर शुल्क ६ देखि ८ हजार डलर पर्छ । बस्ने–खाने महँगो खर्च त छँदै छ, सुरुमा त ऋणधन गरेरै पनि पहिलो सेमेस्टरको शुल्क परिवारले तिर्छ । तर, दोस्रो सेमेस्टरबाटै शुल्क भारी पर्छ । त्यसैले प्राय: विद्यार्थी कम्युनिटी कलेजमा ट्रान्सफर हुन्छन्, जहाँ स्नातक तहको पहिलो दुई वर्षको पढाइ हुन्छ । यस्ता कलेज विश्वविद्यालयको तुलनामा केही सस्ता हुन्छन् । तर, यसरी ट्र्रान्सफर हुँदा अघिल्लो विश्वविद्यालयमा पढेका सबै कोर्स ट्रान्सफर हुन्नन् ।
कम्युनिटी कलेजको पढाइ सकाउनै अर्को दुई–तीन वर्ष लाग्छ । बाँकी पढाइ सकाउन विश्वविद्यालयमा ट्रान्सफर हुने बेला फेरि पनि कम्युनिटी कलेजमा पढेका सबै कोर्सलाई विश्वविद्यालयले मान्यता दिँदैन । यसरी सामान्यत: १ सय २० क्रेडिटको स्नातक तहको पढाइ सकाउनै वर्षौं लाग्छ । समय र पैसाको नोक्सान त छँदै छ, ऊर्जाशील युवावयसमेत ट्रान्सफरको दुष्चक्रमा फसेर खेर गइरहेको छ ।
संसद्मा अनुसन्धान
अमेरिकी विश्वविद्यालयहरुले खोज र अनुसन्धानमा प्रशस्त लगानी गर्छन् र त्यसमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर, अमेरिकाका संघीय र राज्य संसद्मा समेत थुप्रै विद्यार्थी खोज र अनुसन्धानमा क्रियाशील हुने रहेछन् । अमेरिकी व्यवस्था अनुसार संसद् सदस्य सरकारमा सहभागी नहुने भएकाले जनप्रतिनिधिको धेरै समय नीति निर्माणका काममै बित्छ । त्यसमा सहभागी गराइन्छन्, विभिन्न विश्वविद्यालयका विद्यार्थीलाई ‘इन्टर्न’का रुपमा ।
अमेरिकामा अध्ययनका क्रममा यस्तै अनुभव गर्ने मौका पाएँ, म्यासाच्युसेट्स राज्य संसद्का प्रतिनिधि रिपब्लिकन नेता सन सी डुलेको अफिसमा । त्यही सेमेस्टरमा मबाहेक विभिन्न तहमा अध्ययनरत अरु ६ जना इन्टर्न थिए । काम गर्दै जाँदा थाहा पाएँ, अरु जनप्रतिनिधिले पनि उत्तिकै संख्यामा विद्यार्थीलाई इन्टर्नका रुपमा क्रियाशील गराउने रहेछन् । म्यासाच्युसेट्स राज्यमा मात्र २ सय जनप्रतिनिधि छन् ।
देशैभरि हजारौँका संख्यामा रहेका जनप्रतिनिधिले विद्यार्थीका क्षमता र विचारलाई उपयोग गरी नीति निर्माणलाई परिस्कृत बनाउने प्रचलनजस्तै रहेछ । उनीहरुले कानुनमा रहेका छिद्र पहिल्याउनेदेखि समाजका विभिन्न समस्या समाधानका लागि कानुनको खाका बनाउनेसम्मका काममा जनप्रतिनिधिलाई सघाउँछन् । यसले ‘पोलिसी मेकिङ’मा युवालाई संलग्न मात्र गराएको छैन, अहिलेका थुप्रै नेता ‘इन्टर्न’ हुँदै राजनीतिमा समेत प्रवेश गरेका छन् । नेपालका जनप्रतिनिधिहरुले पनि यसैगरी युवा वर्गलाई सक्रिय गराउन सके कस्तो हुन्थ्यो होला ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...