[नोटबुक] हिरो भेट्ने हुटहुटी
कफी खेती थालेको छोटो समयमै आफ्नै कार र घर जोडिसकेका रहेछन् । कफी खेती सुरु गर्दा ९५ प्रतिशत सुर्ती खेती हुने गाउँमा उनकै प्रेरणाले अहिले १० प्रतिशतमा झरिसकेको रहेछ ।
१३ सेप्टेम्बरमा इन्डोनेसियाको बालीमा एसिया प्यासिफिक टोबाको एन्ड हेल्थ कन्फ्रेन्स हुँदै थियो । उद्घाटन कक्षमा जाँदै गर्दा भर्खरै चिनजान भएका इन्डोनेसियाली साथी वाङवाङ प्रियोनोले म पत्रकार भएको थाहा पाएपछि एउटा सूचना दिए– सम्मेलनमा ‘हिरो अफ इन्डोनेसिया’ पनि आएका छन् भनेर । उद्घाटन कार्यक्रम सकिएपछि उनले मलाई कफी बेचिरहेको एक व्यक्तिसँग भेटाइदिए । भने, “यिनै हुन् हाम्रो देशको हिरो अर्थात् ‘हिरो अफ इन्डोनेसिया’ ।” मलाई लाग्यो, पहिले हिरो होलान्, अहिले पेसा परिवर्तन गरी कफी व्यापार गरिरहेका छन् । त्यसैले मैले ढिलो नगरी सोधेँ, “कति वटा चलचित्रमा खेल्नुभएको छ ?” अंग्रेजीमा सोधेको यो प्रश्नको उत्तर उनले दिएनन् । बरु वाङवाङले नै मलाई त्यो प्रश्नको उत्तर दिए, “यी फिलिमका हिरो होइनन्, सुर्ती खेती छाडेर कफी खेती गरी देशमै नमुना कृषक भएकामा सरकारले दिएको उपाधि हो ।” छक्क परेँ । यिनी रहेछन्, जोग जकार्ताका कफी किसान सुकिमान मोचटार प्राथोमो । सुर्ती खेती गर्दा बिहानबेलुका हातमुख जोर्न मुस्किल पर्ने अनुभव सुनाए । जब त्यो काम छाडेर कफी खेती सुरु गरे, गाउँलेले उनलाई बौलाएको समेत भने । कफी खेती थालेको छोटो समयमै आफ्नै कार र घर जोडिसकेका रहेछन् । कफी खेती सुरु गर्दा ९५ प्रतिशत सुर्ती खेती हुने गाउँमा उनकै प्रेरणाले अहिले १० प्रतिशतमा झरिसकेको रहेछ । उनको यही मिहिनेतलाई राज्यले सम्मान गरेर उपाधि दिएको रहेछ ‘हिरो अफ इन्डोनेसिया’ । कृषक पनि देशको हिरो ? मैले आफ्नै देशका बारे सोचेँ । कृषिप्रधान हाम्रो देशमा कृषकलाई उत्प्रेरणा दिन यस्तो सम्मान कहिलेबाट सुरु होला ?
नरिवलमाथि शिवजी
बाली जानुअघि सोचिएको थियो, फराकिला बाटा र अग्ला अपार्टमेन्ट/घर होलान् । किनकि, वार्षिक ७० लाखभन्दा बढी पर्यटक पुग्ने ठाउँबारे जिज्ञासु बन्नु स्वाभाविकै हो । तर, जब बाली पुगियो, यी दुवै कुरा मेरो सोचाइ विपरीत पाएँ । न त्यहाँ बडेमाका सडक छन्, न त गगनचुम्बी घर नै । केवल दुई लेनका सडक र बढीमा चारतले (अन्डरग्राउन्डसमेत पाँच) घर । सडक साना भए पनि धूँवाधूलो, खाल्डाखुल्डी कहीँकतै छैन । अफिस समयमा भने झन्डै काठमाडौँकै झल्को दिने जाम हुँदो रहेछ । यद्यपि, जामको बेला पनि वरपरको हरियाली वातावरण र पर्यटकलाई टुटेफुटेको अंग्रेजीमा जानकारी गराइरहने मर्यादित सवारी चालकका कारण यात्रा पट्यारलाग्दो भएन ।
अग्ला घर किन नबनाइएको होला भन्ने मेरो खुलदुली मेटिन भने बाली घुमाइको चौथो दिन कुर्नुपर्यो । यात्रामा सहभागी हामीले भूकम्प, ज्वालामुखी र सुनामीको जोखिम क्षेत्र भएकाले ठूला घर नबनाइएको होला भनेर निष्कर्ष निकाल्यौँ । चौथो दिन उदायना विश्वविद्यालयमा पब्लिक हेल्थका अध्यापक मादे केर्तालाई भेटियो, त्यसपछि मात्र कुरोको चुरोमा पुगियो । ९० प्रतिशत हिन्दु बसोबास गर्ने यो टापुमा प्रत्येक घरअगाडि नरिवलको बोट अनिवार्य रोपिँदो रहेछ– जसरी हाम्रोमा तुलसीको मठ हुन्छ । उक्त नरिवलको रुख जति अग्लो हुन्छ, त्यति मात्र अग्लो घर बनाउन पाइने नियम रहेछ । नरिवलको रुखमाथि शिव भगवान्को स्थान भएकाले त्योभन्दा अग्लो घर बनाउन हुँदैन भन्ने मान्यता रहेछ ।
घर पुग्ने हतारो
एक साताको बाली यात्रापछि नेपाल फर्कने क्रममा मलेसिया ट्रान्जिट थियो । बालीबाट तीन घन्टाको यात्रापछि क्वालालम्पुर एयरपोर्ट उत्रियो । एयरपोर्ट आइपुगेपछि नेपाल आएजस्तो लाग्यो । किनभने, नेपाल आउने तयारीमा रहेकामध्ये झन्डै ७५ प्रतिशत नेपाली थिए भने १५ प्रतिशत भारतीय र १० प्रतिशत अन्य थिए । जहाज काठमाडौँ उडानका लागि रनवे जाँदै गर्दा अधिकांशका अनुहार हँसिला थिए । चार घन्टाको उडानपछि पाइलटले अब १५ मिनेटमा काठमाडौँ ओर्लिने जानकारी दिए । जहाजपछाडिको पांग्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छोएको मात्र के थियो, एउटा सिटमा बसेका तीन युवा जुरुक्क उठे । अरु यात्रीहरु आत्तिए, के भएछ भनेर । जहाज रन वेमा गुडिरहेको थियो । यतिन्जेलसम्म पाइलटले राम्ररी ब्रेक पनि लगाइसकेका थिएनन् । अर्को सिटमा बसेका युवाहरु पनि र्याक खोलेर आफ्ना सामान निकाल्न थाले । एयर होस्टेजले जहाज नरोकिइसकेकाले सिट बेल्ट नखोल्न र हतार नगर्न पुन: माइकिङ गरिन् । यात्रुले जहाज नरोकिँदै हतार गर्नुको कारण त ४ वर्षपछि घर फर्किएपछि गन्तव्यमा पुग्ने हतारो पो रहेछ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...