एक्लै यात्रामा
“डर ला’ छैन ? छोरी मान्छे यस्तो जथाभावी हिँड्नु हुन्छ ? घरकाले केही भनेनन् ?”
केही दिन एक्लै घुम्न साथीभाइसँग पोखरामा छुट्टिएँ र लक्ष्मीपूजाको दिन पृथ्वीचोकबाट स्याङ्जा जाने अन्तिम गाडी समातेँ । पहिले कहिल्यै एक्लै घुम्न निस्केको अनुभव थिएन । सामान किन्न असनसम्म जानुपरे पनि आमाबा या बहिनीसँग मात्र जान्थेँ । त्यसैले पनि मेरा लागि त्यो यात्रा विशेष थियो । आफ्ना कमजोरी र ताकत पहिल्याउन त्यस यात्राले मलाई निकै सहयोग पुर्यायो । आफूलाई बिस्तारै चिन्दै गएँ । सुरुमा अलिअलि डर नलागेको होइन । तर, आफ्नो विश्वास आफैँलाई दिलाउँदै गएँ ।
बस चढेको केही समयमा पूरै अँध्यारो भइसकेको थियो । छेउमा बसेकी महिलालाई कोट्याउँदै सोधेँ, “दिदी, यो कुन ठाउँ हो ?” उनले वरपर हेरिन् र छोरेपाटन हो कि भन्ने अड्कल काटिन् । त्यसको एकैछिनमा उनी ममाथि प्रश्न बर्साउन थालिन्, “काँ’आट आकी हौ र ?” काठमाडौँबाट पोखरा घुम्न गएको र त्यसपछि टोलीसँग छुट्टिई एक्लै घुम्न निस्केको उनलाई बताएँ । फेरि सोधिन्, “डर ला’ छैन ? छोरी मान्छे यस्तो जथाभावी हिँड्नु हुन्छ ? घरकाले केही भनेनन् ?” एकल यात्रा गर्ने पुरुषलाई केही नभन्ने हाम्रो समाज महिलालाई मात्र किन यस्ता प्रश्न तेस्र्याउँछ ? मसँग उनका प्रश्नका उत्तर थिए । तर, विवाद गरिरहन मन थिएन । त्यसै ले हाँसेँ मात्रै ।
तिहारमा नछुनी !
गोवद्र्धन पूजाको दिन बिहानै स्याङ्जाको पुतली बजारबाट पाल्पा जाने गाडी चढेँ । वालिङ छेउछाउ दुई महिला चढे र मेरो अगाडिको सिटमा आएर बसे । गाडीले बिस्तारै गति लिन थाल्यो । मेरो ध्यान भने बाहिरको दृश्यले होइन, ती महिलाको संवादले तानेको थियो । दुवै जना आफ्नो थेसिस कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए । तर्कले ती निकै शिक्षित छन् भन्ने छनक मैले पाइसकेकी थिएँ । दुवै मानवशास्त्रका विद्यार्थी थिए भन्ने ठम्याउन गाह्रो परेन ।
थेसिसको कुरा हुँदाहुँदै संवाद एक्कासि तिनको व्यक्तिगत जीवनतर्फ मोडियो । झ्यालतिर बसेकीले भनिन्, “यसपालिको तिहार बोरिङ हुने भयो यार । बिहानै नछुनी भएँ ।” छेउकीले जवाफ दिइन्, “त्यही त यार, मेरोचाहिँ दसैँको दिन भएको थियो । टीका लगाउन जान नपाउँदा त केही थिएन । सबै खानेकुरा सासुले अगाडि ल्याएर राखिदिँदा ननिको लागेको थियो । बुहारी भएर बसीबसी खान नहुने ।”
तिनको महिनावारीसम्बन्धी संवादले सुरुदेखि अचम्मित तुल्याइरह्यो नै, छेउमा बसेकी महिलाले बुहारीबारे दिएको तर्कले त झन् म अवाक् भइसकेकी थिएँ । पढेलेखेका महिला नै आफूलाई हीन सोच्छन् भने अरुको अवस्था झन् कस्तो होला ? हाम्रो सामाजिक संरचनाले महिलालाई पुरुषभन्दा कमजोर भनी पहिलेदेखि नै ठहर गर्दै आएको छ । तर, दोस्रो दर्जाका हौँ भनी स्वीकार्ने पनि हामी स्वयं नै रहेछौँ ।
सुखद अन्त्य
तिहार सकिन लागिसकेको थियो । शुक्रबार बेलुका वा शनिबार बिहान काठमाडौँ फर्किने योजना बनाएकी थिएँ । भाइटीकाको दिन दिउँसो पाल्पाबाट बुटवल जाँदै गर्दा भैरहवाकी एक बहिनीको फोन आयो, “दिदी, यहाँसम्म आइसक्नु भयो । भैरहवा पनि आउनु न अब ।” मेडिकल कलेजमा पढिरहेकी ती बहिनी परीक्षा मुखैमा भएकाले काठमाडौँमा भएको घर जान पाएकी थिइनन् । मैले पनि तिहारभर आफन्तको अनुहार देख्न पाइनँ । त्यसैले भैरहवा पुग्ने निधो गरेँ ।
भैरहवाको देवकोटा चोक पुग्दा बेलुकाको करिब ७ बजिसकेको थियो । ती बहिनी र उनकी एक साथी मलाई कुरेर बसिरहेका रहेछन् । नजिकैको एक रेस्टुराँमा गई सबैले म:म: खायौँ । तिनले मेरो यात्राबारे जान्न चाहे । ‘ कालजमाना ठीक छैन’, ‘एक्लै नघुमेको भए हुन्थ्यो’ जस्ता प्रतिक्रिया बाटैभरि सुन्दै आएकाले होला, त्यहाँ पनि त्यस्तै प्रतिक्रिया आउँछ भन्नेमा विश्वस्त थिएँ । मैले छोटकरीमा आफ्नो यात्राविवरण बताइसकेपछि तिनले भने, “आहा, कस्तो रमाइलो ! एमबीबीएस सकिएपछि हामीलाई पनि त्यसरी नै घुम्न मन छ ।”
कोही त रहेछन्, एकल यात्रालाई नकारात्मक नठान्ने ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...