अन्योलमै आगमन
जन्ती बनेर मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने चर्चा चल्यो । संघीय सरकारको ‘ग्रिन सिग्नल’ पाएपछि प्रदेश २ को सरकारले भित्रभित्रै तयारी थाल्यो ।

त्रेता युगमा राम र सीताको विवाह भएको सम्झनास्वरूप हरेक वर्ष मंसिरमा विवाह महोत्सव हुन्छ, जनकपुरमा । सीताको माइती जनकपुर । रामको घर अयोध्या । त्रेता युगपछि साधु–सन्तबीच चलिरहेको यो धार्मिक वैवाहिक परम्परामा सहभागी हुन यसपालि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ आउने इच्छा राखे ।
बिमस्टेक सम्मेलनमा नेपाल आउँदा मोदीलाई प्रधानमन्त्री केपी ओलीले औपचारिक निम्तो पनि गरे । जन्ती बनेर मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने चर्चा चल्यो । संघीय सरकारको ‘ग्रिन सिग्नल’ पाएपछि प्रदेश २ को सरकारले भित्रभित्रै तयारी थाल्यो । विशेष पाहुना आउने भन्दै प्रदेश सरकारले विवाह महोत्सवको तयारीका लागि जानकी मन्दिरलाई ५० लाख रुपैयाँ दियो । तर मोदीको जनकपुर भ्रमण रोकियो ।
योगी आउने खबर फैलियो । प्रदेश सरकारले योगीको जनकपुर भ्रमण टुंगो लागेको दाबी गर्यो । तर संघीय सरकार वा परराष्ट्र मन्त्रालयले योगीको जनकपुर भ्रमणबारे आधिकारिक वक्तव्य दिएनन् । प्रतिपक्ष नेपाली कांग्रेसले त्यसको विरोध जनायो ।
यता प्रदेश सरकार, जानकी मन्दिर र जनकपुर उपमहानगरपालिकाले योगीको जनकपुर भ्रमण तयारी तीव्र पारे । संघीय सरकारले योगीको जनकपुर भ्रमणबारे औपचारिक त बोलेन नै, आफ्नै सरकारी निकायलाई पनि लिखित केही पठाएन । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले ‘उत्तर प्रदेशका मुख्यमन्त्री आउने’ भन्दै मिडियासँग कुरा गरे । सोध्दा उनले भ्रमणबारे औपचारिक केही नआएको बताउँथे ।
योगी जनकपुर भ्रमणमा आउने साताअघि मात्रै परराष्ट्र मन्त्रालयका सचिवले प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीलाई टेलिफोनमा मात्रै जानकारी गराए । संघीय सरकारले आधिकारिक नबोल्दा र आउने/नआउने अन्योलबीच योगीले जनकपुर भ्रमण गरे ।
मोदीकै शैली
२८ वैशाखमा भारतबाट सीधै जनकपुर उत्रिएका मुख्यमन्त्री योगीले प्रधानमन्त्री मोदीकै शैली पछ्याए । जानकी मन्दिरमा मोदीले जस्तै विशेष पूजाअर्चना गरे । रंगभूमि मैदानमा आयोजित विवाह महोत्सवको सम्बोधन मोदीकै शैलीमा गरे । ‘जय सीता मइँया–जय श्रीराम’ भन्दै सम्बोधन सुरु गरेका योगीले नेपाली भाषामै भने, “तपाईंहरु सबैलाई मेरो हार्दिक नमस्कार । सबै नेपाली दाजुभाइ, दिदीबहिनीका लागि प्रधानमन्त्री मोदीको बधाइ र शुभकामना बोकेर आएको छु । तपाईंहरुका माझमा भारतवासीको दूत भएर उपस्थित भएको छु ।”
नेपालमा आउँदा मोदीले प्राय: बोल्ने एउटा समान शब्द छ, ‘कनेक्टिभिटी’ । योगीले पनि त्यही दोहोर्याए । भने, “नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध छ । यसलाई मजबुत पार्न दुवै देशले कनेक्टिभिटीमा जोड दिनुपर्छ ।” उनले मोदीले जस्तो नेपाललाई लाभान्वित हुने भारतीय योजनाको फेहरिस्त पनि सुनाए ।
योगी मुख्यमन्त्री हुनुअघि साधु नै थिए । अहिले पनि साधुकै भेषभूषामा हुन्छन् । मोदीलाई राजनीतिक गुरु मान्ने योगीको भाषण शैली र शब्दमा पनि उनकै झल्को देखियो । मोदीले जनकपुर आउँदा भनेका थिए, “यहाँ आउँदा मलाई अपनत्व महसुस भइरहेको छ ।” योगीलाई पनि त्यस्तै भयो, जुन उनले पनि बोले ।
३० मिनेटको सम्बोधनमा योगीले नेपाल आउँदा मोदीले बोलेकै कुराको व्याख्यामा बढी समय खर्चे ।
दर्शनार्थीको विजोग
मुख्यमन्त्री योगी आउने भएपछि विवाह पञ्चमीको दिन हजारौँ दर्शनार्थीलाई सडकमै रोकेर जानकी मन्दिर प्रवेशमा बिहानैदेखि रोक लगाइयो । नेपाल र भारतबाट हजारौँको संख्यामा हिन्दु धर्मावलम्बी विवाह महोत्सवमा जनकपुर आउँछन् । यसपालि योगी आएपछि दर्शनार्थीको संख्या झनै बढ्यो ।
जानकी मन्दिर प्रवेश गर्ने चारैतिरका बाटोमा ब्यारिकेट लगाएर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइयो । उनीहरुको काम मन्दिर प्रवेश गर्ने दर्शनार्थीलाई रोक्नु मात्रै थियो । विवाह पञ्चमीका दिन केही नखाई जानकी मन्दिर पुग्ने दर्शनार्थीको संख्या ठूलो हुन्छ । एक दर्शनार्थीले सुरक्षाकर्मी गुहार्दै भनिन्, “बिहानैदेखि केही खाएकी छैन । बिरामी पनि छु । टाढा जानु छ । दर्शन गर्न जान दिनु न ।” तर सुरक्षाकर्मीले भीआईपी आउने भन्दै उनलाई मन्दिर प्रवेश गर्नै दिएनन् ।
मुख्यमन्त्री योगीले विशेष पूजा गरेर फर्किएपछि मात्रै १२ बजेतिर सर्वसाधारणलाई जानकी मन्दिर प्रवेश खुला गरियो ।