कागजको रंगीचंगी फूल
युट्युबमा गायक धु्रव केसी सर्च गर्यो भने दर्जनजति गीत फेला पर्छन् ।
मायालु हजार हुन्छन् तर माया एकै हुन्छ
बुझेर माया देऊ, दिनुपर्ने एउटै हुन्छ
यो गीत नसुन्ने को होला ! गायक धु्रव केसी, ७३, को स्वर तथा गोपाल योञ्जनको शब्द, संगीतमा सजिएको गीतले उतिबेला रेडियो नेपाल घन्काएको थियो भने अहिले युट्युबका पेज । अधिकांशले उनको यो गीतमा 'कभर सङ' गाएको देखिन्छ । युट्युबमा गायक धु्रव केसी सर्च गर्यो भने दर्जनजति गीत फेला पर्छन् । केसीले अधिकांश प्रेमका गीत गाए । शिवशंकरको संगीतमा निष्ठुरी मायालुलाई कर्णपि्रय स्वर र शब्दमा गुनासो पोखे, तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो... ।
गायक केसी ९ वर्षदेखि पार्किन्सनबाट ग्रसित छन् । हाल अर्किड केयरहोममा बस्ने उनलाई रोगले शिथिल बनाएको छ । सुस्तरी बोल्छन् । धेरै हलचल गर्न सक्दैनन् । तर आफ्नो अमर गीत 'मायालु हजार हुन्छन्...' भने केही गुनगुनाउँछन् ।
सिनामंगलमा जन्मेका केसीका छिमेकी कृष्ण लामिछाने रेडियो नेपालमा काम गर्थे । लामिछानेकै सहयोगमा ६ वर्षको उमेरमै उनले रेडियो नेपालको बाल कार्यक्रममा सहभागी हुन पाए । त्यहाँ कविता भन्थे । बालगीत गाउँथे । लजालु स्वभावका केसी उमेरमा निकै 'ह्यान्डसम' देखिन्थे । उनका ठूलोबुबाका छोरा भुवन केसी नेपाली चलचित्र उद्योगका सदाबहार हिरो भए ।
६ सन्तानमध्येका जेठा छोरा उनले करिब २० वर्षको उमेरमा मागी विवाह गरे । उनकी जीवनसंगिनीले संसार छाडेको १५ वर्ष भइसक्यो । दुई छोरी भारतमा बस्छन् भने एक छोरी नेपालमै । छोरीसँग फोनमा कुरा भइरहन्छ उनको । कलाकार मदनकृष्ण श्रेष्ठलाई पनि आफूलाई जस्तै रोग लागेको उनी सुनाउँछन् । पार्किन्सनले रोगीलाई डिप्रेसनमा लैजाने उनको अनुभव छ ।
दरबार हाइस्कुलबाट एसएलसी दिएका उनले आर्थिक परिबन्दले डेढ वर्ष मात्र कलेज पढ्न आए । १६ वर्षको उमेरमै स्वर परीक्षा पास गरी गीत गाउन थालेका केसीले रेडियो नेपालमा जागिर खाए, क्लर्क पदमा । उनका सहकर्मी थिए, रामलाल जोशी, कन्हैयाकुमार, माणिकरत्न, यादव खरेल र किरण खरेल । रामलाल, कन्हैयाकुमार, माणिकरत्नसँगै पोखरा घुम्न जाँदा फेवातालमा डुंगा चढेर ताल बाराही मन्दिरअगाडि पौडी खेलेको उनी सम्झन्छन् । भन्छन्, "परिवारसँग बस्ने मन छ । साथीभाइ भेट्ने मन छ ।"
रेडियोमा रामलाल, उत्तमलाल, यादव र आफू भएर विज्ञापन सुरु गरेको उनी सम्झन्छन् । केसीले पहिलोपल्ट बाँसबारी जुत्ताको विज्ञापन पढेका थिए । कुनै विज्ञापन आफैँ लेख्थे, कुनै अरुले बनाउँथे । ०२९ सालतिर बम्बैको स्टुडियोमा भाषा परीक्षा दिन जाँदा कलाकार मनमोहन किसनले अन्तर्वार्ता लिएको उनको स्मृतिमा ताजै छ । अन्तर्वार्तापछि भजनमा कोरस गाउन गए । पछि एउटा साथीको संगीत-शब्दमा उनले हिन्दी गजल रेकर्ड गराए, आ करके मेरे कब्र पर तुमने जो मुस्कुरादिया, बिजली चमके गिरपरे सारा कफन भुलादिया ।
त्यो गीत अल इन्डिया रेडियोबाट बज्यो । आफू हिन्दी गीत गाउने पहिलो नेपाली भएको केसीको दाबी छ । करिब ७० गीत गाएका उनलाई शास्त्रीय संगीत सिक्न ठूलो रहर थियो । डिल्लीबजारको पद्मकन्या स्कुलमा साँझ इलाहावाद विश्वविद्यालयको संलग्नतामा रहेको संस्थाले शास्त्रीय संगीत सिकाउँथ्यो । उनी केही दिन गए । तर घरबाट बन्देज भएपछि धोको अधूरै रह्यो ।
रेडियो नेपालको ४ वर्षे जागिर छाडेर उनी भारत गए । बोतल कारखानामा काम गरे । अवकाशपछि मात्र छाडे र करिब १० वर्षअगाडि नेपाल आए । अहिले उनलाई लाग्छ, संगीतमा केही गर्न सकिएन । तर,केसीका गीत पुरानालाई मात्र होइन, नयाँ पिँढीका लागि पनि उत्तिकै रुचिकर बन्न सक्छन् । उनको गीत सुनेर युवा मन प्रेमिल होस्, निष्ठुरी मायालुलाई फकाउन कोसिस गरिरहोस्, उसका प्रेमिल क्षणलाई यी गीतले अमर बनाइदिऊन् ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...