नदोहोरिऊन् काण्ड
दसैँको सांस्कृतिक महत्व नै बिटुल्याउने गरी अर्को काण्ड भने नदोहोरियोस् । ओहोदाधारी, नेता-कार्यकर्ता र शुभेच्छुकका निम्ति अहिलेलाई यत्ति नै शुभकामना !
दसैँ मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहणको पर्व हो । राष्ट्रप्रमुखलाई अभिभावक मानेर टीका थाप्ने चलन राजसंस्था रहँदादेखि नै चल्दै आएको छ । पछिल्लो समय दसैँमा राष्ट्रपति, प्रधानमन्त्री, नेतादेखि नागार्जुन पुगेका पूर्वराजासँग टीका थाप्नेहरुको लाइन बढ्दो छ । मान्यवरहरु स्वार्थ समूहबाट घेरिँदै गएका छन् । त्यसैले हरेक वर्ष दसैँमा अनेक काण्ड दोहोरिन्छन् ।
गत वर्ष शीतलनिवासमा कुर्सी काण्ड भयो । राष्ट्रपतिले टीका लगाइदिँदा सात महिनाअघि आफैँलाई सपथ खुवाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले घुँडा टेकेर टीका थापे । आफ्नै पूर्वनेता वामदेव गौतमलाई समेत कुर्सी नहुँदा राष्ट्रपति भण्डारीको 'कमन सेन्स' ले काम गरेन । कुर्सी काण्डले टीका थाप्न शीतलनिवास पुग्नेहरुको दसैँ खल्लो बनाइदियो । सामाजिक सन्जाल रंगिए । पत्रपत्रिकामा हप्तौँसम्म आलोचनाका टीकाटिप्पणी छापिए । शुभचिन्तक र राष्ट्रका विभिन्न ओहोदावालको औपचारिक टीका तथा प्रसाद ग्रहण चल्यो । प्रधानमन्त्री केपी ओली दसैँका पाँचै दिन कर्मकाण्डी पण्डितझैँ व्यस्त भए । त्यसैको धपेडीले उनी बिरामी नै परे । केही दिन अस्पताल भर्ना हुनुपर्यो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दसैँ नमनाउने नेता हुन् । तर आफूले नलगाए पनि शुभचिन्तक र कार्यकर्तालाई टीका लगाइदिन्छन् । केही वर्षयता उनको दैलोमा टीका थाप्न जानेको संख्या बढ्दै छ । दसैँमा मिसिने राजनीति झन् बुझिसाध्य छैन । राजा ज्ञानेन्द्रले विवादास्पद छविका पुत्र पारसलाई युवराज घोषणा गर्न दसैँ पर्खेका थिए । दसैँ वहिष्कार अभियानका नेता गोरेबहादुर खपांगीले शाही मन्त्री भएपछि दरबार पसेरै टीका र जमराको माला लगाए । राष्ट्रिय सभा उपाध्यक्ष मोहम्मद मोहसिनले त्यसै गरे ।
प्रथम राष्ट्रपति रामवरण यादवले गणतन्त्रमा पनि राष्ट्राध्यक्षले टीका लगाइदिने परम्परा बसाए । भण्डारीले निरन्तरता दिइरहेकी छन् । नेकपाका प्रस्तावित उपाध्यक्ष गौतम राष्ट्राध्यक्षसँग आशीर्वाद लिनुपर्छ भन्ने मान्यता राख्ने नेतामा पर्छन् । राजा ज्ञानेन्द्र सत्तामा रहेका बेलासमेत उनी टीका लगाउन दरबार धाउँथे । यी र यस्ता आयाम थपिँदै जालान् । तर दसैँको सांस्कृतिक महत्व नै बिटुल्याउने गरी अर्को काण्ड भने नदोहोरियोस् । ओहोदाधारी, नेता-कार्यकर्ता र शुभेच्छुकका निम्ति अहिलेलाई यत्ति नै शुभकामना !
फैलिँदो दसैँ
दसैँलाई हिन्दु, खस-आर्यको चाड भनिन्छ । तैपनि केही दशकअघिसम्म खस बाहुल्यका सुदूरपश्चिमीपहाड र कर्णालीमा दसैँ मनाइँदैनथ्यो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सुनाउँथे, उनी किशोर हुँदासम्म हुम्लाका गाउँमा दसैँ मनाइँदैनथ्यो । मध्यपहाडका कर्मचारीले दसैँ भित्र्याए । सुरुका वर्षमा रैथाने समुदायलाई दसैँको अर्थ र महत्व थाहै भएनछ । थालमा अबिर र चामल मुछेर केटाकेटीहरु होलीमा झैँ जो भेट्यो, उसलाई टीका लगाइदिँदै हिँड्थे रे । अहिले भने कर्णालीमा दसैँले जरा गाडिसकेको छ ।
सुदूरपूर्वका जनजातिले दसैँ मनाउन थालेको पनि धेरै भएको छैन । तराईका हिन्दुले दसैँ मनाउँछन् तर रामलीला र रावणबध गर्दै । दुर्गापूजामा व्रत बस्छन् । उनीहरुका लागि दसैँभन्दा नवमीको महत्व ज्यादा हुन्छ । तराई-मधेस, पूर्वी पहाड, कर्णाली र सुदूरपहाडका लागि दसैँभन्दा प्रमुख पर्व अरु नै छन् । तैपनि दसैँको आयतन फैलिँदै छ । यो हिन्दुभन्दा ज्यादा नेपाली समुदायको मौलिक पर्व बन्दै छ ।
पहाडी समुदायमा देवीपूजा र बलि प्रथा छ । त्यसैले उनीहरुका लागि दसैँ व्रतभन्दा धेरै खानपिनको पर्व हो । दही, अक्षता र अबिरको टीका नेपालबाहेक अन्यत्र लगाइँदैन । टीका रातो होस् वा सेतो, दसैँ एक दिन मनाइयोस् वा पूणिर्मासम्मै- धार्मिक, सांस्कृतिक महत्वका आ-आफ्नै व्याख्या छन् । खस आर्य, मंगोल वा मधेसीको साझा भइसकेको दसैँ बिस्तारै सामाजिक पर्व बन्दै छ ।
दसैँ अर्थात् यात्रा
सरकारी विद्यालयले दिने एकमहिने बिदालाई बिर्सिने हो भने दसैँको जम्माजम्मी बिदा भनेकै चार दिन हो । त्यसको आधाआधी समय त बाटोमै बित्छ, यात्रामै लाग्छ । सपरिवारको यात्राले स्वाभाविक छ, दसैँको झन्डै आधा बजेट यातायातमै सकिन्छ । सरकारले पोहोरै यातायात क्षेत्रको सिन्डिकेट हटाएको दाबी गर्यो । बस समितिका काउन्टर र अफिस बन्द भए । तर यात्रामा सुधारको अनुभूति गर्न पाएनन्, यात्रुले । सरकारी निर्णय रुट परमिटका लागि समितिसँग जुधिरहेका व्यवसायीका लागि गरिएझैँ भयो ।
बस काउन्टरमा टिकट बुकिङ खुलिसकेको छ । यात्रु टिकट पाउन लाइन लागिसकेका छन् । जे-जस्तो सास्ती भोगे पनि घर त जानैपर्यो । बाआमा परिवार र आफन्त भेट्नैपर्यो । चाडपर्व भनेकै पारिवारिक मिलन हो । वर्षको एकपल्ट पारिवारिक जमघटको बृहत् माहोल दसैँबाहेक अरु कुनै पर्वमा मैले देखेको छैन । गाउँ र सहर जोड्ने, खसीबोका किनबेच गर्ने र अभिभावकको आशीर्वाद लिने यो पर्वले पारिवारिक खण्डीकरणलाई सन्तुलित बनाइराखेको छ । सद्भावको सम्बन्ध मजबुत पारिरहेको छ । होइन र !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...