राजदूतका दुःख
कूटनीतिक सेवाबाहिरबाट एकाएक उदाएका कार्की आफ्नो ४ वर्षे कार्यकाल टुंगिएर पनि राजनीतिक निगाहमा केही महिना थमौती पाएर बसिरहेका प्रतिनिधि पात्र थिए ।
अवैतनिक दूत, महावाणिज्यदूत, वाणिज्यदूत, सद्भावना दूत, पर्यटन दूत आदिमाझ भेटिए- अमेरिकास्थित साँच्चिकै दुई राजदूत अर्जुन कार्की (वासिङ्टन डीसी) र अमृतकुमार राई (स्थायी प्रतिनिधि, न्युयोर्क) ।
कूटनीतिक सेवाबाहिरबाट एकाएक उदाएका कार्की आफ्नो ४ वर्षे कार्यकाल टुंगिएर पनि राजनीतिक निगाहमा केही महिना थमौती पाएर बसिरहेका प्रतिनिधि पात्र थिए । राई भने कूटनीतिक सेवा भए पनि उस्तै राजनीतिक छत्रछायामा पालोक्रम मिचेर राष्ट्रसंघमा स्थायी दूत बनेर १० महिनाअघि मात्रै न्युयोर्क उत्रिएका थिए ।
कार्की डीसीमा ८० करोडको राजदूत निवास किनेर विवादमा आएका र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को झन्डै ५५ अर्ब रुपैयाँको अमेरिकी सहयोग नेपाल ल्याउन माध्यम बनेर स्याबासी पाएका पात्र थिए । राई भने सनातनी राष्ट्रसंघीय कर्मकाण्डमै कहीँ-कतै हराइरहेका पात्र थिए ।
केही अपारदर्शी कर्म र नचाहिँदो सरोकारमा जोडिएर अमेरिकाका धेरै पत्रकारले कार्कीलाई प्रश्न सोध्ने गरेका रहेछन्- भूकम्पमा उठाएको पैसा खोइ ? ८० करोडको निवास किन चाहियो ? त्यो निवास किनेको लेखापरीक्षण गराउन किन महालेखा परीक्षकलाई नै बोलाउनुपर्यो ? दूतावासका गतिविधि किन पारदर्शी हुँदैनन् ? आदि-इत्यादि । अनेकानेक यी प्रश्नको जवाफ दिइरहनुको दुःख आफ्नै होला । त्यही भएर यस्ता प्रश्न गर्ने पत्रकार, जिज्ञासुलाई राजदूत कार्कीले फेसबुक, ट्वीटर सबैतिर 'ब्लक' हान्ने रहेछन् । न रहे बाँस, न बजे बाँसुरी ।
यही मेसोमा न्युयोर्कको स्थायी प्रतिनिधि कार्यालयमा भेटिएका राजदूत कार्कीलाई एमसीसीको अवरुद्ध स्थिति, डीसी दूतावासमा उठेका अपारदर्शी कुराबारे जिज्ञासा राख्ने अवसर मिलेजस्तै भयो । तर कार्कीको उस्तै दुःखको जवाफ सुनियो- मैले मेरा विभागीय मन्त्री र मन्त्रालयलाई सबै जवाफ दिने हो । तपाइर्ंलाई किन दिने ? मेरो जवाफ मन्त्रीलाई सोध्नुस् । यसरी एकै निमेषमा राजदूतको दुःख थाहा पाइयो ।
तेलभिसामा अमेरिका
ड्रयागन एयरलाइन्स हुँदै हङकङ लाग्यौँ, जहाँ ट्रान्जिटै थियो १२ घन्टाको । ट्रान्जिट के भन्नु, दुःख, हैरानी, कुन्ठा र बेचैनी बिसाउने चौतारी ।
"लौ है, मामु-बाबा जसरी नि आइस्योस्, यहाँ नातिनातिनाले खुबै मिस गरेका छन् भनेर यसपाला पनि बोलाए । अनि बाटा लाग्यौँ," नेपालगन्जका उमेरमा ६० नाघेका एक जोडी श्रेष्ठ थरका बाआमाको कुरा सुरु भयो ।
"यत्राको मिस गर्छन् ? ती छोराबुहारीले काममा जान, छुट्टीमा बाहिर घुम्न पाएनन् अनि हामीलाई नातिनातिना हेर्न बोलाएका हुन् । कुरा नबुझेको हो र ?" ३ वर्षअघि मात्रै तेलभिसामा अमेरिका आएर नातिनी हुर्काएर गएकी हजुरआमाले तुरुन्तै कुरा काटिन् ।
"हो नि, मेरो नि तेलभिसै हो । अर्को साता छोरीका सन्तान हुँदै छन्," अर्की भोजपुर मूल घर भएकी राई आमाले थपिन्, "मलाई काठमाडौँको अमेरिकी दूतावासमा बस्नेले पनि आमै तपाईंको तेलभिसा रहेछ भनेको थियो । होला त नि भनेर हिँडेकी ।"
"हामी सबैको अमेरिका जाने भाग्य भनेको कि त छोराछोरीलाई डीभी परेर हो, कि हामी तेलभिसामा छानिएरै हो," झापा दमकका एक पूर्वशिक्षक पनि यही चक्करमा मेरिल्यान्ड हिँडेका रहेछन्, "हाम्रा लागि अमि्रका भनेको बर्मा गयो कर्मजस्तै न हो, उही छोराबुहारीलाई भात पकाउने, नातिनातिना हेर्ने अनि ६ महिनामा यही बाटो घर र्फकने । यही हो, अलिक ठूलो पिलेन चढियो भन्ने मात्रै ।"
कठै ! मेरा भानिज
कोही जहानले भरेको डीभी परेपछि र कोही जहानको जोडबल चलेपछि ४ वर्षअघि अमेरिका पुगेका भानिजद्वय सुवास (आँगन) र प्रमोद (लारुम्बा) यसपाला बाल्टिमोरमा भेटिए । उनीहरुले अमेरिकाको घन्टे-जीवन र किस्ताबन्दी सपनाबारे हाँसीखुसी बताए । दुई भानिजका गाडी, घर, रसिलो जीवन देखेर उल्का लाग्यो तर अपराह्नमा यसो कुना पसेर दुःखसुखका बात मार्न थालेपछि तिनका गह भरिन्थे ।
एक साँझ भानिजहरु आ-आफ्ना घन्टा कटाएर सपिङ मार्टमा आइपुगे । अनि, भाइबर खोलेर सूची टिप्न थाले- आइफोन सेभेन प्लस ३ वटा, चार्जर २ वटा, माछाको तेल ५ बट्टा, खैनीको अम्मल छुटाउने निकोटिन गम २ प्याकेट, लार्ज साइज होजियारी २ वटा, सुगर फ्री चकलेट ३ प्याकेट, बिल्लो द बेल्ट जेल, लोरियल क्रिम ३ थान आदि-इत्यादि ।
हैट्, मेरा भानिजद्वयको दुःखको सूची अझ लम्बिँदै थियो । बरु अमेरिकी किस्ताबन्दी जीवन धेरै सजिलो हो कि ? झन्डै हतास मुद्रामा पुगेका भानिजमध्ये एकलाई फेरि मेसेज आयो, भद्रपुरबाट लीलाप्रसाद भिनाजुको- 'ए साला केटा, मलाई नाकको रौँ उखेल्ने मिसिन जसरी नि पठाइदे है । रौँ बढेर मुस्किलै भो...।'
मेरा अमेरिकी भानिजको साह्रै दुःख लाग्ने दुःख !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...