नेपाली पाउडर
यस पटक चाबहिलको यात्रा गर्दा धनकुटाको त्यो बाटो झल्झली सम्झिएँ । धन्य, धनकुटाको बाटो ! धिक्कार, चाबहिलको बाटो !
राजधानीमा बाटो र बत्तीको सुविधा छ भनिएको छ ।
तर साँच्चै सुविधा हो कि होइन, बुझ्न जिल्ला घुम्नुपर्दो रहेछ । केही दिनअघि हप्ते बिदा मनाउन जहरसिंहपौवा पुगियो । चाबहिलदेखि साँखुसम्मको बाटो कति खराब रहेछ भने प्रधानमन्त्री केपी ओलीले मास्क लगाउनु पर्दैन भनेको खुबै सम्झिएँ । पानी नपरेकाले बाटो धुलाम्य, नेपाली पाउडर छरपस्ट । बाइकमा सवार म स्पटसम्म पुग्दा धुलोले शरीर पूरै घामड शेरेको ट्रेलरमा देखाइएको निश्चल बस्नेतजस्तै बनिसकेकी थिएँ ।
केही दिनअघि पूर्वतिर घुम्न जाने मौका मिलेको थियो । धरानतिर पहिल्यै घुमेकी थिएँ । तर धनकुटा र हिले पनि घुम्ने अवसर मिल्यो । धनकुटाको सडक देखेर छक्क परेकी थिएँ । एकैनासको खैरो पिच, सफा सडक । पहिरो नजाओस् भनेर ढुंगा र तारले बेरेर बनाएका अग्ला भित्ता । काठमाडौँमा पानी पर्दा धान रोपिदिउँजस्तो लाग्ने खाल्डाखुल्डी कतै देखिएन । यस पटक चाबहिलको यात्रा गर्दा धनकुटाको त्यो बाटो झल्झली सम्झिएँ । धन्य, धनकुटाको बाटो ! धिक्कार, चाबहिलको बाटो !
सेल्फीले लिएको ज्यान
समाचार नयाँ होइन तर कसैको मृत्युको समाचार सुन्नुपर्दा खल्लो लाग्ने । मृत्यु स्वाभाविक भए त ठीकै हो तर बेवकुफीले ज्यान जाँदा असह्य हुने रहेछ । दसैँताका घुम्ने क्रममा तमोर नदी गएका थियौँ । त्यहीँ बास बस्ने र भोलिपल्ट बराह क्षेत्र जाने योजना थियो । साँझ परिसकेकाले तमोर नदी पुलसँगै रहेको होटलमा खाना खायौँ । खाने क्रममा होटल मालिकले अघिल्लो दिन तमोर नदीमा ३ केटा र एक केटी घुम्न आएको र सेल्फी खिच्ने क्रममा केटीको ज्यान गएको सुनाए ।
धनकुटा बजारमा बस्ने युवती २१ वर्षकी थिइन् रे । घरकी कान्छी छोरी उनी साथीसँग तमोर घुम्न आएकी रहिछन् । यस पटक दसैँसम्म पनि पानी परिरहेकाले खोलानदीमा भेल उर्लिएको थियो । पढेलेखेका मान्छेले त्यति बुझ्नुपर्ने हो, भेल आएका बेला खोलाछेउ जानु हुँदैन भनेर ।
होटल मालिकका अनुसार तमोर नदीले दुई– तीन महिनाको अन्तरालमा मान्छे बगाइरहन्छ । फोटो खिच्ने वा डुल्ने क्रममा पहिले पनि थुप्रै युवकयुवतीले ज्यान गुमाएको उनले सुनाए । आफ्नै ज्यान जोखिममा राखेर किन खिच्ने ? के ज्यानभन्दा फोटो अमूल्य हो र ?
नबिर्सने राजदूत
ठूलाठालु भनिने मान्छे सार्वजनिक कार्यक्रममा बडेबडे कुरा गर्छन् । औपचारिक कार्यक्रमबाहेक अन्त भेट्दा ठूलाबडाको विनम्रता कहाँ जान्छ कहाँ !
भनाइ नै छ, बाँस जति अग्लो भयो, उति नुहिन्छ । त्यस्तै, संस्कृतमा भनाइ छ, विद्या ददाती विनयम् । जो ज्ञानी छ, ऊ विनम्र हुन्छ । र, विनम्र व्यक्ति सबैभन्दा आदरणीय हुन्छ । नेपाली समाजको यो टेको भए पनि हिजोआज हामी यस भनाइबाट पर हुँदै गएका छौँ । तर एक औपचारिक कार्यक्रममा ब्राजिली राजदूत मारिया टेरेसा पेसोआलाई भेट् दा छक्कै परेँ ।
कार्यक्रम सकेपछि चिया खान बस्दै थिएँ । एक गोरी मतिर हाँस्दै बोलिन् । कार्यक्रमबारे सोधिन् । उनी सहज बोलिरहेका बेला अर्का एक व्यक्तिले ब्राजिलको राजदूत भएको बताए ।
उनलाई कतै देखेजस्तो त लागेको थियो । तर कार्यक्रममा गइरहँदा धेरै मानिससँग भेट हुने हुनाले मान्छे ठ्याक्कै ठम्याउन गाह्रो । मैले उनलाई चिनिनँ र त्यो कुरा व्यक्त पनि गरेँ । उनी मुस्कुराइन् र मलाई अर्को कार्यक्रमका लागि निम्तो दिइन् ।
म निम्तो मानेर गएँ । उनले भुलिसकेकी होलिन् भन्ने सोचेर कार्यक्रमस्थल पुगेँ । उनले खुसी हुँदै अँगालो मारिन् । चलचित्र देखाइने हुँदा राम्रो सिट छानेर बस्न सुझाइन् । म एक्लै छेउको कुर्सीमा बसिरहेकी थिएँ । कार्यक्रम सुरु हुन लाग्दा उनी अगाडि जाँदै थिइन् । मलाई पछाडिबाट काँधमा समातेर उनले पुन: दोहोर्याइन्, ‘आई एम सो ग्ल्याड टु सी यु हियर ।’ म उनको विनम्रता देखेर नतमस्तक भएँ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...