बीपीपुत्रको विस्मय
शशांकले आत्मसमर्पण शैलीमा सुनाए, ‘किताब त मैले पढ्न पाएको छैन । पढेपछि फेरि बोलौँला ।’
विश्वेश्वरप्रसाद कोइराला सर्वकालिक प्रिय लेखकका रूपमा छँदै छन् । उनका आख्यान मात्र होइन, मरणोपरान्त जेल डायरी पनि उत्तिकै गहकिला छन् । जेल जर्नल, आत्मवृत्तान्त, फेरि सुन्दरीजल आदि खजानापछि उनको पुरानो डायरी पनि फेला पर्यो । ००८ देखि ०१३ सम्मको अवधिमा अंग्रेजीमा लेखिएको त्यो डायरीको विमोचन कार्यक्रम थियो, २२ भदौमा । नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा थुप्रै बीपीप्रेमीबीच वक्ता थिए, बीपीका कनिष्ठ पुत्र शशांक, भतिजा शेखर कोइराला अनि नरहरि आचार्य ।
जसै कार्यक्रम सुरु भयो, वक्ताका रुपमा आए, नरहरि । बिरामी अवस्थाका बीच पनि उनले त्यो पुस्तक उत्साहपूर्वक तीनचोटि पढिसकेको र फेरि पनि पढ्न मन लागेको बताए । तर नाम चलेका डाक्टर नेताद्वय शशांक र शेखरले किताबै नपढी बीपीबारे फर्माए । मानौँ, उनीहरुलाई किताब पढ्न आवश्यकै छैन । शशांकले आत्मसमर्पण शैलीमा सुनाए, ‘किताब त मैले पढ्न पाएको छैन । पढेपछि फेरि बोलौँला ।’ विस्मयको बात के भने शशांकले कांग्रेस महामन्त्रीको लेटर प्याडमा हस्ताक्षरसहित तीन पृष्ठमा ‘सूक्ष्म दस्तावेजको रहस्य’ भनी किताबमै लेखेका छन् ।
पदमबहादुर थापाको संकलन र सम्पादन अनि महेश पौड्यालको अनुवाद रहेको बीपी कोइरालाको डायरीमा शशांकले लेखेको भूमिका संयोगवश नेपालमै छापिएको थियो । नोटबुककार त तिरिमिरी झ्याइँ भयो । नपढी लेखियो वा थाहै नदिई छापियो ?
७६६ प्रज्ञाप्रतिष्ठान !
०६५ यता मुलुकमा तीन प्रज्ञाप्रतिष्ठान अस्तित्वमा छन्, नेपाल प्रज्ञाप्रतिष्ठान, नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठान र ललितकला प्रज्ञाप्रतिष्ठान । सबैजसोमा आर्थिक र प्राज्ञिक अनुशासनको पालना नभएकाले उद्देश्यअनुरुप प्रभावकारी हुन नसकेको सुनिँदै आएपछि एउटै छातामुनि राख्ने असफल प्रयत्न भयो पनि । तर कार्यकर्ता भर्ती केन्द्र बनाउन पाउने भएकाले दुई तिहाइको सरकारले ती संस्था गाभ्न सकेन ।
प्रज्ञाप्रतिष्ठान गठन कार्यदल मात्र बनाएका प्रदेश सरकारलाई उछिनिसकेका छन्, स्थानीय ‘सरकार’ ले । ३० कात्तिकमा सिन्धुलीको दुधौली नगरपालिकाले दुधौली प्रज्ञाप्रतिष्ठान, २०७६ गठन गर्यो । धरान उपमहानगरपालिका र दमक नगरपालिकाले यसअघि नै ‘प्रज्ञाप्रतिष्ठान’ बनाइसकेका छन् । रोचक के भने यस्ता प्रज्ञाप्रतिष्ठानमा समाजमा चिनिएका मान्छे कोही छैन । धरानमा कार्यकारी परिषद् ११ र सभा ३५ सदस्यीय छ भने दमकमा नौ सदस्यीय कार्यसमिति र २१ सदस्यीय परिषद् ।
जगजाहेरै छ, काठमाडौँका तीन प्रज्ञाप्रतिष्ठानको अवस्था जर्जर छ । सबैजसो बजेट कर्मचारी र प्राज्ञलाई तलबभत्ता खुवाउनेमै इतिश्री हुन्छ । नेताको कोटको खल्तीबाट निस्केका प्राज्ञहरुले आफूलाई प्राज्ञ प्रमाणित गर्न सक्ने स्थिति छैन । त्यस्तो बेला ७ सय ६६ पालिकामा खुल्ने प्रज्ञाप्रतिष्ठानको हविगत के होला ? भाषा, साहित्य, कला, संस्कृतिको प्रवर्द्धन होला कि सामान्य भर्ती केन्द्र मात्रै ?
बालमित्र डाक्टर
डा पुष्पलाल (पीएल) राजभण्डारी बितेछन् । १३ कात्तिकमा प्रस्थान गरेका ती ८९ वर्षे बालमित्र डाक्टर खासमा नेपालको पहिलो बालरोग विशेषज्ञ थिए । तर त्यो श्रेय उनले पाएनन् । किनभने राणाकालमा डा महेन्द्र प्रसाद बेलायतमा बालरोगबारे पढ्न गए तर नपढी फर्किए पनि राणा शासकले फर्मान गरे, ‘तँ बालरोग विशेषज्ञ भइस् ।’ राणा शासकका सामु कसको पिताम ?
तीन–चार जना कलिला भाइबहिनी सामान्य रोग लागेर बित्दा बाआमाको वेदना देखेका पीएलले अठोट गरेका रहेछन्, ‘स्वाधीन डाक्टरी पेसा रोज्छु, बच्चाकै विषय पढ्छु ।’ आखिर ०१५ मा इन्स्टिच्युट अफ चाइल्ड हेल्थ युनिभर्सिटी अफ लन्डनबाट डीसीएच (डक्टरेट इन चाइल्ड हेल्थ) को उपाधि लिएरै छाडे ।
ढल्कँदो उमेरमा पनि उनको बालमित्रतामा कमी आएको थिएन । केटाकेटी उनीसित खेल्थे । चस्मा झिक्थे, घडी तान्थे अनि दोस्ती गर्थे । केटाकेटीलाई ओभर डोज औषधी दिनु अपराधजस्तो लाग्थ्यो उनलाई । ‘मुसा मार्न बन्दुक
चलाउने ? बन्दुकले मुसा मार्न मिल्छ ?’ उनी आक्रोशित हुन्थे, ‘पहिले डाक्टरले थोरै गर्थे, राम्रो गर्थे । एक डोजले ठ्याक्कै निको हुने राम्रो औषधी हुँदै होइन ।’
डा पुष्पलाल राजभण्डारीसित मेरो भेट भएको थियो, व्यक्तिचित्र लेख्ने सिलसिलामा । तर उनी रहेछन् लुकुवा । बडा रसिक र बौद्धिक उनीसँग दुई–तीन बसाइ भयो । टेलिफोनमा पनि घन्टौँ गफिए । तर अन्त्यमा फोटो खिचाउन आनाकानी गरे । ‘फोटो खिचेपछि त तपाईंले छापिहाल्नुहुन्छ नि ? भो, अहिले फोटो नखिचाऊँ, त्यो काम पछि गरौँला ।’ त्यत्तिकै भएको थियो । २५ कात्तिकको कान्तिपुरमा १३ औँ पुण्यतिथिको श्रद्धाञ्जली छापिएको देखेपछि पुरानो सम्झना बल्झिएर आयो । अलबिदा डाक्टरसाहब !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...