जो नेतृत्वमा शानदार रुपले असफल छन्, तिनले नेता कसरी छान्लान् ?
बाबुराम भट्टराई र रवीन्द्र मिश्र, जो स्वयम् नेतृत्त्वमा शानदार रूपमा असफल छन्, उनीहरूले अरूको नेतृत्त्व क्षमता कसरी मूल्याङ्कन गर्लान् ?

विभिन्न प्रकारका रियालिटी शो वर्तमान हाइपर रियल (Hyperreal) विश्वका दुखान्त तस्बिर हुन् । यस्ता शोहरूले या त कृतिम नायक, सेलिब्रिटी उत्पादन गर्छन् कि त क्षमताको पहिचान वा कदर गर्ने गलत तरिकालाई सहीजस्तो बनाएर दर्शक वा आम मानिसलाई दिग्भ्रमित बनाउँछन् ।
नारायण गोपाल, मेहदी हसन वा जोन लेनन टिभी शोमा प्रतिश्पर्धा गरेर स्थापित भएका थिएनन्, भलै कतिपय आजका गायक रियालिटी शोबाटै स्थापित भएका किन नहोउन् । मानिस वास्तविक रूपमा सफल हुने वा प्रतिभाको कदर हुने रियालिटी शोमा सफल भएर मात्र पनि होइन ।
सम्भवतः रियालिटी शोलाई मानिसहरूले केबल मनोरञ्जन मात्र भनेर बुझे त समस्या हुन्थेन होला । तर, यस्ता शो र तिनमा हुने प्रतिश्पर्धालाई आम मानिसले आफ्नो वास्तविक जीवनसँग जोडेर हेर्छन् । कतिले यस्ता शोमा सफल हुन दुखद र निरर्थक प्रयत्न गर्छन् त यसमा पहुँच नहुने धेरैले आफूलाई असफल मूल्यांकन गर्छन् ।
रियालिटी शोले देखाउन खोजेजस्तो जीवन कठोर र अन्त्यहीन प्रतिश्पर्धा होइन । हामी बाँच्ने धेरैभन्दा धेरैको प्रशंसा पाउनमात्र होइन । सामान्य स्तरको ज्ञान, सामान्य क्षमता, सामान्य सीप, सीमित शुभेच्छुक भएर बाँच्नु पनि नराम्रो होइन । यसमा गर्व गर्न सक्नु ठूलो कुरा हो ।
यो सबै कुरा मैले लेखिरहेको ‘द लिडर’ भन्ने नयाँ रियालिटी शो आउन लागेको समाचारका सन्दर्भमा हो । पढ्नुस्ः रियालिटी शोबाट नेता जन्मिन्छ ?
गीतसंगीत, पकवान, अन्य विभिन्न प्रकारका सीप वा सेलिब्रिटी स्टेटसमा आधारित रियालिटी शोहरू आजभोलि बग्रेल्ती छन् । तिनमा मानिसको रुचि छ । टेलिभिजनको व्यापार तिनमा टिकेको छ । यो अब आश्चार्यको कुरा होइन ।
तर, राजनीतिक नेतृत्त्व चयन गर्न बनाउन लागिएको रियालिटी शो भने यी सबैभन्दा पृथक प्रकृतिको पागलपन हो । यो पागलपनको कुनै विधि वा पद्धति छैन । (There is no method in this madness.)
वक्तृत्त्वकला, रूप, विशिष्ट विषयगत ज्ञान आदि कुरा वर्तमान युगमा नेतृत्त्वका लागि सहयोगी होलान् । यद्दपि राजनीतिक नेतृत्त्व यी सबैभन्दा उच्च र बृहत् कुरा हो । असल नेतृत्त्वका लागि यी कुनै कुरा नभए पनि फरक पर्दैन । यी सबै गुण हुनेहरू अक्सर नेतृत्त्वमा असफल हुने गर्छन् ।
राजनीतिक नेतृत्त्व विकास गर्नका लागि एउटा व्यक्तिले समाजसँग गहिरो र अर्थपूर्ण अन्तर्क्रिया गर्नुपर्छ । आम मानिसको व्यक्तिगत जीवनसँग आफूलाई एकाकार गरेको हुनुपर्छ । रूपान्तरणका लागि आवश्यक गहन र यथार्थपरक दृष्टिकोण बोकेको हुनुपर्छ ।
राजनीतिक नेतृत्त्व छान्ने रियालिटी शोले केलाई प्रतिश्पर्धाको आधार बनाउला त ? रूपरङ्ग, वक्तृत्त्वकला ? हावादारी योजना ? प्रश्नहरू अनेक छन् ।
थप प्रश्न के भने ‘जज’ का रूपमा चर्चामा आएका बाबुराम भट्टराई र रवीन्द्र मिश्र, जो स्वयम् नेतृत्त्वमा शानदार रूपमा असफल छन्, उनीहरूले अरूको नेतृत्त्व क्षमता कसरी मूल्याङ्कन गर्लान् ?
यो रियालिटी शोमा भाग लिन प्रतिश्पर्धीका रूपमा आउनेहरू के उद्देश्य बोकेर आउलान् ? सिमेन्ट कम्पनीले घोषणा गरेको उपहार पाउने ? सेलेब्रिटी बन्ने ? राजनीति गर्ने ?
'द लिडर' नाम दिइएको रियालिटी शोले राजनीतिक नेतृत्त्वका बारेमा आम मानिस र विशेषगरी टेलिभिजनका दर्शकलाई कसरी प्रशिक्षित गर्ला ? नेता बन्ने, छानिने, नेतृत्त्वमा सफल हुने टेलिभिजन शोमा भाग लिएर, आफ्नो वक्तृत्त्वकला प्रदर्शन गरेर ? बाबुराम वा अन्य कुनै प्रशस्त समय र उल्लेख्य काम नभएका तर व्यावसायिक रूपमा आफूलाई नेता मान्ने मानिसको सल्लाह, सुझाव मानेर ?
अब बिट मार्नतिर लागौँ -रियालिटी शोले केही प्रतिभाहरूलाई अवसर दिएको छ । यद्दपि समग्रमा रियालिटी शोले प्रतिभा र सफलताबारे आम मानिसका बुझाइलाई विकृत बनाएका छन् । मेरो विचारमा राजनीतिक नेता छान्ने रियालिटी शो यी सबैभन्दा पत्रु प्रकारको विकृति हो ।
अन्त्यमा एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु । युक्रेनका वर्तमान राष्ट्रपति Volodymyr Zelensky टेलिभिजनमा रियालिटी शो र कमेडीका कार्यक्रम चलाउँथे । उनले धेरैपटक आफ्ना टेलिभिजन शोहरूमा राष्ट्रपतिको अभिनय गरे र प्रशंसा बटुले । गत २०१९ मे महिनाको आम चुनावमा भने साँच्चै राष्ट्रपतिको उम्मेदवार पनि भए । आम मानिसले के सोचे भने- असल राष्ट्रपतिको यस्तो राम्रो अभिनय गर्ने मानिसले कसो देश राम्रो नचलाउला त !
जेलेन्स्कीले चुनाव पनि जिते । तर, उनको कार्यकाल र युक्रेन अहिले नराम्रो सङ्कटमा फसेको छ ।
म खुसी यो कुरामा छु कि म आफू रियालिटी शो हेर्दिनँ र घरमा मेरा छोराछोरीलाई यस्ता शो हेर्न हामी अनुमति दिँदैनौ ।
सञ्जीव पोखरेलको ब्लगबाट ।