ब्याक टु मंगलमान
विक्रम संवत् १९८२ साउनमा त्यौडको घवाननी चोकमा जन्मेका मंगलमान समाज सुधारका क्रममा ३६ वर्षे जीवनमै २४–२५ पटक जेल परे । घर–जेल, जेल–घर गर्दै बित्यो ।
पाटनका इतिहासकार हरिराम जोशीले एउटा पुस्तकको फोटोकपी थमाए । सिद्धिचरण श्रेष्ठकृत खण्डकाव्य मंगलमान रहेछ । त्यो पढेपछि खुल्यो, चर्चित कहावत ‘ब्याक टु मंगलमान’ को अन्तर्य ।
मिलिटरी फौजलाई घरेलु इलम सिकाउने क्रममा मणिराज उपाध्याय र जुजुमान प्रधान समातिए, राणाविरोधीको बात लगाएर । जुजुमानलाई मृत्युदण्ड दिइने भएपछि गारदमा पुगे, उनका पिता गणेशमान र माइला छोरा मंगलमान । उनीहरुलाई भनियो, ‘ जति हेर्न मन लाग्छ, आजै हेर । भोलिपर्सि हेर्न पाउने छैनौ ।’
त्यतिबेला प्रधानमन्त्री पद्मशमशेर थिए भने चिफसाहेब मोहनशमशेर । चिफसाहेबको मृत्युदण्ड प्रस्ताव पद्मशमेशरले सकारेनन् । र, आजीवन कारावासको सजाय पाएका जुजुमान १२ वर्ष जेल बसेर प्रजातन्त्रसँगै छुटे ।
त्यही घटनापछि विद्रोही बनेर निक्लिए, मंगलमान । उनी कस्ता क्रान्तिकारी भने, आफू त्यति पढालिखा नभए पनि घरमै हरिजन विद्याश्रम खोले । स्कुलको हेडमास्टर बनाए धोबीलाई । च्यामे, पोडेका छोराछोरीलाई पढाए ।
विक्रम संवत् १९८२ साउनमा त्यौडको घवाननी चोकमा जन्मेका उनी समाज सुधारका क्रममा ३६ वर्षे जीवनमै २४–२५ पटक जेल परे । घर–जेल, जेल–घर गर्दै बित्यो । एक पटक उनी बिरामीले थलिएर घरमा एक्लै रहेछन् । एउटा चोर पसेछ । जेलको साथीलाई देखेर दंग परेछन् । छक्क परेको त्यही चोरले मंगलमानलाई औषधोपचार गरेर ठीक पारेछ ।
आन्दोलनका हरेक मोर्चामा तैनाथ हुन्थे, मंगलमान । उनीबिनाको जुलुस फिक्का हुन्थ्यो । गंगालाल श्रेष्ठका पिता अध्यक्ष रहेको न्यून वैतनिक कर्मचारी संघको आन्दोलनमा समेत उनी थुनिए । खुर्सानी काण्डमा समातिए र जेलवास भयो ।
उनले सदैव आफूलाई ‘मंगलमान नेपाली’ का रुपमा चिनाए । कथित अछूतहरुका प्रिय नेता, गरिबहरुका साथी, भूगोलपार्क, ममता, नेपाली दैनिकका सम्पादक । डाक्टर केआई सिंहलाई ‘ड्राइभर’ लेखेबापत उनको पत्रिका भूगोलपार्कको दर्ता खारेज भएको थियो ।
अछूतहरुसितको बसाउठीले गर्दा उनको भातपानी काडियो । आफूले मन पराएकी च्यामे कन्यासित विवाह गर्न पाएनन् । ७ पुस २०१८ मा उनको इहलीला सकिँदा लास उठाउने कोही भएनन् । न गुठियार, न दाजुभाइ, न छरछिमेक, न इष्टमित्र, न पत्रकार ।
सिद्धिचरणले त्यही सामाजिक साँघुरोपनविरुद्ध उठेको फिलिंगोरुपी मंगलमानलाई नायक बनाएर सिंगो काव्य लेखेका रहेछन् । कृष्णचन्द्रसिंह प्रधानको शब्दमा ‘हेर्दा ग्वाँजे ग्वाँजे, होचा–होचा र कमिज सुरुवालमा सधैँभरि हतारहतार हिँडिरहने सर्वहारा’ यी पात्रको कथालाई डिल्लीरमण रेग्मीले घोषणा गरेका रहेछन्, ‘ब्याक टू मंगलमान’ । अर्थात्, काम गर्ने, जस नपाउने । जति काम गरे पनि सधैँको पछाडि ।
राजाको काव्यार्चना
प्रज्ञा पुस्तक प्रदर्शनी थियो, मंसिरको अन्तिम साता कमलादीमा । छान मार्ने क्रममा भेटियो, शुभ जन्मोत्सव काव्यार्चना । यो पुस्तक पाउँदा किन–किन आनन्दानुभूति भयो । पहेँलो र खैरो खोल भएको किताबमा मोल भने रहेनछ । अनमोल भएकाले मोल नराखिएको होला सायद ।
जसै काउन्टरमा पुस्तक देखाएँ, रसिद बनाइयो दुई रुपैयाँको । अहिलेको जमानामा दुई रुपैयाँमा पुस्तक पाउनु ‘अहोभाग्य’ नै हो । प्रदर्शनीकै एक छेउमा बसेर किताब पढिसिध्याएँ ।
खासमा यो रहेछ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यहरुद्वारा गरिएको काव्यार्चना । सन्दर्भ ३० जेठ ०२७ अर्थात् राजा महेन्द्रको जन्मदिन । १३ जना अर्चनाकार रहेछन्, केदारमान व्यथित (सायद कुलपति) बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराय, धर्मराज थापा, पोषण पाण्डे, रत्नध्वज जोशी, विजय मल्ल र श्यामदास वैष्णव ।
‘सरकारको परम भक्त प्रज्ञा परिवार’ को समर्पणमा लेखिएको छ, ‘सरकारबाट हाम्रै सर्वोच्च शिखरमा फुकिबक्सेको बाँसुरीबाट ...।’ चिल्ला कागजमा १२ कविले कविताबाटै राजा महेन्द्रको जयगान गरिरहँदा सूर्यविक्रम ज्ञवाली दु:खी आत्माजस्ता देखिए । उनले तीन अनुच्छेदमा आफ्नाे काम चलाउ गद्यबाटै टिठलाग्दो अर्चना गरेका रहेछन् । यिनले आफ्ना गद्यलाई तोडफोड गरेर कविता बनाउन नचाहेका हुन् या नसकेका हुन् ? यसै भन्न सकिएन ।
हुन त नेपालमा स्तुतिकारहरुको कमी कहिल्यै भएन । एक सेट स्तुतिकार अहिले पनि नेपाल प्रज्ञाप्रतिष्ठानमै मौजुद छन् । तिनले राजालाई स्तुति गर्नुपर्ने बाध्यता छैन । तर बालुवाटारमा बाँसुरी फुक्ने केपी ओलीको अर्चना गर्ने आइडिया भने निकाल्न सक्छन् । शीतलनिवासमा राष्ट्रपतिज्यूको विरुदावली गाउने मौका पनि छँदै छ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...