‘अनकुल’ दाजुको पसल
कलिला केटाकेटीले हुक्का तान्दै, आकाशतिर धुँवा फाल्दै र चर्को स्वरमा बजाएको अंग्रेजी रक गीत सुनेको देख्दा पसल मालिकलाई त ‘कुल’ लाग्यो होला । मलाई भने विकृत लाग्यो ।
पहिले ठेलामा या सानो पसलमा खोलिने चिया पसल अचेलअत्याधुनिक सेवा– सुविधासहित खुल्न थालेका छन् । विराटनगरमा खुलेको दाजुको चिया पसल सजावट र अवधारणामा फरक छ । मध्य फागुनको एक साँझ चिया पसल पुग्दा ९ देखि १२ सम्म पढ्ने केटाकेटीको भीड देखियो । चियाका साथमा चाउमिन, बर्गर, पिज्जालगायत भेराइटी पाइदो रहेछ, त्यहाँ ।
पसलको एक भित्तामा बुद्धको चित्र कुँदिएको थियो । अर्को भित्तामा माटोको ससाना कप सजाएर राखिएका । कपमा मान्छेको नाम हस्ताक्षर गरेको थियो । हेर्दा कफी विथ करणबाट प्रभावित भएजस्तो लाग्ने । चिया पसलमा कक्षाकोठा थियो, जहाँ कसैलाई चिया खाँदै केही लेख्न मन लाग्यो भने कालोपाटीमा लेख्न मिल्ने । पसल मालिक अस्ट्रेलियाबाट फर्केका हुनाले उनको नयाँ कन्सेप्टमा चिया पसल खोलेका रहेछन् ।
तर दु:खको कुरा चिया पसलमा हुक्का पनि पाइँदो रहेछ । कलिला केटाकेटीले हुक्का तान्दै, आकाशतिर धुँवा फाल्दै र चर्को स्वरमा बजाएको अंग्रेजी रक गीत सुनेको देख्दा पसल मालिकलाई त ‘कुल’ लाग्यो होला । मलाई भने विकृत लाग्यो । धूमपानलाई यसरी बढावा दिन मिल्छ ?
कुरो बालबालिकाकै
हिउँ खेल्ने र पाथीभरा माताको दर्शन गर्ने उद्देश्यले ताप्लेजुङलागियो । विराटनगरदेखि ताप्लेजुङसम्मको यात्रा क्रममा थुप्रै विद्यालय भेटिए । विद्यार्थीहरु खाजा खाने समय सडकपारि बसेर गँफिदै रमिरहेका थिए । ठूला–साना गाडी गुडिरहने ठाउँमा कक्षा १ देखि १० सम्मकै बालबालिकाको सहज चहलपहल देखेर मलाई भने डर लाग्यो । गाडी बेस्सरी कुदाउँदै आए या विद्यार्थी कुद्दै जाने हो भने दुर्घटना सजिलै हुन सक्ने । अझ ब्रेक फेल भए वा चालकले लापर्बाही गरे गाडी सीधै विद्यालय हातामै पुग्ने ।
सामान सहज पुर्याउने हिसाबले सायद सडक छेउमै विद्यालय खोलेका होलान् । तर सडकमै विद्यालय हुँदा विद्यार्थीको ज्यान कति जोखिममा पर्ला ? ठूला विद्यार्थी आफूलाई सुरक्षित राख्लान् तर साना बालबालिकाको हालत के होला ? दिनहुँ जोखिमपूर्ण यात्रा गरी विद्यालय आउजाउ गर्नुपर्दा विद्यार्थी र अभिभावकलाई कस्तो होला ?
इलाममा पानी परेपछि दिउँसै तुँवालोले छोप्दो रहेछ । यस्तो अवस्थामा सडकको यात्रा कति जोखिमपूर्ण होला ? गाउँगाउँमा स्थानीय सरकार आएको छ । यस्ता स–साना कुरा पनि ध्यान नदिने हो भने सरकार किन चाहियो ?
पहिरोपीडित विष्णु
जति नै योजना बनाए पनि यात्रा कहिल्यै सोचेजस्तो हुँदैन । सहरमा सुविधामा बस्ने बानी परिसकेका हामी गाउँ जाँदा पनि उस्तै सुविधा होला भनी सोच्छौँ । घुम्न हिँड्दा हामी पर्यटक बनिदिन्छौँ । सक्दो सुविधा चाहिन्छ, चाहे बाटोमा बास बस्ने होटल होस् वा गन्तव्य स्थल ।
ताप्लेजुङको पाथीभरा पुग्नुअघि सुकेटार आउँछ । सुकेटारमा भव्य होटल छन् र एयरपोर्ट पनि । त्यसपछि तल्लो फेदीसम्म ठूलो बाटो छ तर कच्ची । सुक्खायाममा धुलो उडेर वाक्क बनाउँछ भने पानी परेपछि हिलोले वारपार गर्नसमेत मुस्किल । दिउँसो पानी परेकाले बाटो हिलाम्मे थियो । हिलोमा बाइक चलाउन नसकेर लडेपछि हामी देउराली होटलमा बास बस्यौँ । ठाउँको नाम पनि देउराली रहेछ । काठले बनेको घरको छानो भने जस्ताको थियो । होटलमा बत्ती थियो ।
७ बजे नै सुत्ने सुरसार कस्ने ठाउँमा होटल साहूनी विष्णु थापाले खाना पकाउने भइन् । दाल, भात र साग खाँदै उनीसँग देउरालीका बारे बुझ्ने कोसिस गर्यौँ । वरिपरि सबै होटल रहेछन् । उनी बस्ने पारिको गाउँमा पहिरोले घरखेत लगेपछि आफन्तको घर देउरालीमा १ लाख दिएर बसेकी रहिछन् । एउटा छोरा विदेश, अर्को छोरा झापा र अर्को छोरा ताप्लेजुङ नै बस्दा रहेछन् । होटलमा पानी नआउने भएकाले लिन १ घन्टा पर जानुपर्दो रहेछ । लुगा धुन सुकेटार पुग्नुपर्दो रहेछ । देउरालीबाट सुकेटार २ किलोमिटर टाढा पर्छ ।
धन्न, सिरकको खोल र तन्ना सफा नै पायौँ । हिउँपानी जस्तामा पर्दा घरभित्रै छिर्दो रहेछ । काठमा देखिने पानीका दागले विष्णुलाई दिक्क लाग्दो रहेछ । ३ वटा सिरक खप्टेपछि जाडो भने लागेन । तर बिहान उठ्दा हातमुख धुने पानी पनि पाइएन । न्यूनतम सुविधाबिना पनि मानिस बाँचिरहनु परेको देख्दा खल्लो लाग्यो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...